शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा फेरिएला त सरकार ?

विपक्षी दलहरु एमाले विभाजनको लेखाजोखा गर्दै, मुख्यमन्त्रीमा पाण्डेको नाम चर्चामा
सोमबार, १४ भदौ २०७८, १२ : ४३
सोमबार, १४ भदौ २०७८

 बागमती प्रदेशमा नेकपा एमालेलाई सरकारबाट विस्थापन गर्न काँग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहितका दलहरु सहकार्यको खाका कोर्न थालेका छन् । यद्यपि एमाले विभाजनको लेखाजोखापछि नै सरकार परिवर्तनबारे प्रस्ट खाका बन्ने सम्बद्ध नेताहरु बताउँछन् ।

नेकपा एमालेले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन गरे पनि एमाले विभाजनपछि प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै विपक्षी गठबन्धनले सरकारको विकल्प खोज्न थालेको हो ।

गठबन्धनका तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ । यद्यपि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीका प्रमुख दाबेदार मानिएका छन् । उनले गठबन्धनमा सरकारको नेतृत्वबारे छलफल भइरहेको रातोपाटीलाई बताए ।

गत भदौ २ गते नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएर पार्टी विभाजनको असर न्यूनीकरणको प्रयत्न गरेका थिए । उनले एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई प्रस्तावमात्र गरेनन्, सर्वसम्मत चयनसमेत गराए ।

​पौडेलकै प्रस्तावमा सोही दिन बागमती प्रदेशका तत्कालीन प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभाको बहुमत प्राप्त दलको तर्फबाट शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । तर शाक्य मुख्यमन्त्री भएको एक सातामै उनकै नेतृत्वको सरकारमा रहेका एक मन्त्रीसहित एमालेका दुईजना सांसद माधवकुमार नेपाल नेतृत्वको दलमा सामेल भए । प्रदेशसभामा एमालेका दुई सांसद घटेसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले भदौ ११ गते प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरे पनि उनीमाथिको संकट भने अन्त्य हुन सकेको छैन ।

प्रदेशको सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनाल र अर्का नेता राजेन्द्र पाण्डे नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेर सक्रिय छन् । यी दुवैले सो पार्टीको केन्द्रीय सदस्यका रुपमा निर्वाचन आयोगमा आफूलाई सनाखत गराएका छन् ।

बागमती प्रदेशका कुल १०९ जना सांसदमध्ये नेकपा एमालेका सभामुखसहित ५६ जना सांसद् छन् । प्रदेश सरकार गठनका लागि ५५ जना सांसदको साथ आवश्यक हुन्छ । तर एमालेबाट दुई सांसदको वहिर्गमनसँगै जम्मा ५५ सांसदमात्र बाँकी छन् । हाल दुई जनामात्र नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे पनि राजनीतिक दल सम्बन्धी अध्यादेशअनुसार २१ दिनको अवधिभित्र कुन दलमा रहने भन्नेबारे प्रदेश सांसद तथा स्थानीय तहका पदाधिकारीले रोज्न पाउने भएकाले अझै केही सांसद आफ्नो दलमा सामेल हुने प्रदेशसभा सदस्य पाण्डेको दाबी छ ।

धेरै सांसद हामीसँग आउनुहुन्छ : पाण्डे

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेका अनुसार विगतमा माधवकुमार नेपालको पक्षमा खुलेका २३ मध्ये धेरै सांसद नेकपा एकीकृत समाजवादी पार्टीमा फर्कन्छन् ।

उनले आगामी २३ गतेसम्म प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरुले दल रोज्ने समय बाँकी नै रहेकाले नेकपा एमालेका कतिपय सांसद आफूतिर आवद्ध हुने दाबी गरे । प्रदेशसभामा आफू निकटमात्र १२ जनाभन्दा बढी सांसद रहेको उनको भनाइ छ ।

बागमती प्रदेशमा एमालेकै सरकार कायम रहन्छ : फुयाल

नेकपा एमालेका नेता एवम् पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल भने बागमती प्रदेशमा एमालेकै नेतृत्वमा सरकार रहने दाबी गरेका छन् ।

उनले नेकपा एमाले विभाजनपछि बागमती प्रदेशका एक जनामात्र सांसद माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने देखिएको र अन्य ५५ जना सांसद एमालेमै रहने दाबी गरे ।

नेकपा एमाले कै कारण प्रदेशसभामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएकाले नेकपा एमालेका कुनै पनि सांसदले दल नछोड्ने उनको भनाइ थियो । जनताले ५ वर्षका लागि नेकपा एमालेलाई सरकारको नेतृत्व गर्ने अवसर दिएकाले सोही अनुसार सांसदहरुले पनि जनताको मतको कदर गर्ने उनले बताए ।

यद्यपि गठबन्धनले नेकपा एमालेको सरकार ढालेर नयाँ सरकार गठन गर्न सकेमा भने आफुहरु प्रतिपक्षमा बस्न तयार रहेको उनको भनाइ छ ।

यस्तो प्रदेशसभाको अंकगणित

बागमती प्रदेशमा नेकपा एमालेको ५७ सांसदमध्ये तत्कालीन माधव नेपाल समूहमा २३ जना र केपी ओली समुहमा ३४ जना सांसद थिए ।

गत वैशाख २८ गते कोरोना संक्रमणका कारण दोलखाबाट निर्वाचित नेकपा एमालेका सांसद् पशुपति चौलागाईंको मृत्यु भयो । उनको मृत्यु पश्चात बागमती प्रदेशमा कुल १०९ जना सांसद कायम रह्यो भने एमालेका ५६ जना सांसद छन् । तीमध्ये तत्कालीन माधव नेपाल समूहमा २२ जना र केपी ओली समूहमा ३४ जना छन् । माधव नेपाल समूहका २२ जनामध्ये मुख्यमन्त्री शाक्य केपी ओली समूहमा लागेकी छन् भने माधव नेपाल पक्षमा अब २१ जना सांसद छन् । यद्यपि उनीहरुमध्ये धेरैजसो माधवकुमार नेतृत्वको दलमा जाने कि एमालेमै रहने भन्नेबारे खुलिसकेका छैनन् ।

हाल एमाले विभाजनपछि भने माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा २ जना सांसदमात्र खुलेका छन् । माधवकुमार नेपाल पक्षतिर एमालेका थप सांसद गएनन् भने एमाले नेतृत्वको सरकारले राप्रपासहितका साना दलको समर्थन लिएर पनि आफूलाई जोगाउन सक्ने सम्भावना देखिन्छ । तर एमालेका अन्य केही सांसद माधवकुमार नेतृत्वको दलमा सामेल भएको अवस्थामा भने शाक्य नेतृत्वको सरकार ढल्ने लगभग निश्चित छ ।

माधव नेपालले दल दर्ताका लागि बागमती प्रदेशका ५ जना सांसदको नामावली पेस गरेका थिए । जसमा मन्त्री खनाल र नेता पाण्डेसँगै, बसन्त मानन्धर, मुनु सिग्देल र रमा आलेमगरको नाम समेटिएको थियो । उनीहरु पार्टी एकताको पक्षमा रहेको बताए पनि नयाँ दलमा नाम समेटिएकोप्रति कुनै आपत्ति जनाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप