बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको दुई तिहाइभन्दा बढी जनसंख्यामा कोभिड–१९ एन्टिबडी

प्रदेश २ मा एन्टिबडी विकास अधिक
बिहीबार, १७ भदौ २०७८, १५ : २०
बिहीबार, १७ भदौ २०७८

जनघनत्व धेरै भएका सहरी क्षेत्रमा कोरोनाभाइरस (कोभिड–१९) को जोखिम बढी हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर, नेपालको सन्दर्भमा कोरोना संक्रमणको जोखिम ग्रामीण भेगदेखि सहरी क्षेत्रमा करिब उस्तै रहेको स्वास्थ्य मन्त्रालयको सर्वेक्षणले देखाएको छ ।

महामारीको प्रभाव गाउँ र सहरमा उस्तै पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, विश्व स्वास्थ्य संगठन र केन्द्रीय तथ्याङ्क विभागको सहयोगमा असार २१ गतेदेखि साउन ३० गतेसम्म गरिएको सेरोप्रिभिलेन्स सर्वेक्षणमा गाउँमा ६८.७ प्रतिशत, सहरी क्षेत्रमा ६८.५ प्रतिशत मानिसमा कोरोनाभाइरसको एन्टिबडी विकास भएको पाइएको छ ।

यस्तै, नेपालका दुई तिहाइभन्दा बढी जनसंख्यामा कोभिड–१९ को एन्टिबडी विकास भएको पाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पराजुलीले जानकारी दिए । सातै प्रदेशका ७७ वटा जिल्लाका १३ हजार १६८ जनामा नमुना परीक्षण गरिएको थियो ।

प्रदेश २ मा एन्टिबडी विकास अधिक
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार करिब डेढ महिना यता प्रदेश २ मा कोरोना संक्रमण दर निकै घटेको छ । प्रदेश २ मा भदौ ९ गते  ८ जना, १० गते ११ जना, ११ गते ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १२ गते ११ जना, १३ गते ३ जना, १४ गते ३ जना र १५ गते ८ जनामा संक्रमण पुष्टि भएको छ । भदौ १६ गते भने यो संख्या बढेर १७ पुगेको छ ।

अन्य ६ प्रदेशको तुलनामा प्रदेश २ मा कम संक्रमित पाइएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले विभिन्न संस्थासँग समन्वय गरी गरेको सेरोप्रिभिलेन्स सर्वेमा प्रदेश २ मा ठुलो जनसंख्यामा एन्टिबडी विकास भएको पाइएको छ ।

प्रदेश २ मा ८४.७ प्रतिशत जनसंख्यामा एन्टिबडी विकास भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि गण्डकी प्रदेशका ६०.७ प्रतिशत मानिसमा एन्टिबडी देखिएको छ ।

एन्टिबडीको विकास हुनेमा महिलाको तुलनामा पुरुष बढी

सरकारले हिमाल, पहाड र तराई तथा संक्रमणका दृष्टिले उच्च, मध्यम र न्यून प्रभावित क्षेत्रसमेत समेटेर ७७ जिल्लामै सेरेप्रिभिलेन्स सर्वे गरेको हो । उक्त सर्वेअनुसार नेपालमा महिलाको तुलनामा धेरै पुरुषमा कोरोनाभाइरसको एन्टिबडीको विकास भएको पाइएको छ । सर्वेक्षणअनुसार ६९.६ प्रतिशत पुरुष र ६७.४ प्रतिशत महिलामा एन्टिबडी देखिएको छ ।   

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार नमुना संकलन गर्न ७७ जिल्लामा पुग्दा एक प्रतिशतले सहभागिताका लागि अस्वीकार गरेका थिए । एक प्रतिशतले मात्रै नमुना संकलन गर्न नमानेकाले सर्वेक्षण झन् प्रभावकारी भएको उनको भनाइ छ ।

तराई क्षेत्रमा ७२.४ प्रतिशत जनसंख्यामा एन्टिबडी विकास भएको छ भने पहाडी क्षेत्रमा ६५ प्रतिशत र हिमाली क्षेत्रमा ६० प्रतिशतमा त्यस्तो एन्टिबडी पाइएको छ । सर्वेक्षणमा ६ महिनादेखि ४ वर्षसम्मको उमेर समूहका बालबालिका पनि सहभागी गराइएको थियो । उक्त उमेर समूहका ५५.३ प्रतिशत बालबालिकामा एन्टिबडी विकास भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ७५ देखि ८४ वर्ष उमेर समूहका ७८.१ प्रतिशतमा एन्टिबडी विकास भएको पाइएको छ ।

खोप लगाएका अधिकांशमा एन्टिबडी
नेपालमा कोरोना विरुद्धको खोपको प्रभावकारिता राम्रो रहेको अध्ययनले देखाएको छ । कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी पाइएको छ । यस्तै खोपको पहिलो मात्रा मात्रै लगाएका ८० प्रतिशतमा एन्टिबडीको विकास भएको पाइएको छ । खोपको प्रभावकारिता राम्रो देखिएकाले प्राथमिकतामा परेका र रोल क्रममा आधार अनिवार्य रुपमा खोप अभियान सहभागी हुन डा. पौडेलको आग्रह छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेश, भौगोलिक क्षेत्र, शहर, गाउँ, लिङ्ग, पेसा, उमेरका आधारमा गरेको सर्वेक्षणले सबैको एन्टीवडी उस्तैउस्तै देखिएको छ । त्यसैले नेपालमा जनघनत्व उच्च भएको मुख्य सहरसँगै ग्रामिण भेगसम्म कोरोना संक्रमणको जोखिम उस्तै रहेको भन्दै उनले सर्वसाधरणलाई सचेत रहनसमेत आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप