बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

देशैभरि काँग्रेसको वडा अधिवेशन सुरु, यसरी चुनिँदैछन् नयाँ कमिटी

शुक्रबार, १८ भदौ २०७८, ०९ : २७
शुक्रबार, १८ भदौ २०७८

नेपाली  काँग्रेसमा १४ औँ महाधिवेशनको रौनक आज (शुक्रबार) देखि सुरु भएको छ । आजदेखि देशभरिका ५६ जिल्लामा वडा अधिवेशनको सुरुवात हुँदैछ । ५६ जिल्लाका ५० प्रतिशत वडाहरूमा आजै अधिवेशन सकिने नेताहरूले बताएका छन् । बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता विवाद नटुङ्गिएका कारण ती जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन ।

नेपाली काँग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार क्रियाशील सदस्यताको नामावली  पुगेका  ५६  जिल्लाका  वडाहरूमा आज वडा  अधिवेशन हुनेछ । निर्वाचन अधिकृतहरू खटाइएका ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन हुने यादवले रातोपाटीलाई बताए । वडा तहमा  निर्वाचन  सम्पन्न  गर्नका  लागि  हरेक  वडामा  एक जना  मतदान  अधिकृत  खटाएको उनले जानकारी दिए  ।

हरेक जिल्लामा  पार्टीको केन्द्रीय  निर्वाचन  समितिले खटाएका जिल्ला निर्वाचन अधिकृतले सबै  वडामा एक–एक जनाका दरले   मतदान अधिकृत खटाएको यादवले बताए । उनले भने, ‘चार चरणमा क्रियाशील सदस्यताको सूची आएको छ । त्यहीअनुसार हामीले निर्वाचन अधिकृत खटाएका छौँ । पहिलो चरणमा ३८ जना जानुभयो । दोस्रो चरणमा १० जना, तेस्रो चरणमा ५ जना र चौथो चरणमा ३ जना जानुभएको छ । ढिलो गरी अधिकृत खटाएका ठाउँका बाहेक सबै वडामा आज अधिवेशन हुने सम्भावना छ ।’

शुक्रबार ५० प्रतिशत बढी जिल्लामा वडा अधिवेशन हुने यादवको दाबी छ । केही वडामा बिहीबार नै सर्वम्मतरुपमा अधिवेशन सम्पन्न भइसकेको उनले बताए । यादवका अनुसार कुनै कारण भदौ  १८ गते निर्वाचनको प्रक्रिया  सुरु हुन नसकेका जिल्लामा  बढीमा  एक  साताभित्र  वडा  अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ ।

​२१ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक नभएकाले ती वडाहरूको अधिवेशन भने अन्योलमा छ । यादवले भने, ‘हामीले वडा अधिवेशन सुरु गरिसकेका छौँ, त्यहाँ पनि अधिवेशन गर्नैपर्छ । आज भोलिसम्म २१ जिल्लाको क्रियाशीलको सूची आएपछि हामीले निर्वाचन अधिकृत खटाउँछौँ ।’

डोल्पा र रसुवाबाहेक सबै  जिल्ला सुगम रहेकाले २६ गतेसम्म अधिवेशन गराउन गाह्रो नहुने यादवको भनाइ छ । ‘रसुवामा मोटरबाटो छ । अलि गाह्रो डोल्पामा हो । हेलिकप्टरबाट सामग्री पठाए पनि अधिवेशन गरिन्छ । अरू तराईमा छ । त्यहाँ क्रियाशील सदस्यको सूची पाएको ३ तीनमै सम्पन्न गर्न सकिन्छ,’ उनी भन्छन् ।

यादवका अनुसार जिल्लाको आन्तरिक समस्या, कोरोना भाइरस सङ्क्रमण लगायतका कारणले आज सम्भव नभए पनि भदौ २६ गतेभित्र वडा अधिवेशन अनिवार्य रूपमा  गर्नुपर्नेछ । काँग्रेसले भदौ २७ गते ७५३  वटै  स्थानीय तह (गाउँपालिका तथा नगर पालिका) को अधिवेशन गर्ने कार्यतालिका छ ।

 


 

वडा अधिवेशनबाट यस्तो बन्नेछ संरचना

पार्टीको वडा अधिवेशनबाट पार्टीको वडा कार्यसमिति गठनका साथै क्षेत्रीय  प्रतिनिधिहरू  चयन हुने छन्  । क्षेत्रीय  प्रतिनिधि  पार्टीको  जिल्ला,  क्षेत्रीय र नगर समितिको  निर्वाचनमा सहभागी हुन पाउने छन् ।

क्षेत्रीय प्रतिनिधिले  पार्टीको  महाधिवेशन प्रतिनिधिको  चयन गर्ने छन् । पार्टीको सबै  भन्दा  तल्लो तहको  सङ्गठन  गाउँ  तथा  नगर पालिकाको वडा समितिका सभापतिलगायतका  प्रमुख  पदहरू निर्वाचनकै  माध्यमबाट चयन गरिँदैछ ।

विगतको प्रावधानमा परिवर्तन गर्दै काँग्रेसले यस पटक प्रमुख पदहरू क्रियाशील सदस्यताबाटै  प्रत्यक्ष रूपमा निर्वाचित भएर आउनुपर्ने प्रावधान बनाएको  छ । सोहीअनुसार गाउँ तथा नगरमा वडा समितिका सभापति, दुईजना उपसभापति, दुईजना सचिव र  दुई जना सहसचिव वडाभित्रका क्रियाशील सदस्यताबाटै प्रत्यक्ष रूपमा निर्वाचित भएरै  आउँदैछन् । वडा कमिटीको कोषाध्यक्ष पदमा भने सभापतिले निर्वाचित  सदस्य मध्येबाट मनोनीत  गर्ने  व्यवस्था छ  ।

यसअघि  १३ औँ महाधिवेशनमा  काँग्रेसको गाउँ तथा नगर  कमिटी वडामा सभापति, सचिव र कोषाध्यक्ष मात्र निर्वाचित हुने प्रावधान थियो ।

वडाको  उपसभापति,  सचिव,  सहसचिवलगायतका  पदमा  सभापतिले मनोनीत गर्ने प्रावधान  थियो । पार्टीको विधानअनुसार क्रियाशील सदस्यता प्राप्त  गरेको एक वर्ष  पुगेको सदस्य  मात्र  नगर वा  गाउँ वडा कार्यसमितिका सभापतिको  निर्वाचनमा उम्मेदवार  बन्न पाउनेछ । गाउँ र नगरमा पदाधिकारीको सङ्ख्या एउटै भए पनि कार्यसमिति सङ्ख्या फरक छ ।

गाउँपालिकामा वडा कार्यसमिति प्रत्यक्ष ९ जना (३ महिला), समानुपातिक ६ जना गरी जम्मा २२ सदस्यीय हुने छ । यस्तै नगरपालिका वडा कार्यसमिति प्रत्यक्ष १२ जना (४ महिला) र समानुपातिक ८ जना गरी २७ सदस्यीय हुनेछ ।

उपमहानगरपालिका वडा कार्यसमिति प्रत्यक्ष १५ (महिला ५), समानुपातिक १० गरी ३२ सदस्यीय हुनेछ । यस्तै महानगरपालिका वडा कार्यसमिति प्रत्यक्ष १८ (महिला ६ जना), समानुपातिक १२ गरी ३७ सदस्यीय हुने छ ।

प्रत्येक वडामा १ सय ५० क्रियाशील सदस्य बराबर ९ जना र थप १ सय क्रियाशील सदस्य बराबर ६ जनाको दरले क्षेत्रीय प्रतिनिधिको निर्वाचन हुने छ ।

क्षेत्रीय प्रतिनिधि बढीमा ७५ जनासम्मको निर्वाचित हुनेछन् । यही क्षेत्रीय प्रतिनिधिले गाउँ÷नगर कार्यसमिति निर्वाचित गर्ने काँग्रेसको विधानमा व्यवस्था छ । त्यसमा सबै वडाबाट समावेशी समूहको प्रतिनिधित्व अनिवार्य गरेको छ ।

सम्बन्धित समावेशी समूहका क्रियाशील सदस्य भएको अवस्थामा कम्तीमा एक जना क्षेत्रीय प्रतिनिधि र कार्यसमितिमा एक जनाको प्रतिनिधित्व अनिवार्य हुनेछ ।

महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएको  प्रतिनिधित्व अनिवार्य हुने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप