बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१० बुँदे प्रस्ताव कार्यान्वयन गर्न एमालेले बनायो ६ सदस्यीय कार्यदल

सबै पार्टी कमिटी जेठ २ को अवस्थामा क्रियाशील हुन निर्देशन
मङ्गलबार, ०८ भदौ २०७८, १२ : ००
मङ्गलबार, ०८ भदौ २०७८

नेकपा एमालेले १० बुँदे सिफारिसमा आधारित निर्णय कार्यान्वयनका क्रममा उत्पन्न हुनसक्ने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले उक्त कार्यदल गठन गरेको हो । कार्यदलमा उपाध्यक्ष भीम रावल,महासचिव ईश्वर पोखरेल उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

त्यस्तै बैठकले पारित गरेको प्रस्तावमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । त्यस क्रममा जेठ २ को सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, एकीकरणका क्रममा जेठ ३ पछि प्रदान गरिएका सदस्यता सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने एमालेले निर्णय गरेको छ । एमालेले विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमा छलफल गर्न आगामी भदौ २५ र २६ गते स्थायी कमिटी र २७,२८ गते केन्द्रीय समितिको बैठक आयोजना गर्ने भएको छ ।

एमालेले मङ्सिर १० देखि महाधिवेशन गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकले माधव नेपालको पार्टीमा गएकाहरूको हकमा कार्यदलले टुङ्गो लगाउने र पार्टीका केन्द्रीय निकाय र विभागहरूलाई पूर्णता दिने कार्यदललाई जिम्मा दिएको छ । नेकपा एमालेले विभाजित भएर गएको समूहलाई मूलधारमा फर्किन आह्वान गर्दै आएको खण्डमा उनीहरूमाथि पूर्वाग्रह नराख्ने प्रस्ताव पारित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप