शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकको दुई करोड ठगेर पोर्चुगल भागेका केदारको गोजीमा ५०० भारु !

यस्तो छ केदारको पोर्चुगल यात्रा, नेपाल ल्याउन प्रहरीलाई बेग्लै सास्ती
बुधबार, ०२ भदौ २०७८, ११ : ५७
बुधबार, ०२ भदौ २०७८



 

भनिन्छ, सम्पत्ति भनेको हातको मैलो हो, आज छ भोलि छैन । नेपालमा बैंकबाट २ करोड रुपैयाँभन्दा बढी ठगेको अभियोग लागेपछि पोर्चुगल भागेर उतै व्यापार गरी बसेका केदार ढुंगानाले चार वर्षपछि गोजीमा भारु ५ सयको नोट लिएर हत्कडीसहित स्वदेश फर्कनुपर्ला भन्ने शायदै सोचेका थिए ।

नेपालमा वित्तीय अपराध र सरकारी कागजात किर्ते गरेर चार वर्षदेखि फरार काभ्रेका केदारप्रसाद ढुङ्गाना साउन ३० गते पोर्चुगलबाट नेपाल आइपुगे । ढुङ्गाना आफंै नेपाल आएको नभई सीआईबीको मुद्दामा फरार रहेका उनलाई इन्टरपोल प्रहरीले पोर्चुगलदेखि नेपाल ल्याएको हो ।

काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका १ का ढुङ्गाना तत्कालीन एनडीइपी तथा हालको देव विकास बैंकको ठगी प्रकरणका अभियुक्त हुन् भने सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन् ।

नक्कली कागजात खडा गरेर ढुङ्गानाले तत्कालीन एनडीइपी तथा हालको देव विकास बैंकबाट २ करोड ७१ लाख रुपैयाँ ठगी गरेका थिए । सो मुद्दा भने अहिले पनि उच्च अदालत पाटनको वाणिज्य इजलासमा विचाराधीन अवस्थामा छ ।

साउन ३० गते नेपाल प्रहरीको इन्टरपोल शाखाले ढुङ्गानालाई नेपाल ल्याएलगत्तै सीआईबीलाई बुझाएको थियो । त्यसलगत्तै साउन ३१ गते सीआईबीले ढुङ्गानालाई जिल्ला अदालत ललितपुरमा फैसला कार्यन्वयनका लागि पेश गर्यो । जिल्ला अदालत ललितपुरले १० वर्ष अर्थात् २०८८ साउन ३० गतेसम्म कैद सजाय भुक्तान गर्न र ७ लाख रुपैयाँ जरिवाना भराएको प्रमाण पेश गर्न कारागार कार्यालय नख्खुलाई पत्र लेख्यो ।

यदि ७ लाख रुपैयाँ जरिवाना नभरेको अवस्थामा २०९४ साल पुस २४ गतेसम्म थुनामै राख्न कारागार कार्यालय नख्खुलाई पत्राचार भएको छ । अहिले ढुङ्गानालाई नख्खु कारागारमा पठाइएको छ ।

बैंकिङ कसुरबाहेक ढुङ्गाना सरकारी कागजात किर्ते मुद्दामा पनि दोषी तथा अभियुक्त हुन् । ढुङ्गानाविरुद्ध जिल्ला अदालत ललितपुरमा सरकारी कागजात किर्तेको अभियोगमा १० वटा मुद्दा परेका थिए । ती सबै मुद्दामा ढुङ्गाना दोषी ठहर भइसकेका छन् र उनलाई १० वर्ष कैद तथा ७ लाख रुपैयाँ जरिवानाको फैसला भइसकेको छ ।

काठमाडौं जिल्ला अदालतमा पनि ढुङ्गानाविरुद्ध ५ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको छ । काठमाडौं जिल्ला अदालतमा पनि ढुङ्गानाविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलिरहेको छ । यसरी ढुङ्गानाविरुद्ध ३१ वटा मुद्दा चलेकामा १० वटा मुद्दाको फैसला भइसकेको छ भने २१ वटा मुद्दा विचाराधीन अवस्थामै छ ।

गोजीमा जम्मा ५०० भारु !

नेपालमा करोडौं रुपैयाँको बैंक ठगी गरेर दुबई, फ्रान्स हुँदै पोर्चुगल पुगेका ढुङ्गानाको साथमा भन्ने जम्मा ५ सय भारतीय रुपैयाँ फेला परेको छ । पोर्चुगल प्रहरीले सरसामानसहित केदारलाई जिम्मा लगाउँदा केदारको साथमा जम्मा ५ सय भारतीय रुपैयाँमात्रै रहेको थियो । जबकि उनी पोर्चुगलमै व्यापार गरेर बसिरहेका थिए ।

काठमाडौं उत्रिएपछि सीआईबीले गरेको सोधपुछमा पनि ढुङ्गानाले आफ्नो साथमा पैसा नभएको जवाफ दिएका छन् । नेपालमा ठगी गरेको पैसा, उता कमाएको पैसा के गर्नुभयो त भन्ने प्रश्नमा उनले आफूसँगै पैसा नभएको बताएका छन् ।

पोर्चुगलको बैंकमा पो पैसा राखेको थियो कि भन्ने प्रश्नमा पनि ढुङ्गानाले आफूसँग केही नभएको बताएका हुन् । तर, नेपालमा भने आफ्नो रिकण्डिसनमा त्यतिबेला नै ७० वटा गाडी तथा कारहरु रहेको बताएका छन् । आफ्नै नाममा करिब ३५ वटा र आफ्नो स्वामित्वमा थप ३५ गरी ७० वटा गाडीहरु भए पनि अहिले ती सवारीसाधनको अवस्थाबारे केही थाहा नभएको बताएका छन् ।

पोर्चुगल भाग्नुअघिको कथा

२०७१ सालदेखि २०७३ को अन्तिमसम्ममा ढुङ्गानाले यातायात व्यवस्था कार्यालय एकान्तकुनासँग सम्बन्धित सरकारी कागजात किर्ते गरेका थिए । हुँदै नभएको सवारीसाधनलाई नक्कली कागजात बनाएर नक्कली धनी खडा गर्ने र त्यही सवारीसाधन धितो राखेर बैंकबाट ऋण लिने काम ढुङ्गानाले गराएका थिए ।

यद्यपि उनले ऋण लिँदा भने आफ्नो नाममा ऋण नलिई गाकै अन्य व्यक्तिहरुको नाममा ऋण लिने गरेका थिए । ऋणको रकम भने ढुङ्गाना, ढुङ्गानाका ‘विजनेश पार्टनर’ नारायणबहादुर श्रेष्ठ र जसको नाममा ऋण लिने हो सोही व्यक्तिले बाँडेर लिने गरेका थिए ।

काभ्रेका ढुङ्गाना कुनै समय यातायात व्यवस्था कार्यालय एकान्तकुनामा लेखापढीको काम गर्थे । लेखापढीबाट राम्रै आम्दानी भएपछि ढुङ्गानाले कोटेश्वरमा एसुमा ट्रेडर्स एण्ड अटो वर्कस् प्रालि नामक सवारीसाधनको रिकण्डिसन पुल चलाए । त्यही बेला उनमा बैंक नै ठगी गरेर पैसा कमाउने लोभ जाग्यो र उनी सरकारी कागजात किर्ते गरी बैंकबाट ऋण निकाल्ने योजनामा पुगे । त्यसपछि उनले गाउँकै नारायण बहादुर श्रेष्ठ नामक व्यक्तिलाई यसबारेमा बताए र उनीहरु २ जना मिलेर बैंक नै ठगी गर्ने योजना बनाए ।

ढुङ्गानाको रिकण्डिसनमा विभिन्न मोडलका कार तथा सवारीसाधन हुन्थ्यो । त्यही सवारीसाधनको इञ्जिन र च्यासिस नम्बर राखेर ढुङ्गाना नक्कली ब्लूबुक बनाउँथे र सवारी धनीका रुपमा गाउँकै मान्छेहरुलाई राख्थे । अनि त्यही सवारीसाधन देखाएर बैंकमा ऋणका लागि आवेदन दिन्थे ।

नक्कली बिलबुक लगायतका कागजात ढुङ्गानाले बनाउँथे भने बैंकको कागजात मिलाउने काम नारायण बहादुर श्रेष्ठले गर्थे । दवैतिर मिलेपछि बैंकबाट ऋण आउँथ्यो र त्यो ऋणको रकम ढुङ्गाना, श्रेष्ठ र ऋणीले बराबरी भाग लगाएर लिन्थे ।

यसरी नै उनले ३२ वटाभन्दा बढी सवारीसाधनको नक्कली ब्लूबुक र कागजात बनाएर बैंकबाट ऋण लिई ठगी गरेको अभियोग छ । तर, जब २०७३ सालमा बैंकको किस्ता पनि आउन छाड्यो र ऋणीहरु सम्पर्कमा पनि आउन छाडे, त्यसपछि बल्ल बैंकले उनीहरुको खोजी गर्न थाल्यो र ऋणीको नाममा रोक्का राखिएको सवारीसाधन लिलामी प्रक्रियामा लैजानका लागि पत्र काट्न थाल्यो । तर, नक्कली कागजातका आधारमा देखाइएको नक्कली गाडी न ऋणिको नाममा थियो, न बैंकका नाममा । त्यसपछि बल्ल यसबारे खोजबिन सुरु भयो र त्यसको जिम्मा सीआईबीलाई दिइयो ।

बैंक र प्रहरीले खोजी सुरु गरेको थाहा पाएलगत्तै ढुङ्गाना नेपालबाट भागेर दुबई पुगे । त्यहाँ केही समय बसे र दुबईबाट फ्रान्स पुगे । युरोप पुगेका ढुङ्गानाले उतै बस्ने योजना बनाए र युरोपको स्थायी बासस्थान (पीआर) लिन सजिलो हुने भन्दै पोर्चुगल पुगे ।

ढुङ्गानाले पोर्चुगलमै बसेर फार्म हाउस खोलेर व्यापार गरेको प्रहरीको दाबी छ । यहीबीचमा ढुङ्गानाले त्यहाँ पीआरका लागि निवेदनसम्म दिए । तर, नेपाल प्रहरीले २०७५ मै डिफ्यूजन नोटिस र २०७८ वैशाखमा रेड नोटिस जारी गरिसकेपछि उनी पोर्चुगलमा पक्राउ परे ।

नेपाल ल्याउन प्रहरीले भोगेको सास्ती

नेपालमा वित्तीय अपराध र सरकारी कागजात किर्ते गरी विदेश भासिएका ढुङ्गाना पोर्चुगलमा रहेको जानकारी पाएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सो को जानकारी नेपालको इन्टरपोललाई गरायो । त्यसपछि रेड नोटिस जारी गर्नका लागि सीआईबीले इन्टरपोलमा पत्र पठायो र इन्टरपोलले २०७८ वैशाख १७ गते रेड नोटिस जारी गर्यो ।

नेपाल र पोर्चुगल सरकारबीच सुपुर्दगी सन्धी नभएको कारण पोर्चुगलले पहिलो चरणमा ढुङ्गाना दिन आनाकानी गर्यो । तर, पोर्चुगल र नेपाल दुवै संयुक्त राष्ट्रसंघको सदस्य भएको र एक देशमा अपराध गरी अर्को देशमा पुगेका पहिलो देशका नागरिकलाई रेड नोटिसमा परेको भए पक्राउ गरी फिर्ता दिने नीति अनुसार पोर्चुगल प्रहरी ढुङ्गानालाई बुझाउन तयार भयो ।

पक्राउ परेको तीन महिनापछि बल्ल पोर्चुगलले ढुङ्गानालाई नेपाल प्रहरीको जिम्मा लगायो र इन्टरपोलका डीएसपी निशान्त श्रीवास्तवको टोलीले पोर्चुगल पुगेर ढुङ्गानालाई नेपाल ल्याए ।

बैशाखको अन्तिम सातामा पोर्चुगल प्रहरीले ढुङ्गानालाई पक्राउ गरी आफ्नो हिरासतमा राख्यो । अनि केदार अभियुक्त वा अपराधी करार भएको कागजात पोर्चुगिज भाषामा अनुवाद गरेर पठाउन भन्यो । त्यसपछि नेपाल प्रहरीले ढुङ्गानाविरुद्धको अपराधको फेहरिस्त, नेपालमा भएको फैसला र अभियोगको सम्पूर्ण कागजात उल्था गरेर पोर्चुगल पठायो । पोर्चुगल प्रहरी ढुङ्गानालाई बुझाउन तयार पनि भए ।

तर, नेपाल र पोर्चुगलबीच सुपुर्दगी सन्धी नभएका कारण बुझाउन मिल्ने आधार भएन । ३ महिनाको अवधिमा कैयनपटक कागजात आदन–प्रदान भयो । र अन्तिममा युएन प्रोटोकलका आधारमा एफिडेबिट (बन्दीलाई कुनै यातना दिन्न, हत्या गर्दिन भन्ने प्रतिज्ञापत्र) बनाएर बुझाएपछि बल्ल पोर्चुगल सरकार ढुङ्गानालाई हस्तान्तरण गर्न तयार भयो । र, १५ दिनको समय दिएर जुलाई २६ मा इमेल पठायो ।

त्यसपछि नेपाल प्रहरीको इन्टरपोलले डिएसपी निशान्त श्रीवास्तव र इन्स्पेक्टर उज्वलबहादुर सिंहलाई पोर्चुगल पठाउने निर्णय गर्यो । जुलाई ३० मा निर्णय भएलगत्तै उनीहरु दिल्लीतर्फ लागे । किनभने, नेपालमा पोर्चुगलको दूतावास नभएका कारण उनीहरु दिल्लीबाटै भिसा लिएर जानुपर्दथ्यो ।

तर, अगष्टको ४ तारिखमा दिल्ली पुगेका उनीहरुले समयमै भिसा पाउन सकेनन् । पहिलो २ दिन दिल्लीमा कागजात तयार गर्दैमा दिन बित्यो । अगष्ट ६ मा भिसाका लागि आवेदन दिएका उनीहरुको भिसा त्यही दिन आउन सकेन । अफिसियल पासपोर्ट लिएर गएका उनीहरुलाई २४ घण्टामा भिसा आउँछ भन्ने लागेको थियो । तर प्राविधिक कारण भन्दै पोर्चुगल दूतावासले उनीहरुलाई भिसा दिएन ।

अगष्ट ७ र ८ शनिवार र आइतबार परेको कारण दूतावास बन्द नै भयो । तर, अगष्ट ९ मा पनि प्राविधिक समस्या भन्दै भिसा दिन सकेन । बरु माफी माग्दै सूचना दियो । बल्ल अगष्ट १० मा उनीहरुले भिसा पाए र महङ्गो टिकट काटेर उनीहरु जर्मनी हुँदै पोर्चुगल पुगे ।

तर, पोर्चुगल पुग्दा उनीहरुको समयसीमा सकिइसकेको थियो । अगष्ट ११ को कार्यालय समयभित्र लिन आउनु भनेको उनीहरु पुग्दा रातको ९ बजिसकेको थियो । समयमै भिसा पाउन नसकेको र आउँदा ढिलो हुनसक्ने भन्दै उनीहरुले इन्टरपोलमार्फत् नै अपिल गरेका थिए । धन्न उनीहरुको अपिल सुनुवाई भएछ र थप समय हिरासतमा राखिदियो ।

टर्कीमा रोकिदिन्छ भन्ने चिन्ता थियो : डीएसपी श्रीवास्तव

त्यसपछि उनीहरु अगष्ट १३ मा टर्की हुँदै नेपाल आउने भए, केदारलाई लिएर । तर, केदार रेड नोटिसमा परेको भए पनि सुपुर्दगी सन्धी नभई आपसी समझदारीमा ल्याएको हुँदा टर्कीमा समस्या पर्नसक्ने भन्दै इन्टरपोलको टर्की शाखालाई केदारबारे खबर पठायो ।

तर, टर्कीले सम्पूर्ण कागजात टर्किस भाषामा अनुवाद गरेर ल्याएमात्रै सहयोग गर्ने बतायो । जबकि त्यसका लागि उनीहरुसँग समय नै थिएन । उनीहरुले अङ्ग्रेजी भाषामै कागजात भएको, तर तत्कालका लागि धेरै समय नभएका कारण टर्किस भाषामा अनुवाद गर्न नसकिने पत्र लेखे । टर्कीबाट कुनै जवाफ आएन ।

इन्टरपोलका प्रहरी अधिकारीहरु केदारलाई टर्कीकै बाटो भएर ल्याउन बाध्य भए । टर्कीमा मानव अधिकार लगायतका सवालमा प्रश्न उठ्न सक्ने र केदारलाई होल्ड गरिदिएको अवस्थामा समस्या हुनेमा उनीहरु चिन्तित थिए । टर्कीमा ट्रान्जिटको समय पनि जम्मा २ घण्टाको भएको कारण नेपाल जान पाइन्छ कि पाइँदैन भन्नेमा उनीहरु चिन्तित थिए ।

टर्कीको अध्यागमनमा पुगेपछि इन्स्पेक्टर सिंह सबैभन्दा अगाडि बसे भने केदारलाई बीचमा राखियो र डीएसपी श्रीवास्तव अन्तिममा बसे । पासपोर्ट स्क्यान गरेपछि इन्स्पेक्टरलाई सजिलै जान दियो । त्यसपछिको चिन्ता भनेको केदार ढुङ्गानालाई के गर्ला भन्ने थियो । धन्न टर्किस इमिग्रेसनले केदारको पासपोर्ट स्क्यान नै गरेन । त्यसपछि उनीहरु सरासर विमानमा आएर बसे र शनिबार बिहान पौने १२ बजे नेपाल आइपुगे ।

जिल्ला अदालत ललितपुरले सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर गर्दै ७० हजार जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो ।  केदारले त्यही सोचेर ७० हजार जरिवाना तिरी पोर्चुगलको हिरासतमा बिताएको ३ महिना घटाई जम्मा ९ महिना जेल बसे पुग्ने सोचेका रहेछन् । प्रहरी अधिकारीसँग पनि उनले त्यही भनेका थिए ।

तर, ढुङ्गाना एउटा मुद्दामा मात्रै दोषी थिएनन् । यस्ता १० वटा मुद्दामा जिल्ला अदालत ललितपुरले उनलाई दोषी ठहर गरेको थियो । त्यसकारण उनी ७ लाख जरिवाना र १० वर्ष कैद बस्न बाध्य भए । त्यसबाहेक काठमाडौं जिल्ला अदालतमा सरकारी कागजात किर्तेकै ५ वटा विचाराधीन अवस्थामा रहेको छ भने उच्च अदालत पाटनमा पनि उनीविरुद्ध १६ वटा मुद्दा सुनुवाइकै क्रममा रहेको छ । त्यसकारण उनको जेल अवधि र जरिवाना पनि थप हुन सक्ने सम्भावना छ ।

प्रहरी उत्साहित

हुन त प्रहरी वा आम सर्वसाधारणका लागि ढुङ्गानाको व्यक्तिगत मुद्दा महत्त्वपूर्ण होइन । तर, ढुङ्गानालाई नेपाल ल्याउन सफल भएको कारण अब नेपालमा अपराध गरी विदेश पुगेका अभियुक्त र दोषीलाई नेपाल ल्याउने नयाँ बाटो भने खुलेको छ । किनभने, ढुङ्गानालाई पोर्चुगल आफैंले पक्राउ गरेर ३ महिना पोर्चुगलकै थुनामा राखी नेपाल प्रहरीलाई हस्तान्तरण गर्यो । रेड कर्नर नोटिसकै आधारमा पक्राउ गरेर नेपाललाई बुझाएको यो पहिलो घटना हो ।

ढुङ्गानालाई पोर्चुगल सरकारले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएलगत्तै अब अन्य देशबाट पनि अभियुक्त र अपराधी पक्राउ गरी ल्याउन सकिने भन्दै नेपाल प्रहरी भने उत्साहित देखिएको छ ।

यसअघि विभिन्न देशबाट ल्याइएका अभियुक्त र अपराधी सोही देशको इन्टरपोलले सहयोग गरे पनि आधिकारिकरुपमा नेपाललाई बुझाएको थिएन । नेपालमा अपराध गरी विदेश भागेका अभियुक्त वा अपराधीलाई डिफ्युजन नोटिस र रेड नोटिसमा राखेको भए पनि उनीहरुले कागजी प्रक्रिया पूरा गरेर नेपाललाई बुझाउने गरेका थिएनन् ।

कुनै–कुनै देशले एकाध अभियुक्त र अपराधीलाई पक्राउ गरी डिपोर्ट मात्रै गरिदिने गरेका थिए । सम्बन्धित देशले डिपोट गरी एअरपोर्टसम्म ल्याइदिन्थ्यो । त्यसपछि नेपाल प्रहरीका एनसीबी (इन्टरपोल) शाखाका प्रहरीले उनीहरुलाई जहाजमा हालेर नेपाल ल्याउँथे र फैसला कार्यान्वयनका लागि अदालतलाई बुझाउँथे ।

तर, यसपटक भने पोर्चुगल सरकारले सुपुर्दगी सन्धी नभएको भए पनि नेपाललाई एक अपराधी पक्राउ गरी जिम्मा लगाएपछि नेपाल प्रहरी अरु देशबाट पनि अपराधीहरू ल्याउन सकिनेमा आशावादी देखिएको छ ।

ढुङ्गाना भन्छन्, ‘कमजोरी बैंकको, मलाई किन दोष ?’

सरकारी कागजात किर्ते प्रकरणमा दोषी ठहर भए पनि बैंकिङ कसुरको मुद्दा भने अहिले पनि विचाराधीन अवस्थामै रहेको छ । सीआईबी र देव विकास बैंकले भने ढुङ्गानालाई बैंकिङ कसुरको मुद्दासमेत चलाएको छ ।

तर, ढुङ्गानाले सरकारी कागजात किर्तेमा आफ्नो संलग्नता रहेको स्वीकार गरे पनि बैंकिङ कसुरमा आफू नपर्ने जिकिर गरेका छन् । प्रहरीसमक्ष दिएको बयानमा उनले आफूले सरकारी कागजात किर्ते गरेको स्वीकार गरेको तर ऋण दिने कि नदिने, भेरिफाई गर्ने काम बैंककै भएको कारण आफूलाई बैंकिङ कसुरमा अभियोग मागदाबी नपुग्ने जिकिर गरेको सीआईबी स्रोतले बताएको छ ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १२ र १२ क मा बैंकको कर्जा वा अन्य कामका लागि नक्कली कागजात बनाएमा, सरकारी कागजात किर्ते गरेमा पनि बैंकिङ कसुरमा सजायँ गर्न सकिने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप