शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रासविहारी ब्रह्मचारी श्रीकृष्ण

सोमबार, १४ भदौ २०७८, ०७ : ४५
सोमबार, १४ भदौ २०७८

विश्वका सबै धर्म ज्वरग्रस्त लाग्छन् । उनीहरू सबै उदास देखिन्छन् । मन्दिर, मस्जिद, गिर्जाघरहरू सबै श्मसानघाटजस्ता जीवनशून्य लाग्छन्, त्यहाँ कुनै उत्सव देखिँदैन, उल्लास देखिँदैन ।

चर्च जानुस् – शूलीमा झुन्ड्याइएका जीसस देख्नुहुन्छ, मस्जिद अगाडि गीत र संगीतको अनुमति छैन । त्यहाँ एक मृतशान्ति छ । बौद्ध भिक्षुहरू बिहानैदेखि ‘जीवन दुःख हो’ भनी पाठ दोहो-याइरहेका भेटिन्छन् । जैन साधुहरू नग्न बसेका छन् र आङ्खनो शरीरलाई उपवास गरेर गलाइरहेका छन् । सुन्दर युवतीहरू पनि धर्मको नाममा कपाल मुण्डन गरी वैधव्य वस्त्र धारण गरी उदास देखिन्छन् । कापालिक साधकहरू श्मासनघाटमै बसी चितामा बचेको अर्धजलित मासु खाएर गुजारा गरिरहेका छन् ।

एकथरी हिन्दू नागा सन्यासीहरू आङ्खना जनेन्द्रीयमा किला ठोकी त्यसको प्रदर्शनीमै रमाएका छन् । अर्काथरी भने प्रचण्ड गर्मीमा धुनी जगाएर शरीरलाई तपाएर आफैंलाई सताइराखेका छन् । कोही का“टीको ओछ्यान बनाई सुतेका छन् भने कोहीचाहिँ भाङ, गा“जा र धतुरो खाई, खरानी दली धर्मको नाममा अचेत विदुषक बनेर घुमिरहेका छन् ।

धर्मले मनुष्यलाई आनन्दित बनाउनु सट्टा सर्कसको जोकर बनाएको देखिन्छ । यस्तो जीवन निषेधात्मक, उल्लासविहीन र दुःखवादी धर्मबीच विधायक, उत्सवपूर्ण, प्रेम, राग, आनन्द र संगीतले भरिएका कृष्ण एक्ला बेबुझ नक्षत्र लाग्छन् । धर्महरूले कतै न कतै शारीरिक कष्ट, मानसिक दमन तथा भौतिक दरिद्रतालाई मुक्तिमार्गको आवश्यक अङ्ग ठानेका छन् जुन एक दुःखद भ्रम मात्रै हो ।

धार्मिक व्यक्तिको प्रचलितलक्षण नै भइसकेको छ – निराश, उदास, गम्भीर र दुःखी हुनु । हाँसिरहेका बुद्ध, ठट्टा गरिरहेका राम र स्त्री मित्रहरूसँग परिहास गरिरहेका महावीरको हामी कल्पना पनि गर्न सक्दैनौं । धर्महरूको यस्तो निषेधात्मक परिप्रेक्ष्यमा सतत् प्रफुल्लित, मयुरप्वाँख मुकुटले सजिई बा“सुरी बजाएर असङ्ख्य युवतीस“ग रास रचाइराखेका श्रीकृष्ण धर्मको जगत्मा जीवन, आनन्द र उत्सवका एकमात्र आशा हुन् ।

धर्मको जगत्मा कृष्ण एक नौलो अध्याय हुन् । कृष्णबाहेक सबै अवतारी पुरुष या त ब्रह्मचारी छन् या त कठोर एक पत्नीव्रत छन् । यता कृष्णका भने आठ मुख्य रानीहरू छन् – रुक्मिणी, सत्यभामा, जाम्बवती, कालिन्दी, मित्रविन्दा,सत्या, भद्रा, लक्ष्मणा । यी आठ प्रत्येक पटरानीहरूसँगको विवाह पनि कुनै पारम्परिक तथा धार्मिक रीतिथितिले नभई बडो उपद्रवी ढङ्गले भएको छ । यीमध्ये अधिकांश हरेर, जितेर, भगाएर या उपहारस्वरूप ल्याइएका हुन् ।

यतिमै पनि कृष्णको प्रेम रित्तिँदैन, उहाँका अनगिन्ती प्रेमिका पनि छन् । त्यसमा विवाहित युवती पनि छन् र छोराछोरीका आमाहरू पनि छन् । साधारणतः पुरुषले एक स्त्रीलाई नै बुझ्न र सम्हाल्न कठिन हुन्छ । एउटै स्त्रीलाई भौतिक र शारीरिक रूपमा सन्तुष्ट गर्न धौ–धौ परिरहेको हुन्छ । तर, हाम्रा रासविहारीका हरेक प्रेमिका उनीसँग सन्तुष्ट छन् । उनी कसैसँग बाँधिएका छैनन्, त्यसैले सबैलाई औधि प्रेम गर्न सक्छन् ।

रामायणमा कथा छ कि रावणकी बहिनी सुपर्णखाले लक्ष्मणको युवा सौन्दर्यप्रति आकर्षित भई प्रेम निवेदन गरेकी थिई । तर मर्यादा पुरुषोत्तम रामका भाइ भएकाले लक्ष्मणले त्यस प्रणय निवेदनको जवाफ सुपर्णखाको नाक काटेर सधैंका लागि उसलाई कुरूप बनाएर बडो हिंस्रक र कठोर रूपमा दिए । यस्तै प्रणय निवेदन सुपर्णखाले कृष्णसँग गरेकी भए उसले मानवीय संवेदनाले परिपूर्ण पे्रमपूर्ण जवाफ पाउँथी ।

उल्लेख छ, कंस बधपछि जब कंसकी दासी कुब्जाले कृष्णसँग यस्तै प्रणय निवेदन गरेकी थिई, उसले बडो मानवीय र हार्दिक उत्तर पाई । कृष्णले उसको पनि प्रेम स्वीकार गरे ।

कृष्णले आफ्नी बहिनी सुभद्रा र आफ्ना सखा अर्जुनबीचको अनुराग थाहा पाई आफ्ना दाजु बलरामलगायत यदुवंशीहरूको विरोध हुँदाहुँदै अर्जुनलाई सभुद्रा भगाउन उक्साए । अन्य कुनै अवतारी पुरुषलाई प्रेमको पक्षमा यसरी ठाडै उभिन संकोच लाग्ला । तर, हाम्रा लीलाराज श्रीकृष्णलाई जनमानसको संकुचित धारणाले प्रभावित गर्दैन ।

हिन्दूका नौ अवतार भइसकेका छन् । सबै अवतारहरू आफैंमा अलौकिक भए पनि हिन्दूहरू कृष्णलाई मात्रै पूर्ण अवतार मान्छन् । किनभने, अरू अवतारहरू देश, काल र परिस्थितिले बाँधिएका देखिन्छन् । उनीहरूको एक रङ  एक स्वर छ । तर, श्रीकृष्ण धर्मको जगत्का इन्द्रधनुष हुन्, उनमा सातै रङ र सातै स्वर छ । उनलाई कुनै मर्यादाले बाँधेर राख्न सकिँदैन । त्यसको अर्थ उनी अमर्यादित भने होइनन्, उनी मर्यादातीत हुन् ।

रामको भविष्यवाणी लेख्न सकिन्छ । भनिन्छ पनि – वाल्मीकिले रामको भविष्य राम जन्मिनुभन्दा पहिले रामायणमा लेखिसकेका थिए र रामले सोहीअनुसार व्यवहार गरे । तर, कृष्णजस्तो व्यक्तिको भविष्यवाणी गर्न सकिँदैन । कृष्ण कुनै पूर्वनिश्चित ढाँचामा बाँच्दैनन् । किनभने, क्षणको आवश्यकता नै उनको धर्म हो । उनी क्षण–क्षण जिउ“छन् र क्षण–क्षण निर्णय गर्छन् । यस्ता व्यक्तिको जीवनमा विरोधाभास देखिनु कुनै आश्चर्य होइन । श्रीकृष्ण चरित्रवान् होइनन्, व्यक्तिवादी हुन् । मुस्लिम कवि रसखानले कृष्णचरित्रको विशेषता निम्न पदमा बडो मिठो गाएका छन् –

‘जाहीं अनादि अनन्त श्रुति वेद बतावे

नारद ते शुक, व्यास रटैं तौं पार न पावें

ताहिं अहिर कि छोहरिया छछिया

​भरी छाछ पैं नाच नचावे ।’

‘जसलाई श्रुति र वेदहरू सबैले अनादि र अनन्त बताउ“छन् । नारद, शुकदेव र व्यास जस्ताले जति खोजे पनि पार पाउँदैनन् । त्यस्ता कृष्णलाई ग्वाला युवतीहरूले ठेकीभरि मोहीका लागि नचाउँछन् ।’

गीताका श्रीकृष्ण परम् विद्वान्, ज्ञानवान्, गम्भीर छन् भने भागवतका श्रीकृष्ण एकदमै चञ्चल गैरगम्भीर र अति रसिक छन् । भवगत् गीतामै कृष्णको अनेक व्यक्तित्व देखिन्छ । महाभारतमा श्रीकृष्ण एक सच्चा मित्र, एक परम् योगी, कुशाग्र विश्लेषक, प्रखर कर्मयोगी, सर्वत्यागी परिव्राजक, ज्ञानीजस्ता अनेक गुणसम्पन्न व्यक्तित्वका रूपमा देखापर्छन् । कहिले उनी शान्तिदूतका रूपमा देखा पर्छन् भने कहीँ युद्धका परम पक्षपातीका रूपमा ।

कृष्णको व्यक्तित्व परस्परविरोधी आयामहरूले भरिएको भए पनि त्यही बीचमा पनि एक समन्वयको संगीत छ । जुन कृष्ण बाँसुरी बजाएर नाच्छन् त्यही कृष्ण शुदर्शन चक्रले संहार गर्छन् । जो कृष्ण बृजवालाहरूका दहीका घैंटा फोरी रमाउ“छन्, जमुनामा स्नान गरिरहेका युवतीका वस्त्र चोरेर नग्न पारी उनीहरूलाई जिस्क्याउ“छन्, त्यही कृष्ण युद्धमैदानमा गीताजस्तो गहन, गम्भीर उद्घोष गर्छन् । 

कृष्णको व्यक्तित्वको यही विराटता र निजता हो । यस्ता विरोधी स्वरहरूको समन्वय क्राइष्टमा, बुद्धमा, महावीरमा, मोहमदमा, राममा कसैमा भेट्न सकि“दैन । त्यसकारण हिन्दूहरूले श्री कृष्णबाहेक अरू कुनै अवतारलाई पूर्ण मान्दैनन् ।

केही विद्वान्को मत छ– कृष्ण एक व्यक्ति होइनन्, अनेक व्यक्तिका कथाहरू हुन् । कसैकसैले त कृष्णको व्यक्तित्वको विविधता देखेर यो कविहरूको रंगीन कल्पनामात्र हो भन्छन् । यदि आधुनिक मनोवैज्ञानिकहरूलाई विश्लेषण गर्न दिने हो भने उनीहरूले कृष्णमा बहुचित्तवान्, मल्टीसाइकिक सेजोफ्रेनिक व्यक्तित्व देख्लान् । ती कृष्ण कहिले परम आनन्दित हुन्छन् भने कहिले एकदम शान्त भइदिन्छन् ।

कहिले दुःखवादी देखिन्छन् भने कहिले एकदम हर्षवादी । यस्ता विरोधाभासी व्यवहार देखाउने मनलाई आधुनिक मनोविज्ञानले खण्डित चित्त या सेजोफ्रेनिक माइन्ड भन्दछ र रोगका रूपमा लिन्छ । तर, रुग्ण र विक्षिप्त मन कहिल्यै आनन्दित र परम् सृजनशील हुनै सक्दैन । त्यसैले कृष्णको व्यक्तित्व अबुझ र अपरिभाषित छ ।

कृष्ण शब्दको अर्थ हुन्छ त्यस्तो केन्द्र, जसले सबैलाई आकर्षित गर्छ । त्यसकारण कृष्णले जति कवि, कलाकार, लेखक, योगी, ज्ञानी, भक्तलाई आकर्षित गरेका छन्, त्यति अन्य कसैले गर्न सकेका छैनन् । विगत ५ हजार वर्षमा श्रीकृष्ण हिन्दू चित्तको परम आकर्षणका केन्द्र बनी बसेका छन् र यो आकर्षण अब हिन्दू चित्त र भारतखण्डमा मात्र सीमित छैन । गीता अनुवादित भई पहिलोपटक पश्चिममा पुग्दा पश्चिमी दार्शनिकहरू छक्क परे । ७ सय श्लोकभित्र जीवनमा उठ्न सक्ने समस्त प्रश्नहरू र तिनका उत्तर साथै समस्त दर्शनको सार निचोड त्यो पनि कुनै धर्म वा सम्प्रदायसँग नबाँधीकनै ‘नन सेकुलर’ स्वरूपमा ।

१९६५ मा पश्चिम बंगालबाट ६९ वर्षको वृद्धावस्थामा कृष्णको सन्देश लिएर अमेरिका पुगेका भक्तिवेदान्त स्वामी प्रभुपादले १२ वर्षभित्र ४ हजार गोरालाई दीक्षा दिई संसारभरि १०० भन्दा बढी कृष्ण भावना संघका मन्दिरहरू बनाउनुभयो । उहा“ पुगेको ५ वर्षभित्रै विश्वभरि नै कृष्ण चैतन्य आन्दोलनको नाम प्रख्यात भयो । संसारका सबै प्रमुख शहरहरूमा कृष्ण संकृतन गुन्जियो ।

यद्यपि अनेक सरकारहरूले यसलाई भित्रभित्रै रोक्न अनेक प्रयासहरू नगरेका होइनन् । तर, कृष्णको शिक्षणको आकर्षणले सबै सीमा तोडेर आफूलाई स्थापित गरेरै छाड्यो । यद्यपि प्रभुपादको पूरै हरे कृष्ण आन्दोलन गीतामा नभई भागवतमा आधारित छ । किनभने उहाँले हरेक व्यक्तिलाई सुरुदेखि नै कण्ठीधारी वैष्णव ब्र≈मचारी भक्त बनाउने चेष्टा गर्नुभयो, चियासम्म पिउन निसिद्ध गरिदिनुभयो । गीतामा आधारित दमनमुक्त उदात्त र उदार विचारहरूमा उहा“को शिक्षण आधारित भएको भए अहिले आधा विश्वले कृष्णलाई अपनाउनेथियो ।

कृष्णको अर्को विशेषता के हो भने ५ हजार वर्षपूर्व जन्मिएर पनि उनले भविष्योन्मुखी शिक्षण गरे । आउने दिनमा धर्मले बाँच्नु छ भने सान्प्रदायिक संकीर्णताबाट मुक्त हुनैपर्छ ।

विशेषतः सिग्मन्ड फ्रायडपछि मनुष्य एक नयाँ आमायमा सोच्न विवश भएको छ । अब दमनवादी दर्शन धेरै दिन बाँच्दैनन् । दमनले विक्षिप्तता र कुरूपता मात्रै पैदा गर्छ । यस पृष्ठभूमिमा कृष्णको जीवन्त र समग्र स्वीकारको धर्म नयाँ सम्भावनाका रूपमा रहेको छ ।

अल्वर्ट स्वेत्जरले भारतमा प्रचलित धर्मको आलोचनामा एउटा महत्वपूर्ण अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्– भारतका सबै धर्म जीवननिषेधित छन् । यस कुरामा सच्चाइ छ, तर कृष्णका हकमा भने यो कुरा सरासर गलत हो ।

दुःखवादी धर्महरूको अथाह मरुभूमिमा कृष्ण टिमटिमाउँदा ओएसिस हुन् । सबै गम्भीर गुरुहरूका बीच नाचिरहेका कृष्णले मात्रै सुन्दरता र उल्लासलाई पूर्णरूपमा आत्मसात गरेको पाइन्छ । सुन्दर जीवन, सुन्दर वस्त्र, नाच, कीर्तन, ठट्टा, रोमान्स यी सब कृष्णलाई स्वीकार छन् । तर, कृष्णको बहुआयामिक व्यक्तित्वलाई कृष्णका भक्तहरूले पनि स्वीकार्न सकेका छैनन् । कृष्णमाथि जति लेखिएको छ र गीताको जति भाष्य गरिएको छ ती सबै एकांगी छन् । पूर्ण कृष्णलाई अहिलेसम्म ओशोसिवाय कसैले समेट्न सकेको छैन ।

गान्धी गीतालाई माता भनी पूज्छन् तर युद्धभूमिका कृष्ण उनलाई स्वीकार्य छैनन् । सुरदास बालकृष्णको गुनगान गर्छन्, युवा तर प्रेमी कृष्ण उनलाई पच्दैनन् । तिलक कर्मयोगी कृष्णलाई मात्र मान्छन् । जयदेवलाई प्रेमी र रसिक कृष्ण मात्र स्वीकार्य छन्, वैराग्यका प्रतीक कृष्ण उनलाई मान्य छैनन् । त्यस्तै स्वामी प्रभुपाद गीतालाई भक्तिशास्त्रका रूपमा मात्र चित्रण गर्छन्, सांख्यका कृष्ण उनलाई स्वीकार्य छैनन् ।

यसप्रकार कृष्णलाई समग्ररूपमा बुझ्नु सट्टा सबैले आफ्नो–आफ्नो रुझानमात्रै कृष्णमा देख्छन् । पहिलोपटक कृष्णको बहुआयामिक व्यक्तित्वलाई ओशोले बुझेजस्तो लाग्छ । उहा“द्वारा रचित साढे ६ हजार पृष्ठको विस्तृत गीता दर्शनमा मात्र श्रीकृष्णका सबै आयामलाई बुझेको र व्यक्त गरेको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वामी आनन्द अरुण
स्वामी आनन्द अरुण
लेखकबाट थप