शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिड–१९को प्रभावः १७ प्रतिशत होटल पूर्णरुपमा बन्द, १० लाखले गुमाए रोजगारी

बुधबार, १६ भदौ २०७८, २० : २९
बुधबार, १६ भदौ २०७८

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण नेपालका १७ प्रतिशत होटल सधैका लागि पूर्णरुपमा बन्द भएका छन् । आज नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा परेको प्रभाव बारे छलफल गर्दा पर्यटन व्यवसायीले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघ÷संस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा छलफल गरेको हो । परिसंघका उपाध्यक्ष राजबहादुर शाहको नेतृत्वमा भएको छलफलमा नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ संस्थाको सहभागिता थियो ।

छलफलमा व्यवसायीहरूले कोभिडका कारण १७ प्रतिशत होटल बन्द भएको बताएका छन् । यसैगरी पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिक÷मजदूरको रोजगारी जोखिममा परेको उल्लेख गरेका छन् । छलफलमा सहभागीहरूले कोभिड–१९ को संक्रमण बढेसँगै विकसित मुलुकहरूले नेपाललाई नकारात्मक सूचीमा सूचीकरण गरेसँगै पर्यटक आगमन ठप्प रहेको उल्लेख गरेका छन् ।

उनीहरूले देशव्यापी रूपमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएर नेपाललाई भ्रमणका लागि सुरक्षित गन्तव्यको पहिचान दिन सरकारले काम गर्नुपर्ने बताएका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धित १७ वटा संघ÷संस्थाका प्रतिनिधि सम्मिलित छलफलमा उनीहरूले पर्यटन उद्योगको पुनरुत्थानमा सरकारले विशेष जोड दिनुपर्ने पनि बताएका छन् ।

व्यवसायीहरूले पुनरुत्थानका लागि विना धितो ऋण र कर पुनर्कर्जाको सुविधा सम्पूर्ण व्यवसायीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरेका छन् । यसैगरी पीसीआर रिपोर्टमा नेगेटिभ उल्लेख भएका र भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु नपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

सरकारले पर्यटन क्षेत्रलाई कोभिडको अति प्रभावित क्षेत्रको सूचीमा सूचीकरण गरेको भए पनि आफूहरूले घोषणा अनुसारको सुविधा प्राप्त नगरेको उनीहरूको गुनासो छ ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष शाहले व्यवसायीका प्रत्येक समस्या समाधानका लागि परिसंघ अग्रस्थानमा रहेर काम गर्ने बताए । ’हामी तपाईंहरुसँग छौँ, जति पनि समस्या छन् तिनीहरूको समाधानका लागि पहल गर्छौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप