बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

होलसेलमै प्रतिक्यारेट ४२० रुपैयाँ पुग्यो अण्डाको मूल्य

व्यवसायी भन्छन्– मूल्य बढ्नु स्वभाविक
बिहीबार, १० भदौ २०७८, १४ : ०५
बिहीबार, १० भदौ २०७८

बजारमा अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । अण्डाको बजार मूल्य होलसेल मै प्रतिक्यारेट ४२० रुपैयाँसम्म पुगेको हो । यसअघि, अण्डाको मूल्य प्रतिक्यारेट ३७० रुपैयाँसम्म पर्थ्यो । नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष राजेन्द्र लामिछानेले किसानले नै अण्डामा प्रतिक्यारेट ४१० रुपैयाँ पाउन थालेको बताए । उनले किसानले प्रतिक्यारेट ४१० रुपैयाँ पाउँदा होलसेलसम्म पुग्दा ढुवानी लागत जोडिएर प्रतिक्यारेट ४२० रुपैयाँ पुग्ने बताए ।

यस्तै, नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले पनि अण्डाको मूल्य होलसेलमै प्रतिक्यारेट ४२० रुपैयाँ पर्न थालेको बताए ।  उनले भने, ‘यसअघि प्रतिक्यारेट ३७० रुपैयाँसम्म पथ्र्यो । अहिले क्यारेटमै ४० रुपैयाँसम्म बढेर ४१० रुपैयाँ पुगेको छ ।’

नेपाल अण्डा उत्पादक संघका अनुसार बजारमा ठूला र साना गरी दुई प्रकारका अण्डा उपलब्ध हुन्छ । जसमा ठूला अण्डाको मूल्य प्रतिक्यारेट ४२० पुगेको र मध्यम (साना) खालका अण्डाको मूल्य प्रतिक्यारेट ३८० रुपैयाँ पुगेको छ । जुन, होलसेलमा पुग्दा प्रतिक्यारेट ३९० हुन आउने संघको भनाई छ ।

किन बढ्यो मूल्य ?

अण्डा उत्पादक संघले अण्डाको मूल्य बढ्नुको कारण कोरोना महामारी भएपनि मूल्यवृद्धि स्वभाविक भएको बताएको छ । संघका पूर्व अध्यक्ष लामिछानेले बजारमा उत्पादन र मागको सन्तुलन नमिल्दा मूल्य बढेको बताए ।

उनले भने, ‘कोरोना महामारी रोक्न गरिएको लकडाउनको समयमा प्यारेन्ट चल्ला (अण्डा पार्ने चल्ला)को आयातमा समस्या भयो ।’ नेपालमा प्यारेन्ट चल्लाको आयात यूरोप र अमेरिकाबाट हुँदै आएको छ । तर, महामारीमा अन्तर्राष्ट्रिय हवाई यातायात नचल्दा चल्लाको आयात हन पाएन ।

अहिले चल्ला आउन थालेको र उत्पादन बढेपनि मागअनुसारको उत्पादन हुन नसकेका कारण मूल्य बढेको हो । यद्यपी, मूल्य बढ्न स्वभाविक भएको र अण्डको मूल्य बढ्दा किसानलाई फाइदा भएको संघले बताएको छ ।

बढ्यो कच्चा पदार्थको मूल्य

अण्डाको मूल्य बढ्नुमा प्यारेन्ट चल्लाको अभावका कारण उत्पादन घट्नु मात्रै नभई कच्चा पदार्थको मूल्यवृद्धि पनि हो । पछिल्लो समय कच्चा पदार्थको मूल्य निरन्तर बढिरहेको छ ।

कुखुराको दानाको कच्चा पदार्थकोरुपमा प्रयोग हुने मकै, भटमास, सूर्यमुखी र धानको ढुटोको मूल्य बढेको उत्पादक संघले जनाएको छ । विगत ५ वर्षदेखि भारतमा प्रतिकिलो ५०÷६० भारुमा किनबेच भइरहेको मकै भटमासको पिना अहिले ११० भारु पुगेको छ ।

प्रतिकिलो ११० भारु पर्ने मकैभटमास नेपालमा ल्याउँदा प्रतिकिलो १८० रुपैयाँसम्म पुग्ने व्यवसायीहरुको भनाइ छ । यसका साथै, कोरोना महामारी अघि प्रतिकिलो १८ रुपैयाँमा पाइने धानको ढुटो अहिले ३५ रुपैयाँ पुगेको छ । यस्तै, सूर्यमुखीको पिना २८ रुपैयाँ प्रतिकिलोबाट बढेर ६० रुपैयाँ पुगेको छ । कच्चा पदार्थको मूल्य बढेपछि दानाको मूल्य पनि बढेर प्रतिकिलो ६० रुपैयाँभन्दा माथि पुगेको छ ।

मूल्य बढ्नु स्वभाविक भएको व्यवसायीको दाबी

कुखुरा उत्पादक र पोल्ट्री व्यवसायीहरु कुखुराको अण्डाको मूल्य बढ्नु स्वभाविक भएको बताउँछन् । उनीहरुका अनुसार २० वर्षअघि कुखुरा, खसी बोका र राँगा भैसीको मासुको मूल्य करिब–करिब उस्तै थियो । तर, अहिले खसीको मासुको मूल्य प्रतिकिलो १२ सय रुपैयाँ पुगेको छ ।

यस्तै, राँगाभैसीको मासुको मूल्य बढेर ६०० रुपैयाँसम्म पुगिसके पनि कुखुराको मासुको मूल्य ३००–४०० रुपैयाँ रहेको व्यवसायीहरु बताउँछन् । नेपाल ह्याचरी संघका अध्यक्ष टिका पोखरेलले २० वर्ष अघि पनि कुखराको मासुको मूल्य प्रतिकिलो ३०० रुपैयाँ नै रहेको बताए ।

उनले भने, ‘अहिले पनि कुखुराको मासुको मूल्य २० वर्ष अघिकै जस्तो छ । तर, खसीबोका र राँगा भैसीको मासुको मूल्य बढेको बढ्यै छ ।’

यस्तै, अण्डा उत्पादक संघले करिब तीन वर्ष अगाडि सरकारले गरेको अध्ययनले प्रतिगोटा अण्डाको उत्पादन लागत ११ रुपैयाँभन्दा माथि भएको पाइएको थियो । यद्यपी, अध्ययन प्रतिवेदन आएको तीन वर्षपछि पनि किसानले पाउने अण्डाको भाउ १३ रुपैयाँ हाराहारीमा मात्र भएको संघले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप