शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुलियो फोहोरको थुप्रो : गल्ती सिंहदरबारको कि महानगरको ?

मन्त्रालय र महानगरपालिकाबीच दोषारोपण शुरु
आइतबार, १३ भदौ २०७८, १८ : ३९
आइतबार, १३ भदौ २०७८

करिब तीन सातादेखि काठमाडौं उपत्यकामा फोहोर थुप्रिने क्रम बढेको छ । काठमाडौंका सडक, चोक र गल्लीमा फोहोर थुप्रिँदा उपत्यकामा प्रदूषणको मात्रा बढेको छ भने वर्षायामको विभिन्न किसिमका संक्रामक रोगको जोखिम बढेको छ ।

शहरी क्षेत्रको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौंँ महानगरपालिकासहित उपत्यकाका स्थानीय तहहरूको हो । तर, फोहोर व्यवस्थापनको मुख्य जिम्मा पाएको काठमाडौं महानगरपालिका यतिबेला शहरमा थुप्रिएको फोहोरको मतलबै नगरी राजस्व उठाउन करदाताको घर घरमा बाजा बजाउँदै हिँडिरहेको भन्दै सर्वसाधारणले आलोचना गरिरहेका छन् ।

काठमाडौंबाट हरेक दिन २ सय बढी गाडीमा हालेर फोहोर व्यवस्थापन गर्ने गरिएकोमा हाल मुस्किलले ५० वटा गाडीले सिसडोलमा फोहोर लाने गरेका कारण फोहोर व्यवस्थापन नसकेको हो ।

 

​१३ वर्षअघि २ बर्षका लागि फोहोर व्यवस्थापनका लागि भन्दै लिइएको सिसडोल पूर्ण रुपमा भरिएको छ भने फोहोर फाल्ने स्थलमा झन्डै २ सय मिटर बाटो हिलाम्मे भएका कारण ल्याण्डफिल साइटसम्म फोहोर बोक्ने गाडी पुग्न कठीन भइरहेको छ । सो बाटो मर्मतका लागि महानगरपालिकाले टेरपुच्छर नलगाएको स्थानीयबासी र फोहोरमैलाको गाडी चलाउने चालकहरूले गुनासो गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले सामान्य अवस्थामा दैनिक २ सय गाडीले सिसडोल ल्याण्डफिल्ड साइटमा फोहोर लिएर जाने गरेकोमा यतिबेला मुस्किलले ५० वटा गाडीले लैजाने गरेको रातोपाटीलाई बताए ।

 

महानगरपालिका भन्छ– मन्त्रालयका कारण समस्या भएको हो

महानगरपालिकाका वातावरण विभाग प्रमुख श्रेष्ठले शहरी विकास मन्त्रालयले समयमै बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माण नगर्दा काठमाडौंँमा फोहोर थुप्रिएको आरोप लगाए । उनले भने, ‘ल्याण्डफिल्ड साइटको समस्याले गर्दा नै फोहोर व्यवस्थापनमा समस्या भएको हो । मन्त्रालयले हामीलाई ल्याण्डफिल्ड साइट दिएको भए महानगरपालिकाको कमजोरी ग¥यो भन्नु ठीक हुन्थ्यो ।’

श्रेष्ठले प्रश्न गरे, ‘गत बर्ष नै ल्याण्डफिल्ड साइट दिन्छु भन्ने, तर अहिलेसम्म पनि नदिने ? हामीलाई अहिले सिसडोल जाने ८० मिटर बाटोमा समस्या हो, तर बञ्चरेडाँडा जानका लागि बाटोको समस्या छैन ।’

अहिले काठमाडाैंमा थुप्रिएको फोहोर ७ दिनभित्र उठाइसक्ने दाबीसमेत श्रेष्ठले गरे । उनले भने, ‘हामीले गत वर्ष नै सिसडोलमा फोहोर फ्याँक्न सकिँदैन है भनेर सरकारलाई भनेका थियौँ, राज्यलाई भनेका थियौँ । गत बर्ष सिसडोलमै फोहोर फ्याँक्नुस् भन्नुभयो र हामीले व्यवस्थापन ग¥र्यौँ । तर, यो बर्ष असारदेखि बञ्चरे डाँडामा फोहोर फ्याँक्न पाइन्छ भन्नुभएको थियो । हामीलाई अगाडि नै बञ्चरेडाँडा तयार हुँदैन भनेको भए हामी यो वर्ष पनि फोहोर व्यवस्थापनको विकल्प तयार पार्ने थियौँ । उहाँहरुले केही खबर गर्नुभएन, त्यही भएर समस्या आएको हो ।’

शहरी विकास मन्त्रालय भन्छ– महानगरपालिकाकै कमजोरी हो  

यता, काठमाडाैं महानगरपालिकाले लगाउने गरेको आरोपको शहरी विकास मन्त्रालयले खण्डन गरेको छ । आइतबार रातोपाटीसँग कुरा गर्दै शहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता विष्णुप्रसाद शर्माले काठमाडौंमा फोहोर थुप्रनुको दोष शहरी विकास मन्त्रालयलाई दिन नमिल्ने बताए ।

फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको रहेको भन्दै शर्माले यसमा शहरी विकास मन्त्रालयलाई जोड्न नहुने बताए । उनले भने, ‘काठमाडौं उपत्यकामा फोहोर थुप्रनुको मुख्य कमजोरी काठमाडौं महानगरपालिकाको हो । बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट त ठेक्का दिएको योजना हो, त्यसको काम भइरहेको छ । काम नै नसकी त्यहाँ फोहोर फाल्न दिने कुरा पनि भएन ।’

शर्मा अगाडि भन्छन्, ‘हामीले काठमाडौं महानगरपालिकाका प्रतिनिधि, निर्माण व्यवसायीको प्रतिनिधिलाई मन्त्रालय बोलाएर भदौ १७ गतेभित्र निर्माण गरिसक्ने प्रतिवद्धता जनाएका हौं । महानगरपालिकाबाट हरिकुमार श्रेष्ठ आफैँ यहाँ आउनुभएको थियो । अहिले शहरी विकास मन्त्रालयलाई दोष लगाएर उहाँहरु उम्कन पाउनुहुन्न । फोहोर व्यवस्थापनको जिम्मेवारी उहाँहरुको हो ।’

मन्त्रालयले दोसो चरणको बञ्चरेडाँडाको काम छिटो सक्नका लागि निर्माण व्यवसायीलाई ताकेता गरिरहेको र निर्माणस्थलमा विभागका पदाधिकारीहरु पनि खटिरहेको बताए । मन्त्रालयका सहसचिव शर्माले भने, ‘बञ्चरेडाँडामा नबन्नुजेल त्यसका लागि उहाँहरुले विकल्प पनि खोज्न सक्नुप-यो ।’

सिसडोलको अवस्था : हेर्नुहोस् भिडियो

झण्डै एक साताभित्र काम सकिने र फोहोर व्यवस्थापन सहज हुने शर्माले आशा व्यक्त गरे । उनले महानगरपालिकाको प्रतिनिधिकै अगाडि निर्माण व्यवसायीलाई १५ दिनभित्र निर्माण कार्य सम्पन्न गर्नका लागि हस्ताक्षर गराएको बताए । बञ्चरेडाँडामा तेश्रो र चौथो चरणको काम बाँकी नै रहेको बताउँदै अब केही दिनभित्रै दोश्रो चरणको काम सकेर फोहोर व्यवस्थापनका लागि प्रयोग गर्न सकिने शर्माले बताए ।

सिसडोलबाट झन्डै २ किलोमिटर टाढा रहेको बञ्चरेडाँडामा २०७६ वैशाखदेखि एक बर्षभित्र काम सक्ने गरी ल्याण्डफिल्ड साइट निर्माणको काम सुरु गरिए पनि अझै सकिएको छैन ।

उपत्यका र यस आसपासका स्थानीय तहको फोहोर व्यवस्थापन गरिने बञ्चरेडाँडामा अहिलेकै जस्तो सामान्य तरिकाले फोहोर व्यवस्थापन गर्दा २५ बर्षका लागि र स्यानेटरी ल्याण्डफिल्ड गर्दा ५० बर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने मन्त्रालयको दाबी छ । यो ल्याण्डफिल्ड साइट निर्माणका लागि १ अर्ब ५६ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप