शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

न्यादी हाइड्रोपावरको आइपिओ : दोब्बर बढीले दिए आवेदन

सोमबार, १४ भदौ २०७८, १२ : ०९
सोमबार, १४ भदौ २०७८

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) निष्काशन म्याद भोलि मंगलबार सकिँदैछ । कम्पनीले गत भदौ १ गतेदेखि आयोजना प्रभावित स्थानीयवासी, लमजुङ जिल्ला र संस्थाका कर्मचारीहरु गरेर कुल १८ लाख कित्ता सेयर निष्काशन गरेकोमा भोलि १५ गते सेयर निष्काशन बन्द हुँदैछ । 

कम्पनीकाअनुसार हालसम्म अर्थात् सेयर निष्काशन बन्द हुने अघिल्लो दिनसम्ममा १५ हजार १३७ जना आवेदकहरुबाट कुल ३७ लाख ९१ हजार ६७८ कित्ताका लागि आवेदन परेको छ । अर्थात् माग गरे भन्दा दोब्बर संख्याले नै कम्पनीको सेयर खरिदका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यका कुल १८ लाख कित्ता साधारण सेयर निष्काशन गरेकोमा सोमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख, जिल्लावासीका लागि १० लाख र बाँकी तीन लाख कित्ता सेयर कम्पनीले आफ्ना संस्थापक सेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीका लागि निष्कासन गरेको थियो । 

जसमध्ये हालसम्म आयोजना प्रभावित स्थानीयवासीहरुको तर्फबाट २ हजार २८३ जनाबाट कुल ११ करोड ७ लाख १० हजार एकसय रुपैयाँ बराबरको ११ लाख ७ हजार १०१ कित्ताका लागि आवेदन परेको र जिल्लावासीको तर्फबाट १२ हजार ८५४ जनाबाट कुल २६ करोड ८४ लाख ५७ हजार ७०० रुपैयाँ बराबरको २६ लाख ८४ हजार ५७७ कित्ताका लागि आवेदन परेको कम्पनीले जनाएको छ ।

कम्पनीले मर्स्याङ्दी गाउँपालिका–३ (साविक खुदी गाविसका वडा नं १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी ६, ७ र ८ (साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडा) का स्थानीय बासिन्दाका लागि पाँच लाख कित्ता सेयर निष्कासन गरेको हो ।

आइपिओमा एनएमबी बैंकको बेंसीशहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेंसीशहर, उदीपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने, कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीले कम्पनीको कार्यालय बुद्धनगरबाट आवेदन दिन सक्नेछन् । 

गत भदौँ १ गतेदेखि १५ गतेसम्मका लागि सेयर निष्काशन गरेको कम्पनीले इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप