शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज : चार्ल्स र डायनाबीच सम्बन्धविच्छेद

शनिबार, १२ भदौ २०७८, ०७ : ४३
शनिबार, १२ भदौ २०७८

२९ जुलाई, १९८१ । दिन बुधबार । लण्डनस्थित सेन्ट पल चर्च । यहाँ एउटा महत्त्वपूर्ण विवाह भइरहेको थियो जसमाथि पुरै विश्वको नजर थियो । दुलहा थिए राजकुमार चार्ल्स र दुलही राजकुमारी डायना । यो विवाहलाई विश्वभर १०० करोड मानिसले आफ्नो टिभीमा हेरेका थिए । ६ लाख मानिस लण्डनको सडकमा थिए । विवाहमा २६५० जना विशेष पाहुनालाई चर्च बोलाइएको थियो ।

विश्वभर यस विवाहको ठुलो चर्चा थियो । कारण थिइन् राजकुमारी डायना । राजकुमारी डायना निकै चर्चित थिइन् । मानिसहरू उनले हाँस्ने–रुने, उठ्ने–बस्ने र हिँड्ने कुराको पनि तारिफ गर्ने गर्थे । उनको जीवनको हरेक पल आम मानिसका लागि निकै खास थियो ।

निकै धूमधामसँग विवाह भयो र कहिले सामान्य जीवन बिताउँदै डायना शाही परिवारको हिस्सा बनिन् । तर, शाही जीवन जहाँ आफूसँग कयौँ सुविधा लिएर आउँछ, सँगै आउँछ कयौँ समस्या पनि । डायना शाही परिवारको सदस्य बन्न अघि सामान्य जीवन बिताइरहेकी थिइन् । शाही परिवारमा आउने बित्तिकै त्यो फेरियो । शाही परिवारको सदस्य हुनुको दबाब, २४ घण्टा पछि लाग्ने मिडिया र निजी मामिलामा विश्वभरको चासोले डायनाको गोपनीयता खोसेको थियो ।

डायना शाही परिवारको सदस्य बन्ने प्रयास गरिरहेकी थिइन् । तर, त्यति नै बेला उनले राजकुमार चार्ल्सको प्रेम प्रसङ्गको बारेमा चाल पाइन् । चार्ल्सको क्यामिला पार्कर नामको महिलासँग प्रेम रहेको थियो । तर, उनी पार्कर पहिले नै विवाहित थिइन् । जसले गर्दा शाही परिवारले उक्त सम्बन्धलाई स्वीकार गरेनन् । अर्थात् डायना चार्ल्सको पहिलो रोजाई थिइनन् ।

यही कारण विवाहपछि दुईबीचको सम्बन्ध न्यानो हुन सकेन । चार्ल्स र पार्कर पुनः नजिक आएको थाहा पाएपछि डायनासँगको सम्बन्ध अझै बिग्रियो । यो कुरा सन् १९८६ तिरको हो जब डायना दुई सन्तानकी आमा बनिसकेकी थिइन् ।

डायना र चार्ल्सबीचको दुरी मानिसहरूले पनि महसुस गर्न थाले । मानिसहरूलाई खराब सम्बन्ध, डायनाको डिप्रेसन, चार्ल्स र पार्करको सम्बन्धको बारेमा थाहा पाइसकेका थिए । आम मानिसमा शाही परिवारको आलोचना हुन थाल्यो । अन्ततः शाही परिवारले उनीहरूको सम्बन्ध विच्छेद गर्ने निर्णय लियो । भनिन्छ, डायना आफ्ना सन्तानका लागि सम्बन्ध विच्छेद गर्न चाहँदैन थिइन् । तर, उनलाई जबरजस्ती सम्बन्ध विच्छेद गर्न लगाइयो । ९ डिसेम्बर १९९२ मा प्रधानमन्त्री जोन मेजरले दुवै अलग भएको घोषणा गरे । २८ अगस्त १९९६ मा दुवैबीच आधिकारिक रूपमा सम्बन्ध विच्छेद भयो ।  

सम्बन्ध विच्छेदको एक वर्षपछि डायना र डाक्टर हसनत खान तथा फिल्म निर्माता डोडी अल फायदबीच अफेयरको समाचार आउन थालेको थियो । ३१ अगस्त १९९७ मा ३६ वर्षीया डायनाको कार दुर्घटनामा मृत्यु भयो । घटनामा अल फायद पनि मारिए ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप