अन्तरवार्ता

३० वर्ष मसाल, १० वर्ष माओवादी, बुढेसकालमा एमाले !

प्रचण्ड प्रतिक्रियावादी क्याम्पमा जानुभयो : गिरिधारीलाल न्यौपाने

person explore access_timeभदौ १७, २०७८ chat_bubble_outline0

नेपालमा कम्युनिस्ट पार्टी जन्मेको ७२ वर्ष पुगेको छ । अर्घाखाँचीमा जन्मेका गिरिधारीलाल न्यौपाने कम्युनिस्ट पार्टीमा लागेको चार दशक बितेको छ । यसबीचमा ३० वर्षसम्म नेकपा (मसाल) मा लागेर जीवनको आधा बसन्त बिताएका न्यौपाने मसालको पुरानो घर छाडेर १० वर्ष माओवादी बने । अहिले उनी केपी ओली नेतृत्वको नेकपा एमालेको केन्द्रीय कमिटीमा आवद्ध छन् । उनले लुम्बिनी प्रदेश एवं कपिलवस्तु जिल्लामा पार्टीको जिम्मेवारी सम्हालिरहेका छन् ।

किशोरावस्थामै न्यौपाने अर्घाचाँचीबाट भारततिर भासिए । महाजनका घरमा भाँडा माझेर, लुगा धोएर बसे । यही सिलसिलामा मोहन विक्रम सिंह नेतृत्वको प्रवासी संगठन ‘नेपाली एकता समाज’ सँग उनको सम्पर्क भयो । त्यसयता ३० वर्षसम्म उनले नेकपा मसालमा बिताए । मसाल छाडेर माओवादीमा लाग्दै गर्दा उनी चित्रबहादुर केसी नेतृत्वको पार्टीको पोलिटब्यूरो सदस्य थिए ।

४० वर्षमा न्यौपानेको जीवनमा धेरै परिवर्तन आयो । छोराछोरीले आफूलेजस्तो मजदुरी गर्नुपरेन । उनले आफूलाई डाक्टरका पिता भन्न पाएका छन् । चीन, अमेरिका लगायत विदेशतिरको विकास र समृद्धि आफ्नै आँखाले देख्न पाएका छन् । तर, बुढेसकालमा आफैंले ३० वर्षसम्म गोडमेल गरेको पार्टी छाड्दै ‘अरुका घरको तिहुन चाख्दै’  हिँड्नुपरेको छ । आखिर किन नेपालका कम्युनिस्ट नेताहरुले यसरी यसरी दल बदल गर्नुपरेको होला ? हामीले यसबारे न्यौपानेसँग कुराकानी गरेका छौं ।

न्यौपानेको समूहलाई अहिले नेकपा एमालेभित्र ‘पूर्वमाओवादी समूह’ भनेर चिनिन्छ । एमालेभित्रको यो समूहमा उनीसहित रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायत छन् । प्रभु साह भने एमाले छाड्ने तयारीमा छन् ।

माओ विचारधारा र माओवाद मान्ने चौथो महाधिवेशन (चौम) स्कुलिङका नेताहरु एमालेमा लाग्नु दक्षिणपन्थी रोजाइ भएन र ? यो प्रश्नमा एमाले नेता न्यौपानेको दाबी चाहिँ के छ भने प्रचण्डजसरी  शेरबहादुर देउवातिर जानुभन्दा ओलीतिरै जानु ठीक छ । उनी भन्छन्– ओली र देउवाको तुलना हुन सक्दैन ।   

प्रस्तुत छ, नवप्रवेशी एमाले नेता गिरिधारीलाल न्यौपानेसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश

तपाईं माओवादीमा प्रवेश गर्नुअघि मोहनविक्रम सिंह र चित्रबहादुर केसी नेतृत्वको नेकपा मसालमा कार्यरत हुनुहुन्थ्यो । कसरी मसाल बन्नुभयो ?

म ३० वर्षसम्म प्रवास (भारत) मा बसेँ । शुरुमा साहुको घरमा कपडा धुने, भाँडा माझ्ने काम गर्थें । एक–दुई घण्टा बिदा हुन्थ्यो । त्यहीबेला बाहिर आउँदा नेपाली साथीहरु भेटिए र उनीहरुले नै  नेपाली एकता समाजमा संगठित गरे ।

त्यसपछि म ३० वर्षसम्म नेकपा मसालमा रहेँ । केन्द्रीय समितिमा रहेर धेरै वर्ष काम गरें । प्रवासको जिम्मेवारी सम्हालेँ । र, मसालको २०६१/६२ मा सम्पन्न सातौं महाधिवेशनबाट निर्वाचित पोलिटब्युरो सदस्य बनेँ ।

भारतमा तपाईंजस्तै मजदुरी गरेका त्रिलोचन भट्ट अहिले सुदरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनुभएको छ । प्रवासमा रहेर मजदुरी गर्दै नेता बनेका तपाईंजस्तै अरु पनि हुनुहुन्छ कि ?

भारतमा हुँदा त्रिलोचनजीसँग पनि चिनजान थियो । तर, हामी फरक पार्टीमा थियौं । उहाँ माओवादी, म मसाल । त्यसैगरी, डिलाराम आचार्य (अर्घाखाँची) लीलबहादुर थापामगर (बाग्लुङ), केशवबहादुर गुरुङ (प्युठान) डीबी पाठक आदि नेताहरु यसरी नै राजनीतिमा लाग्नुभएको हो । काँग्रेसका बालकृष्ण पाण्डे पनि अहिले आमन्त्रित सदस्य हुनुहुन्छ, उहाँले पनि भारतबाटै राजनीति सुरु गर्नुभएको हो ।

३० वर्ष मसालमा काम गरेको नेता, माओवादीचाहिँ कसरी बन्नुभयो ?

म तीनवटा कुराबाट प्रभावित भएर माओवादी भएँ । मसालमा जुन कुरा सैद्धान्तिकरुपमा पढियो, मसालभित्र त्यो व्यवहारिक थिएन । सैद्धान्तिकरुपमा मसालको पढाइ र व्यवहारिक रुपमा माओवादीको अभ्यास । हामीले भारतमै हुँदा मसालको सिद्धान्त पढौं, नेपाल गएर मेचीदेखि कालीसम्म त्यसलाई प्रयोग गर्ने हो भन्थ्यौं । क्रान्तिका सिद्धान्त त्यहाँ पढेर यहाँ लागु गर्ने भन्थ्यौं । यदि यहाँ पढेका कुरा भोलि उहाँ मिलेन भने, कहाँ मिलेन भनेर खोज्नुपर्छ पनि भन्थें ।

२०५६ सालतिर म मसालको केन्द्रीय कमिटीमा आएँ । त्यसपछि मेरो ६० प्रतिशत भारत र ४० प्रतिशत नेपालमा खटाइ हुन थाल्यो । यहाँ काम गर्दै गर्दा हामीले पढेको र व्यवहारमा कतै पनि २ बराबर २ जोड्दा ४ भएन । कहिले ३, कहिले ५ भयो । पछि दिल्लीमै बाबुराम र प्रचण्डसँग मेरो भेट भयो । उहाँहरुसँगको भेटपछि यदि हामीले पढेको कतै लागु हुन्छ भने त्यो माओवादीमै हुन्छ भनेर त्यहाँ प्रवेश गरेको हो ।

हाम्रो बुझाइ र नेकपा एमालेको बुझाइ के हो भने जेठ २ गतेको जुन समस्या हो, त्यो एमालेको वैचारिक र भित्री गुटका समस्या हुन् । जेठ २ मा फर्किएका छौं, हामी जेठ ३ का हौँ ।

माओवादीमा एक्लै प्रवेश गर्नुभयो कि टिमसहित ?

मसालका सात जना पोलिटब्युरो सदस्यमध्ये हामी दुईजना म र डिलाराम आचार्य यता आयौं । बाँकी ५ जनामध्ये दुईजना मसालमा हुनुहुन्छ, तीनजनाले अहिले मसाल छाडिसक्नुभयो । मोहनविक्रमजी र चित्रबहादुरजी त्यहीं हुनुहुन्छ । रामसिंह श्रीस, विमलजी र कृष्ण पौडेलले पनि मसाल छाडिसक्नुभयो । सातौं महाधिवेशनको निर्वाचित पोलिटब्युरोमध्ये दुईजनामात्रै मसालमा हुनुहुन्छ ।

मेचीदेखि कालीसम्म हाम्रो ठूलो टिम थियो । हामी उतातिर पनि सक्रिय थियौं । यता पनि ०६६ सालतिर नेकपा माओवादीमा पोलिटब्युरो सदस्य बनेर काम गरेको हो । त्यसपछि माओवादी र एमालेबीच एकता भएर नेकपा बन्यो र नेकपाकै निरन्तरतामा म यहाँसम्म आएको छु ।

एमालेभित्र जेठ २ को कुरा उठ्दा तपाईंहरु जस्ता पूर्वमाओवादीलाई कर्नरमा परेजस्तो लागेन ?

हाम्रो बुझाइ र नेकपा एमालेको बुझाइ के हो भने जेठ २ गतेको जुन समस्या हो, त्यो एमालेको वैचारिक र भित्री गुटका समस्या हुन् । जेठ २ मा फर्किएका छौं, हामी जेठ ३ का हौँ । ३ गतेको जुन नेकपा थियो, दुई मिलेर बनेको, त्यसबाट छलफल गरेर आउँदा हामी केन्द्रीय समितिमा थियौं । छलफल गरेर आउँदै गर्दा दुईवटाको एजेन्डामा कोही कतै त कोही कतै मिल्यौँ । हामी ओलीसँग मिलेर अहिले नेकपाको निरन्तरताको नेकपा एमाले हौँ ।

नेकपा बन्नुअघि तपाईंहरु माओवादीमा हुनुहुन्थ्यो । तर, नेकपा दुईतिर विभाजित हुँदा तपाईंहरु माओवादीमा नलागेर किन एमालेमा लाग्नुभएको ? माओवादी किन छाडेको ?

माओवादी त प्रचण्डजी र हामीले एकैपटक छाडेका हौँ । नेकपा हुँदा हामीले एकैपटक छाडेका हौँ ।

उहाँ मिल्दिनँ भन्दै भन्नुहुन्न । अति लचकता छ । तर, लचकता कस्तो छ भने एकचोटि भित्र्याएपछि चिन्ता हुँदैन ।

हाम्रो प्रश्न के हो भने सर्वोच्च अदालतले पार्टीलाई दुई टुक्रा बनाएपछि तपाईंहरुले आफ्नो पूर्वसमूह किन छाड्नुभएको ?

प्रचण्डजीको जनयुद्धदेखिको इतिहास हेर्दा उहाँको नेतृत्वमा जनयुद्ध भयो, गणतन्त्र आयो र उहाँको एजेन्डाबाट देश यहाँसम्म आयो । जे भए पनि प्रचण्डले हजारौं मानिसलाई सडकमा ल्याएर आन्दोलन गर्नुभएको हो । घाइते, अपाङ्ग र सहिद परिवार जो छन् उनीहरुलाई हामीले सम्मान गर्नुपर्छ । यसको विकल्प छैन । प्रचण्डप्रति मेरो सम्मान छ ।

अर्को कुरा, प्रचण्डजीले जुन प्रकारले पार्टीलाई अघि लैजानुपर्ने थियो, त्यो लग्न सक्नुभएन । विगतमा माओवादीबाट एउटा ठूलो तप्का हिँड्यो । प्रचण्डले पार्टीमा नयाँ मान्छे ल्याउने काम पनि गरिरहनुभयो, हिँड्ने काम पनि भइरह्यो । उहाँसँग बस्ने ग्यारेन्टी हुन सकेन । उहाँलाई धेरै सहयोग गर्नुभएको वैद्यजीले हो । तर, अहिले वैद्यजी त उहाँसँग हुनुहुन्न नि । बाबुरामजी किन बस्नुभएन ? भनेपछि, उहाँ यसमा असफल हुनुभयो, प्रचण्डजीले यसको मुल्याङ्कन गर्नुभयो कि भएन ?

भनेपछि, प्रचण्डमा सहकार्य गर्ने र मिल्ने कुरामा समस्या छ भन्न खोज्नुभएको ?

उहाँ मिल्दिनँ भन्दै भन्नुहुन्न । अति लचकता छ । तर, लचकता कस्तो छ भने एकचोटि भित्र्याएपछि चिन्ता हुँदैन । भित्र्याएपछि मेरा भए भन्ने हुन्छ, अनि अर्कोतिर छलफल सुरु हुन्छ । भित्रिएका मानिसहरुको समस्या छ कि छैन, व्यवस्थापन छ कि छैन भन्नेतिर उहाँले सोच्नुहुन्न । त्यसकारण धेरै मानिस गए । गोपाल किरातीजस्ता मान्छे गए । लोकेन्द्र विष्ट मगरले बरु धान लाउँछु पार्टीमा बस्दिनँ भनेर बैठकमै भनेर गए । प्रचण्डसँग म यहाँ झस्केको हो ।

अनि, केपी ओलीचाहिँ नि ?

ओलीजीका कमजोरी छैनन् भन्दिनँ, मानवीय कमजोरी ओलीका पनि होलान्, प्रचण्डका पनि होलान् । तर, नेकपाका लागि ओलीजीको विकल्प प्रचण्ड हुन सक्दैनन् । उहाँले जसरी हुन्छ, नेकपा फुटाएर यो सबै चिज गरेर माधवजी, झलनाथजी, बामदेवजीसहित सरकार ढाल्न उहाँले नेतृत्व जे गर्नुभयो, आखिर काँग्रेससित जानुभयो । हामी स्थानीय निर्वाचनमा पनि त काँग्रेससित थियौं, तर आम निर्वाचनमा खोलो तर्न सकिँदैन भन्ने त देखियो ।

त्यही भएर प्रचण्डजीसँग जान सकिएन । शेरबहादुर देउवाभन्दा ओली सयौँ गुणा ठीक छन् । उहाँ ओलीभन्दा देउवा सय गुणा ठीक भनेर जानुभयो । तर, जे भने पनि हिजो देउवा गणतन्त्रको पक्षपाती हुँदै हुँदै आउँदाखेरि भए पनि प्रतिक्रियावादी क्याम्प नै हो । प्रचण्डजी प्रतिक्रियावादी क्याम्पमा जानुभयो ।

तपाईं, मणि थापालगायत पूर्वमसालका मानिसहरु वैचारिकरुपमा माओ विचारधारा, माओवाद मान्ने नेताहरु एमालेमा लाग्नुभएको छ । तपाईंहरु चौथो महाधिवेशनको जुन स्कुलिङसँग नजिक हुनुपर्ने, ठीक उल्टो भएन र ? धेरै लेफ्टिस्ट मान्छे, राइटतर्फ जानुभयो नि ?

चौथो महाधिवेशनको ठ्याक्कै झन्डा बोकेको कोही छैन । चौथो महाधिवेशनका महामन्त्री लामाजी, त्यसपछि मोहनविक्रमजी, त्यसपछि मोहन वैद्य, त्यसपछि नारायणकाजी । यतापट्टी पुष्पलालदेखि यो सबै भयो । तर, आज पनि वैचारिकरुपमा हामी बिग्रिएका छैनौं । जहाँ छौं, त्यही छौं । तर, दुई दुना चार हुनुपर्छ, चौथो महाधिवेशन भनेर दुई दुना पाँच भनेर त हुन्न नि । त्यस्तो भयो भने दुई दुना चार हुने ठाउँमै गइन्छ ।

अहिलेको परिस्थितिमा काँग्रेसलाई लगेर बुझाउने जुन कुरा हो, कम्युनिष्ट पार्टीको दुई तिहाई नजिकको सत्तालाई तोडेर, फोडेर, भत्काएर, बिगारेर, इतिहास त सबैप्रति कठोर भएर आउला नि । इतिहासले भन्ला ।

तर, प्रचण्डले त ओलीभन्दा न नेपाली काँग्रेस वामपन्थी हो भनिसक्नुभयो....

त्यही भएर प्रचण्डजीसँग जान सकिएन । शेरबहादुर देउवाभन्दा ओली सयौँ गुणा ठीक छन् । उहाँ ओलीभन्दा देउवा सय गुणा ठीक भनेर जानुभयो । तर, जे भने पनि हिजो देउवा गणतन्त्रको पक्षपाती हुँदै हुँदै आउँदाखेरि भए पनि प्रतिक्रियावादी क्याम्प नै हो । प्रचण्डजी प्रतिक्रियावादी क्याम्पमा जानुभयो । उहाँलाई तानियो वा लगियो, के हो थाहा भएन । तर, उहाँ जानुभयो । ओलीभित्र सबै ठीक छ भन्दिंनँ । मानवीय कमजोरी पनि छन् । हठ पनि होलान् । तर, पनि समग्रमा ओलीको विकल्प हुन सक्दैनन् । नेकपाको विकल्प काँग्रेस हुन सक्दैन । त्यहीकारण समदुरीका नेताहरुमा नेतृत्व चेञ्ज हुन सक्थ्यो । काँग्रेसलाई बुझाउने कुरा आएपछि सहमत हुन सकिएन ।

झगडालाई नर्मलाइज गर्नुपर्छ । सम्भव भएसम्म हिजोका दिनको इतिहास हेर्ने हो, इतिहास माधवजीको पनि छ, झलनाथजीको पनि छ । एमाले बनाउन उहाँहरुले पनि हिजोका दिनमा ठूलो मिहिनेत गर्नुभएको हो ।

प्रचण्डले पूर्वमाओवादी धार एक हुनुपर्छ भन्दैहुनुहुन्छ । यदि त्यस्तो अवस्था भयो भने तपाईंहरुको टिमले एमाले छाडेर आउँछ ?

आजको मितिमा म त्यस्तो देख्दिनँ । न मोहन वैद्य नै आउनुहुन्छ । बाबुराम आफ्नै ठाउँमा पुगिसक्नुभएको छ । विप्लवजी आउनुहुन्न । म यो सम्भावना देख्दिनँ । तर, प्रचण्डले यही नाराले जनतालाई भ्रम पार्ने भएकाले यो नारा अझै व्यापकरुपमा अघि बढ्छ ।

 तर, कुनै न कुनै दिन काँग्रेससँगको सहकार्य छाडेर फेरि वामपन्थीहरुको मोर्चा बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ? यसमा तपाईंहरुको भूमिका के हुन्छ ?

यो नकार्न सकिदैंन । हिजोजस्तै बाम गठबन्धन । अब पार्टी एकताको कुरा त भएन, बाम गठबन्धन गरेर कमसे कम दक्षिणपन्थीहरुलाई आउनबाट रोक्नका निम्ति बाम एक ठाउँमा होऔं भन्ने कुराको सूरुवात गर्नुपर्छ । त्यसका लागि म मेरो ठाउँबाट पहल गर्छु ।

हामी सिंगो पार्टीले तत्कालीन पार्टी अध्यक्ष ओलीलाई नेता हो भनेर मानेर हिँडिसकेपछि सानातिना समस्या छलफलबाटै टुंगिएर जाने भए । ठूलो समस्या रहला भन्ने लाग्दैन ।

तपाईंहरु अहिले एमालेमा हुनुहुन्छ । माधवजी र ओलीजी भर्खरै फुटेकाले एकअर्काप्रति खनिनुभएको छ । अब त्यहाँ तपाईंहरुको भूमिका के हुन्छ ? एक अर्कालाई यसैगरी बझाएर दूरी बढाउने र काँग्रेसतिरै धकेल्ने कि दुरी घटाउनेतिर लाग्ने ?

झगडालाई नर्मलाइज गर्नुपर्छ । सम्भव भएसम्म हिजोका दिनको इतिहास हेर्ने हो, इतिहास माधवजीको पनि छ, झलनाथजीको पनि छ । एमाले बनाउन उहाँहरुले पनि हिजोका दिनमा ठूलो मिहिनेत गर्नुभएको हो । जो–जो साथीहरु त्यता हुनुहुन्छ, उहाँहरुको पनि इतिहास छ । त्यो उहाँहरुले एमालेभित्रै खोज्नुपर्छ । अर्को पार्टीमा खोजेर हुँदैन ।

तर, हिजो माधव समूहले जेठ २ मा फर्कनुपर्र्छ भन्दा पूर्वमाओवादी समूहले आपत्ति जनायो भन्ने कुरा छ नि ? तपाईंहरुको आपत्ति के के कुरामा थियो ?

जेठ दुईमा फर्कने भनिएको पूर्वएमालेभित्रको कुरा हो । हामी त त्यतिबेला माओवादी थियौं, हाम्रो आपत्ति रहने कुरै भएन । जेठ ३ मा एमाले र माओवादी दुबै रहेनन् । हामी नेकपा भयौं । त्यही नेकपाको निरन्तरताको आजको एमाले हो । निर्वाचन आयोगले भन्यो, जेठ २ को मिलाउनका निम्ति । त्यो उहाँहरुले मिलाउनुहुन्छ । हामी जेठ ३ बाट नेकपा भएको हुँदा आजको एमाले जेठ ३ को निरन्तरताको एमाले हो ।

एमालेमा जेठ २ को वकालत गर्ने भीम रावल, घनश्याम भुसालहरुले अहिले तपाईंलाई बाइपास गरेर जानुपर्छ भन्दै हुनुहुन्छ कि ?

उहाँहरुको कसैको पनि, पूर्वएमालेमा माधवजीबाट आएको टिम र माधवजीहरुको पनि हामीप्रति नेगेटिभ कहीँ भएन । उहाँहरुको कुरा हामी सबै बसेर सल्लाह गरेर बसौं, अनि नवप्रवेशीहरुलाई (पूर्वमाआवोदी समूह) लाई ल्याउँ भन्ने थियो ।

एमालेभित्र अब गुटहरु रहन्छन् कि रहँदैनन् ?

अब रहलाजस्तो देखिँदैन । हामी सिंगो पार्टीले तत्कालीन पार्टी अध्यक्ष ओलीलाई नेता हो भनेर मानेर हिँडिसकेपछि सानातिना समस्या छलफलबाटै टुंगिएर जाने भए । ठूलो समस्या रहला भन्ने लाग्दैन ।

ओलीलाई नेता मान्दै गर्दा संसद् विघटनलाई ठीक भन्ने कि नभन्ने ? सर्वोच्चको फैसलालाई कसरी लिने ? यी कुरामा घनश्याम भुसाल, भीम रावलहरूले फरक लाइन लिँदै आउनुभएको छ । उहाँहरुले अदालतमा हस्ताक्षर पनि बुझाउनुभयो । पटक–पटक संसद विघटन गरेर केपी ओलीले कमजोरी गर्नुभयो भन्ने तपाईंहरुलाई चाहिँ लाग्छ कि लाग्दैन ?

अब, कतिपय कुराहरु परिस्थितिजन्य छन् । सबैले च्यापचुप पारेर फाल्न खोजेपछि बच्नुपर्ने परिस्थितिका केही कामहरु पनि भएका छन् । त्यसले गर्दा समग्र स्थितिमा कि त आफ्नो हातबाट शक्ति छाड्नुप–यो, कि जनता रोज्नुप–यो भन्दा जनतामा जाने कुरा नरोज्दा सत्ता काँग्रेसलाई बुझाउने कुरा हुन्छ । जनताका माझमा जाने कुरा क्रान्तिकारी हुन्छ भनेर ओलीले यो निर्णय लिनुभएको हो । काँग्रेसलाई सत्ता बुझाउनुभन्दा जनतामा गएर निर्वाचित भएर आउने, जो जित्छ, त्यसैले सत्ता चलाउने भन्ने रुपमा ओलीजीको विश्लेषण हो ।

तर, संविधानमा टेक्नुभएन भनेर अदालतले भनिसकेपछि दोस्रोपटक पनि त्यही काम किन गरियो ? यसमा ओलीबाट कमजोरी भएको होइन ?

हिजो पनि पञ्चायत व्यवस्थाविरुद्ध लड्दा अदालतले राष्ट्रद्रोही भन्ने आरोप लगाउँथ्यो । यी सबै कुरा छँदैछन् । मुख्य कुरा राजनीति हो । राजनीतिमा मानिस ठीकठाक भएर हिँडेपछि, आँटका साथ हिँडेपछि आएका समस्याहरु, बिग्रेका बनाउने कुरा हुन्छ । अझै राम्रो, झनै राम्रो बनाउने कुरा हुन्छ । बेठीक भयो भनेर त्यसैमा घोच्चिनुपर्ने, पर्खिनुपर्ने, वा बिग्रियो भन्नुपर्ने जरुरी देख्दिनँ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।