शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा प्रयोग भएको कोरोनाको खोप प्रभावकारी

आइतबार, १३ भदौ २०७८, २२ : ०९
आइतबार, १३ भदौ २०७८

नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट खोप लगाएका १३ हजार १६१ जनाको नमूना परीक्षण गर्दा ९० प्रतिशतसम्म एन्टिबडी देखिएको हो ।

मन्त्रालयले गत असार २१ गतेदेखि ३० साउनसम्म खोप लगाएका मानिसको नमूना परीक्षण गरेको थियो । सर्वेक्षणमा प्राप्त नतिजाअनुसार देशभर कूल ६८.६ प्रतिशत नमूनामा कोभिड १९ एन्टिबडी देखिएको छ । एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशत एन्टिबडी देखिएको छ । सो नतिजाका आधारमा नेपालमा प्रयोग भएको खोप अत्यन्त प्रभावकारी देखिएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपालमा भेरोसेल, जोन्सन एण्ड जोन्सन, कोभिसिल्डलगायत खोप प्रयोग गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ५० लाख ६३ हजार ५२२ रहेका छन् । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ४० लाख ५२ हजार ७६५ रहेको छ ।

कोरोना भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले सङ्क्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय हो । जुन हालको अवस्थामा निकै सान्दर्भिक रहेको मन्त्रालयको भनाइ छ । भौतिक दूरी कामय गर्ने, गराउने, भीडभाड नगर्ने, नगराउने, घर बाहिर ननिस्कनै पर्ने भएमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने गराउने, सरसफाइमा विशेष ध्यान दिने र कोरोना विरुद्धको खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

कोरोनासँग मिल्दो जुल्दो सङ्क्रमण भएको तथा कुनै पनि लक्षण भएमा आफ्नो स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क रूपमा परीक्षण गराउन वा नजिकको सरकारी संस्था, प्रयोगशालामा निःशुल्क परीक्षण गरिने मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणको पुष्टि भएमा विगत सात दिनभित्र आफ्नो सम्र्पकमा आएका व्यक्तिलाई अलग्गै  बस्न तथा नियमित रूपमा निगरानीमा रहन र स्वास्थ्य समस्या देखिए परीक्षण गर्न अनुरोध गरिएको छ । नियमित रूपमा १० दिनसम्म आइसोलेशनमा बसे कोरोना ठीक भएर जाने मन्त्रालयको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप