शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सङ्घीयतालाई जोगाउन जस्तोसुकै त्याग गरिन्छ : उपेन्द्र यादव

बुधबार, ०९ भदौ २०७८, २१ : ५६
बुधबार, ०९ भदौ २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन जस्तोसुकै त्याग गर्न पछि नपर्ने बताएका छन् । पार्टीको आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा उनले मुलुकमा विसं २००७ र २०४६ का परिवर्तनलाई उल्टाउने कार्य भएको इतिहास रहेको हुनाले वर्तमान उपलब्धिलाई संस्थागत गर्नुपर्ने जिम्मेवारी पार्टीको काँधमा रहेको विचार व्यक्त गरे ।

उनले जनताले पाएको अधिकारलाई जोगाउनु, संरक्षण र संस्थागत गर्नु पार्टीको पहिलो लक्ष्य भएको चर्चा गर्दै विभेद र असमानतालाई हटाउन संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष यादवले मुलुकको आर्थिक विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, जलस्रोत र पर्यटन क्षेत्रको विकास गरी नेपाललाई दातृराष्ट्र बनाउन हामी सबै लाग्नुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष यादवले पूर्वअध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्नु भनेको तर उनी पियन बन्न खोज्नु भएकाले चोइटिएर जानुभएको उल्लेख गरे ।

पार्टीका वरिष्ठ नेता अशोककुमार राईले पूर्व सरकारले संसद् विघटन गर्ने कार्य सङ्घीयता माथिको खड्ग प्रहार भएकाले विरोध गरेको चर्चा गर्दै कार्यकर्ताले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारको सदैव विरोध गर्नुपर्नेमा जोड दिए नेता राईले आगामी निर्वाचनका लागि अहिलेदेखि नै तयारी थाल्न आग्रह गर्दै चार महिने पार्टी सुदृढीकरण र जनपरिचालन (सुज) अभियान सञ्चालन गरिने जानकारी दिए ।

पार्टीका कार्यकारिणी समिति सदस्य महेन्द्र राय यादवले मुलुकको मुख्य शत्रु भनेको गरिबी हो भन्दै तराई, पहाड र हिमालका जनतालाई एकजुट बनाई समृद्धि ल्याउने बताए । उनले सरकारले सबै जनतालाई कोरोनाको खोप, बाढी पीडितलाई राहत र चुरे संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । अभिमुखीकरणमा प्रदेशका १४ जिल्ला कार्यकर्ताको सहभागिता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप