शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा खेतबारीमा रमाउँदै भूतपूर्व गोर्खाहरु (भिडियोसहित)

बिहीबार, १० भदौ २०७८, ०६ : ४०
बिहीबार, १० भदौ २०७८

लन्डन । बेलायतको राजधानी लन्डनबाट करिब ७२ माइल टाढा छ इष्टली शहर । यो शान्त शहरलाई न राजधानीको कोलाहल वास्ता छ, न कोभिड त्रास । बरु यतिखेर खेतीमा व्यस्त छन् यहाँका बासिन्दा । तीमध्ये हुन् भूतपूर्व गोर्खाहरु ।

इष्टली बरोले कोभिड महामारीमा समुदाय माझ उल्लेखनीय काम गरेर ‘लोकल हिरो’ सम्मान पाएका भूतपूर्व गोर्खा कमल पूर्जा सप्ताहन्तमा खुबै व्यस्त देखिए । ‘लन्डनबाट नेपालीहरु तरकारी किन्न आउने भन्नुभएको छ । नजिकको फुड ब्यांकमा पनि मानिस कुरिरहेका छन्, सबै चाँजोपाँजो मिलाउन अलि व्यस्त छु’, पूर्जाले भने ।

फार्म प्रोजेक्ट इञ्चार्ज पूर्जालाई रानीमाया पुन र प्रेमकमारी गुरुङले पनि सघाउँदै थिए । स्थानीय जग्गाधनी किसान हेनरी रसेलले इष्टली गोर्खा नेप्लिज एसोसिएसनलाई सित्तैमा उपलब्ध गराएको झण्डै एक हेक्टर खेतबारीमा यतिखेर सिजनल तरकारी काँक्रो, सिमी, फर्सी, आलु प्याज, सागसब्जी, स्याउ, अंगुर फलेका छन् ।

एसोसिएसन आवद्ध स्वयंसेवी गोर्खाहरु फूर्सद मिलाएर हाइब्रीज फार्ममा खेती गर्छन् । फलेको तरकारी फलफूल गरिब, असहायलाई ख्वाउने नजिकै फुड ब्यांकलाई निशुल्क बांडिन्छ । कतिपयले खेती गर्न आर्थिक सहयोग (च्यारिटी) दिन्छन् र त्यो वापत तरकारी लैजान्छन् । 

‘वृद्धवृद्धा गोर्खा परिवारलाई फूर्सदको समय बिताउने थलो पनि भएको छ खेतबारी’, पूर्जाले सुनाए, ‘स्वस्थ्य रहनमात्र होइन, हामी खेती किसानी गरेरै बेलायत आएकाले त्यसलाई निरन्तरता दिन पनि यता भुलेका हौं । यहीँ पिकनिक गर्छौ, दुःख–सुख गफिन्छौं । तर, जनशक्ति अभावले खेती र रेखदेख गर्न चुनौति छ ।’

 

सन् २००९ देखि हाइब्रीज फार्ममा खेती गर्न थालिएको बताउँछन् इष्टली गोर्खा नेपलिज एसोसिएसन अध्यक्ष तीर्थबहादुर पुन । ‘पहिला मरुभूमिजस्तो जमिनलाई गोर्खाहरुले अहिले हरियाली बनाएका छन् । उनीहरु रमाएको देख्दा मलाई खुशी लाग्छ । म यहाँ नियमित आइराख्छु,’ हेनरीले भने । उनी आफ्नो मरणपछि पनि गोर्खाहरुले जमिन सदुपयोग गरिदिउन् भन्ने लाग्छ ।

इष्टली बरोका पूर्व काउन्सिलर मोहम्मद मोसादक (ओबीइ), जो एसोसिएसनका ट्रष्टी पनि हुन्, उनी आफ्नो छिमेकी बनेका गोर्खाहरुसँग निकै प्रभावित छन् ।  ‘वास्तवमा गोर्खाहरु सहयोगी, इमान्दार र मिहेनती छन्’, उनले भने, ‘फार्म प्रोजेक्टले स्थानीय समुदायसँग अन्तरघुलन पनि गराएको छ ।’

अर्का ट्रष्टी एवं अध्यागमन सल्लाहकार महेश दाहाल भूतपूर्व गोर्खाहरु आफ्ना सन्तानबाट टाढिएर एक्लो महशुस गरिरहेका बेला खेतीमा रमाइरहेको बताउँछन् । अंग्रेजी भाषा र इन्ट्रीगेसन (अन्तरघुलन) समस्याबीच अन्य शहरमा रहेका गोर्खाहरुलाई पनि यसखालको काममा लाग्न सुझाउँछन् उनी ।

भिडियो :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप