शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जीवनबहादुर शाही भन्छन्– चीनले माफी माग्छ, काँग्रेस र ममाथि लागेको आरोप पखाल्छौँ

बिहीबार, १७ भदौ २०७८, १५ : २२
बिहीबार, १७ भदौ २०७८

काठमाडौं । हुम्लामा नेपाल–चीन सीमा विवादको प्रसंग आउँदा सँगै जोडिने नाम हो–जीवनबहादुर शाही । काँग्रेस नेता शाही कर्णाली प्रदेश सभा सदस्य समेत हुन् । उनले हुम्लामा चीनले नेपाली भुमी मिचेको दावी गर्दै आएका छन् । शाहीको दावीमा सत्यता कति छ त्यो फरक पाटो हो, तर उनै शाहीले उठाउँदै आएको माग सम्बोधन गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल–चीन सीमा अध्ययन कार्यदल बनाएको छ ।

समिति बनाएकोमा शाहीले सरकारलाई धन्यवाद दिएका छन् । उनले आफुले चीनसँग सम्बन्ध बिर्गानुपर्ने कारण नरहेको भन्दै आफु भारतसँग पनि नजोडिएको बताउँछन् । ‘म चीनसँग जोडिएको मान्छे हो । मेरो छिमेकी भनेको चीन हो । मेरो चौरीं चराउँदा चीनतिर जान्छ, उनीहरूको यता आउँछ । हामीले सम्बन्ध बिर्गानका लागि यो विषय उठाएको होइन । उनीहरूसँगको हाम्रो सम्बन्ध सुमधुर गर्नका लागि यो कुरा गरिरहेका छौँ’शाहीको भनाइ छ । सीमा विवाद र सरकारले गठन गरेको अध्ययन समितिले कसरी काम गर्छ त ? प्रस्तुत छ रातोपाटीले शाहीसँग गरेको कुराकानी :  

बुधबार मन्त्रिपरिषदको बैठकले चीनसँग जोडिएको हिल्साक्षेत्रको सीमा विवाद अध्ययनका लागि समिति बनाएको छ । हुम्लाको जनप्रतिधि एवं विगतमा पनि यसबारे कुरा उठाउँदै आएको हिसाबले समिति गठन सम्बन्धमा तपाईंको प्रतिक्रिया के छ ?

सरकारले छानबिन समिति बनाएको छ । यसका लागि धन्यवाद भन्छु । पहिला हामीले यी–यी समस्या छन्, भनेका थियौं । बाटो यसरी बनाएको हो, यो यसरी गयो  । नाप नक्सामा कसरी भएको छ, थाहा छैन । १२ नम्बर पिल्लर एकतर्फी ढङ्गले फुटाएर बनाए । एकतर्फी ढङ्गले बनाउन मिल्दैन । हिल्सामा ९ नम्बरको पिल्लर दुवै देशको छ । एउटा पिल्लरबाट २०–२५ मिटर टाढा छ । त्यो पिल्लरमाथि नै बार लगाउन पाइँदैन । ६ नम्बर पिल्लर उनीहरूले तारबार गरेर आफूतिर राखे । त्यसो गर्न पाइन्न । यसका लागि छलफल गरियोस् भनेर मैले सरकारलाई प्रतिवेदन बुझाएको थिएँ । उच्चस्तरीय टोली गठन गरिदिन हाम्रो माग थियो । सरकारले गठन गरेको उच्च स्तरीय टोलीले यहाँ आएर हेरिदिनुप¥यो । कैयौँ वर्ष भयो अपडेट भएका छैनन् । नयाँ नाप–नक्सा राखौँ भन्ने हो ।

एउटा नयाँ नक्सा जिल्ला प्रशासन कार्यालयमा राख्नुपर्यो, स्थानीय तहमा राख्नुपर्यो भन्ने हाम्रो भनाइ थियो । तर, केपी ओली सरकारले मुलुकको भूमि एक इञ्च पनि मिचिएको छैन भन्यो । मान्छेलाई प्रयोग गर्यो । उनीहरूले पनि जमिन मिचिएको नै छैन भने । तर, म निरन्तर लागिरहेको छु । हाम्रो (नेपाली काँग्रेस) पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा पनि मैले यी कुरा उठाएँ । अब नेपाली काँग्रेस सरकारमा आयो ।

चीनले नेपाली काँग्रेस र मलाई गम्भीर आरोप लगाएको छ । समस्या आइसकेपछि समाधानका लागि हेर्नुपर्यो नि । मिचिएको छैन भने छैन भन्ला । मिचिएको भए यहाँ साधारण गल्ती भएको भन्छ होला । यो कुरालाई हेर्नका लागि छानबिन टोली बनाउनुपर्छ भनेर हामीले अनुरोध गरेका थियौँ । ढिलै भए पनि सरकारले  समिति गठन गरेको छ ।

सरकारले गठन गरेको समितिले कसरी काम गर्नुपर्छ जस्तो लाग्छ ?

समितिले यहाँको स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, स्थानीय प्रशासन सबैलाई राखेर छानबिन गर्नुपर्छ । त्यसै गरी उता (चीन)बाट पनि  यसरी नै आउनुस् । यसरी विवाद समाधान गर्दा भविष्यमा विवाद हुँदैन नि त । एउटा आउने, यो केही होइन भन्ने ? अर्को आउँछ एक इन्च पनि जमिन मिचिएको छैन भन्छ । मिचिएको छ कि छैन, एक चोटि आएर हेरिदिऊन् भन्दा हेर्न चाहँदैन ।

केही पत्रकार पनि मेरा पछि लागे । सङ्घीय सरकारलाई थाहा नदिएर जीवन शाही बोर्डरमा गयो भनेर समाचार लेखे । मेरो जिल्लाको, मेरो निर्वाचन क्षेत्रको आफ्नो बोर्डरसम्म म जान नपाउने हो र ? ठूलो देशले हेपेर केही पनि होइन भनेको थियो । वास्तविकता के हो, सीमा मिचिएको कुरा साँचो हो कि झुटो हो भन्ने कुरा छानबिन गरेपछि थाहा हुने हो ।

तर, हिल्सा क्षेत्रमा सीमा विवाद सुल्झिसकेको भनिएको छ नि ? तपाईंहरूको दबावमा छानविन समिति बनेको भन्ने छ ।  चीनसँगको सम्बन्ध बिगार्ने गरी सरकारलाई छानविन समिति बनाउन किन बाध्य पार्नुभयो ?

होइन, होइन ।  मैले चीनसँग सम्बन्ध बिर्गानुपर्ने कारण के छ ? म भारतसँग जोडिएको मान्छे होइन । म चीनसँग जोडिएको मान्छे हो । मेरो छिमेकी भनेको चीन हो । मेरो चौरीं चराउँदा चीनतिर जान्छ, उनीहरूको यता आउँछ । हामीले सम्बन्ध बिर्गानका लागि यो विषय उठाएको होइन । उनीहरूसँगको हाम्रो सम्बन्ध सुमधुर गर्नका लागि यो कुरा गरिरहेका छौँ ।

सानो देश भयो भने ठूलो देशले जे पनि गर्ने भन्ने होइन । बोर्डरका पिल्लरहरूलाई पुनःस्थापना गर्न दुबै देशको सहमति चाहिन्छ कि चाहिँदैन ? अनि हाम्रा पिल्लर उहाँहरूले तारबार लगाएर अतिक्रमण गर्न त मिल्दैन नि । हाम्रो कर्मचारी बोल्न डराएर हो । प्रमुख जिल्ला अधिकारीले पनि फोटो खिचेर ल्याउनुभएको छ । छानबिन गर्दा सम्बन्ध बिग्रिने होइन, सुध्रिन्छ । हैन भने, ठूलो देशले सानो देशलाई हेपेको हेप्यै ग¥यो र ठूलो देशको जनप्रतिनिधिले सानो देशका जनप्रतिनिधिलाई हेपे भन्ने हुन्छ ।

नामै समास्याको समाधान गर्ने समिति भनिएको छ । यसले सम्बन्ध सुध्रिने होला नि । झगडा गरेर नबोल्दा समस्या समाधान हुन्छ कि एउटा ठाउँमा बस्दा समस्याको समाधान हुन्छ ? त्यसकारण हाम्रो दबाव भनेको चीनसँगको समस्या समाधानका लागि हो । म चीनका मान्छेसँग रात–दिन हुन्छु । मैले सम्बन्ध बिगार्नका लागि होइन, सुधार्नका लागि  हो ।

काँग्रेस र चीनको सम्बन्धबारे तपाईंको धारण के हो ? पछिल्लो समय तपाईं र काँग्रेससँग चीन रिसाइसकेको अवस्था छ । यस्तोबेलामा कसरी काम गर्नुहुन्छ ?

हाम्रो जमिन मिचियो भन्दा चीन रिसाउनुपर्ने कुनै कारण छैन । जमिन मिचिएको हेरिदिनु न भन्दा मिचिएको छैन भन्ने जवाफ आउँछ । जमिन मिचिएको छ । मेरो जिल्लाको सीमाना मिचिँदा मैले नबोलेर को बोल्छ ? मेरो जिल्लाको सीमा भारतसँग जोडिएको भए भारतले पनि सीमा मिच्दा नबोल्दाको एउटा कुरा हो ।

काँग्रेसले पञ्चशीलको सिद्धान्तअनुसार परराष्ट्र नीति अख्तियार गर्छ । हाम्रा लागि दुवै मित्रराष्ट्र समान हुन् । हाम्रा लागि त दुःख–सुख हुँदा पनि हामी चीनसँग जोडिन्छौँ । हामीले कसैलाई साथ दिने वा कसैलाई साथ नदिने भन्ने होइन ।

नवगठित छानविन समितिले यो समस्या समाधान गर्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ? यसमा तपाईंको भूमिका के हुन्छ ?

सरकारले छानविन समितिमा सदस्य राख्ला । उहाँहरू यहाँ आउँदा स्थानीय जनप्रतिनिधिलाई बोलाउनुपर्छ । उहाँहरूले मेरो बयान लिनुपर्ने होला । त्योबेलाका सबै डकुमेन्ट मसँग छन् ।

 अदालतमा कसैलाई मूल मुद्दा गर्दा बयान लिन्छ, त्यसै गरी यहाँ पनि हाम्रो बयान लिइन्छ । यसरी जाँदा सदैव कुरा आउँछ । त्यसो हुँदा मलाई लाग्छ, यो समस्या समाधान हुन्छ । यसका लागि मैले समितिलाई पूर्णरूपमा साथ दिन्छु ।

अहिले गठबन्धनको सरकार छ । तर, यो एजेन्डा काँग्रेसको जस्तो देखिन्छ । यस्तो अवस्थामा कसरी काम गर्नु हुन्छ ?

मैले प्रधानमन्त्रीज्यूलाई भेटेर पनि कुरा गरेको छु । त्यसपछि सरकारको न्यूनतम साझा कार्यक्रममा यो विषय समेटिएको छ । यसको सत्ता साझेदार दल सबैले स्वामित्व लिनुभएको छ । सबैको सहमतिमै समिति बनेको भन्ने कुरा सुनेको छु । अन्तर्राष्ट्रिय कुरा आउँदा जुन सरकार भए पनि त्यो मेरो सरकार हो ।

हुम्लाबाटै निर्वाचित प्रतिनिधि सभा सदस्यले चीनले सीमा मिचेको छैन भन्नुहुन्छ । तपाईं (प्रदेश सभा सदस्य) चीनले  सीमा मिच्यो भन्दै आउनुभएको छ । हुम्लाका जनप्रतिनिधिबीचमै मतभेद देखिनुको कारण के हो त ?

एकदम सही प्रश्न गर्नुभयो । त्यसैका लागि त छानबिन गर्नुपर्यो नि । सङ्घमा जितेर आएको माननीयले सीमा मिच्दै मिचिएको छैन, जीवन शाहीले भूमि मिचिएको भनेर हुन्छ ? भन्नुभयो । अब भूमि मिचिएको रहेन छ भने समितिले आएर हेर्दा थाहा हुन्छ । सीमा मिचिएको छैन भन्ने सङ्घीय माननीयलाई पनि सँगै लिएर जानुपर्छ । सीमा मिचिएको छ भन्ने प्रदेश माननीयलाई पनि साथै राख्नुपर्यो ।

म आफैँले खनेको बाटो चीनले लगेपछि मैले कसरी होइन भन्नु ? मैले भूमि मिचिएको प्रतिवेदन बुझाएको छु । उहाँले होइन भनेर मुखले मात्र भन्नुभएको छ । मलाई त जीवन शाहीले स्वतन्त्र तिब्बतको झण्डा गाड्छ भनेर प्रचार गरिएको छ । यो सबै कुराको छानविन र सत्यतथ्य बाहिर ल्याउनका लागि पनि समितिको आवश्यकता थियो । जमिन त्यहीँ छ । म पनि जाउँला, उहाँ पनि जानुहोला । छानविन गर्दा सबै कुरा थाहा भइहाल्छ ।

तपाईले सुरुमा यो विषय उठाउँदा आफूमाथि सुरक्षा थ्रेट छ भन्नुभएको थियो । अहिले तपाईंकै दबावमा सरकारले छानविन समिति गठन गरिसकेपछि फेरि थ्रेट आएको छ कि छैन ?

अहिले केही छैन । छानविन समिति आइसकेपछि के गर्छन्, थाहा छैन । उतिबेला ठाउँ–ठाउँबाट थ्रेट आएको थियो । जीवन शाहीलाई अमेरिकी एजेन्ट भनियो । नेपाली काँग्रेसलाई प्रो–इन्डियन पार्टी हो भनेर लेखियो । छानविन भएपछि हामीबाट गल्ती भएको रहेछ भनेर चिनियाँहरूले पनि महसुस गर्ने छन् र जीवन शाहीले भनेको कुरा ठीक रहेछ भन्ने छन् । होइन, छानविन समितिले जमिन नमिचेको निष्कर्ष निकाले भने सङ्घका माननीय ठीकै रहेछन्, प्रदेशको माननीय जीवन शाही बहुलठ्ठी रहेछ, नभएको कुरा गर्दो रहेछ भन्ने कुरा छानबिनबाट आउला ।

काँग्रेस र तपाईंमाथि चीनले लगाएको आरोप नि ?

त्यो मजासँग पखालिन्छ । हामीले बदमासी गरेको भए चीनले भन्ने छ, तिम्रो जनप्रतिनिधि राम्रो भएन, त्यसकारण हामीले अमेरिकी एजेन्ट भन्नुपर्ने बाध्यता भयो भन्लान् । मैले उठाएको कुुरा पुष्टि भयो भने तिमीले राम्रो जनप्रतिनिधि हामीलाई माफ गर्नुस् भन्नुहुन्छ होला । एउटा न एउटा कुरा आउला । तर, मलाई लाग्छ, चीनले माफी माग्ने छ । र, काँग्रेस र ममाथि लगाइएको आरोप पखालिनेछ भन्नेमा म विश्वस्त छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप