ad

बालकथा : अहङ्कारको नतिजा

person explore access_timeभदौ ८, २०७८ chat_bubble_outline1

उहिले कुनै समयमा पृथिवी स्थानीय देवता अग्नि र अन्तरिक्ष स्थानीय देवता वायुको बीचमा को ठूलो भन्नेबारे झगडा परेको थियो । अग्नि आफैँलाई ठूलो मान्थे । आफू बिना संसारका मानिस खानै नपाएर मर्छन् भन्ने उनको मान्यता थियो । वायुदेव होइन, कहाँ त्यसो भनेर हुन्छ । तिमीभन्दा मै पो ठूलो हुँ भन्थे । आफू बिना मानिस खान नपाएर होइन सासै फेर्न नपाएर मर्छन् भन्ने उनको मान्यता थियो । 


झगडा चल्दै गयो । लामो समयसम्म छिनोफानो भएन । अग्नि आफैँलाई ठूलो भन्ने, वायु आफैँलाई ठूलो भन्ने । एउटा आगो हुँदा अर्को पानी हुन सक्नुपर्छ तब मात्र झगडा साम्य हुन्छ । दुवै आगो भएपछि झगडा बल्झिने नै भयो । यहाँ पनि यस्तै भएको थियो । जति नै प्रयास गर्दा पनि समस्या समाधान नभएपछि उनीहरूले द्युस्थानीय देवता सूर्य समक्ष गएर यसको छिनोफानो गरिदिन आग्रह गरे । उनीहरूको कुरा सुनिसकेपछि सूर्यदेवले गम्भीर हुँदै भने–



‘आ–आफ्नो स्थानमा तपार्इँहरू दुवै ठूलो हुनुहुन्छ । अग्निदेवले गर्ने काम वायुदेवले गर्न सक्नुहुन्न । वायुदेवले गर्ने काम अग्निदेवले गर्न सक्नुहुन्न । यसको अर्थ हो अग्निदेवको स्थानमा अग्निदेव ठूलो, वायुदेवको स्थानमा वायुदेव ठूलो । सारमा आ–आफ्नो स्थानमा दुवै ठूलो । बेकारमा किन झगडा गर्नुहुन्छ । यसै पनि झगडाले कसैको भलो गर्दैन । अलिहेसम्म यसको नतीजा राम्रो आएको उदाहरण कतै भेटिएको छैन । अरूले निर्णय गरिदिनु पर्दा एउटाले जित्ने अर्कोले हार्ने अवस्था आउन सक्छ । त्यतिबेला हार्ने पक्षलाई नराम्रो लाग्न सक्छ तर मिल्दा त्यस्तो हुँदैन । दुवैको जित हुन्छ । अर्थात् दुवैले जितको महसूस गर्न पाउँछन् । यसबाट कसैले पनि नराम्रो मान्नुपर्ने अवस्था आउँदैन ।’



सूर्यको कुरा सही  थियो । उनले नीतिपरक कुरा गरेका थिए तर उनीहरू अहङ्कारले यति बहिरा भइसकेका थिए कि सूर्यको कुरा सुन्नै सकेनन् अथवा भनौँ चाहेनन् । दुवै मेरै गोरुको बाह्रै टक्का  भनेर उफ्रिन थाले । उनीहरूको अवस्था देखेर सूर्यदेव पनि हत्तु भए । तैपनि केही न केही गर्नैपर्ने अवस्था थियो । त्यसैले थप गम्भीर हुँदै भने– 



‘तपाईँहरू जसरी एकोरिँदै हुनुहुुन्छ त्यसको नतीजा राम्रो देखिरहेको छैन । यसको मूल्य तपार्इँहरू दुवैलाई महङ्गो पर्न सक्छ । त्यसैले भन्दैछु दुवै आ–आफ्नो स्थानबाट एकएक पाइलो अघि बढ्नुस् । मिलन बिन्दु फेला पर्छ । मिल्नका लागि दुवै एकएक पाइलो अघि बढ्नैपर्छ । दुवै आ–आफ्नो स्थानबाट टसमस नहुने हो भने जति नै कराए पनि केही हुनेवाला छैन । कसैले करकाप गरेर मिलाइ दिनसम्म त सक्छ तर त्यो दिगो हुँदैन । झगडाको बिऊ मौका कुरेर बसेको हुन्छ र अलिकति तलमाथि पर्ने बित्तिकै टाउको उठाउन पुग्छ । बिन्ती छ त्यस्तो अवस्था किन निम्त्याउनुहुन्छ ।’



सूर्यदेवले अनुनय गरे, विनय गरे, मिलाउन भरसक प्रयास गरे तर उनीहरू यति पर पुगिसकेका थिए कि एक इञ्च पनि अघि बढ्न सकेनन् । बीचमा अग्लै अहङ्कारको पर्खाल खडा भइसकेको थियो । जति नै सम्झाउँदा पनि केही नलागेपछि सूर्यदेवले कड्किँदै भने–



‘ठीकै छ, त्यसो हो भने कर गर्दिन । भन्नुस् तपार्इँहरू केके गर्न सक्नुहुन्छ ?’

सूर्यको कुरा सुनेर अग्निदेवले भने जे पनि गर्न सक्छु । पूरा जङ्गल डडाएर खरानी बनाउन सक्छु । पानी तताएर पूरा नदी नै सुकाउन सक्छु ।’

अग्निको कुरा वायुदेव सहन सकेनन् र बीचैमा रोक्दै भन्न लागे–

‘भोभो फुर्ति गर्न पर्दैन । मैले चाहेँ भने अरुको कुरा छाड तिमीलाई नै समाप्त पारिदिन सक्छु ।’

आफ्नै अगाडि झगडिन थालेको देखेपछि सूर्यदेवले थप कडा हुँदै भने–

‘कसैलाई पनि भरे पश्चात्ताप गर्न नपरोस् भनेर सम्झाउन खोजेको हुुँ तर मान्नुभएन । तपाईँहरूको अन्तिम चाहना नै यही हो भने मेरो भन्नु केही छैन तर निर्णयमा पुग्नुभन्दा पहिले तपार्इँको काम हेर्नुपर्ने हुन्छ । त्यसैले एकले अर्कोसमक्ष ठूलो सावित गरेर देखाउन सक्नुहुन्छ ।’

त्यसपछि अग्निले आफ्नो शक्ति बढाएर घना जङ्गल जलाउन थाले । जङ्गल चटचट आवाज निकाल्दै जल्दै गए । जङ्गली पशुपक्षीहरू चिँचिँचुँचुँ गर्दै जल्दै मर्दै गर्न थाले । यस्तो दृष्य वायुदेवले सहन सकेनन् र एउटा ठूलो झोक्का निकालेर निभाउन खोजे तर यसबाट आगोको लप्का निभ्नुको सट्टा झन् प्रज्वलित हुँदै गयो । वायुले अग्निलाई निभाउन सक्ने भनेको सानो हुँदा मात्र हो । ठूलो भएपछि निभाउन सक्दैन । उल्टै आगोको लप्कालाई बढाइदिन्छ तर वायुदेव पनि कम चलाख थिएनन् । अग्निको अवस्था बुझेपछि आफ्नो शक्ति खिचिदिए । वायुको अभावमा अग्निदेव गतिहित भई एकैछिनमा समाप्त हुन पुगे । यसबाट वायुदेवेको अहङ्कार यति चुलियो कि सूर्यदेवसितै तपार्इँभन्दा पनि ठूलो हुँ भन्न थाले । सूर्यदेव अर्को समस्यामा परे तर उनी पनि चानचुने थिएनन् । एउटा जुक्ति निकाल्दै भने–

‘ऊ त्यो मानिस (जमिनमा खास्टो ओडेर हिँडिरहेको मानिस देखाउँदै) देख्नुभएको छ ?’

वायुदेवले फुर्तिसाथ भने–

‘हँहँ देखेको छु, किन नदेख्ने ?’

‘लौ त्यसो हो भने ठीकै छ ।’ सूर्यदेवले मुसुक्क हाँस्दै भने–

‘उनले ओडेको खास्टो तपाईंले हटाउन सक्नुभयो भने तपार्ईँ ठूलो, होइन मैले हटाउन सकेँ भने म ठूलो हुन्छ ?’

हुन्छ हुन्छ किन नहुने भन्दै वायुदेवले हौसिएर हावाको एक झोक्का पठाए । यसबाट मानिसलाई चिसो महसूस भयो र हावाले खास्टो उडाउला भनेर दुई हातले जोडसित समाते । वायुदेव जति बढी बल लगाउँदै उडाउन खोज्थे उनी त्यति बढी जोडसित खास्टो समाउँथे । जति नै प्रयास गर्दा पनि खास्टोलाई हटाउन होइन एक इञ्च पनि चलाउन नसकेपछि  खुइय गर्दै  सूर्यको मुखमा हेर्न लागे ।

त्यसपछि सूर्यदेवले आफ्नो ताप बढाउन थाले । ताप बढ्दै गएपछि मानिसलाई गर्मी महसूस भयो र आफ्नै हातले खास्टोलाई एकतिर मिल्काइदिए । बल्ल वायुदेवलाई आफ्नो गल्ती महसूस भयो । उनी लाजले रातो मुख लगाउँदै पाखा लागे । त्यस दिनदेखि कहिल्यै सूर्यको सामु मुख देखाउने हिम्मत गरेनन् । अहङ्कारको नतीजा जहाँ पनि यस्तै हुन्छ ।

कमेन्ट

  1. Aug. 26, 2021, 7:16 a.m. bimala kala khatri
    nice story
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।