संस्मरण

जेबी टुहुरे : मेरा कर्म बुबा हुनुहुन्थ्यो

person explore access_timeभदौ ११, २०७८ chat_bubble_outline0

सानैदेखि कम्युनिस्ट विचारधारामा हुर्किएकी म उहाँको गीत ‘आमा दिदी बहिनी हो’ पनि सुन्थेँ । उहाँलाई जनवादीका अग्रज कलाकार भनेर चिन्थेँ । उहाँसँग पहिलो भेट विसं ०४६ पछि मात्र भयो । उहाँ त्यतिबेला जनसांस्कृतिक मञ्चको उपाध्यक्ष हुनुहुन्थ्यो । म जनवादी गीत सङ्गीतमा लागेपछि उहाँसँग भेट भयो ।

जनआन्दोलनको अगाडि म कम्युनिस्टमै थिएँ । तर, भेट्ने मौका मिलेको थिएन । जनआन्दोलनपछि कम्युनिस्टका आमसभाहरूमा भेट हुन थाल्यो ।

म मोरङ जिल्लाकी सामान्य कार्यकर्ता थिएँ । २०४६ देखि उहाँले डोर्याएर मलाई अहिलेको अवस्थामा ल्याउनुभएको हो । उमेरले मेरो बुबा समान भएकाले मैले उहाँलाई जेबी काका भन्थेँ । उहाँका धेरै कार्यक्रममा सहकार्य गर्दै फिमेल गायनमा साथ दिने सहयोगी मै हुँ । उहाँले नै मलाई २०४९ सालमा केन्द्रीय कलाकारका रूपमा मोरङबाट काठमाडौँ लैजानुभएको थियो ।

उहाँको पहिलो एल्बम ‘आमा दिदी बहिनी हो’ थियो । दोस्रो एल्बम ‘सहिदका लासहरू आलै छन्’ भन्नेमा मेरो उहाँसँग गायनमा सहकार्य रहेको थियो । एल्बमका रूपमा उहाँको त्यो दोस्रो र मेरो पहिलो थियो ।

पार्टी अभियानका लागि भनेर कलाकारको फाँटमा रहेर २०४९ पछि म निरन्तर उहाँसँगै रहेँ ।

उहाँसँग एक किसिमको राजनीतिक सहयात्रा भयो । उहाँ मेरो कर्मको बुबा हो । उहाँ एक निष्ठावान्, सच्चा जनताका कलाकार हुनुहुन्थ्यो । जनताको गीत गाउने, जनवादी गीतसङ्गीतमै आफ्नो पूरै जीवन समर्पित गर्ने व्यक्ति । शोषण, अत्याचारको विपक्षमा, समानताका लागि, लैङ्गिक, सामाजिक, जातीय, आर्थिकलगायत हरेक पक्षमा समानता हुनुपर्छ भन्ने विचारधारा राख्ने उहाँले मलाई पनि त्यही बाटोमा हिँडाउनुभयो ।

उहाँले कम्युनिस्ट विचार, मार्क्सवाद, लेनिनवाद र त्यसपछि कमरेड मदन भण्डारीले अँगालेको जनताको बहुदलीय जनवादको सिर्जनात्मक प्रयोगमा कसरी हिँड्ने भनेर जनकलाकारहरूलाई सिकाउनुहुन्थ्यो ।

जनकलाकार जनतामा कसरी भिज्नुपर्छ, दायित्व के हो, जनतालाई चेतना दिएर समानताका लागि अगाडि बढाउनका लागि के–के गर्नुपर्छ भन्ने हामीलाई सिकाउनुभयो । उहाँले त्यस्तैखालका गीत बनाउनु, गाउनु र सङ्गीत भर्नुभयो । हामीलाई पनि त्यही गाउन लगाउनुभयो । व्यवहारिकरूपमा पनि जीवनभर उहाँ त्यही ढङ्गले हिँड्नुभयो । उहाँका गीतसङ्गीत सबै जनवादी छन् । स्वर पनि राम्रो थियो ।

सरल जीवन शैली

करिब ३२ वर्ष मैले उहाँसँग सहकार्य गरेकी छु । उहाँको जीवनशैली अत्यन्त सरल थियो । कहिल्यै पनि मैले अनावश्यक विलाशिताको सामान प्रयोग गरेको, मोजमस्तीमा समय बिताएको देखिनँ । कम्युनिस्ट पार्टीमा म उहाँसँग भेट हुनुभन्दा पहिल्यै लागे पनि जनवादी फाँट, जनवादिता के हो, जनतासँग कस्तो व्यवहार गर्ने भन्ने सबै उहाँसँग सिकेकी हुँ । जीवनशैली, खानपान, पहिरन, स्वभावसमेत उहाँको अत्यन्त सरल थियो ।

उहाँसँग हिँड्दा कहिल्यै पनि डर लागेन । किनभने, उहाँ सबैलाई अत्यन्तै सरल व्यवहार गर्ने, रमाइलो स्वभावको हुनुहुन्थ्यो । अभियानका क्रममा होस् वा अन्य समय चौतारीमा एक–दुई जना भेट हुँदा तपाईंको गीत सुनौँ भनेर जनताले आग्रह गरे, तुरुन्तै जनचेतना दिने गीत सुनाउनुहुन्थ्यो ।

उहाँका सपना

सपना उहाँको देश समृद्ध बनाउने, जनताको गास, बास, कपास, शिक्षा, रोजगारलगायत सबैमा सबैको समान पहुँच हुनुपर्छ भन्ने थियो । किनभने, जनवादी गीतसङ्गीत र कम्युनिस्टले भन्ने भनेको सबैका लागि समान हो । उहाँका सपना पूरा हुन अझै धेरै बाँकी छन् ।

कम्युनिस्टको सिद्धान्त भनेको समाजवाद हुँदै साम्यवादमा पुग्ने हो । त्यो बाटो धेरै लामो छ । अहिले आदर्श मार्ग मात्र बनेको छ । समाजवादसम्म पनि पुग्ने अवस्था अहिले रहेन । साँचो अर्थमा जनताले पाउनुपर्ने अधिकार, जसका लागि उहाँ अन्तिम समयसम्म लड्नुभयो, त्यो भने बाँकी नै छ ।

एमाले छोड्नु हुँदैनथ्यो

केही वर्षअगाडि उहाँ (माओवादीबाट) संविधान सभा सदस्य हुनुभयो । म पनि (एमालेबाट) त्यहीँ सभासद् थिएँ ।

जीवनभर एमालेलाई बढाउन र जनतालाई एमाले चिनाउन होमिनुभएका उहाँको पछिल्लो एमालेप्रति असन्तुष्टि थियो । अहिलेको समयमा ती कुरा गर्न आवश्यक छैन । मानिसका जीवनमा हरेकखालका आरोह–अवरोह हुन्छन् । उहाँले तत्कालीन अवस्थामा एमालेप्रति जे माग गर्नुभएको थियो, त्यतिखेर त्यो जायज थियो । उहाँको मृत्युपछि ती राजनीतिक कुरामा नलागौँ जस्तो लाग्छ । उहाँको सपना र लक्ष्यको मात्र अहिले चर्चा गरौँ ।

म एक कार्यकर्ताको हिसाबले भन्नुपर्दा एमालेले जनताको बहुदलीय जनवाद कुल्चिएका कारण उहाँको असन्तुष्टि बढेको भने कदापि होइन । एमालेका सबै प्रधानमन्त्रीका पालामा पनि काम गर्न खोजेको हो, विविध कारणले हुन सकेन ।

जनताको बहुदलीय जनवादमा एमालेले लिएको विचारधारा नमिलेर जेबी टुहुरेले पार्टी छाडेको नभनौँ । एमालेप्रति उहाँको केही मात्रामा असन्तुष्टि थियो । उहाँले पार्टी छोड्नुहुँदैनथ्यो, म अहिले पनि भन्छु ।

देशभक्ति भएका सच्चा नागरिक

जेबी टुहुरेको निधनले राष्ट्र, जनता र देशमा अपूरणीय क्षति भएको छ । जनताका लागि लड्ने, जनता जगाउने, देश बनाउने, जनताको सधैँ भलो चाहने, जनताको प्रिय जनगायक र एउटा आदर्श व्यक्ति अहिले  हामी सबैले गुमाएका छौँ ।

देशभक्तिले ओतप्रोत सच्चा नागरिक देशले गुमाएको छ । उहाँको निधनमा कम्युनिस्ट पार्टीले मात्र सच्चा कार्यकर्ता गुमाएको छैन, सिङ्गो राष्ट्रले साँचो अर्थमा देशका लागि जीवन दिने व्यक्ति गुमाएको छ । उहाँजस्तो व्यक्ति एक युगमा एकजना मात्र जन्मिन्छ ।

राजनीति, सामाजिक लगायत हरेक हिसाबले उहाँजस्तो मानिस पाउनै सकिन्न । उहाँको तुलना कसैसँग गर्न सकिन्न । उहाँ यो देशको जनता जगाउने जनसांस्कृतिक धरोहर हो ।

(जेबी टुहुरेका गीतमा संयुक्त आवाज दिने जनकलाकार मधु गुरुङ दोस्रो संविधानसभा सदस्य हुन् । मोरङको बेलबारीमा बसोबास गर्ने गुरुङसँग रातोपाटीले कुराकानीका आधारमा यो सामग्री तयार पारेको हो )

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।