बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शंकरको रेकर्ड तोड्दै कुलप्रसाद : भाग पुर्‍याउन लुम्बिनी प्रदेशमा मन्त्रालय फुटाइँदै

मङ्गलबार, ०८ भदौ २०७८, १४ : २०
मङ्गलबार, ०८ भदौ २०७८

लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूको सरकार बनेपछि सरकारको आकार थप बढ्ने भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी र जसपामा सांसदहरू मन्त्रीका आकाङ्क्षी धेरै भएपछि लुम्बिनी सरकारले मन्त्रालय बढाउने तयारी गरेको हो ।

कुलप्रसाद केसीले गत साउन २८ गते नियुक्त भएसँगै  मन्त्रालय बढाए भए गठबन्धन  दलहरूमा पनि  भागबण्डा पुराउने आन्तरिक  योजना बनाएका थिए । हिजो सोमबार  मुख्यमन्त्री  विश्वासको मत  लिएसँगै उनी आजभोलि नै मन्त्री मण्डल विस्तार तयारीमा रहेका छन् । यसअघि साउन २८ मै मन्त्री बनेकाहरूको लागि पनि मन्त्रालय टुङ्गाउनको सकस भएपछि बिना विभागीय मन्त्रीको रूपमा राखिएको छ । केसीको नेतृत्वमा  हाल ७ सदस्य मन्त्रिमण्डल रहेको छ ।

पूर्व मुख्यमन्त्री शंकर पोखरेलले सत्ता जोगाउनकै लागि गत वैशाख १९ मा मन्त्रालय फुटाएर १० पु–याएका थिए । त्यसमा पनि अझै थप गर्ने तयारी भएको गठबन्धनका एक प्रदेश सभा सदस्यले रातोपाटीलाई बताए ।

सरकारका प्रवक्ता रहेका मन्त्री कृष्णध्वज खड्काले पनि मन्त्रिपरिषद् विस्तारको काम छिटै हुने बताए । उनले कानुनले मिल्ने  अधिकार प्रयोग गरेर मन्त्रालयहरू  विभाजन गर्ने   विषय सरकारको अधिकार भएकोले त्यसलाई अन्यथा मान्न नहुने बताए ।

अब विस्तार हुने मन्त्रिपरिषद्मा लागि माओवादीबाट ४, नेपाली काँग्रेसबाट ४  जसपाबाट ३ जनामन्त्री बन्ने छन् । एक जना स्वतन्त्र अजय बहादुर शाही पनि  विना विभागीय मन्त्री बनिसकेका छन् । यस्तै नेपाली काँग्रेस र माओवादी  १–१ जना राज्यमन्त्री बन्ने छन् । यसरी मुख्यमन्त्रीसहित १५ सदस्य मन्त्री मण्डल  तयार  हुने गठबन्धन दलका एक नेताले रातोपाटीलाई बताए ।

मन्त्रालयहरूको बाँडफाँडका लागि मन्त्रिपरिषद् बैठकले मन्त्रालयले टुक्राउने निर्णय गर्नुपर्ने हुन्छ । हाल मुख्यमन्त्रीमा केसीसहित माओवादीका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजनामन्त्री छन् । काँग्रेसबाट डिल्लीबहादुर चौधरी सहरी तथा ग्रामीण विकास मन्त्री र जसपाका सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री बनिसकेका छन् ।  जसपाका पुमर्ति ढेगा मगर, सम्झना रायमाझी शर्मा  र स्वतन्त्र रूपमा अजय बहादुर शाही बिना विभागीय मन्त्री रहेका छन् । अहिले मुख्यमन्त्री धेरै मन्त्रालयहरूको आफ्नो मातहतमा राखेका छन् । कोरोना महामारीको बेला प्रदेश स्वास्थ्यमन्त्री समेत  नियुक्त नभएको आलोचना समेत सुरु भएको छ ।

आलोपालोको सहमति 

गठबन्धन दलहरूबीच आलोपालो सरकार चलाउने भद्र सहमति भएको छ । लुम्बिनी प्रदेशमा हाल रहेका गठबन्धन दलहरूबीच भएको  भद्र सहमति अनुसार जनयुद्ध दिवस फागुनमा मनाएपछि नेपाली काँग्रेसको मुख्यमन्त्री बन्ने सहमति भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खानले दाबी गरे ।  

उनले आधा आधा सरकार चलाउने कुनै लिखित सम्झौता नभए पनि एउटा भद्र सहमति भएको जिकिर गरे । अहिलेको सरकार  गठन भएको सरकार संविधानको धारा २ अनुसार भएका कारणले सरकार परिवर्तन गर्न सहज रूपमा गठन गर्न मिल्ने उनको भनाई रहेको छ ।

अहिलेको गठबन्धनबाट ४२ जनाको समर्थनमा केसी मुख्यमन्त्री नियुक्त भएका हुन्। अहिले कायम ८० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४१ जना आवश्यक पर्छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप