बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनीमा चालु आर्थिक वर्षमै १० हजारलाई रोजगारी दिने मुख्यमन्त्रीको घोषणा

सोमबार, १४ भदौ २०७८, २२ : ३३
सोमबार, १४ भदौ २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले चालु आर्थिक वर्ष १० हजार युवालाई रोजगार दिने गरी सरकारले कार्यक्रम तय गर्न लागेको जनाएका छन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सह–ईन्चार्जसमेत रहेका केसीले नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले सोमबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘यो सरकारको प्राथमिकता भनेकै शिक्षा, स्वास्थ्य र रोजगार हो,’ उनले भने, ‘यस वर्ष मात्रै हामी १० हजार युवालाई रोजगारी दिने गरी कार्यक्रम तय गर्दैछौं ।’ प्राणघातक लगायत अन्य विभिन्न रोग लागेकाहरूलाई सर्वसुलभ ढंगले उपचार गराउने र आधुनिक प्रविधिको जमानामा डिजिटल शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उनले बताए ।

उनले भने, ‘रोग लागेका कोही पनि उपचारबाट वञ्चित हुन नपर्ने र गुणस्तरीय शिक्षाबाट कोही पनि वञ्चित हुन नपर्ने गरी सरकारले काम सुरु गरिसकेको छ ।’ प्राणघातक रोग लागेकाहरूको उपचारमा ३ लाख रुपैयाँ सहयोग गर्ने नीतिगत निर्णय भइसकेको र अब छिटै कार्यान्वयनको चरणमा जाने उनले बताए ।

प्रदेशको पूर्ववर्ती सरकार नीतिगत भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै मुख्यमन्त्री केसीले प्रदेशको विकास र सुशासनका लागि जनताले अनुभूत गर्नेगरी प्रदेश सरकारले काम गर्ने दाबी गरे । मुख्यमन्त्री केसीले जनतासँग जोडिने गरी पार्टीको संरचनामा र पार्टीलाई समावेशी बनाउने गरी पुनर्संरचना गरिएकाले अब नेकपा माओवादी केन्द्र पहिलो नम्बरको पार्टी हुने दाबीसमेत गरे । जनयुद्धका घाइते, अपाङ्ग र सहिद परिवारको योगदानलाई कदर गर्दै उनीहरुको जीविकोपार्जन हुने गरी सीप र आय आर्जनमुलक कार्यक्रममार्फत रोजगारी सिर्जना गर्न लागिएको उनले बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका कार्यकर्ताहरूलाई मुख्यमन्त्री केसीले स्वागत गरेका थिए । सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलक शर्मा (हिमाल), बाँके जिल्ला अध्यक्ष आइपी खरेल, प्रदेश कमिटी सदस्यहरु प्रकाश सुवेदी, नरेन्द्र न्यौपाने, नरेन्द्र पाण्डे, कोहलपुर अध्यक्ष तुलाराज विष्ट लगायत उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप