शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अग्नि सापकोटालाई केपी ओलीको चेतावनी : सभामुख हुनु छ कि छैन ?

‘एमालेलाई कमजोर बनाउने जिम्मेवारी माधवजीले राम्रोसँग पुरा गरिराख्नुभएको छ’
शुक्रबार, ०४ भदौ २०७८, १३ : ३२
शुक्रबार, ०४ भदौ २०७८

सरकारले मंगलबार राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि बुधवार निर्वाचन आयोगमा निवेदन दिएको छ । योसँगै नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको छ । नेकपा एमालेबाट छुट्टिएर नेपाल पक्षले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । नेकपा एमालेले भने सरकारले ल्याएको विधेयकको विरोध गरिरहेको छ । यही सेरोफेरोमा न्युज एजेन्सी नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेको कुराकानीको सम्पादित अंश :

नेकपा एमाले विभाजित भएको छ । तपाईंमाथि विभाजन रोक्न चाहनुभएन भन्ने आरोप छ भने अर्कोतिर हावाले बढार्ने कसिङ्गर आफै उडेर गयो भन्ने पनि छ । के भन्नुहुन्छ ?

नेकपा एमाले विभाजित भएको होइन, यो टुक्रिएको मात्र हो । विभाजित हुनु र टुक्रो, चोइटो अलिकति उछिट्टिनु अलग कुरा हो । केही मानिसहरू मानिसहरू पार्टीबाट अलग भएका हुन् । ५१ वर्षअगाडि जति बेला कम्युनिस्ट पार्टी स–साना टुक्रामा विभाजित थिए, त्यति बेला मेलै एउटा नयाँ आन्दोलन र एकीकरण अभियान सुरु गर्ने काम गरेको थिएँ । त्यही आन्दोलनबाट अगाडि बढेर २०३१ सालमा एउटा एकताको आह्वान गरिएको थियो । त्यसै आह्वान अन्तर्गत ३२ सालमा कोर्डिनेशन केन्द्र बन्यो । त्यसपछि विभिन्न समूहहरु त्यसमा समाहित हुँदै गए । अनेक समूहहरु समाहित भएर २०३५ सालमा नेकपा माले बन्यो । त्यसपछि पनि पार्टी बिस्तार, एकीकरण र एकताका प्रयासहरू खास गरी मेरो नेतृत्वमा अन्तिम रूपमा सफल भएको थियो । नेकपा एमाले र माओवादी केन्द्रलाई पनि मेरै नेतृत्वमा मिलाएर एउटै कम्युनिस्ट पार्टी बनाएको हो । आमरुपमा एउटै पार्टीको दुई तिहाइको स्थिति पनि निर्माण गरिएको थियो । त्यो पृष्ठभूमिबाट, ती प्रयासका साथ पार्टी एकता गरेर एकीकरणको अभियान सञ्चालन गरेर आएको मजस्तो मान्छेले पार्टी निर्माण गर्न, बचाउन कोसिस गरिनँ भन्ने कुरा पूर्वाग्रही र गलत हो । मैले त्यसमा धेरै केही भनिरहनु पर्ने आवश्यकता छ जस्तो लाग्दैन ।

यसबीचमा पनि अकारण पार्टी फुटाइयो । के कारण थियो र पार्टी फुटाउनु ? पार्टीभित्र बिनासित्ती नचाहिँदो ढङ्गले अन्तर विग्रह सुरु गरियो, अस्थिरता सुरु गरियो, पार्टी प्रतिको विश्वास कम गराउनको लागि अनेक कुप्रचार पार्टी भित्रबाटै गरियो । त्यस्तो हुँदा पनि सहेर एकताका प्रयास गरेकै हुँ । प्रदेश–प्रदेशमा पार्टीभित्र अन्तर्घात गरिएको छ । यहाँ पनि विश्वासको मत माग्दा आफ्नो सरकार ढाल्नका लागि बहिष्कार गरेर बाहिर गएर सरकार ढाल्ने कोसिस भएको छ । संसद् जोगाऔँ भन्दा जोगाउनलाई विश्वासको मत नदिने र विघटन तिर जाओस् भनेर त्यस्ता प्रयास भए । नेकपा एमालेलाई कमजोर पार्ने र देशमा अस्थिरता कायम गर्ने प्रयास अन्तर्गत सबै गुटहरू चलेका छन् । हुँदा हुँदा राष्ट्रपति कहाँ हस्ताक्षर लिएर गएका छन्, एमालेको सरकार हुनु भनेको प्रतिगमन हो, त्यसलाई ढाल्नुपर्छ । काँग्रेसको नेतृत्वमा उद्देश्यहीन, विचारहीनहरूको एउटा गन्तव्यहीन सरकार बनाउनुपर्छ र अस्थिरता कायम गर्नुपर्छ । मुद्दा हाल्न लगाएर एमालेको सरकार गिराइ पाउँ, परमादेश गरेर सोझै नेपाली काँग्रेसका नेतालाई सरकार अदालतबाटै घोषणा गरिपाऊँ भन्ने असंवैधानिक माग लिएर गएका छन् । ती सबै व्यवहारहरु गरिसक्दा पनि त्यसमाथि पनि कार्यदल बनाएर, आफैले फोन गरेर, भेटेर, कुराकानी गरेर एकताको प्रयास गरेको छु । त्यसमाथि मैले नै प्रयास गरिन भन्ने ? मैले कोही पनि मानिस नबिग्रियोस् भन्ने चाहन्छु । कसैले पनि बाटो नबिराओस् भन्ने चाहन्छु । कोही पनि व्यक्ति निष्ठाच्यूत नहोस् भन्ने चाहन्छु, मान्छेहरू आदर्शवान् होउन्, निष्ठावान् होउन्, मैले सत्यको मार्ग अवलम्बन गर्नुपर्छ भनेर मेरा लागि मात्रै भनेको होइन । म त गर्छु नै । अरूले पनि सत्यको मार्ग अवलम्बन गर्नुपर्छ, निष्ठाको मार्ग अवलम्बन गर्नुपर्छ भनेर मैले भनेको हो । म कसैलाई पथ भ्रष्ट होस् भनेर किन चिताउँछु, किन चाहन्छु ? त्यसकारण यी म माथिका अनुचित आरोपहरू हो ।

तर तपाईंमाथि अलि धेरै नै दम्भ देखियो भन्ने कुरा माधवकुमार नेपालले भन्नुभएको नि ?

– माधव नेपाललाई त अर्गल्याईं गर्नुछ, अर्गल्याईं गर्नेले निहुँ खोज्छ । यस्तो हो, उस्तो हो अनेक कुरा भन्छ । मैले दम्भ देखाएको कतै देख्नुभएको छ, मैले त निष्ठाको कुरा गरेको छु, मैले आफ्नो स्वार्थका लागि कुनै देशलाई घात गर्ने काम, पार्टीलाई घात गर्ने काम देख्नुभएको छ ? कहिल्यै मैले विपक्षीसँग मिलेर पार्टीकाविरुद्ध घात गरेको देख्नुभएको छ ? माधव नेपालले त विपक्षीसँग मिलेर पार्टीविरुद्ध घात गरेको देख्न त कसैले चस्मा लगाउन पर्दैन नि । अब मैले थप जवाफ दिइराख्नु पर्ला र ?

यति हुँदा हुँदै पनि सबैतिरबाट अपजसको भागी त अध्यक्ष बन्नुभएको छ ?

–राजनीतिमा पक्ष विपक्ष हुन्छ । कस्तोसम्म पक्ष विपक्ष हुँदो रहेछ भने महात्मा गान्धीलाई गोली हाने ।  शुकरातलाई त विष ख्वाएर मारे । मार्टिन लुथर किङलाई के हालत गरेका थिए ? तसर्थ विपक्षीले हदैसम्मको उपद्रो गर्न सक्छ । आरोप लाञ्छना लगाउन सक्छ । झूटा लाञ्छना लगाउन सक्छ । यदि भीमसेनले नै पनि गदा युद्धमा सजिलैसँग दुर्योधनलाई जित्थे भने कृष्णले इसारा गरेर यहाँ हान् त्यहाँ हान् भनिरहनु पर्ने थिएन होला । अनफेयर गेम त्यसले खेल्छ जो, कमजोर छ । जो यसै जित्छ उसले अनफेयर खेल्न पर्दैन । हार्न पछि सक्छ, तर अनफेयर खेल्दैन । तर, फेयर, स्वस्थ र निष्ठापूर्वक खेलिएका कुराले अन्तत्वगत्वा जित्छ नै ।

माधव नेपाललाई कसैले हान्न सिकायो त, माओवादी वा काँग्रेसले हो ?

–मैले कृष्णको कुरा गरेको द्वापर युगको महाभारतको प्रसङ्गमा मात्रै हो । यहाँका अस्वस्थ व्यवहार गतिविधि गर्नेहरूको कपट जालझेल र असत्य मार्ग, असत्य प्रचार ती प्रसङ्गको सन्दर्भमा मैले त्यो कुरा भनेको होइन । मलाई अहङ्कारी भन्छन् नि भन्नुभयो । मैले माधव नेपाललाई भेटौँ न भन्दा भेट्दिनँ भने । अहिलेसम्म माधव नेपालले कम्तीमा २ वर्ष भयो होला फोन गर्नुभएको छैन । मैले लगातार फोन गरिरहेको छु, कुरा गरिरहेको छु, म प्रधानमन्त्री कहाँ आएर भेट्दिन, यहाँ भेट्दिन भन्दा म आफैँ भनेको ठाउँमा गएको छु । तैपनि मलाई के लाग्छ भने माधव नेपाल एक्लो होइनन् । एउटा दक्षिण ध्रुवको छ, अर्को उत्तर ध्रुवको छ, एउटा चुम्बकका दुई वटा पोल एक ठाउँ आउँदै आउँदैन । तर यहाँ चुम्बकका दुई वटा पोललाई एकै ठाउँमा ल्याइएको छ कसरी ? त्यो भन्दा बढी बलवान शक्ति भयो भने त्यसलाई त्यहाँ राख्छ । बलका अगाडि बन्धनको केही लाग्दैन । एमालेमा रहन नसक्ने गरी चुँडाउने गरी तागत लागेपछि माधव नेपालको केही लाग्दैन । केही लागेन होला । त्यो हुनसक्छ ।

पार्टीको अन्तर कलहले नै प्रतिपक्षी बन्नुपरेको हो ?

–अन्तरकलह पनि होइन यो । कलह दुई पक्षको हुन्छ । यहाँ एक पक्ष माधव नेपाल पक्षको निहुँ खोजाइ मात्रै हो । हामी पार्टी बनाउने पक्षमा छौँ, किनभने देश बनाउनु छ । देश बनाउनका लागि राम्रा नीतिहरू, राम्रो व्यवहार, राम्रो अभ्यासका साथ अगाडि बढ्नु छ । हामी त्यसमा लाग्ने हो । त्यसमा लागेका छौँ । हामीले कतै अन्तर्घात, बेइमानी गरेका छैनौ । तपाईँहरूले के भन्न सक्नुहुन्छ भने बोली कडा भयो । अब कसैले पार्टीविरुद्ध प्रहार गर्‍यो भने, नराम्रो भन्यो भने नराम्रो त भन्नुपर्‍यो । अहिले नेपाली काँग्रेसको नेतृत्वमा सरकार छ तर प्रचण्ड पथमा हिँडिरहेको छ । विचित्रको स्थिति छ । यो स्थिति राम्रो भएन, यो जनविरोधी क्रियाकलाप भयो नगर्नुस् । यो देशका विरुद्ध भयो । देशको समय बर्बाद गर्नु देशको हितको पक्षमा होइन, विपक्षमा भयो । यो चर्को बोलेको होइन, यो यथार्थ हो ।

राष्ट्रिय राजनीतिमा सन्तुलन बिग्रिएको छ, यसको असर राष्ट्रिय राजनीतिमा त छँदै छ, अब प्रदेशमा र आगामी स्थानीय निर्वाचनमा पनि देखिन्छ, क्रमशः नेकपा एमालेको संस्थापन पक्षको शक्ति क्षयीकरण हुनसक्छ ?

– राजनीतिमा कुनै पनि कुरा पूर्व निर्धारित हुँदैन । कसले कस्तो काम कसरी गर्छ भन्ने कुरा हो । नेपाली काँग्रेस २०१५ सालमा दुई तिहाइ ल्याएको पार्टी हो । ०४८ मा बहुमत र ०५६ मा पनि बहुमत ल्याएको पार्टी हो । अहिलेको प्रणाली बहुतै अप्ठ्यारो प्रणाली रहेछ । समानुपातिकले गर्दा स्थिरता गाह्रो छ । साह्रै ठूलो वेभ सिर्जना भयो भने कहिलेकाहीँ कुनै पार्टीको बहुमत आउँला । तरिका मिलाइयो भने नेकपा एमालेको हिजो तीन वर्षसम्म बहुमतको सरकार रह्यो । त्यो तरिकाले मात्रै बन्या हो । नत्र साधरणतया भन्ने हो भने बहुमत आउँदैन । यहाँ अस्थिरतावाला प्रणाली थुपारियो, संविधान जसरी पनि बनाउनु पर्ने स्थितिमा कम्परमाइज गर्नुपर्‍यो, सम्झौता गर्नुपर्‍यो ।

अब विरोधीहरू जो निकम्मा छन् । जोसँग विचार छैन, जो कामले अगाडि जान सक्दैन, उसले अनुचित, अनर्गल, झूटा प्रचार गर्छन् नै । बदनाम, बेइज्जत गर्न खोज्छन् नै । त्यो कुप्रचारको भरमा उनीहरू कामहरूलाई ओझेलमा पार्ने, राम्रा पक्षहरूलाई ओझेलमा पार्ने र आफ्नो निकम्मापनलाई ढाकछोप गर्ने काम गर्छन् । अहिलेसम्म त्यही भएको छ ।  अहिले पनि नेकपा एमालेका विरोधीहरू एमालेको कमजोरी के हो त्यो देखाउन सक्दैनन्, झुटा कमजोरीको चर्चा गर्छन् । अर्को उनीहरूसँग आफ्ना कुरा भन्ने कुरै केही छैन । यो, त्यो गर्छु भन्ने कुरै केही छैन । उनीहरूसँग भिजन छैन । उनीहरू यो हो हाम्रो गन्तव्य भन्न सक्दैनन् । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय आकाङ्क्षा हो, हाम्रो गन्तव्य हो भन्ने मैले भने । त्यति पनि भन्न उनीहरू सक्दैनन्, किनभने उनीहरूको चित्त यत्ति साँघुरो छ, यसबारेमा बोल्ने हिम्मत छैन । राष्ट्रिय आकाङ्क्षाका बारेमा के नेपाल समृद्ध बनाउने हाम्रो आकाङ्क्षा होइन र ? के सम्पूर्ण नेपाली जनतालाई सुखी बनाउने हाम्रो आकाङ्क्षा होइन र ? यो भन्दा माथिको आकाङ्क्षा केही हुन्छ र ? राष्ट्रिय हिसाबमा भन्ने हो भने । उनीहरू समृद्ध नेपाल, सुखी नेपाली भन्ने कुरा किन भन्न सक्दैनन् ?

यसपल्ट नेकपा एमालेको सरकारलाई ढालियो । त्योभन्दा पहिले एमालेमा विभाजन ल्याइयो । एमालेलाई अल्पमतमा पारियो । त्यसपछि जसपाले समर्थन गरेको थियो, त्यसले बहुमत हुन्थ्यो । त्यसभित्र पनि सङ्कट खडा गरियो । नेकपा एमाले नेकपाबाट माओवादी केन्द्र र एमाले छुट्टाइसकेपछि एमालेभित्रै भयानक सङ्कट खडा गराइयो । त्यो सङ्कट खडा गराएर एमालेलाई सरकारबाट हटाउने तारतम्य मिलाइयो । त्यसमा विल्कुल विचारहीन, राजनीतिहीन, उद्देश्यहीन, स्वार्थहरूको गठ जोड गरेर एउटा तथाकथित गठबन्धन बनाइयो । के उद्देश्यको गठबन्धन हो त ? त्यो न्यूनतम साझा कार्यक्रम भन्ने हेर्नुभयो होला । केही छ त्यसमा ? कहाँ पुग्ने, कुन बाटो हिँड्ने कसो गर्ने ? छलछाम मात्र छ । त्यसमा जालझेल मात्र छ ।

अब झट्ट हेर्दा एमाले सरकारबाट त हट्यो भने यो कमजोर हुँदै जाने हो कि भन्ने लाग्ला । कमजोर हुँदै जाने पनि एउटा सिलसिला हुन्छ । मैले अक्सर भन्ने गर्छु नि, हात्ती दुब्लायो भने त्यसको तौल घट्ने र दुब्लाउने पनि हद हुन्छ । जत्ति घटे पनि हात्तीको तौल हात्तीको तौल हो । बाख्राको तौल बाख्राकै तौल हुन्छ ।

प्रदेशमा पनि पहिले नै असर परिसकेको छ । बाँकी दुई वटामा असर पर्‍यो भने पनि केही छैन । अहिले नेकपा एमाले दुई वटै प्रदेशमा एक्लै मेजोरिटीमा छ । अब कहीँ पनि एमालेको मेजोरिटी नहोस् र खत्तम पारौँ भन्ने माधव नेपालको प्रयास हुनेछ । यो आजदेखिको कुरा हो र ? नेकपा एमालेलाई कमजोर पारेर २४० मध्ये ३३ सीटमा झारेर । प्रत्यक्ष निर्वाचनमा २४० सीटमध्ये ३३ सीटमा एमालेलाई झारेर अब एमालेलाई सिद्ध्याइयो भनेर राजीनामा गरेको होइन माधव नेपालले ? एमाले कमजोर पार्ने कर्तव्य पदमा रहेर वा नरहेर उहाँले त पूरा गर्नुभएको छ । उहाँले एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्नुभयो । उहाँलाई कसैले माइनोरिटीमा पारेको थिएन । नेपाली काँग्रेसले पनि सपोर्ट गरिरहेको थियो । हामी सबै पार्टी भित्रबाट सपोर्ट गरिरहेका थियौँ । उहाँले अचानक बालुवाटारमा हामी कसैलाई थाहा नदिइ राजीनामा दिनुभयो । किनभने सरकार अलोकप्रिय भइसकेको थियो । यति भएपछि उठ्न सक्दैन, काम पुग्यो भनेर राजीनामा गरेको हो ।

त्यति बेला पनि उहाँले आफ्नो कर्तव्य टुप्पामा बसेर पूरा गर्नुभएको थियो । पार्टीको टुप्पामा बसेर पार्टीलाई धराशायी बनाएर पूरा गरेर राजीनामा गर्नुभयो । सरकारको टुप्पामा बसेर एमालेको सरकार सञ्चालन गर्ने कुनै क्षमता रहेनछ भन्ने कुरा प्रमाणित गराएर अब एमाले उठ्दैन है यति भएपछि भनेर उहाँले प्रधानमन्त्रीबाट राजीनामा गर्नुभयो । अहिले सरकारमा नसहँदा अन्तर विग्रह, अन्तर्घात र विपक्षीसँग भित्रभित्र मिलेर विपक्षीलाई एकजुट पार्ने भूमिका खेलेर सिद्ध्याउने कुरा गर्नुभयो । यो च्याप्टर त क्लोज भयो नि अब । अब यसै कारणले नेकपा एमाले कमजोर हुँदैन ।

प्रादेशिक राजनीति र राष्ट्रिय राजनीतिको छाया र सरकार अर्काको हुँदा त्यसको असर स्थानीय निर्वाचनमा पर्छ कि पर्दैन ?

–नेकपा एमालेको तागत घटेको होइन, त्यसभित्र अन्तर्घात भएको हो । अन्तर्घात भन्ने कुरा सधैँ हुँदैन । केही मान्छेले अन्तर्घात गर्दा अलिकति धक्का पर्छ । त्यो अपूरणीय क्षति होइन । त्यो टाल्दा भइहाल्ने कुरा हो । त्यो ब्रह्माण्डै ध्वस्त हुने कुरा होइन ।  नेकपा एमाले अहिले पनि प्रमुख पार्टी हो नि देशको । दोस्रोको स्थिति के छ भन्दा ६१ सीट प्रतिनिधि सभामा, एमालेसँग १ सयभन्दा बढी छ । त्यही भएर नेकपा एमालेसँग अर्को तुलना त हुँदैन । हुने स्थिति छैन । माओवादी र काँग्रेसले स्थानीय तहका निर्वाचनहरूमा मिलेर चुनाव लड्दा नेकपा एमाले प्रमुख हैसियतमा आएको होइन र पहिला पनि ? अहिले  त नेकपा एमालेले यसबीचमा धेरै काम गरेको छ नि । एमालेले के गर्‍यो भनेर कसैले सोध्यो भने तपाई जहाँ हुनुहुन्छ, जहाँ उभिनुहुन्छ, त्यही ठाउँबाट दायाँ हेरेर बायाँ हेरेर यो त एमालेकै सरकारमा गरेको काम हो भनेर भन्दिन सक्नुहुन्छ । काठमाडौँको सडक, काठमाडौँमा पानी । अहिले बाढीले मेलम्ची बिग्रिएको होला । एमालेले त ल्याएको हो नि । बाढीपछि पनि हामी जनवरीसम्ममा त्यसलाई ठिक गरेर ल्याउँछौँ भन्दै थियौँ । वहाँहरूले वैशाख–जेठ पुर्‍याइसक्नुभयो । उहाँहरूसँग त्यो कार्यक्षमता छैन किनभने यति समय त उहाँहरूको कुरा गर्दा गर्दै बितिसक्यो, बिरोधीहरुको आलोचना, र धम्क्याउँदै बितिसक्यो । डेढ महिना त गइगयो नि । अब अरू समय पनि त्यसै गरी जान्छ । उहाँहरूले त्यसरी काम गर्न त सक्नुहुन्न नि । मैले त खुट्टा तान्दै गर्दा पनि जुत्ता तान्दै गर्दा पनि काम त अगाडि बढाएको बढाइ गरेको थिएँ । नेपाली काँग्रेस अहिले कुनै शक्ति आर्जन गरेर सरकारको नेतृत्वमा पुगेको हो र ? शक्ति आर्जन त होइन नि । संसदीय गणित । यो त ०७४ को निर्वाचनले निर्माण गरेको गणित हो । आउँदो निर्वाचन त आउनै बाँकी छ । भोट ल्याउने गरी काम, नेपाली जनताको मन जित्ने गरी र नेपाली जनताबाट विश्वास आर्जन गर्ने गरी तिमीले शासन गर योग्य रहेछौँ भनेर जनादेश पाउने गरी काम , कसैले त्यस्तो विचार अघि सारेको छ ? त्यस्तो काम गरेको छ ? देख्नुभएको छ कहीँ । त्यो छैन भने मैदानमा त एकल एमाले छ त । अरू त खुट्टा तान्ने हुन् । एमालेको विरोध आलोचना गर्ने हुन् । यो बाटो बनाउँछु भन्ने क्षमता अरूसँग छैन, एमालेसँग छ । यो पहाडमा सुरुङ खनेर पानी निकालिदिन्छु भन्ने क्षमता अरूसँग छैन, एमालेसँग मात्रै छ । यो नदी थुनिदिन्छु, डाइभर्सन गरेर तराई सिँचाइ गरिदिन्छु भन्ने क्षमता अरूसँग छैन नि त, त्यो क्षमता त एमालेसँग मात्रै छ । त्यो तपाईँले सुनकोसी मरिन डाइभर्सन मा देख्नुभएको छ । सुनकोसी, कमला डाइभर्सन को योजना हामीले अगाडि सारेका छौँ, त्यहाँ देख्नुभएको छ ।

त्यसो भए त शेरबहादुर देउवालाई धन्यवाद दिनुपर्छ तपाईंले, पिलो निचोरेर फालिदिनुभयो, अध्यादेश ल्याएर भए पनि हैन ?

–त्यो होला, नहोला । तर जसो भए पनि उहाँले संवैधानिक काम गर्नुभएन । एउटा आज राति १२ बजे अधिवेशन अन्त्य गरिन्छ बलजफती, छापामार शैलीमा, अचानक । भोलि बिहान १० नबज्दै अध्यादेशको सिफारिस हुन्छ, षड्यन्त्रपूर्ण ढंगले । प्रतिपक्ष माथि निशाना गरेर गलत बदनियतका साथ कुनै कानुन त्यसरी ल्याइन्छ ? ल्याइन्थ्यो भने पनि संसद् चलिरहेको थियो संसद्मा ल्याउनुपर्थ्यो । अध्यादेशको ब्यहोरा पहिले नै ल्याइसकेको थियो । संसद्मा पेस गर्नुपर्छ कि पर्दैन । प्रस्ट बदनियत देखिन्छ । राजनीतिका नाममा कुटिलताबाट विपक्षलाई समाप्त पार्ने । कमजोर पार्ने । अस्ति भर्खर सर्वोच्च अदालतले अत्यावश्यक, अत्यन्त जरुरी नपरिकन, अध्यादेश नल्याउनु भनेर यहाँ माधव नेपाललाई अति जरुरी पर्‍यो भनेर कानुन ल्याइने होइन । देशका लागि जनताका र राष्ट्रका हितहरू त्यसमा जोडिएको हुनुपर्छ । यो अध्यादेशसँग राष्ट्रका हित कहाँ जोडिएको छ ? तत्काल देशका लागि गर्नैपर्ने के पर्‍यो यो अध्यादेशसँग त्यस्तो के छ ?

प्रश्न के हो भने मेरो घरमा झगडा हुनसक्छ । त्यसो भनेर मैले देशको कानुन नै फेर्दे भन्ने ? मेरो घरमा झगडा पर्‍यो त्यसकारण संसद् अन्त्य गरिदेऊ र अर्को चिज गरिदेऊ भन्ने ? अनि त्यो कुरा सरकारले मान्ने ? सरकार बिस्तार गर्न पाएन के भन्या त्यो ? मान्छेको पद जान्छ भनेर मन्त्री हुन पाएन ? मन्त्री हुने बित्तिकै पार्टीले निकाल्छ । मन्त्री पनि खाने, सांसद पनि रहने, पार्टीबाट पनि निष्कासित नहुने यस्तोलाई के शब्द बोल्ने ? निर्लज्जताको, पदलोलुपताको, आशक्तिको, बेइमानीको यो भन्दा तल्लो स्तर के हुन्छ ? अदालतको फैसला विपरित अदालतको अवहेलना गर्दै तत्काल नगरिनहुने कुनै काम थिएन । नेकपा एमालेका विरुद्ध प्रहार गर्नका लागि वदनियतपूर्ण ढंगले आकस्मिक रूपमा अधिवेशनमा षड्यन्त्रपूर्ण ढंगले अन्त्य गरेर तत्काल अध्यादेश ल्याउने काम भयो ।

यो एमालेका विरुद्धको अलोकतान्त्रिक, अमर्यादित, षड्यन्त्रपूर्ण र अनैतिक काम हो । अर्को पार्टी फुटाउनका लागि यस्ता खालका क्रियाकलाप गर्ने अनैतिक काम हो यो । अलि अगाडिसम्म उहाँहरू अध्यादेशबाट देश चलाउन पाइँदैन भन्नुहुन्थ्यो, त्यो काम नेपाली काँग्रेसको नेतृत्वमा भयो । अध्यादेशले शासन चलाउन पाइन्छ ? संसद छल्न पाइन्छ ? मेरो पालामा संसद् छलेको होइन, संसद् अन्त्य भएको हो । संसद् अन्त्य भएपछि गर्नुपर्ने काम आउँदा गरिएको थियो । मैले पहिले ४० प्रतिशत नै राखेको थिएँ । स्थिरताको पक्षलाई ध्यानमा राखेको थिएँ । तर पार्टीहरूले केन्द्रीय सदस्य थप्दै जाने कसैका ७ हजार केन्द्रीय सदस्य तपाईं हामीले सुन्यौँ होला । कसैले १५ सय केन्द्रीय सदस्य पुर्‍याएको सुन्यौँ होला, केन्द्रीय सदस्यको ४० प्रतिशत भनेर त्यो प्रावधान पनि र उता सांसदको पनि राख्ने हो भने त बँधुवा मजदुर जस्तो हुने भयो । त्यसकारण पार्टी वा संसद् भनेर राखिएको थियो, त्यत्ति हो गरेको । अहिले झैँ कलुषित मनसायका साथ त्यति बेला त जारी गरिएको थिएन । तर त्यति बेला धूमधाम विरोध भयो । पुष्पकमल दाहालजीबाट विरोध भयो ।  माधवकुमार नेपाल, शेरबहादुर देउवा अनेकबाट विरोध भयो त्यति बेला । मध्यरातमा अन्त्य गरेर भोलिपल्ट बिहानै अध्यादेश जारी गरिएको थिएन । तर पनि उहाँहरू छतमा टाउको ठोक्किने गरी उफ्रिनुभयो । अहिले मलाई ताजुब लाग्छ, फेरि केही मिडिया, केही नागरिक समाजका अगुवा, केही बुद्धिजीवी जो त्यति बेला एकदमै उफ्रिए, अहिले ध्यानमग्न । इमान अर्काका लागि होइन, इमान त आफ्ना लागि कायम गर्नुपर्ने हो नि । मेरो आग्रह के हो भने हरेकले आफ्नो इमान कायम राखौँ न ।

पार्टीभित्रै असन्तुष्ट तर माधव नेपाललाई नि छोडेका व्यक्तिहरू अहिले पार्टी भित्रै हुनुहुन्छ कि पार्टी बाहिर हुनुहुन्छ, कसरी मिलाउनुहुन्छ ?

माधव नेपालले जति अलमल्याउनुभयो, भ्रममा पार्नुभयो, ती मान्छे उहाँसँग लागे होला । हिजो त्यहाँ लगेर उहाँले पेस गरेका नामहरू, देखाएका हस्ताक्षरहरू ती सही होइनन् भन्ने वक्तव्य विभिन्न व्यक्तिले दिएको सुनिहाल्नुभयो । ती साथीहरू मसँग सम्पर्कमा नि हुनुहुन्न । उहाँले पेस गरेका मान्छे पनि उहाँसँग रहेनछन् । केही मान्छे जानुभयो, केही नगएका मान्छेको नाम राखियो । जो उहाँसँग गएनन् पार्टीमै छन् । त्यो त स्वतः स्पष्ट भयो । कहाँ अन्तरिक्षमा गए त ? जो अर्कोतिर लागेनन्, पार्टी छोडेनन्, ती पार्टीमै छन् । पार्टीका नेता, कार्यकर्ता जो जहाँ थिए त्यहीँ छन् । मेरो के भूमिका हुन्छ, जे भूमिका थियो त्यहीँ हुन्छ । केही भूमिका फेरिन्छ पनि । जस्तो चिफ मिनिस्टरमा रहेका र नरहेका साथीहरूको भूमिका अलिकति फेरियो । डोरमणि जीले राजीनामा गर्नुभयो । अष्टलक्ष्मीजीले चिफ मिनिस्टरको पदभार सम्हाल्नुभयो । भूमिकामा केही परिवर्तन त्यसरी हुँदो रहेछ ।

यता, प्रधानमन्त्रीले गरेको सिफारिस गलत भए पनि अहिले राष्ट्रपतिले पास गरिदिनुभयो । तर मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्रीले सिफारिस गरेपछि राष्ट्रपतिले जारी गर्नुभयो । अहिले किन आलोचना गर्दैनन् गलत कुरालाई राष्ट्रपतिले गर्नुभयो भनेर ? अर्कोतिर सभामुखको काम पार्टीले कसैलाई निष्कासित गर्छ भने त्यो नोटिस जारी गरिदिने हो । पहिले टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत उहाँहरूलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल उहाँले सुनाउनु भएको थियो । सरिता गिरीलाई निकालिएको छ भन्ने बित्तिकै तत्काल उहाँले सुनाउनुभएको थियो उहाँको चाहनामा । अहिले तीन दिनदेखि उहाँ के पर्खिएर बस्नुभएको छ ? नेकपा एमालेले हटाएका मान्छेहरू नेकपा एमालेले हटाएको छ भन्ने सूचना किन टाँस्नुहुन्न ? सभामुखको कर्तव्य त्यही हो ? परम्परा के छ भन्दा सभामुखले २४ घण्टाभित्र सूचना टाँसिसकेको छ पहिला पहिला । यतिबेला सूचना टाँस नगर्ने कागजपत्र झिकाउँछु, हेर्छु भन्ने ? सभामुख न्यायाधीश होइन, सभामुखले छानबिन फैसला गर्ने होइन । कुनै पार्टीले कसैलाई निकाल्छ कि निकाल्दैन, उचित छ कि छैन भनेर हेर्ने न्यायाधीश होइन सभामुख । मात्र निष्कासन गरेको सूचना टाँसिदिने हो । सदन छ भने सदनमा सुनाउने, सदन छैन भने सूचना पार्टीमा सूचना टाँस्ने सम्मको काम गर्ने हो । न्यायाधीश पल्टिने हो र ? माओवादी कार्यकर्ता भएर एमालेका विरुद्ध काम गर्ने हो ? एमाले फुटाउने षडयन्त्रमा सामेल हुने हो ? अग्नि सापकोटाजीलाई म सोध्न चाहन्छु, संसद् चलाउनु छ कि छैन उहाँलाई ? गैर कानुनी ढंगले, मनपर्दी ढंगले संसद् चल्न सक्दैन । उहाँलाई सभामुख हुनु छ कि छैन ? एउटा पार्टी कार्यकर्ताको भूमिकामा रहेर सभामुख हुन सकिँदैन, सभामुखको कुर्सीमा बसेपछि निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुपर्छ । होइन भने छोडिदिए हुन्छ । यो अटेरी, जिद्दी, गैर कानुनी, असंसदीय क्रियाकलाप उहाँले बारम्बार देखाउनुभएको छ । माओवादी कार्यकर्ताको रूपमा काम गर्नुभएको छ । त्यो काम गर्न पाइँदैन ।

पार्टीका कार्यकर्तालाई केही अपिल छ कि ?

मैले पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई कुनै भ्रम अन्योलमा नपर्न, अलमलमा नपर्न, कसैको पद वा अन्य कुनै कुराको प्रलोभनमा नपर्न र पार्टीप्रति निष्ठावान् भएर काम गर्ने हाम्रो परम्परा छ । आम नेता कार्यकर्ताहरू निष्ठावान् हुनुहुन्छ । तर भ्रममा पार्ने कोसिस हुनसक्छ । त्यसकारण कुनै भ्रममा नपरेर पार्टीप्रति निष्ठा, दृढताका साथ, पार्टीबिरोधी विचारलाई अस्वीकार गर्न र पार्टीको एकता, पार्टी विस्तारका काममा जुट्न आह्वान गर्छु । आगामी दिनमा हामीले विजय हासिल गदै जानु छ । नेपालमा राजनीतिक हिसाबले विजय गर्ने अर्को कुनै शक्ति छैन । त्यो विजय यात्राका लागि त्यस अभियानमा सबैलाई जुट्न म हार्दिक आग्रह गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप