बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गाईजात्रे झटारो : ‘बालकोटको बार्दली’देखि ‘बकम्फुसाय नमः’ सम्म

बिहीबार, ०३ भदौ २०७८, १३ : ०८
बिहीबार, ०३ भदौ २०७८

‘गाईजात्रा’ शब्दलाई नेपाली समाजमा सधैँजसो बिम्बको रुपमा प्रयोग गरिन्छ । तर पनि वर्षमा एक दिन पर्ने ‘गाईजात्रा’ पर्वको आफ्नै महत्त्व राख्छ । राजनीतिक, सामाजिकलगायत हरेक क्षेत्रका विकृतिप्रति खुलेर व्यङ्ग्य गर्ने पर्व हो ‘गाईजात्रा’ ।

अवस्था अहिले हाँसो ठट्टाको छैन । कोरोनाको आतंक यथावत छ । कोरोना महामारीकै कारण कतिपय बेसहारा, बेरोजगार भएका छन् भने कतिपयले वियोग सहेका छन् । अवस्था दुई वर्ष अगाडिजस्तो हुन्थ्यो भने यतिबेला सहरका विभिन्न सभाहलहरु हास्य व्यङ्ग्यका कार्यक्रमले भरिभराउ हुन्थे । कलाकारहरु असिनपसिन देखिन्थे भने दर्शकका हाँसो र खित्काले सहर गुञ्जायमान हुन्थ्यो ।

प्रतिकुल अवस्थाका कारण कतिपय कलाकार यो वर्ष चुप छन्, केहीले भौतिक रुपमा नभए पनि डिजिटल (अडियो भिडियो) माध्यमबाट ‘गाईजात्रे’ प्रस्तुति बनाएर परम्परालाई कायम राखेका छन् ।

यस वर्षका गाईजात्रे झटारो

केही वर्ष अगाडिको तुलनामा यो वर्ष व्यङ्ग्यले भरिएको अडियो भिडियो प्रहसन र प्यारोडीका प्रस्तुति निकै कम भित्रिए । यो वर्ष कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’, दमन रुपाखेती, मनोज गजुरेलदेखि कमल गाउँलेसम्मले ‘गाईजात्रे’ कोसेली ल्याएका छन् ।

गत वर्ष ‘लकडाउन’ नामक गाईजात्रे कोसेली ल्याएका हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले यो वर्ष ‘बकम्फुसाय नमः’ नामक सिर्जना पक्सिएका छन् । देशको समसामयिक राजनीति, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गर्दै उनले यो कोसेली ल्याएका छन् ।

रिजालको यो पटकको कोसेलीमा एक प्यारोडी गीतसहित विभिन्न प्रहसन समेटिएका छन् । उनको प्रहसनको केन्द्र भने तीन वर्ष बढी सरकारमा बसेर बाहिरिएका ओली सरकारको क्रियाकलाप नै हो ।

रिजालको गाईजात्रे कोसेली १५ दिन अगाडि युट्युबमार्फत सार्वजनिक भएको थियो । रिजालको ‘बकम्फुसाय नमः’मा दमन रुपाखेती, शशी विक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह लगायतको प्रस्तुति देख्न सकिन्छ । यसमा गायिका राधिका हमाल राष्ट्रपतिको भूमिकामा देखिएकी छन् । रिजालले दुई दशकदेखि नियमित यस्तो कोसेली ल्याउने गरेका छन् ।

त्यस्तै गाईजात्रालाई भनेर हास्य कलाकार दमन रुपाखेती र उत्सव केसीले ‘छताछुल्ल’ नामक व्यङ्ग्यले भरिएको गाईजात्रा कोसेली ल्याएका छन् । लामोसमयदेखि यस्ता कोसेली बजारमा ल्याउँदै आएका दमनले ‘छताछुल्ल’ मार्फत राजनीतिक र सामाजिक विकृतिमाथि प्रहार गरेका छन् ।

‘छताछुल्ल’मा सुभास गजुरेल, दमन रुपाखेती, कमलकान्त मैनाली, लक्ष्मण बिक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, लक्ष्मीनाथ तिमिल्सिना, सुरेश तिमिल्सिना ‘नक्कली ओली’, शोभा भण्डारी, दीपक सापकोटा, मनिता डंगोल, सन्देश राउत, आयुस्मा पाण्डे, उत्सव केसी लगायतको व्यङ्गात्मक प्रस्तुति छ ।

कलाकार उत्तम केसी र दुर्गा केसीको निर्माण रहेको ‘छताछुल्लमा’ एउटा दोहोरी गीतको प्यारोडी समेत समेटिएको छ । गत वर्ष ‘वार कि पार’ ल्याएको यो टिमले यसपटक ‘छताछुल्ल’ ल्याएको हो ।

समय प्रतिकुल होस् कि अनुकुल, दुई दशकदेखि ‘गाईजात्रे’ कोसेली नियमित ल्याउँदै आएका कलाकार कमल ‘गाउँले’ले पनि यो पटक गाईजात्रे कोसेली ‘आई लप यु केपी बा’ ल्याएका छन् । देशको विकट गाउँमा अझै देख्न सकिने धामी झाँक्रीको झारफुक शैलीमा उनले गाईजात्रे झटारो प्रकार गरेका हुन् ।

मुख्य विषयवस्तु राजनीति भए पनि देशका हरेक विषयवस्तु आफ्नो गाईजात्रामा समेटिएको कलाकार गाउँलेले बताए ।

गाईजात्रालाई नै भनेर कलाकार आशिष शाह ठकुरीले ‘बालकोटको बार्दली’ नामक व्यङ्ग्यले भरिएको गाईजात्रे कोसेली ल्याएका छन् । राजनीतिक, आर्थिक, सामाजिक लगायत विभिन्न विषयवस्तु समेटिएको ‘बालकोटको बार्दली’मा वर्षभरि घटेका विषयबस्तु जस्ताको तस्तै व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

‘गाईजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको बेथिति विसंगति औंल्याउनु हो,’ आशिषले भने, ‘त्यही पेरिफेरीमा रहेर यो पटकको गाईजात्रा तयार गरेको छु ।’

पछिल्लो समय रोजगारीको सिलसिलामा कोरिया पुगेका आशिषले ‘बालकोटको बार्दली’ उतै बनाएर सार्वजनिक गरेका हुन् ।

अर्का कलाकार गोेपाल तिमल्सिनाले पनि यो वर्ष गाईजात्राका लागि ‘खै के खै के’ ल्याएका छन् । यसमा विकाश कार्की, राजकुमार श्रेष्ठ, राम तिमल्सिनाको अभिनय छ । प्यारोडी गीतसमेत रहेको यसमा देशको समसामयिक राजनीति, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गरिएको छ ।

समाजको विकृति र विसंगतिलाई मुख्य रुपमा केन्द्रिकृत गरेर गाईजात्रे कोसेली ल्याएको उनको भनाइ छ । आफ्नो यो कोसेलीमा तीन वर्षभन्दा बढी सरकारमा बसेर बाहिरिएका केपी शर्मा ओली र उनी नेतृत्वको सरकारको क्रियाकलापलाई निशाना बनाइएको उनले बताए ।

किन चाहियो गाईजात्रे कोसेली ?

‘गाईजात्रा’ पर्व हास्यव्यङ्ग्य कलाकारका लागि दसैँजस्तै मानिन्छ । विगतका वर्षमा हास्यव्यङ्ग्यका प्रस्तुतिमार्फत कयौँ कलाकारले राम्रो आम्दानी गरेका उदाहरण पनि छन् । कोरोना लगायत विभिन्न कारणले यो पटकको अवस्था भने त्यस्तो रहेन । त्यसैले कतिपय कलाकारले यो पटकको ‘गाईजात्रे’ कोसेली निरन्तरताका लागिमात्र ल्याए भने कतिपयले सहकर्मीलाई सहयोग पुग्ने हिसाबले बनाएको बताउँदै आएका छन् ।

करिब एक महिना अगाडि ‘आई लप यु केपी बा’ नाम ‘गाईजात्रे’ झटारो सार्वजनिक गरेका कलाकार कमल गाउँले आफ्नो कोसेली निरन्तरताका लागिमात्र भएको बताउँछन् ।

‘विगत २१ वर्षदेखि मैले गाईजात्रामा नियमित केही न केही ल्याउने गरेको छु,’ गाउँलेले भने ‘नियमित गरिरहेको कार्य किन छोड्नु भनेर यो पटक पनि ल्याएको हो ।’ गत वर्ष झैं यो पटक पनि आम्दानी राम्रो नहुने आफुले देखेको कमलले सुनाए ।

कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ सहकर्मी कलाकारलाई सहयोग गर्ने उद्देश्य र विगतको निरन्तरताका लागि यो पटक गाईजात्रे प्रस्तुति ‘बकम्फुसाय नमः’ ल्याएको बताउँछन् । गाईजात्रे कोसेलीमा यो आफ्नो २० औं सिर्जना रहेको उनले सुनाए ।

‘गाईजात्रामा ब्याङ्ग्य प्रस्तुति ल्याउनु कलाकारको धर्म पनि हो,’ रिजालले भने, ‘कलाकारको रोजीरोटीसँग पनि यसको सम्बन्ध जोडिएको छ ।’ सहकर्मी कलाकारलाई आर्थिक सहयोग मिलोस् भन्ने हिसाबले पनि गाईजात्रे कोसेलीलाई यो वर्ष निरन्तरता दिएको उनको भनाइ छ ।

हास्य कलाकारका लागि गाईजात्रा एउटा महान उत्सव भएकोले पनि आफुले गाईजात्रे झटारो ‘खै के खै के’ ल्याएको कलाकार गोेपाल तिमल्सिना बताउँछन् ।

सर्वसाधारणलाई सुसूचित गर्न, राजनीतिक लगायत समाजको हरेक पक्षको कमी कमजोरी औंल्याएर सचेत गर्न आफुले गाईजात्रे प्रस्तुति ‘छताछुल्ल’ निर्माण गरेको कलाकार उत्तम केसीले बताए ।

कलाकार मनोज गजुरेल पनि धर्म, कर्म, संस्कृति र परम्परा भन्दै जाईजात्रे प्रस्तुति ल्याएको बताउँछन् । धेरै कलाकारलाई आर्थिक रुपमा समेत मद्दत मिल्ने भएकोले यो वर्ष पनि गाईजात्रे प्रस्तुतिमा जोडिएको उनको भनाइ छ ।
‘धेरै समय कलाकार कामबिहीन भएर बसेका छन् । यस्तो अवस्थामा उनीहरुलाई यस्ता प्रस्तुतिले केही राहत पनि मिल्छ,’ गजुरेलले भने ‘हाँसो र ठट्टाबाट पब्लिकले पनि केही हदसम्म आनन्द महसुस गर्दछन् ।’

गजुरेलको गाईजात्रे प्रस्तुति कस्तो ?

हरेक वर्ष विभिन्न कलाकारले आ–आफ्नो हिसाबले गाईजात्रे प्रस्तुति ल्याउने गरेका छन् । ती कलाकारमध्ये गजुरेलको प्रस्तुति दर्शकले विशेष रुपमा लिने गर्दछन् । हरेक वर्ष फरक प्रस्तुति र गेटअप गर्ने गजुरेलको यो शैली सबैको प्रिय बन्दै आएको छ । यो पटक पनि गजुरेल साथीहरुका साथ भर्चुअल मञ्चमा जोडिएका छन् । उनी एपीवान टिभी र गजुरियल युट्युब च्यानलमार्फत आफ्नो प्रस्तुति लिएर आएका छन् । भदौ १ गतेदेखि चलेको उनको यो प्रस्तुति ७ गतेसम्म जारी रहनेछ ।

गजुरेलको गाईजात्राको टिममा यसपटक करिव ३ दर्जन कलाकार जोडिएका छन् । चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, शैलेन्द्र सिंखडा, सुवोध गौतम, सुमन कार्की, राजा राजेन्द्र, हिमेश पन्त, सजन श्रेष्ठ, पशुपति शर्मा, किरण केसीलगायत धेरै कलाकार यसमा जोडिएका छन् ।

नरेन्द्र मोदी, लालबाबु पण्डित, डोनाल्ड ट्रम्प, केपी शर्मा ओली लगायतको गेटअपमा देखिइसकेका गजुरेल यसपटक रसियन राष्ट्रपति भ्लादिमिर पुटिन, शेरबहादुर देउवा, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, ‘माइका लाल’ मन्त्री कृष्ण गोपालसम्मको गेटअपमा देखिँदैछन् । त्यसको अलवा सुबोध गौतम, राजा राजेन्द्र, सुमन कार्की लगायतका कलाकारको राजनीतिक, सामाजिकलगायतका विषयमा  घोचपेच पनि समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप