शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

बुधबार, ०२ भदौ २०७८, १३ : ३५
बुधबार, ०२ भदौ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले  राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको रातोपाटीलाई जानकारी दिए । 
‘अध्यादेश जारी भइसकेको छ, अब यो राजपत्रमा छपाउन पठाइन्छ’, उनले भने।  

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ ।  

सरकारले अध्यादेश जारी गरेपछि त्यसको विरोध भएको थियो भने राष्ट्रपतिले विवादित अध्यादेश जारी गर्न नहुने आवाज समेत उठेको थियो । तर, राष्ट्रपति सरकारले सिफारिस गरेपछि प्रक्रियाअनुसार जानुपर्ने निष्कर्षका साथ अध्यादेश जारी गर्ने निर्णयमा पुगेकी थिइन् । 

​मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । 

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।


सरकारले ल्याएको यो अध्यादेशले माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी गठन गर्ने बाटो खुलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप