मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

'तेस्रो धार'की शाक्यको जोगिएला मुख्यमन्त्री पद ?

शनिबार, ०५ भदौ २०७८, १० : ०६
शनिबार, ०५ भदौ २०७८

बागमती प्रदेश सरकारको नेतृत्वमा गत बुधबार एकाएक फेरबदल आयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका डोरमणि पौडेलले बुधबार संसदीय दलको दलको नेताबाट अचानक राजीनामा दिने बताएसँगै बागमती प्रदेशमा एकाएक तरङ्ग पैदा भयो । माधवकुमार नेपाल निकट मानिएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई उनै पौडेलले नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेता बनाउने प्रस्ताव गरे । 

पौडेलको प्रस्तावमा सर्वसम्मत रूपमा शाक्यलाई बुधबार नै नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेता र बागमती प्रदेशको मुख्यमन्त्रीमा बनाइयो । सोही दिन राति ९:३० बजे तत्कालीन बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरी तत्काल शपथ ग्रहण गराए । शपथ सक्किएको केही बेरमा नै मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार गरिन् । 

शाक्यले केपी ओलीका कट्टर आलोचक तथा नेपाल समूहकै अर्का नेता कृष्णप्रसाद शर्मा खनाल र पौडेल नेतृत्वको सरकारमा मन्त्री रहेका केशवराज पाण्डेलाई मन्त्री नियुक्त गरिन् । सोही दिन राति करिब १२ बजेको मुख्यमन्त्री शाक्यसहित सामाजिक विकास मन्त्री खनाल र आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्री पाण्डेले पदभार ग्रहण गरी पहिलो मन्त्रिपरिषद् बैठकसमेत सम्पन्न गरे । 

किन छोडे पौडेलले मुख्यमन्त्री पद ?

नेकपा एमालेको केन्द्रीय तहमा भएको राजनीतिक फुटको असरका कारण बागमती प्रदेशमा पनि सरकारको नेतृत्व फेरबदल भएको देखिन्छ । विगतमा आफू विरुद्ध अविश्वास प्रस्ताव आउँदा रातारात सदन स्थगित गराएको आरोप लागेका पौडेलले अचानक राजीनामा दिएर आफ्नै कट्टर आलोचक शाक्यलाई मुख्यमन्त्री बनाउनु अस्वाभाविक रूपमा हेरिएको छ । 

पौडेल भने केही समय अघि माधव नेपाल समूहमा रहेकी शाक्यलाई हाल केपी ओली समूहमा फर्किएका कारण एकताको सन्देश दिन आफूले राजीनामा दिएर मुख्यमन्त्री बनाएको बताउँछन् । मुख्यमन्त्री शाक्य पार्टी फुटको विरुद्धमा लागेर केही सङ्घर्ष र त्याग गरी हाल नेकपा एमालेको एकतामा सक्रियता देखाएका कारण आफूले मुख्यमन्त्रीमा प्रस्ताव गरेको उनको भनाइ छ ।

तर केन्द्रमा पार्टी विभाजन र माधव नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता हुने र त्यसको असर बागमती प्रदेशमा प्रत्यक्ष देखिने भएकाले पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर शाक्यलाई अघि सरेको विपक्षी दलका नेताहरू बताउँछन् । आधिकारिक रूपमा माधव नेपालको पार्टी दर्ता भएमा बागमती प्रदेशमा केन्द्रीय गठबन्धन अनुसार पौडेल विरुद्ध पुनः अविश्वास प्रस्ताव आउने निश्चित देखेपछि पौडेलले एकताको सन्देशको नाममा सरकारको नेतृत्व शाक्यको हातमा थमाएको उनीहरू बताउँछन् । अविश्वासको प्रस्तावले डामिने डर कै कारण पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएर रातारात शाक्यलाई सरकारको नेतृत्व दिएको उनीहरू बताउँछन् ।

संविधानको रक्षा र प्रतिगमनका विरुद्धमा डटेर मैदानमा उत्रिएकी शाक्यले माधव नेपालसँगै बाम गठबन्धनलाई समेत धोका दिएर नेकपा एमालेको केपी ओली पक्षबाट मुख्यमन्त्री बनेको र उनलाई सहयोग नहुने उनीहरू बताउँछन् । अगामी केही दिन भित्रै माधव नेपालको दलले आधिकारिकता प्राप्त गर्ना साथ शाक्यको सरकार ढल्ने र बाम गठबन्धनको नेतृत्वमा सरकार गठन हुने उनीहरूको भनाइ छ ।​

शाक्य नेतृत्वको सरकार अल्पमतमा

त्यसो त मुख्यमन्त्री शाक्यले अहिले अल्पमतको सरकारको नेतृत्व गरिरहेकी छिन् । उनी नेकपा एमालेको सरकारको नेतृत्व गरिरहँदा बागमती प्रदेशमा नेकपा एमालेको ५६ जना सांसद छन् ।

शाक्य नेपालको संविधानको धारा १६८ को (१) अनुसार मुख्यमन्त्री बनेकी हुन् । उनलाई सरकार जोगाउन कुल १ सय ९ जना सांसद मध्ये ५५ जनाको साथ आवश्यक पर्छ ।

जुन नेकपा एमालेसँग छ तर २ जना मात्र सांसद्हरुले शाक्यको साथ छोड्ने हो भने उनको बहुमत गुम्छ । नेकपा एमालेको ५६ जना सांसदमध्ये ५ जना सांसदहरूको नाम माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा समावेश गरिएको छ । 

नाम समावेश ५ जना मध्ये एक कृष्णप्रसाद शर्मा खनाल बागमती प्रदेशको सामाजिक विकास मन्त्री बनेका छन् भने अन्य कसैले पनि आधिकारिक रूपमा माधव नेपालको नयाँ पार्टीमा नरहने उल्लेख गरेका छैनन् ।

मुख्यमन्त्री बनेको २ दिनमै ओलीलाई शाक्यको सर्प्राइज

नेकपा एमालेबाट बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शपथ ग्रहण गरेको २ दिनमा नै राजनीतिक धार परिवर्तन गरेकी छन् । माधव नेपाल समूहको साथ छोडेर केपी ओली समूहबाट मुख्यमन्त्री बनेकी शाक्यले आलीलाई सर्प्राइज दिएकी छिन् ।

​केपी ओलीको कडा आलोचक शाक्य एमाले एकताको लागि भन्दै राजनीतिक धार परिवर्तन गरेकी छिन् । केपी ओली पक्षबाट मुख्यमन्त्री बनेकी शाक्यले एमालेको तेस्रो धारका ९ नेताले जारी गरेको अपिल पत्रमा हस्ताक्षर गरेकी छन् । उनले आफू केपी ओली पक्षमा नरहेको सन्देश प्रवाह गर्दै उक्त अपिल पत्रमा हस्ताक्षर गरेकी हुन् ।

मुख्यमन्त्रीले एमालेलाई मूलधारमा ल्याउने काम गर्नुभएको हो : प्रमुख सचेतक निरौला 

नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले मुख्यमन्त्री शाक्यले गुट फेरको नभइ एमाले एकताका लागि पहल गरेको बताएका छन् । उनले एमालेमा कुर्न पक्ष वा धार नभएको भन्दै मुख्यमन्त्री शाक्यले एमालेलाई एकताबद्ध बनाउने पहल गरेको भन्दै उक्त पहलको स्वागत गर्नु पर्ने बताए । मुख्यमन्त्री शाक्य एमालेको नेतृ भएकाले एमालेमा आबद्ध सबै नेता तथा कार्यकताहरुलाई मूलधारमा ल्याउने प्रयत्नका साथ सबैले आफ्नो कमीकमजोरी सुधार गरी फुटबाट जोगाउने काम गरेको उनको भनाइ छ । 

‘बागमती प्रदेशमा नेकपा एमालेको सरकार छ । त्यसको नेतृत्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गर्नुभएको हो । एमालेभित्र कुनै गुट र धार छैन । मुख्यमन्त्रीज्यूले एमालेका नेता तथा कार्यकर्तालाई मूलधारमा ल्याउने काम गर्नुभएको हो । उहाँको यो कदम स्वागत योग्य छ । यो पार्टी एकताको पक्षमा चालिएको कदम हो,’ उनले भने । मुख्यमन्त्री शाक्यले एकतालाई बलियो बनाउन पार्टीबाट बाहिरिएका साथीहरूलाई पार्टीमा फर्किन आह्वान गरेको प्रमुख सचेतक निरौलाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप