शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अझै उठ्न सकेन काठमाडौँको फोहोर, तस्बिर हेर्नुहाेस्

यसो भन्छिन् महानगरकी उपमेयर
बुधबार, १६ भदौ २०७८, १२ : ०६
बुधबार, १६ भदौ २०७८

करिब २ साता लामो अवरोधका कारण उठ्न नसकेको काठमाडौँको फोहोर मैला आज पनि उस्तै छ । काठमाडौँ महानगरले आज बुधबार बिहान ६ बजेदेखि फोहोर उठाउने उद्घोष गरेको थियो । तर, अझै सहरका अधिकांश चोक, गल्ती तथा फुटपाथमा फोहोरहरूको डङ्गुर लागेको छ । जसले सहर नै कुरूप र दुर्गन्धित बनिरहेको छ । 

के कारणले सहरको फोहोर उठ्न सकेन भन्ने प्रश्नमा बर्खाका कारण बाटोको अवस्था र स्थानीयको अवरोध देखाउँदै आएको महानगरले आज भने ढुवानीका कारण फोहोर उठ्न नसकेको बताएको छ । महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले सीमित सङ्ख्यामा रहेका महानगरको फोहोर मैला ढुवानीका ट्रकहरूका कारण सहरको फोहोर एकै पटक उठाउन नसकिएको रातोपाटीसँग बताइन् ।

‘हामीसँग सीमित सङ्ख्यामा फोहोर मैला ढुवानीका साधनहरू छन् । १५० को सङ्ख्यामा रहेका ट्रकहरूले २ साता लामो सहरमा थुप्रिएको फोहोर एकै दिन उठान सम्भव छैन । त्यो पनि पहिले देखिनै लोडेड छन् । त्यसैले समस्या आएको हो । तर, एक दुई दिन भित्रमा सहरका सबै फोहोर उठाइसक्छौँ’ उपमेयर खड्गीले बताइन् । 

​जहाँसम्म बाटोको अवरोध छ, त्यो केही हदसम्म अहिले सुधार भएको र स्थानीयको अवरोध समेत हिजो बसेको महानगर र स्थानीयवासी बीचको छलफलले एउटा टुङ्गो लागेको खड्गीले जानकारी दिइन् । 

उनका अनुसार बाटोको सुधारका साथै स्थानीयवासीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी, उपचार र प्रभावित स्थानीयलाई रोजगारीको सुनिश्चितता गर्ने महानगरले सहमति गरेको छ । जुन यसअघि पनि महानगरले गर्दै आएको खड्गीको भनाई छ । 

तर, नुवाकोटको ओखरपौवा स्थित सिसडोल ल्याण्डफिल साइड २ वर्षका लागि भनेर प्रयोगमा ल्याए पनि १५ वर्षसम्म बितिसक्दा समेत प्रयोग गरिरहँदा फोहोर भरिएर समस्या आएको उपमेयर खड्गीको भनाई छ । यसको विकल्प छिटै सरकारले निर्माणाधीन बन्चरे डाँडा ल्याण्ड फिल्ड साइड प्रयोगमा ल्याउनुपर्ने खड्गीको भनाई छ ।  

फोटो : कृष्ण खड्का/सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप