बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

६० प्रतिशतले बढ्यो विकास बैङ्कको नाफा, उच्च नाफा कमाउनेमा मुक्तिनाथ

शनिबार, ०५ भदौ २०७८, ०७ : ४५
शनिबार, ०५ भदौ २०७८


विकास बैङ्कहरूको नाफा बढेर ६ अर्ब ८ करोड माथि पुगेको छ । हालैमात्र बैङ्कहरूले जारी गरेको वार्षिक रिपोर्ट अनुसार विकास बैङ्कको नाफा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा करिब ६० प्रतिशतले नै वृद्धि भएर कुल ६ अर्ब ८ करोड २८ लाख ७१ हजार रुपैयाँ पुगेको हो ।

यस्तो नाफा विकास बैङ्कहरूले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८० करोड १२ लाख १२ हजार रुपैयाँ मात्र आर्जन गरेका थिए ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १७ वटा विकास बैङ्कहरू मध्ये गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउने विकास बैङ्कमा मुक्तिनाथ विकास बैङ्क रहेको छ । बैङ्कले आर्थिक वर्षको १२ महिनामा कुल १ खर्ब १५ अर्ब ९ करोड ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा बैङ्कले अधिकतम ६२.७० प्रतिशतले बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७६/७७ मा बैङ्कले कुल ७० करोड ७४ लाख ५ हजार रुपैयाँ मात्र नाफा आर्जन गर्न सकेको थियो ।

यस्तै, बैङ्कले ब्याज आम्दानी तर्फसमेत अन्य बैङ्कहरूलाई पछि पार्दै गत आर्थिक वर्षमा २ अर्ब ७० करोड ४५ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैङ्कले २ अर्ब २५ करोड ९३ लाख ८४ हजार ब्याज आम्दानी गरेको थियो ।

​हाल बैङ्कको चुक्ता पुँजी अधिकतम ११.२५ प्रतिशतले बढेर ४ अर्ब ८१ करोड १५ लाख ५० हजार पुगेको छ भने १ अर्ब १२ करोड ८८ लाख ५२ हजार रुपैयाँ जगेडा कोषमा रहेको छ ।

यस्तै, समीक्षा अवधिमा ज्योति विकास बैङ्कले अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.८४ प्रतिशतले नाफा वृद्धि गर्दै गत आर्थिक वर्षमा कुल ७४ करोड १६ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने, लुम्बिनी विकास बैङ्कले ३६.३८ प्रतिशतले नाफा वृद्धि गर्दै समीक्षा अवधिमा कुल ५१ करोड ६२ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, कामना सेवा विकास बैङ्कले ७० करोड २ लाख ४० हजार, सांग्रिला विकास बैङ्कले ४१ करोड ६९ लाख ३० हजार, गरिमा विकास बैङ्कले ८२ करोड ५२ लाख ८८ हजार, महालक्ष्मी विकास बैङ्कले ७३ करोड २९ लाख १६ हजार र शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ५१ करोड ४५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

यता १ देखि ७ जिल्लालाई मात्र आफ्नो कार्यक्षत्र बनाएर बैंकिङ्ग सञ्चालन गरिरहेका ४ वटा विकास बैङ्कहरू सप्तकोशी डेभलपमेन्ट बैङ्क, एक्सेल डेभलपमेन्ट बैङ्क, र कर्णाली डेभलपमेन्ट बैङ्कहरूले भने गत आर्थिक वर्षमा क्रमशः ६१ करोड ९३ लाख, १३ करोड ७० लाख, ३ करोड १८ लाख र ५ करोड ८ लाख नाफा कमाएका छन् ।

तीनवटा बैङ्कको नाफामा घट्यो

यद्यपि, समीक्षा अवधिमा तीनवटा विकास बैङ्कहरूको नाफा भने अघिल्लो आर्थिक वर्ष २०७६/७७ को भन्दा पनि कम हुन पुगेको छ । बैङ्कहरूले सार्वजनिक गरेका आर्थिक वर्ष २०७७/७८ को रिपोट अनुसार यस्तो नाफा घट्ने बैंकहरुमा मितेरी डेभलपमेन्ट बैङ्क, ग्रिन डेभलपमेन्ट बैङ्क र कर्पोरेट डेभलपमेन्ट बैङ्क रहेका छन् ।

गत आर्थिक वर्षमा मितेरीको नाफा अघिल्लो वर्षको भन्दा पनि १३.१५ प्रतिशतले घट्दै १५ करोड ५५ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ भने, ग्रिन डेभलपमेन्टको ८.८७ प्रतिशतले घटेर १ करोड १३ लाख ९२ हजारमा खुम्चिन पुगेको छ । जब कि अघिल्लो आर्थिक वर्षमा मितेरीले कुल १७ करोड ९१ लाख ४१ हजार खुद नाफा कमाएको थियो भने ग्रिन डेभलपमेन्ट बैङ्कले १ करोड २५ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता, अघिल्लो आर्थिक वर्षमा १२ करोड ६५ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको कर्पोट डेभलपमेन्ट बैङ्कले गत आर्थिक वर्षमा अधिकतम ९५.६६ प्रतिशत नाफा गुमाउँदै जम्मा ५४ लाख ८८ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।

उता अघिल्लो आर्थिक वर्षमा ११ लाख ३७ हजार नाफा कमाएको नारायणी डेभलपमेन्ट बैङ्कले गत आर्थिक वर्षमा थप ९६ लाख ६५ हजारले नाफा वृद्धि गर्दै १ करोड ८ लाख २ हजार रुपैयाँ पुर्‍याएको छ ।

अंक हजारमा (०००) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप