शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘विभाजनको मुख्य जिम्मेवार ओली हुन्, १० बुँदे लागू नभए एमालेमा ठूलो विद्रोह हुन्छ’

१० बुँदे कार्यान्वयन नहुँदा एकता भएन, कार्यान्वयन गर्नुपर्ने कमरेड ओलीले हो :  घनश्याम भुसाल
शुक्रबार, ०४ भदौ २०७८, १७ : २३
शुक्रबार, ०४ भदौ २०७८

नेकपा एमालेभित्र माधव–झलनाथ समूहको पहिचान बनाएका स्थायी कमिटीका ९ जना नेताले अन्ततः तेस्रो धार जन्माएका छन् । नयाँ पार्टी दर्ता गर्ने बेलामा माधव नेपालको साथ छाडेर तेस्रो धार बनाउनेहरुमा घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

माधव समूहले जुन दिन निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दियो, सोही दिन बेलुका एमाले उपमहासचिव घनश्याम भुसाल केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

भुसालले कार्यदलबाट सिफारिस गरिएको १० बुँदे सहमति अक्षरशः पालना भएको अवस्थामा अहिले पनि एमालेको एकता बचाउन सकिने दाबी गरेका छन् । तर, यो १० बुँदे कार्यान्वयन गर्ने मुख्य जिम्मेवार अध्यक्ष केपी ओली नै भएको उनी बताउँछन् । १० बुँदे अरक्षरशः कार्यान्वयन नभए एमालेभित्र एकता पक्षधर नेता–कार्यकर्ताहरुले ठूलो विद्रोह गर्ने र दम्भीहरुलाई ठीक ठाउँमा ल्याउने भुसालको प्रक्षेपण छ ।

एमालेमा बैचारिक नेताको छवि बनाएका भुसाल भन्छन्, ‘नेकपा एमालेमा एकता पक्षधरता नै बढी छ । एमालेको मूल प्रवृत्ति भनेको एकता नै हो । यसले गर्दा म त क्षितिजमा कहीँ एकता पक्षधरहरुको ठूलो विद्रोहको सम्भावना देख्छु । यहाँभित्रका अहंकार, दम्भ... यी सबै कुराका विरुद्ध यदि हामीले चाँडो सोचेनौँ भने तिनीहरु (एकता पक्षधरहरु) ले ठीक ठाउँमा ल्याउँछन् ।’

आखिर, बालकोटमा केपी ओली र भुसालबीच के कुराकानी भयो ? एमालेमा विकसित पछिल्लो परिस्थितिलाई तेस्रो धारका नेताहरुले कसरी हेरिरहेका छन् ? यिनै विषयमा केन्द्रित रहेर रातोपाटीले एमाले नेता भुसालसँग अन्तरवार्ता गरेको छ । प्रस्तुत छ– एमालेका तेस्रोधारका नेता भुसालसँग गरिएको कुराकानीको सम्पादित अंश :

माधव नेपालले नयाँ पार्टी बनाउँदा त्यसमा सहभागी हुनुभएन, तपाईहरु अब केपी ओलीतिरै लाग्नुभएको हो ?

होइन । हामी १० बुँदेको तयारीमा सामूहिकरुपमा नै लाग्यौं । ओली र माधव कमरेड दुबैजना बसेर कार्यदल बनाउनुभयो । दिइएको कार्यादेशभित्रै हामीले १० बुँदे तयार गर्यौं । त्यो वहाँहरुसमेतको राय, सल्लाह र सुझावमा तयार गरिएको हो । पार्टीलाई हामीले कसरी एकतावद्ध पार्न सकिन्छ, विधि कहाँ बिग्रिएको छ, कहाँ भत्किएको छ, त्यो विधिको पुनस्र्थापना कसरी गर्न सकिन्छ, भन्ने हिसाबले हामीले १० बुँदे तयार गर्यौं । तर, त्यो १० बुँदेको कार्यान्वयन जसरी हुनुपथ्र्यो, त्यो कार्यान्वयन भएन ।

कमरेड केपी ओलीको स्थायी कमिटीको बैठक बस्दाखेरि हामीले त्यो बैठकमै गएर भन्यौं, अहिले यो बैठक रोक्नोस्, १० बुँदेअनुसार अगाडि बढौं । तर, उहाँले त्यसमा ध्यान दिनुभएन । गर्दै–गर्दै उहाँ निरन्तर अगाडि बढिरहनुभयो । यस अर्थमा १० बुँदे उहाँहरुले लागू गरिराख्नुभएको छैन, जसले अहिलेको परिस्थिति बन्यो । तर, अझै पनि हामी पार्टी एकताकै पक्षमा हो ।  त्यसैले १० बुँदेको इमान्दार कार्यान्वयन होस् भन्ने नै हो हाम्रो ।

१० बुँदे कार्यान्वयन भएन भन्नुभयो, यसमा बढी दोषीचाहिँ को हो ? केपी ओली कि माधव नेपाल ? विहीबार राति ९ जनाका तर्फबाट जारी गरिएको विज्ञप्तिमा पनि यहाँहरुले ‘नेताहरुले १० बुँदे सिफारिसलाई ग्रहण गर्न र लागू गर्न नसक्दा पार्टी जिभाजनको अवस्था आयो’ भन्नुभएको छ । ‘नेताहरु’ भन्नाले ओली–नेपाल दुबैजना दोषी देखाउन खोज्नुभएको हो ?

हाम्रो माधव–झलनाथ समूहमा भएका छलफल, लिखतहरुका आधारमा हामीले १० बुँदे गरेका हौं । आफैंले तोकेका आधारहरुमा १० बुँदे भएपछि त्यसमाथि हामी कसैले पनि प्रश्न उठाउनुहुँदैन । तर, यसको कार्यान्वयनको जिम्मा भने फेरि ओली कमरेडकै हो । यसले गर्दा १० बुँदे कार्यान्वयनको जिम्माचाहिँ उहाँले लिनुपर्छ । अरुको जिम्मेवारी भनेको त सहायक जिम्मेवारी हो ।

म अर्को अध्यक्ष बनाएर अगाडि जान तयार हुनुहोस् भन्न (बालकोट) गएको हुँ ।

तपाईले यसबीचमा बालकोटमा अध्यक्ष केपी ओलीलाई पनि भेट्नुभयो । १० बुँदे कार्यान्वयन हुनुपर्छ भन्दा उहाँको प्रतिक्रिया के थियो ?

उहाँले बीचमा बोल्नुभएको थियो, दुईजना अध्यक्ष बनाएर भए पनि हामीले हाम्रो समस्यालाई समाधान गरौं, यसमा म तयार छु भनेर ओली कमरेडले भन्नुभएको थियो । पछिचाहिँ त्यो च्याप्टर क्लोज भो भन्नुभयो । मैले उहाँलाई भनें, त्यो च्याप्टर ओपन थियो, क्लोज गर्नुभो, फेरि ओपन गर्नोस् । र, त्यो तहमा गएर भए पनि पार्टीलाई एकतावद्ध बनाऔं । दुईजना अध्यक्ष राखौं । माधव नेपाललाई अध्यक्ष बनाऔं, तपाई अध्यक्ष हुँदैहुनुहुन्छ । यसरी अगाडि बढौं भन्ने कुरा गर्न (बालकोट) गएको थिएँ । त्यहाँ १० बुँदेलाई कायान्वयन गरौं भन्ने कुरा भएको थियो ।

अध्यक्षले के भन्नुभयो त ?

म अर्को अध्यक्ष बनाएर अगाडि जान तयार हुनुहोस् भन्न (बालकोट) गएको हुँ । उहाँले भन्नुभयो, जेठ २ मा जाने र अर्को अध्यक्ष बनाउने भन्ने चाहिँ तार्किकरुपले पनि नमिल्ने कुरा छन् । त्यतिखेरचाहिँ ल माधवजी साँच्चिकै समस्या समाधान गर्न तयार हो भने दुईटै अध्यक्ष बनाउन म तयार छु भन्या हो, तर, उहाँ (माधव नेपाल) आफैं त्यतिखेर तयार नभएपछि मैले यो क्लोज भयो भनेको हो । अब पुरानै एजेण्डाहरुमा फर्की फर्की गएर हुँदैन । विधिसम्मतरुपमा म अगाडि बढ्न तयार छु ।

अध्यक्ष ओलीसँगको भेटमा तपाईले १४ जना सांसदमाथि भएको कारवाही फिर्ता गरियोस् भन्नुभयो होला, त्यसमा चाहिँ ओलीको जवाफ के थियो ?

हो, भनें । उहाँले भन्नुभयो, ‘यत्रा–यत्रा गल्ती गर्ने ? कतिपटक कारवाही फिर्ता लिने ? स्पष्टीकरण मागियो, कारवाही गरियो । हरेक पटक यो समस्या समाधान होस् भनेर म हिँडे ।’

ठोस, मूर्त कुरा भएन । यसले गर्दा पार्टी एकताप्रति अध्यक्षका हिसाबले उहाँको जुन चासो, चिन्ता हुनुपर्ने हो, त्यो मैले देखिनँ । म निराश भएर फर्केको हुँ ।

तर, यो समस्या समाधान नहुञ्जेलसम्म त मैले यो गरें, त्यो गरें भन्ने कुराको के अर्थ हुन्छ र । समस्या समाधान भयो कि भएन ? अध्यक्षको हिसाबले यो पार्टीमा जे बितिराखेको छ, त्यसको जिम्मा त ओलीजीले लिनुपर्छ । मुख्य जिम्मा उहाँको हो । अरुको पनि छ, मेरो पनि छ । तर, यसको मुख्य जिम्मेवारी त ओली कमरेडले लिनुपर्छ । यिनै विषयमा कुरा भयो हाम्रो ।

उसोभए, त्यो छलफलमा १० बुँदेको कार्यान्वयन, दुई अध्यक्ष राख्ने विषय र १४ जनामाथिको कारवाही फिर्ताको विषयमा अध्यक्ष ओलीले आशावादी कुरो गर्नुभएन ?

अँ । ठोस, मूर्त कुरा भएन । यसले गर्दा पार्टी एकताप्रति अध्यक्षका हिसाबले उहाँको जुन चासो, चिन्ता हुनुपर्ने हो, त्यो मैले देखिनँ । त्यसअर्थमा म निराश भएर फर्केको हुँ ।

 

विहीबार राति तपाईसहित ९ जना स्थायी कमिटीका नेताहरुले संयुक्त वक्तव्य जारी गर्नुभएको छ । यसबाट दिन खोज्नुभएको सन्देश के हो ? अब तपाईहरु ओलीसँग पनि हुनुहुन्न, नेपालसँग पनि हुनुहुन्न भनेर बुझ्दा हुन्छ ?

पहिलो कुरा, हामी एकताकै पक्षमा लागेको हो । अहिलेसम्म एकताकै पक्षमा प्रयत्न गर्यौं । त्यही अर्थमा १० बुँदे पनि भयो । १० बुँदे जतिखेर गरियो, त्यसलाई हामीले सहजरुपमा लागू गरेको भएदेखि यो स्थिति नै आउँदैनथ्यो । त्यहीँबाट कमी रह्यो ।

 १० बुँदे अक्षरशः लागू भयो भने जेठ २ को हाम्रो कमिटी हुनेछ । त्यसमा चारजना प्रदेशका इञ्चार्जहरु झलनाथ–माधव नेपाल पक्षका हुनेछन् । ३६/३७ वटा जिल्लाका अध्यक्षहरु हुनेछन् । ३०/३५ वटा जिल्लामा इञ्चार्जहरु हुनेछन् ।

दोस्रो कुरा, अहिले हामी संसद जोगाउने, संविधान जोगाउने भनेर आन्दोलन गरेका शक्तिहरु २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेश जारी गर्ने अवस्थासम्म आइपुगेका छौं । हाम्रो संविधान र यसअघि बनेका ऐन कानूनहरुले नेपालमा संसदको स्थायित्वको जुन परिकल्पना गरेको छ, त्यसलाई यो अध्यादेशले उल्लंघन गर्छ । अहिले नै भन्नुहुन्छ भने १० जना सांसद भए भने माओवादी पार्टी विभाजन हुन सक्ने भो । १२ जना भए भने काँग्रेस विभाजन हुन सक्ने भो । अहिले हामीले यो अध्यादेश खास प्रयोजनका लागि ल्यायौं र फेरि बदल्यौं भन्ने हो भने पनि भोलि अरु पार्टी फुटाउनका लागि अरुले लिएर आउँछन् । यसले गर्दाखेरि यो अध्यादेश राम्रो भएन भन्ने हाम्रो कुरा हो ।

तेस्रो कुरा,  १० बुँदे अक्षरशः लागू भयो भने जेठ २ को हाम्रो कमिटी हुनेछ । त्यसमा चारजना प्रदेशका इञ्चार्जहरु झलनाथ–माधव नेपाल पक्षका हुनेछन् । ३६/३७ वटा जिल्लाका अध्यक्षहरु हुनेछन् । ३०/३५ वटा जिल्लामा इञ्चार्जहरु हुनेछन् । यो भनेको हिजो नवौं महाधिवेशनबाट आएको स्ट्रेन्थ हो र १० बुँदे अक्षरशः लागू भयो भने त्यहीअनुसारको व्यवस्था हुनेछ । माथि मात्रै होइन, तल प्रदेश, जिल्ला, नगरपालिका, गाउँपालिकाहरु समेतको महाधिवेशनपछि निर्वाचित भएर आएका कमिटीहरु पुनस्र्थापित हुनेछन् । र, योबीचमा भएका सबै किसिमका कारवाहीहरु खारेज हुनेछन् ।  योबीचमा भएका एक–अर्कातर्फ भएर माधव पक्ष वा ओली पक्ष भएर गरिएका सबै निर्णयहरु खारेज हुनेछन् । यसमा कमिटीमा भएको असन्तुलनलाई हटाउनका लागि १० प्रतिशत सदस्यहरु केन्द्रीय कमिटीमा थपिनेछन् र दुबैतिरको गुटबन्दीका कारणले छुटेका साथीहरुलाई पार्टीका लागि कसैले पनि प्रश्न गर्न नसक्ने गरी केन्द्रीय कमिटीमा ल्याइने छ । यो हो १० बुँदेको कार्यान्वयन भनेको । यो हुँदाखेरि हामीले अर्को पार्टी बनाइराख्नुपर्ने आवश्यकता पर्दैन । पार्टीमा विधि स्थापित हुन्छ ।

सिद्धान्त, विचार, नीतिका प्रश्नमा विवादहरु हिजो पनि थिए । वैचारिक, सैद्धान्तिकरुपले हामीले ध्यान दिनुपर्ने प्रश्नहरुका बारेमा मैले निरन्तर कुरा उठाइराखेको छु । त्यसमा वास्तवमा हामीले ध्यान दिएनौं । समग्रतामा हामी कसैले पनि ध्यान दिएनौं । जसको परिणाम आज आएर सांगठानिकरुमा यो भयंकर अराजकता देखापर्यो । तर, यो सबै विचार–सिद्धान्तको कुरा, जुन मैले र अरु केही साथीहरुले उठाउनुभएको थियो, त्यो विषयमा छलफल गर्ने एउटा ढोका १० बुँदेले खोल्छ । १० बुँदेले पार्टीका सबै समस्या समाधान गर्छ भन्ने होइन । यसले सांगठानिक समस्या समाधान गर्छ र वैचारिक–सैद्धान्तिक समस्याहरुलाई समाधान गर्ने ढोका खोल्छ । त्यसअर्थमा यो १० बुँदेले तत्कालका लागि पार्टीको एकतालाई बचाउँछ भन्ने कुरा हो हाम्रोचाहिँ ।

यस्तो ठाउँमा पुगिसकेपछि अहिले अर्को पार्टी दर्ता गर्ने ठाउँमा जो साथीहरु पुग्नुभएको छ, उहाँहरुले फर्कनुपर्छं । संक्षिप्तमा भन्दा ओलीजीले १० बुँदे लागू गर्नुपर्छ र हामी सबैले त्यसलाई कार्यान्वयन गर्नका लागि जुट्नुपर्छ भन्ने हो ।

अध्यक्ष ओलीले पनि त १० बुँदे कार्यान्वयन गर्दिनँ त भन्नुभएको छैन नि हैन ?

१० बुँदे कार्यान्वयन गर्दिनँ भन्नुभएको छैन । कार्यान्वयनको प्रक्रिया शुरु भइसक्यो भन्नेखालको उहाँको वक्तव्य छ । १४ जनामाथि गरिएको कारवाही मात्रै होइन, १० बुँदेको कार्यान्वयन भनेकै के हो भने संयुक्त बैठकबाट यो शुरु हुन्छ । हामी सबैको स्थायी कमिटीको बैठकबाट शुरु हुन्छ क्या ।

तर, ओलीले जेठ दुईमा फर्किएँ, बैठकमा आउनोस् भनेर बोलाउँदाखेरि तपाईहरु किन नजानुभएको त ? उहाँले बैठक बोलाएकै हो, तपाईहरु नै जानुभएन....

हैन, त्यसरी बैठक बोलाउनुभएको छैन । उहाँले आफ्नो समूहको बैठक बोलाउनुभएको छ र ल आओ भन्नुभएको छ । त्यसरी हुँदैन । १० बुँदे नै कसरी लागू हुन्छ भन्नेबारेमा त्यसको तयारी गरेर, एजेण्डाहरु सेट गरेर जाने तत्परता देखिनुपर्यो । त्यो तत्परता चाहिँ देखिएको छैन ।

मैले के देख्छु भने यो विभाजनको ठाउँमा पुग्दाखेरि यो समग्र एमाले पंक्तिमा एउटा निराशा, कुण्ठा, आक्रोश, रीस सारा एकसाथ उत्पन्न भएको छ ।

माधव नेपाल पक्षका १४ सांसदमाथि गरिएको कारवाही १० बुँदे सहमतिको उल्लंघन हो कि हैन ?

हामीले १० बुँदे लागू गर्दाखेरि अहिलेसम्म भए गरेका सबै कारवाहीहरु स्वतः फिर्ता हुन्छन् ।

तपाईले बालकोटबाट निराश भएर फर्किएँ भन्नुभयो । परिस्थिति हेर्दाखेरि केपी ओलीले १० बुँदेलाई कार्यान्वयन गर्ने सम्भावना पनि कमै देखियो । १४ सांसदको कारवाही फिर्ता हुने पनि देखिएन । माधव नेपालले अर्को पार्टी खोलि नै सक्नुभयो । यो अवस्थामा अब तपाईहरु तेस्रो धारमा रहेका नेताहरु चाहिँ के गर्नुहुन्छ त ?

मैले के देख्छु भने यो विभाजनको ठाउँमा पुग्दाखेरि यो समग्र एमाले पंक्तिमा एउटा निराशा, कुण्ठा, आक्रोश, रीस सारा एकसाथ उत्पन्न भएको छ । एकले अर्काप्रति को दोषी हो भनेर आफूलाई मन परेको र नपरेको अनुसार प्रक्रियाहरु व्यक्त भएका छन् । आफूलाई मन नपरेका मान्छेबारे त्यस्तैखाले प्रतिक्रियाहरु आएका छन् । यो १० बुँदे लागू नगर्नाका कारणले भएको हो । त्यसको परिणामस्वरुप अहिले पार्टी विभाजन हुनाका कारणले यो सब भएको हो । अब यसको समाधान कसरी गर्ने हो त ? अहिले सामाजिक सञ्जाल र पत्रपत्रिकाहरुका एकसाथ देखिएका मान्छेका आक्रोश, रीस, कुण्ठा यी सबको एकसाथ समाधान कहाँबाट गर्ने हो त भन्दा १० बुँदेमा टेकेर गर्ने हो । १० बुँदेमा टेकेर हामी अगाडि बढ्यौं भने यी समस्या क्रमशः समाधान हुँदै जान्छन् ।

पार्टी नै फुटिसकेको छ, अझै १० बुँदेमा टेकेर अगाडि बढ्न सकिने सम्भावना देख्नुहुन्छ तपाईहरु ?

हाम्रो आन्दोलनप्रति इमान्दार जोसुकैले पनि त्यहाँ (१० बुँदेमा) सम्भावना देख्छ भन्ने लाग्छ मलाई । किनभने हामीले उठाएका मुद्दाहरु तिनै हुन् । शर्तहरु तिनै हुन् । र, जो हामीले उठाउनुपर्ने पनि होइन । म नेकपा एमाले हुँ भन्नका लागि अर्को कुनै शर्त राखिराख्नुपर्ने, माग राखिराख्नुपर्ने होइन । त्यहाँभित्र जे अन्याय भयो, जुन विधि मिचियो, त्यसको समाधान त त्यो अन्याय हटाएर हो । त्यसको समाधान विधिलाई ठीक ठाउँमा ल्याएर हो । त्यसो गर्दा सबै जिम्मेवारहरुले यसलाई स्वीकार गर्नुपर्छ ।

फेरि पनि ध्यान दिनुपर्ने कुरा के हो भने १० बुँदेको इमान्दार कार्यान्वयन । मैले ‘इमान्दार’ शब्द प्रयोग गरेको छु । यसको इमान्दार कार्यान्वयन हुनुपर्छ । ढाँटछल वा ढिलासुस्तीले समस्यालाई समाधान गर्दैन । यसले समस्या बढाउँछ मात्र, हामी कसैलाई पनि सुरक्षित राख्दैन ।

सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु हेर्दाखेरि माधव नेपाललाई साथ नदिएका तपाईहरुलाई कतिपयले अवसरवादी भनेर व्याख्या गरेका छन् नि ? माधव नेपाललाई उचाल्नुभो उचाल्नुभो अनि यो ठाउँमा ल्याएर धोका दिनुभयो, तपाईहरु धोकेबाज पनि हो भन्ने प्रतिक्रियाहरु पनि आइरहेका छन् । यी आरोपबारे के भन्नुहुन्छ ?

मेरा बारेमा आएका अलिअलि प्रतिक्रियाहरु मैले देखेको छु । केही साथीहरुले, केही मानिसहरुले अलिकति अलिकति थोरै नियतबस पनि भनेको हो कि भन्ने पनि लाग्छ । मैले पुस ५ गतेयता वा त्योभन्दा अगाडि पनि यो समग्र प्रक्रियामा भएको सहकार्यमा माधव नेपाललाई मैले उचालेको, आफू भागेको वा लागू नगरेको कुनै एउटा मात्रै पनि प्रमाण हैन कि आशय मात्र पनि कहीँ देखिन्छ भने त्यो त माधव कमरेडसँग सोध्दाखेरि हुन्छ । म अरुसँग कुरा गर्दिनँ, माधव कमरेडले नै घनश्यामले उचालेको थियो भन्नुभयो भने म त्यसको उत्तर दिन्छु । त्यसको धेरै लामो उत्तर दिन्छु । माधव कमरेडले नै यो कुरा नगरुञ्जेलसम्म अरु साथीहरुका रीस, आक्रोश, कुण्ठाहरुलाई म स्वाभाविक ठान्छु र उहाँहरुप्रति मेरो सहानुभूति नै छ ।

म त के देख्छु भने क्षितिजमा कहीँ एकता पक्षधरहरुको ठूलो विद्रोहको सम्भावना देख्छु । तिनीहरुले ठीक ठाउँमा ल्याउँछन् ।

अब यो १० बुँदे कार्यान्वयन भएन र ओली–माधवको यही पोजिसन रहने अवस्था भयो भने तेस्रोधारका तपाईंहरुको रोजाइ के हुन्छ ? केपी ओलीसँगै बस्ने कि ?

हैन । १० बुँदे कार्यान्वयन नहुँदा पार्टीको एकता भएन । त्यो कार्यान्वयन गर्नुपर्ने कमरेड ओलीले हो । ओली कमरेडले १० बुँदे लागू गर्नुभएन भने ओली कमरेडसँग रहने भन्ने त प्रश्नै उठेन । यो प्रक्रिया शुरु भएदेखि, हाम्रो राष्ट्रिय कार्यकर्ता भेला भएदेखि मैले एउटै कुरा भनेको छु– एकता हुनुपर्छ, विभाजन होइन । तर, आत्मसमर्पण पनि होइन । म आज पनि आत्मसमर्पण गर्दिनँ, गर्ने पक्षमा छैन । विभाजनको पक्षमा म शुरुदेखि नै थिइनँ, छैन ।

तर, यो तटस्थ स्थितिमा तपाईंहरु कहिलेसम्म रहनुहुन्छ ?

आमरुपमा म के देख्छु भने नेकपा एमालेमा एकता पक्षधरता नै बढी छ । किनभने नेकपा एमालेको बनोट कस्तो भयो भने अहिलेसम्म स–साना कम्युनिस्ट समूहहरु मिल्दै मिल्दै बनेको हो । यसका एकदमै पपुलर महासचिव, नेताहरुले बहुमत गुमाएपछि राजीनामा गरेर, छोडेर/छोडाएर पनि धेरै जना नेताहरु यही पार्टीभित्र रहँदै आएको यो पार्टी हो । यसले गर्दा नेकपा एमालेको मूल प्रवृत्ति भनेको एकता नै हो ।

यसले गर्दा म त के देख्छु भने क्षितिजमा कहीँ एकता पक्षधरहरुको ठूलो विद्रोहको सम्भावना देख्छु । तिनीहरुले ठीक ठाउँमा ल्याउँछन् । यहाँभित्रका अहंकार, दम्भ, नीतिहीनता, विधिहीनता यी सबै कुराका विरुद्धमा यदि हामीले चाँडो सोचेनौँ भने, ध्यान दिएनौँ भने र यो १० बुँदे अक्षरशः लागू गरेनौं भने म नेकपा एमालेभित्र एकताको विद्रोह देख्छु ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप