शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जीवन कथा अन्तर्राष्ट्रिय पाठ्यपुस्तकमा प्रकाशित

मङ्गलबार, ०८ भदौ २०७८, २१ : ०२
मङ्गलबार, ०८ भदौ २०७८

नेपाली अमेरिकन सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जीवन कथा विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित भएको छ । विश्वविद्यालय र माध्यमिक विद्यालयका पाठ्यपुस्तक प्रकाशनमा विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राईट होफ्नरद्वारा लिखित ‘दि राईटर्स माईण्डसेट’ पुस्तकमा डा. परियारको जीवन संघर्षको कथा प्रकाशन गरेको छ ।

उक्त पुस्तकको ६९२ पृष्ठमध्ये डा. परियारको जीवन कथा पृष्ठ ५९१ देखि ५९४ सम्म चार पृष्ठमा समावेश गरिएको छ । उनको कथा यसअघि अमेरिकी संघीय सरकारको पिस कर्प्सले आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो ।

विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसनको पाठ्यपुस्तक अमेरिकामा मात्र नभई विश्वको एक सयभन्दा बढी मुलुकका माध्यमिक विद्यालय (हाइस्कुल), महा विद्यालय (कलेज) र विश्वविद्यालयहरूमा पढाइन्छ । सन् २०२० को तथ्याङ् अनुसार हाल यो प्रकाशनको ४३ लाख बढी स–शुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थीहरू र प्राध्यापकहरू छन् भने यसका ११ सयभन्दा बढी शिक्षण संस्थानहरू विशेष प्रयोगकर्ता छन् ।

डा. परियारको कथा उक्त पुस्तकमा व्यक्तिगत समृद्धि अन्तर्गत प्रकाशित भएको हो । यो पाठ्यपुस्तकमा ५२ जनाको आलेख र जीवन कथा समावेश छ । यसमा समावेश उनी एकमात्र नेपाली हुन् ।

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरको नगर प्रमुख स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्डकी पूर्व सल्लाहकार रहिसकेकी सुपरिचित नेपाली अमेरिकी सामाजिक अभियन्ता डा. विष्णुमाया परियार हाल जर्सी सिटी सहरको रोजगारी र तालिम कमिटीको सदस्यमा सन् २०२१–२०२४ कार्यकालका निम्ति नियुक्त भएकी छन् भने जर्सी सिटी सहरको नेपालका लागि भगिनी सम्बन्धको विशेषदूत पनि हुन् ।

डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी सहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको छ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झण्डा फहराइएको छ । डा. परियार एनआरएनए आईसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोवल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाकी संस्थापक अध्यक्ष पनि हुन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय ४० भन्दा बढी पुरस्कारबाट सम्मानित डा. विष्णुमाया परियारलाई उनले सन् २०१५ मा समाजमा पु¥याएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्यको लुईभिल सहरका मेयर ग्रेग ई फिसरले प्रोक्लेमेसन पत्रद्वारा सेप्टेम्बर २७ तारिखलाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरिएको छ । यसरी जीवित नेपाली व्यक्तित्वको नाममा दिवस (डे) घोषणा गरेर विदेशीभूमिमा सम्मान गरिएको यो पहिलो ऐतिहासिक दिन हो ।

डा. परियार हाल अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीस्थित केयरपोईन्ट हेल्थ अन्तर्गत हड्सम स्पिकमा घरेलु र यौन हिंसा सम्बन्धी पहुँच (आउटरिच)को संयोजकको रूपमा सेवा गर्दै आएकी छन् ।

डा. विष्णुमाया परियारको संस्था एड्वान ले स्थापनाकाल (सन् १९९८) देखि हालसम्म २३ हजार बढी बालबालिका र ५० हजार बढी तिनका परिवार र जनतालाई शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण, दिगो कृषि, सामाजिक जागरण, सचेतना, कानूनी प्रशिक्षणलगायतका विविध क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप