प्रेरणा

एक ‘फुलटाइमर’ ब्लड डोनरको कथा : रगतका लागि भौँतारिनुपर्ने दिनको अन्त्य कहिले होला ?

‘कसैलाई रगत दिएर बचाउँदा आफैंले पुनर्जन्म पाएजस्तो लाग्छ’

person explore access_timeभदौ ७, २०७८ chat_bubble_outline4

२०३८ सालतिरको कुरा हो, वीर अस्पतालको आडमा (अहिले ट्रमा सेन्टर भएको ठाउँमा) एउटा कटेरो थियो, जहाँ भरियाहरु एक–दुई सय रुपैयाँ पाउने आसमा रगत दान गर्न आउँथे । त्यतिबेला रगत दान गर्नेहरु प्रायः भरियाहरु नै हुन्थे ।


एक किशोर त्यही बाटो साथीहरुसँग प्रायः हिँडिरहन्थ्यो । प्रायः मानिसहरुको चहलपहल देखिने त्यहाँ कसैले उनलाई पनि रगत दानका लागि आग्रह गरे । खाइलाग्दा ती किशोर रगत दान गर्न तयार भए । त्यहीँ नै एक–दुई पटक रगत दान गरेपछि उनले रगत दानलाई नियमित कर्ममा परिणत गरे ।



अहिले उनको रक्तदानको क्रमले १६७ औं पटक पार गरिसकेको छ । र, यति विघ्न रगत दान गर्ने व्यक्ति हुन्– प्रेमसागर कर्माचार्य ।



४० वर्ष अगाडि अर्थात् २०३८ सालतिरको कुरा थियो त्यो, जुनबेला प्रेमसागरले पहिलोपटक वीर अस्पताल नजिकैको कटेरोमा पहिलोपटक रगत दान गरेका थिए । त्यसबेला मात्र १८ वर्षका प्रेमसागर आफ्नो पिताको समाजसेवी भावबाट प्रेरित थिए, जसले उनलाई रगत दान गर्न केही सोच्नु नै परेन । पछि मात्रै उनले थाहा पाए कि त्यो कटेरो रगत संकलन तथा वितरण केन्द्र रेडक्रस रहेछ भनेर ।





प्रेमसागर अर्थात् एक फुल टाइमर डोनर

‘प्रेमसागर’ नामजस्तै कर्म पनि । उनले ४० वर्षको अवधिमा १६७ पटक रक्तदान गरिसकेका छन् । ‘रक्तदान गरी गरौं जीवन दान’ भन्ने नारालाई उनले आफूले मात्रै होइन, ५ हजारभन्दा बढी युवालाई पनि आत्मसात गर्न प्रेरित गरेका छन् ।

प्रत्येक तीन महिनामा मानिसको शरीरको रगत पुनः दान गर्न मिल्ने हुन्छ । रगत दान गर्न स्वस्थ शरीरको आवश्यकता पर्दछ । जस्तो कि कुनै प्रकारको दीर्घ रोग, घातक रोग वा कुनै पनि प्रकारको औषधि सेवन गरेको अवस्थामा रगत दान गर्न मिल्दैन । अतः प्रेमसागरले आजसम्म एउटा सिटामोल पनि खानु परेको छैन । भन्छन्, ‘मैले आजसम्म एउटा सिटामोल पनि खानुपरेको छैन । सँगैका साथीभाइहरुले विभिन्न रोगका औषधि खान्छन् । जहाँसम्म मेरो अनुभव छ निरन्तरको रगत दानले हामीलाई रोग लाग्नबाट पनि बचाउँदो रहेछ अझ मुटुसम्बन्धी समस्याबाट त झनै बचाउने रहेछ ।’

उनी अगाडि भन्छन्, ‘हिजोसम्म म अरुका लागि रगत दान गर्थें भने आज आफ्नै लागि गरिरहेको छु जस्तो लाग्छ । किनकि रगत दान गर्दा शरीर तन्दुरुस्त हुनुका साथै विभिन्न रोगको जोखिम घट्ने रहेछ । मान्छेहरु रगत झिक्दा कमजोर भन्इछ भन्छन्, त्यो विल्कुलै गलत हो । रगत दानले त झनै शरीरमा स्फूर्ति बढाएको महसुस गर्छु म त ।’

प्रेमसागर कर्माचार्य अर्थात सबैभन्दा धेरै पटक रगत दान गर्ने रक्तदाता । प्रेमसागरले आजसम्म रगत दान गरेका मात्रै छन् लिएका छैनन् । जस्तो नाम उस्तै काम । सत्कर्म गरे जीवन शुद्ध हुन्छ भन्ने मान्यतामा अडिग उनी स्वयंसेवीका रुपमा चिनिन्छन् । उनी आफैंलाई पनि थाहा छैन, कतिलाई सहयोग गरेँ भनेर । उनको दिनभरको काम भनेको कहाँ कसले रगतको माग गरेको छ, त्यहाँ जसरी पनि रगत पुर्याउनु हो ।

रगतको जिम्मा लिएको नेपाल रेडक्रस सोसाइटीमा सधैं नै केही न केही समस्या पर्छ । कहिले रगत पाउन नै समस्या त कहिले भएका रगत म्याद गुज्रिएर खेर जाने समस्या । रगत खोज्नेहरु रेडक्रस धाउन भन्दा प्रेमसागरलाई एक कल फोन गर्न सहज ठान्छन् । हरेक दिन कति फोन आउँछ र कति रगतको माग हुन्छ, कुनै लेखाजोखा छैन । आजभोलि भने प्रेमसागरले रगत माग गर्नेदेखि रगत दान गर्ने सबैको रेकर्ड कम्प्युटरमा राख्न थालेका छन् ।

पिताको फर्स्ट एडले बाटो देखायो

२०२८ सालतिर बागबजारमा प्रेमसागरको परिवार बसाइँ सरेर आएको थियो । प्रेमसागरका पिता प्रेमपूर्ण कर्माचार्य स्वयंसेवी थिए । उनले प्राथमिक उपचार (फर्स्ट एड) को तालिम लिएका थिए । प्राथमिक उपचारसम्बन्धी तालिम पनि दिने र उपचार पनि गर्ने गर्थे प्रेमसागरका पिता ।

बागबजार क्षेत्रका नागरिकलाई प्रेमपूर्ण ले खुबै सेवा दिए । त्यतिबेला घरहरु कम भएकाले बागबजारबाट टुँडिखेल प्रष्ट देखिन्थ्यो । टुँडिखेल क्षेत्र वरिपरि खेत थियो, जहाँ खेती किसानी गर्नेहरु प्रशस्त हुन्थे । खेतमा काम गर्दा चोट लागेमा उनीहरु बागबजारस्थित कर्माचार्यका पिताकोमा दगुर्दै आइपुग्थे ।

छन त नजिकै वीर अस्पताल थियो, तर पनि किसानहरु कर्माचार्यको घरमै पुगेर प्राथमिक उपचार गराउँथे । कारण थियो, कतिलाई सस्तो शुल्कमा कर्माचार्यले उपचार गरिदिन्थे भने कतिलाई निःशुल्क ।

प्रेमसागरका पिता न वैद्य थिए, न त डाक्टर नै । तर, उनीसँग प्राथमिक उपचारको (फर्स्ट एड) कला थियो, जसबाट उनले धेरैको उपचार गरे । यसरी बुबाले किसानहरुको सेवा गरेको देखेका कर्माचार्यको मनमा सानैदेखि सेवाभाव गडेको थियो ।

नेपालमा अस्पतालहरु प्रशस्त खुल्न थाले । तर, ब्लड बैंक खुलेनन् । अस्पताल पुगेका बिरामीलाई रगतको जोहो गर्ने जिम्मा उनीहरुलाई नै अस्पतालले दिन थाले । रगतको हरेक दिन अभावै अभाव । अझ इमर्जेन्सी केसमा त रगतकै अभावले कतिले ज्यान गुमाउनुपरेका घटना सुन्दा प्रेमसागरको मनमा चस्का हान्थ्यो ।

आफूले नियमित दिने गरेको रगतको पनि सही सदुपयोग नभएको हो कि भन्ने भान उनमा थियो । रगतको समस्या समाधान कसरी गर्ने त ? समूहगत रुपमा काम गर्ने सोच बनाएर उनले स्वयंसेवी संस्था नै बनाए । जसको नाम राखे ‘नेपाल स्वयंसेवी रक्तदाता समाज’ ।

‘नेपाल स्वयंसेवी रक्तदाता समाज’सँग हाल ३० जिल्लाका ५ हजारभन्दा बढी स्वयंसेवी जोडिएका छन् । काठमाडौं उपत्यकामा स्वयंसेवीको संख्या धेरै छ । संस्थामा आबद्ध हुनेहरु विभिन्न पेशामा आबद्ध व्यक्तिहरु छन्, जसले कुनै पनि समय र परिस्थिति नभनी रगतदान गर्ने गरेका छन् ।

५८ वर्षीय प्रेमसागरलाई रगतबारे अनभिज्ञ व्यक्तिहरुबाट रगत चाहियो भन्दै फोन आउँछ । अस्पतालमा डाक्टर, नर्सले तत्काल व्यवस्था गर्नुस्, अनि मात्र उपचार हुन्छ भनी अत्याउँछन्, जसले गर्दा बिरामीहरु झनै हतोत्साहित हुन्छन् । यस्तो अवस्थामा प्रेमसागर अस्पतालमै पुग्छन् । बिरामी र उनका आफन्तसँग भेट्छन्, डाक्टरको प्रेस्क्रिप्सन हेर्छन् अनि रगत जोहो गर्नतिर लाग्छन् ।

वास्तवमै प्रेमसागर बिरामी र बिरामीका आफन्तका भरोसा केन्द्र बनेको दशकौं भयो । दिनभरिमा ४/५ वटा अस्पताल उनी चाहारेकै हुन्छन् । कति अस्पतालले त रगत भए पनि बिरामीलाई सहजै दिँदैनन्, उल्टो अनावश्यक दुःख दिने गरेका छन् । यस्तोमा प्रेमसागर आफैं पुगेर अस्पतालसँग लड्छन् रगतका लागि ।

रगत नपाएर छट्पटाएका बिरामी र बिरामीका आफन्तका लागि राहत बनेर आएका प्रेमसागर र उनको टिमलाई आजसम्म कतिलाई  सेवा दिइयो भन्ने पत्तो छैन । सेवा गरेपछि सकियो । उनी भन्छन्, ‘दाताहरु यति समर्पित हुन्छन् कि जतिबेला, जहाँ बोलाए पनि आइपुग्छन् । राति २ बजे पनि दातालाई बोलाएर रगत संकलन गरेका छौं ।’

प्रेमसागर अगाडि भन्छन्, ‘हामीले त्यसरी रगतका लागि दौडिँदा सरकारी अस्पतालहरुले भने बिरामीलाई ढुक्कै ‘रगत खोजेर आउनुस्’ भनिदिन्छन् । बिरामी भएर अस्पताल गएको मानिसले चाहिने सामान आफैं खोजेर ल्याउनुपर्ने भए अस्पताल किन जाने ?’

प्रेमसागर अस्पतालहरुमाथि प्रश्न गर्छन्, ‘ती अस्पताल, जसले आफूलाई आईएसओ प्राप्त अस्पताल, अन्तर्राष्ट्रिय अस्पताल भन्दै प्रचास–प्रसार गरिरहेका छन्, न्यूनतम सुविधा दिन नसक्ने अस्पताल कसरी आईएसओ प्राप्त भए ? कसरी अन्तराष्ट्रिय भए ?

एकपटक रगत लिएका व्यक्ति आफै पछि रगत दाता बनेर आउने गरेको प्रेमसागरले रातोपाटीलाई बताए । उनले भने, ‘रगत लिइसकेपछि मानिसहरुले त्यसको महत्त्व यसरी बुझेका हुन्छन् कि जस्तोसुकै अवस्थामा कसैलाई रगत चाहिएको बखत दिन तयार हुन्छन् ।’

कुनैकुनै अस्पतालका डाक्टरले नै प्रेमसागरको संस्थालाई सम्पर्क गरेर रगतको व्यवस्था गरिदिन भन्ने गरेका छन् । हुन त आजभोलि अन्य थुप्रै रक्तदाता समूहहरु यस क्षेत्रमा सक्रिय छन् । सामाजिक सञ्जालले पनि यसलाई सहज बनाइदिएको छ । कसैलाई समस्या पर्दा सामाजिक सञ्जालकै माध्यमबाट यी समूहहरुसम्म पुगेर रगतको जोहो गर्न सहज भएको छ ।

प्रेमसागरका अनुसार काठमाडौंमा सामान्यतया दिनमा ४ सय देखि ५ सय पिन्ट रगतको माग हुन्छ । पछिल्लो समय कोरोना महामारीले यसको माग घटेको छ । अहिले दिनमा २ सय देखि ३ सयसम्म माग हुन्छ । तर, त्यति नै पुर्याउन पनि मुस्किल छ । दुःख लाग्ने र अलि अपत्यारिलो कुरा, नेपाल रेडक्रस सोसाइटीमा भने रगत मिति गुज्रिएर फाल्नुपर्ने अवस्था छ । रगत नपाएर यता अस्पतालमा बिरामी छट्पटाएको हुन्छ, उता रगत खेर जान्छ । यो सबैमा राज्य व्यवस्थाको कमजोरी देख्छन् प्रेमसागर ।

उनी मुलुकका दूरदराजमा समेत रगत दानसम्बन्धी अभियान चलाउन पुग्ने गरेका छन् । नेपालका हिमाली भेगका बासिन्दामा स्वस्थ रगत हुने भएकाले उनीहरुलाई रगतदानका लागि प्रेरित गर्नुपर्ने उनी बताउँछन् ।

उबेला जसरी भरियाहरुलाई पैसा दिएर रगत दान गर्न उत्साहित गरिन्थ्यो, त्यसैगरी मानिसहरुलाई केही सुविधा दिएर रगत दानका लागि प्रोत्साहन गर्न सक्ने हो भने रगतको कमी नै नहुने प्रेमसागरको बुझाइ छ ।

एउटा व्यक्तिले १८ वर्षको उमेरदेखि रक्तदान गर्ने हो भने व्यक्ति, परिवार, समाज अनि देश नै स्वास्थ हुने उनको तर्क छ । उनको दाबी छ, ‘तीन–तीन महिनामा रगत दान गर्ने व्यक्ति सधैँ कुलतबाट मुक्त हुन सक्छ ।’ प्रेमसागरले नारा नै तय गरेका छन्, ‘प्रत्येक स्वस्थ युवायुवतीले आफ्नो १८ औं जन्म दिवसको अवसरबाट रक्तदानको शुभारम्भ गरौं ।’

रगत दानको अवधारणा परिवर्तन गरौं !

अब रगत संकलनको अवधारणा नै परिवर्तन गर्नुपर्ने अवस्था आएको प्रेमसागर बताउँछन् । सधैँ रगतको हाहाकार बेहोर्नु भन्दा स्वास्थ्य व्यक्तिको मात्र रगत लिने अवधारणा नै परिवर्तन गरिदिनुपर्ने उनको धारणा छ । घातक रोगबाहेक अन्य रोग लागेका व्यक्तिहरुबाट रगतदान गराउन नेपालका दिग्गज चिकित्सकहरुसँग छलफल गर्न थालेको उनले बताए ।

नेपालका निजी अस्पतालहरुले रगतको व्यापार गरेका कारण पनि नेपालमा रगतको सधैँ अभाव देखिने गरेको प्रेमसागर बताउँछन् । रगतको व्यापार मानवीय धर्म विपरीत कार्य भएको उनको भनाइ छ ।

यसै प्रसंगमा प्रेमसागरले आफ्नो एउटा तीतो अनुभव सुनाए–

सात वर्ष अगाडि रातको २ बजे पाटन अस्पतालमा एकजना महिला प्रसव पीडाले छटपटाइरहेकी थिइन् । तत्काल उनको शल्यक्रिया गर्नुपर्ने थियो । तर, रक्क्त समूह थियो ‘ए नेगेटिभ’ । मध्यराति ती महिलाका श्रीमानले रुँदै फोन गरेर आफ्नो समस्या बताए ।

डाक्टरले ४ पिन्ट रगत जम्मा गर्न भनिसकेका थिए । ४ पिन्ट, त्यो पनि नेगेटिभ समूहको । उक्त महिलाको हेमोग्लोबिनको मात्रा जम्मा ३ थियो । यसको मतलब, समयमा रगत नपाए जे पनि हुन सक्ने अवस्था थियो ।

उनलाई तत्काल ब्लड बैंकमा बोलाएँ र आफू पनि गएँ । ब्लड बैंकमा मैले नै दिउँसो रक्तदान कार्यक्रम सञ्चालन गरेर ए नेगेटिभ २ पिन्ट ल्याएको थिएँ । प्रायः नेगेटिभ समूहलाई होल्ड गरिने भए पनि त्यो दिन भने निकालेको थिएँ । राति २ बजेसम्ममा त त्यो रगत नै छैन !

रगत पुगेको रहेछ नेपालकै एक निजी ‘अन्तर्राष्ट्रिय’ अस्पतालमा । उक्त अस्पतालमा फोन गरेर अहिले एउटी आमा र बच्चाको जीवन खतरामा छ त्यो रगत यहाँ दिनोस्, तपाईंलाई बिहान म रगत उपलब्ध गराउँछु भन्दा अस्पतालले दिन मानेन ।

तत्काल म बिरामीका श्रीमानलाई लिएर उक्त अस्पताल पुगें र सीधै ब्लड बैंक छिरें । फ्रिजमा रगत थियो । बिहानको केसलाई चाहिन्छ भनेर अस्पतालले दिन मानेन । तर, मैले अहिले मानिसको जीवन जान लागेको छ, बिहानका लागि किन होल्ड गर्ने ? भनेर प्रश्न गर्दा अस्पतालले दिनै मानेन । बिहान जसरी पनि रगत कि दाता लिएर आउने भनेर उनीहरुलाई बल्ल बुझाएर रगत लिएँ । तर अस्पतालले त्यो रगतको मूल्य २ हजार ९ सय लियो । आफैंले संकलन गरेको रगतको मूल्य दोब्बरभन्दा बढी तिर्न पर्यो ।

ती महिलाका लागि ४/५ दिनसम्म पीआरपी, प्याकसेल, फ्रेस ब्लड, होल्ड ब्लड गरी ४/५ थरी कम्पोनेन्ट पुर्याए । पाटन अस्पतालका डाक्टरहरु नै अचम्ममा परे ।

ती महिलाले छोरी जन्माइन् र अहिले उनी ७ वर्षकी भएकी छिन् । उनीहरु अझै मलाई सम्झेर बेलाबेला सम्पर्कमा आउँछन् । मेरो लागि त्योभन्दा ठूलो सन्तुष्टि अरु केही हुन सक्दैन । मलाई आफैंले पुनर्जन्म पाएजस्तो भयो । तर, रगतको व्यापार गर्ने अस्पतालहरुलाई चाहिँ सरकारले निगरानी गरोस्, मेरो विशेष आग्रह छ । रगत व्यापार गर्ने चिज होइन ।

आत्मसन्तुष्टिका लागि अरुको सेवा

प्रेमसागर सुरुमा भावनात्मक रुपमा रगतको सेवासँग जोडिए पनि यसैमा उनले जीवन पाए । उनका लागि जीवनको सबैभन्दा सुखद क्षण भनेको नै कसैलाई सहयोग गर्नु हो । अझ जीवन मरणको अवस्थामा रहेका मानिसका लागि गरेको सानो सहयोगले जब सार्थकता पाउँछ, त्योभन्दा ठूलो सन्तुष्टि उनले अहिलेसम्म केहीबाट पनि पाएका छैनन्  ।

यसपालि १६७ औं पटक रगत दान गर्न उनी धादिङ पुगे । त्यहाँका नागरिकलाई रगत दान भनेको जीवन दान हो भन्ने शिक्षा दिन अत्यन्तै जरुरी भएकाले आफैंले रगत दिएर अरुलाई पनि रक्तदानमा प्रेरित गरे ।

‘सेल्फ मोटिभेसन’ नै जीवनलाई अगाडि बढाउन सघाउने हतियार हो उनको । नत्र स्वयंसेवामा लागेर कसरी बाँच्ने ? प्रेमसागरको स्वयंसेवक संघलाई कतैबाट, कसैको सहयोग छैन । उनी भन्छन्, ‘फुटपाथको मानिसलाई कसले हेर्छ ? हामी कसैले हेर्ला भनेर होइन, आत्मसन्तुष्टिका लागि स्वयंसेवा गरिरहेका छौं ।’

उनी थप्छन्, ‘मसँग राज्य तथा सम्बन्धित निकायको साथ नहोस्, तर हजारौं युवाको साथ छ । यही हो मेरो धन । सेवा नै मेरो धर्म अनि कर्म पनि ।’

कमेन्ट

  1. Aug. 24, 2021, 11:59 a.m. fastest
    hahahahahahahahahah
  2.  0 Reply
  3. Aug. 23, 2021, 4:25 p.m. dhakal ji
    ragat diyera punya kaam gareko ta cha tara manche chai uhi ho,yo jasto kharab manche dekheko chaina maile
  4.  0 Reply
  5. Aug. 23, 2021, 11:04 a.m. rebel
    thik manche ta haina waha .tara j hos yo kam ma chai holan ki.
  6.  0 Reply
  7. Aug. 23, 2021, 11:02 a.m. asalas
    khub naitikta jharchan,bhitri kura arkai cha in ko pani.
  8.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।