बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली एमालेका तीन जना सांसदले नेकपा समाजवादीका पक्षमा गराए सनाखत

बुधबार, १६ भदौ २०७८, १३ : २७
बुधबार, १६ भदौ २०७८

कर्णाली प्रदेशसभाका तीन एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका छन् । प्रदेशसभा सदस्य देवी ओली (रुकुमपश्चिम), मुगुका चन्द्रबहादुर शाही र  जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादीका पक्षमा निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराएका हुन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा समेत छन् । प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षमा ९ सांसद खुलेका थिए । जसमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस गरेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढालाई एमालेले कारबाही गरेको थियो । एमालेका कारवाहीमा उनीहरु चारैजना अहिले नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटीमा छन् ।

एमालेको आन्तरिक विवादको समयमा माधवकुमार नेपाललाई साथ दिँदै आएका सुशील थापा, दल रावल र करवीर शाही भने एमालेमै रहने भएका छन् । नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही संस्थापन पक्षमा देखिएका छन् भने दैलेखका सुशील थापाले अझैसम्म प्रस्ट धारणा बनाइसकेको अवस्था छैन ।

सांसद देवी ओलीले अन्य केही सांसदहरुसँग पनि लबिङ भइरहेको बताइन् । उनले अझै केही सांसद नेकपा एकीकृत समाजवादीका पक्षमा आउने दाबी गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप