शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुईपटक संसद विघटन गर्नु एकै व्यक्तिलाई दुईपटक सजाय दिएजस्तै : उपेन्द्र यादव

आइतबार, १३ भदौ २०७८, २० : ५३
आइतबार, १३ भदौ २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई पटक संसद विघटन गरेर केपी शर्मा ओलीले एकै व्यक्तिलाई दुईपटक सजाय दिएजस्तै काम गरेको आरोप लगाएका छन् । जसपा नेपाल केन्द्रीय समितिले आइतबार भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संसद विघटन गर्ने ओलीको कदमविरुद्ध जसपा सडकमा आन्दोलनमा उत्रिएको बताए । उनले प्रतिगमनकारीको सपना जसपाले चकनाचुर पारेको दाबीसमेत गरे ।

उनले आफूलाई मधेसको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोपसमेत लगाए । उनले भने, ‘महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने केपी ओलीको मतियार बन्यो ।’ संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने काम जसपाले गरेको दाबी गर्दै यादवले आफ्नो पार्टीले जनता हकलाई प्रतिनिधित्व गरेको बताए । निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको उनले बताए ।

उनले सबै भाषाको सम्मान गर्दै विभेद र असमानता अन्त्य गर्नुपर्ने आवश्यकतासमेत औंल्याए । मधेसी नागरिकलाई विदेशी नागरिक सरह हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रमा पार्टीका वरिष्ठ नेता अशोक राईले पहिचानसहितको संघीयता र प्रदेशलाई स्वायत्त बनाउनुपर्ने जसपाको माग रहेको बताए । उनले पुराना पार्टीले पुराना विचार त्याग्न नसकेको र यथास्थितिमा बस्न खोजेकाले जसपा स्थापना गरेर अगाडि बढाएको बताए ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री महेन्द्र राय यादव, नवराज सुवेदी, नर्सिङ चौधरी, अमृता अग्रहरि, सहसराम यादव, अशोक कुमार यादव लगायत नेताहरुले महन्थ ठाकुर समूहले प्रतिगमनलाई साथ दिएको आरोप लगाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप