शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा विभाजनपछि प्रदेश २ मा उपेन्द्र र महन्थको शक्ति कति ?

शुक्रबार, ०४ भदौ २०७८, १८ : ०६
शुक्रबार, ०४ भदौ २०७८

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । जसपा नेपाल विभाजन भएसँगै यसको असर प्रदेश २ र लुम्बिनी प्रदेशमा पनि परेको छ ।

जसपा विभाजित भएपछि प्रदेश २ मा महन्थ ठाकुर पक्षलाई  बढी क्षति भएको छ । प्रदेश २ मा जसपाको संस्थापन पक्ष अर्थात् उपेन्द्र यादव नै प्रदेशसभा र स्थानीय तहमा बलियो देखिएका हुन् भने लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका महन्थ ठाकुर समूहलाई बढी क्षति भएको हो ।

महन्थ ठाकुर पक्षका नेतासमेत रहेका प्रदेशसभा सदस्य परमेश्वर साहले पार्टी विभाजनपछि तत्कालीन राजपा नेपालको भन्दा पनि अवस्था कमजोर अवस्था भएको बताए । जसपा गठनपूर्व तत्कालीन राजपा नेपालसँग २५ जना प्रदेशसभा सदस्य थियो । तर तीमध्ये ९ जना प्रदेशसभा सदस्य उपेन्द्र यादव पक्षमा लागेका छन् ।

तर, साहले दल विभाजन भएको २१ दिनसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्न पाउने गरी अध्यादेश आएको जिकिर गर्दै अहिले नै को कता लागे भनेर आँकलन गर्न हतार हुने बताए ।

उनले भने, ‘तर पनि प्रदेश २ प्रदेशसभामा हामीसँग रहेका २५ जना सांसदमध्ये ९ जना उपेन्द्र पक्षमा लागेपछि हामी अहिले केही कमजोर अवश्य पनि भएका छौँ । तर नयाँ पार्टीको संगठन निर्माणमा केही समय लाग्ने भएकाले हाम्रो आधार क्षेत्रलाई हामी बलियो बनाउँछौं ।’

समाजवादी पार्टीसँग एकता गर्नुपूर्व राजपाले प्रदेश तहमा संगठन नै निर्माण नगरेका कारण अहिले महन्थ ठाकुर पक्ष कुन अवस्थामा छ र कति क्षति भयो भन्ने आँकलन गर्न कठिनाई भए पनि संघीय सांसद र केन्द्रीय कार्यकारिणी समिति सदस्यका हिसाबले महन्थ ठाकुर पक्षलाई क्षति नै भएको देखिन्छ । तत्कालीन राजपा नेपालका ६ जना अध्यक्षमण्डल सदस्यमध्ये दुईजना जसपाको मूल धारमा सामेल भएका छन् ।

​प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धन सरकार थियो । दुवै दलबीच एकता भएपछि जसपा नेपाल बनेर प्रदेश २ मा सो पार्टीले एकल बहुमतको सरकार सञ्चालन गर्दै आएको थियो । प्रदेशसभामा जसपाका ५५ जना सांसद छन् ।

प्रदेशसभा निर्वाचनको क्रममा उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीका ३० प्रदेशसभा सदस्य थिए । हाल उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग प्रदेशसभामा ३९ सांसद पुगेका छन् ।

तत्कालीन राजपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनिष सुमन आफू मूल पार्टीमै रहेको बताउँछन् । उनले भने, ‘मैले न कित्ताकाट गरेको छु, न त मूल पार्टी छोडेको छु,’ उनले भने, ‘आफू विगतमा पनि जसपामै रहेको र अहिले जसपा मै छु ।’

महन्थ ठाकुरहरु केपी शर्मा ओली नेतृत्वको सरकारमा जानका लागि पार्टी फोड्नसमेत उद्यत देखिएको भन्दै उनले प्रतिगामी ओली सरकारमा सामेल भइ समय व्यतीत गरेर पार्टीको समेत बदनाम गर्न पछि नपरेकाहरु गुट र समूहमै रमाउने गरेको बताए ।

‘विगतमा पनि महन्थ ठाकुरजी र राजेन्द्र महतोजी पार्टी संगठन निर्माणमा ध्यान नदिई गुट, समूहमै रमाउने गरेकाले अहिले राजनीतिबाटै तह लाग्नुपर्ने अवस्था सिर्जना भएको हो,’ उनले भने, ‘ओलीजस्ता प्रतिगामीको काँध थाप्न मरिहत्ते गर्नुले पनि प्रदेश २ मा उहाँहरुको जनाधार निकै कमजोर छ ।’

प्रदेश २ बाट महन्थ ठाकुर पक्षका २ जना मन्त्री र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह, राजविराज नगरपालिकाका नगरप्रमुख शम्भु यादवसमेत उपेन्द्र यादव पक्षमा लागेका छन् । तत्कालीन राजपा नेपालबाट मन्त्री तथा प्रदेशसभा सदस्य र केही स्थानीय तहमा निर्वाचित भएकाहरु समेत उपेन्द्र यादव पक्षमा लागेका छन् ।

मन्त्रीद्वय नवलकिशोर साह र रामनरेश राय यादव, प्रदेशसभा सदस्यहरु मनिष समुन, पूर्व राज्यमन्त्री सुरेशकुमार मण्डल, रानी शर्मा तिवारी र डा. रिना यादव, डा. अञ्जुकुमारी यादव, विक्की यादव, नेत्रविक्रम साह खुलेरै उपेन्द्र यादव पक्षमा लागेका छन् ।

प्रदेश २ मा जसपा नेपाल, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार छ । प्रदेशसभामा नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्य छन् । अहिले एमाले विभाजित भएपछि प्रदेशसभामा माधव नेपाल पक्षमा १३ जना सदस्य छन् भने केपी शर्मा ओली समूहमा ८ जना छन् ।

प्रदेश २ को स्थानीय तहमा भने तत्कालीन समाजवादी पार्टीको तुलनामा तत्कालीन राजपा नेपालले धेरै स्थानमा जितेको छ । स्थानीय तहको निर्वाचनमा उपेन्द्र यादव पक्षले २५ र महन्थ ठाकुर पक्षले ३० स्थानीय तहको प्रमुखमा जित हासिल गरेको थियो । दुईवटा दल मिलेर बनेको जसपा नेपाल विभाजित भएपछि भने स्थानीय तहमा समेत उपेन्द्र यादव नेतृत्वको जसपाको अवस्था बलियो देखिएको छ ।

जसपा प्रदेश २ का अध्यक्षसमेत रहेका अर्थ मन्त्री विजयकुमार यादवले जसपा नेपाल नै आधिकारिक पार्टी रहेको बताए । ‘प्रदेश २ को सरकारको समेत जसपाले नेतृत्व गरिरहेकाले यस प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नै बलियो छ,’ उनले भने, ‘जसपाको नीति, विचार र संगठनात्मक पद्धति सही रहेकाले जसपाबाट को कहाँ गयो भन्ने कुराले पार्टी र कार्यकर्तालाई खासै फरक पर्दैन ।’ पार्टी छाडेर जानेहरु स्वतः कमजोर हुँदै जाने उनको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप