बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

व्यक्तिको घडेरीमा नगरपालिकाले पर्खाल ठड्याएपछि....

शंखरापुर नगरपालिकामा उपत्यका विकास प्राधिकरणको ३५ लाख स्वाहा !
मङ्गलबार, १५ भदौ २०७८, १६ : ३४
मङ्गलबार, १५ भदौ २०७८

दोलखा, तामाकोशी गाउँपालिका हाँवा निवासी दीपा सुनुवारले काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकास्थित इन्द्रायणी खुलालटारमा ४ आना घडेरी किनेकी थिइन् । २०७६ साउन २२ मा जग्गा पास भयो । सो घडेरीमा घर बनाउने दीपाको योजना थियो ।

दीपासँगै रमेश बुढाथोकी, सुनिता श्रेष्ठ सहित ५ जनाको जग्गा एकै ठाउँमा थियो । बाटोको छेउमा रहेको घडेरीमा घर बनाउने सुर गर्दागर्दै २०७६ चैतदेखि लकडाउन भयो । लकडाउन छल्न जग्गाधनीहरु गाउँतिर लागे ।

त्यसै वर्ष शंखरापुर नगरपालिकालाई काठमाडौं उपत्यका विकास प्राधिकरणले ३५ लाख बजेट दिएको थियो । आर्थिक बर्ष सकिन लागेपछि २०७७ को असारमा नगरपालिकाले उपभोक्ता समिति बनाएर हतार–हतार सडक विस्तार गर्ने भन्दै सडकको छेउमा पर्खाल लगायो ।

लकडाउनका बेला आर्थिक वर्ष सकिनै लाग्दा सडक विस्तारका नाममा बजेट फ्रिज हुन नदिन नाप नक्सा केही पनि नगरी ५ कित्ता जग्गा छेऊको बाटोमा नगरपालिकाले पर्खाल उठायो ।

बाटो विस्तारका लागि नगरपालिकाले लगाएको पर्खाल दीपा सुनुवार, रमेश बुढाथोकी र सुनिता श्रेष्ठसहित ५ जनाको जग्गामा परेपछि आफ्नो घडेरीमा घर बनाउने उनीहरुको योजना चकनाचुर भयो ।

नगरपालिकाले जग्गाधनीसँग छलफल नै नगरी पर्खाल लगाएको दिनेश सुनुवारले रातोपाटीलाई बताए । सडक बिस्तार गर्ने भन्दै स्थानीयबासीको जग्गा नछोइकन बाहिरी जिल्लाबाट आएर जग्गा किन्नेहरुको एकातर्फको जग्गामा मात्रै पर्खाल लगाइएको सुनुवारको गुनासो छ ।

त्यस्तै अर्का जग्गाधनी रमेश बुढाथोकीले लकडाउनमा जग्गाधनी नभएको मौका पारेर आफ्नो जग्गा नगरपालिकाबाट मिचिएको बताए । उनले भने–‘लकडाउन सकिएर गाउँबाट फर्किँदा त हाम्रो जग्गामा पर्खाल लगाइसकेको रहेछ । किन यसो गरेको भन्दा नगरपालिका र वडा कार्यालयबाट जसको जग्गा पुरिए पनि यो बाटोको भाग नै यति हो भन्ने जवाफ दिए ।’

बुढाथोकीले अगाडि भने, ‘उहाँहरुले २६ फिटे बाटो बनाउन लागेको भन्नुभयो । न इन्जिनियरले बाटो नापे, आफूखुसी हाम्रो जग्गातिर मात्रै पर्खाल उभ्याएर जग्गा मिच्ने काम भयो । २६ फुटे बाटो बनाउने नै हो भने पनि सडकको बीचको बिन्दूबाट दुबैतर्फ बराबर हुनेगरी गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

बुढाथोकी भन्छन्, ‘हामीले जग्गा किन्दा पनि सडकको बीचको बिन्दुबाट नाप्दा घर बनाउन पुग्छ भनेर नै जग्गा लिएका थियौँ । हामीले न्याय माग्दै हिँडेको एक बर्ष भइसक्यो ।’

शंखरापुरको इन्द्रायणी खुलालटार, सानागाउँमा गोरेटो बाटोलाई चौडा बनाउने क्रममा जग्गा धनीलाई जानकारी नगराई पर्खाल लगाउँदा ५ फिट चौडाइ र १७ फिट लम्बाइको जग्गा मिचिएपछि बिवाद उत्पन्न भएको हो ।

जग्गाधनीहरू सुनिता श्रेष्ठ, दीपा सुनुवार, सावित्री माया बुढाथोकी, भीमबहादुर दमाई र अनिता तामाङको जग्गा मिचिएको हो । मिचिएको जग्गाको पर्खाल भत्काउन उनीहरुले सामूहिकरुपमा नगरपालिकालाई निवेदन दिएको वर्ष दिन भइसकेको छ ।

मेयर श्रेष्ठ भन्छन्–‘पाँच फिट मिचियो, कसरी हुन्छ मिलाउँछौँ’

शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले कुनै नापनक्सा नगरी बाटो विस्तार गर्दा जग्गा मिचिएको स्वीकार गरेका छन् । उनले पछि इञ्जिनियर लगेर नाप्दा पाँचजना जग्गाधनीको जग्गामा पाँच फिटभित्र छिरेर पर्खाल लगाउँदा जग्गा मिचिएको बताए ।

उनले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट ३५ लाख बजेट आएको र उपभोक्ता समिति बनाएर सो रकम खर्च गरेको बताए । रातोपाटीसँग कुरा गर्दै मेयर श्रेष्ठले भने, ‘बाटो विस्तार गर्नेबेला इञ्जिनियरबाट हामीले पहिले बाटो नाप्ने गरेका थिएनौँ । गाउँघरको बाटो यसरी नै विस्तार गर्दै आइरहेका छौँ । त्यस्तो थाहा पाएको भए त यसरी नापेर मात्रै काम गर भन्न हुन्थ्यो ।’

श्रेष्ठले रातोपाटीसँग भने, ‘हामीले यो नगरपालिकाको बजेटबाट पर्खाल लगाएको पनि हैन, उपत्यका विकास प्राधिकरणको दिएको पैसा हो, भएको त्यही हो । यसबारेमा जग्गाधनीलाई के गरेर मिलाउन सकिन्छ हामी मिलाउने प्रयास गरिरहेका छौँ ।’

खेर गयो प्राधिकरणले दिएको बजेट

काठमाडाैं उपत्यका विकास प्राधिकरणले दिएको ३५ लाख रुपैयाँ बजेट नगरपालिकाको हेल्चेक्र्याँइका कारण खेर गएको छ ।

पाँच जनाको ५ कित्ता जग्गामा सडक किनारबाट  ५ फिट चौडाइ भूभाग मिचेर पर्खाल लगाएपछि जग्गा मिचिएको नगरपालिकाले नै स्वीकार गर्दै आफ्नो कमजोरीको ढाकछोप गर्दै जग्गाधनीलाई मिलाउने प्रयास थालेको छ । जग्गा मिचेर लगाएको पर्खाल भत्काउने हो भने काठमाडौंँ उपत्यका विकास प्राधिकरणले लगानी गरेको ३५ लाख खेर जाने भएको छ ।

हचुवाको भरमा काम गर्दा बजेट दुरुपयोग भएको थाहा पाएपछि नगरपालिकाले पीडित जग्गाधनीलाई थामथुम पार्ने प्रयास गरेको हो । नगरपालिकाले उनीहरुको पाँच फिट जग्गा छोडिदिएर फेरि अर्को पर्खाल लगाउने बताएको छ । साथै उनीहरुले घर बनाउने हो भने नक्सा पास सहजै गरिदिने बताएको छ ।

मेयर श्रेष्ठले भने, ‘उहाँहरुलाई मर्का नपर्नेगरी कसरी मिलाउन सकिन्छ त्यसबारे हामीले छलफल गरिरहेका छौँ । उहाँहरुको जग्गामा ५ फिट भित्र पुगेर पर्खाल लगाइएछ । त्यो पर्खाल पनि नभत्काऔँ, बरु पाँच फिट पछि हटेर अर्को वाल लगाउने कि भन्ने बारेमा कुरा भइरहेको छ । उहाँहरुले घर बनाउने बेलामा कुनै समस्या नपर्नेगरी नक्सा पास गरिदिन्छौँ पनि भनेका छौँ । उहाँहरुलाई भोलि समस्या नपर्नेगरी अप्ठ्यारो फुकाइदिन्छौँ ।’

जग्गाधनी रमेश बुढाथोकीले मापदण्ड विपरीत नगरपालिकाले जग्गा मिचेको र काठमाडाैं उपत्यका विकास प्राधिकरणले दिएको ३५ लाख रुपैयाँको दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी गर्ने तयारी गरेको जानकारी दिए । उनले नगरपालिकालाई आफ्नो मिचेको जग्गा खाली गर्न भनेको र सो माग पूरा नगरे अख्तियार जाने उल्लेख गरे ।

पर्खाल लगाएपछि बाटो नापियो

चार आना जग्गामध्ये २ आना जग्गा मिचिएपछि दीपा सुनुवार सहित ५ जना जग्गाधनीले १ बर्षसम्म नगरपालिका धाए । सुनुवारले भनिन्, ‘हामीले जग्गाबाट पर्खाल हटाउन भन्दै नगरपालिकामा धाएको एक बर्ष भइसक्यो । अर्को पटक आउनुस् भन्दै फर्काउने काम भयो । जग्गा नापेर हेर्दा हाम्रो ४ आनाबाट २ आना जग्गा नै मिचिएको छ । सडकको अर्को किनारामा रहेको जग्गामा अलिकति पनि छोइएको छैन ।’

उनले भनिन्, ‘सडकको बीच विन्दुबाट दुवैतर्फको जग्गा बराबरी काटिएको भए पनि चित्त बुझाउन हुन्थ्यो । तर, नयाँ जग्गा किन्नेहरुको मात्रै जग्गा काटिएको छ । यस्तो पनि हुन्छ र ? यो मिल्ने कुरा हो र ?’ दीपाले सडकको बीच विन्दुबाट दुवैतर्फ गरेर २० फुटे बाटो कायम गर्नुपर्ने बताइन् ।

पर्खाल लगाइसकेपछि बाटो नाप्दा ५ कित्ता जग्गामा १७ फिट जग्गा मिचिएको दिनेश सुनुवारले रातोपाटीलाई जानकारी दिए । नगरपालिकाका मेयर श्रेष्ठले बाटो बिस्तारको काम थाल्ने बेला बाटो ननापेको र विवाद आएपछि मात्रै बाटो नापेको उल्लेख गरे ।

मेयरले पटक पटक झुक्याए

यसैबीच आइतबार ५ जना जग्गाधनीलाई छलफल गर्न बोलाएका शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले सोमबार आफै स्थलगत रुपमा अवलोकनका लागि  जाने जग्गा र सडक नापेर छुट्याइदिने प्रतिबद्धता जनाएका थिए । तर मेयरले आफू नगई दुईजना प्राविधिक कर्मचारीलाई पठाए । उनीहरुले पर्खाल भत्काउने कुरा नगरी जग्गा नापेर पर्खाल भत्काउन आवश्यक नरहेको भनेर फर्किएको दीपा सुनुवारले बताईन् । तर सोही वडाका सचिवले भने जग्गा आधा मिचिएको बताएको उनको भनाई छ । नापी कार्यालयमा गएर जग्गा नापिदिन आग्रह गर्दा कार्तिक अगाडि नाप्ने फुर्सद नभएको भनेर पन्छाएको सुनुवारको गुनासो थियो ।

नगरपालिकाका मेयरले पटक पटक समस्या समाधान गरिदिने आश्वासन मात्र दिने गरेको तर सुनुवाई नभएको उनले बताईन् । यता वडाध्यक्ष घनश्याम थापाले आफूले नगर्नु भनेको काम गर्दा समस्या आएको र त्यसको समाधान नगरपालिकाले गर्नुपर्ने बताउँदै आएको सुनुवारको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप