पुस्तक अंश : मैले नजन्माएको छोरो

person explore access_timeभदौ १९, २०७८ chat_bubble_outline0

मेरो घर मूल सडकको छेवैमा छ । उसमाथि पनि मेरो कोठा त सडकतर्फ नै पर्छ । झ्याल उदाङ्गै खोलेर सडकको चहलपहल हेर्नु मेरो आफ्नो दिनचर्याको एउटा मुख्य अङ्ग हुन आएको छ । म प्रायः यहाँबाट हेरिरहन्छु । यहाँबाट सधैँ ओहोरदोहोर गर्नेहरू सबैलाई चिन्छु । अड्डा जानेहरू, विद्यार्थीहरू तथा दूध, रोटी बेच्नेहरू सबैलाई ।

यसो भनूँ, मेरो बसिबियाँलो नै यही झ्याल छ । अर्थात् मलाई पटक्क फुर्सद छैन । त्यसो भन्नाले यही झ्याल कुरेर मैले जीवन बिताएकी होइन । एक समय यस्तो पनि थियो, जब यो झ्यालमा धर्ना दिनु त कुरै छोडिदिउँ चियाउन मात्रै पनि एउटा साँच्चैको पाप ठानिन्थ्यो । तर विस्तारै सात साल, बुबाको मृत्यु र आफ्नो शिक्षाको इतिहासले गर्दा समयको नै हेरफेर भयो ।

 मेरो यो झ्यालसँग धेरै घनिष्टता बढ्यो । झन् पढिसकेर बिहानीको स्कुलमा जागिर खान थालेदेखि त मलाई प्रतिबन्ध लगाउने कोही छैन ।

यो झ्यालबाट एकनास हेरिरहनुमा मेरो नैतिकताको कुनै सम्बन्ध छैन । म काँतर स्वभावकी छु । म कसैसँग बोल्दिनँ, कसैसँग आँखा जुधाउँदिनँ । अझसम्म मैले कसैलाई मायाप्रीति जनाएकी छैन, यसो भनूँ ती सबप्रति मेरो रत्तिभर चाख नै छैन ।

म हृदयभरि आदर्शहरू बोकेर हिँड्छु, तर तीमध्ये कुनै पनि काम लाग्ने, लागू हुन सक्ने र प्रगतिशील खालका छैनन् । यस्तो छरपस्टिएको र नपाकेको आदर्श भएर होला, मेरो कुनै ठोस उद्देश्य पनि छैन । कसैप्रति मेरो रुचि छैन । कसैले मप्रति रुचि राखेको छैन ।

म एकलास छु, अनौठो छु । एउटा फूल नफुल्ने रूख, एउटा कडा ढुङ्गाभन्दा बढ्ता मेरो जीवनको केही महत्त्व छैन । सामाजिक कार्य, साहित्य, गफ तथा सिनेमा पनि केही रुचि नभएकाले यो झ्याल नै एउटा मनोरञ्जन र विलासको साधन भएको छ । यही झ्यालबाट सडक सधैँ पढिरहन्छु र पढ्दै तुरुन्त भुल्दै गर्छु ।

यो फागुनकोे सुरु हो । दिन उज्यालो छ, घाम मन्द छ । म भर्खरै आएर झ्यालमा बसेकी छु । अड्डा जानेहरू गइसके । सडक सुनसान छ । स्कुल लागिसकेपछि आउने विद्यार्थीहरू फटाकफुटुक गइराखेका छन् । मेरो घरदेखि अलिक मास्तिर एउटा स्कुल छ, जहाँ केटाहरू मात्र पढाइन्छन् ।

यत्तिकैमा म देख्छु– मेरो झ्यालको सोझो मन्तिर दुईजना ठिटाहरू । एकजना उभिएको छ र अर्को घोप्टेर साइकिलको जञ्जीर हाल्न लागेको छ । उनीहरू लगभग बाह्र तेह्र वर्षका हुँदा हुन् । घोप्टेर जञ्जीर हाल्नेले टाउको उँभो उठाउँछ र मलाई झ्यालमा देख्छ । म एकटक उसलाई हेरिरहन्छु । ऊ लाज मान्दै गाला र कान रातो पार्दै त्यहाँबाट भाग्छ ।

आजको दिन एक विशेष दिन, आजको हेराइ विशेष हेराइ, आजको संयोग एक विशेष संयोग, जसलाई होस् निकै बेर आँखा जुधाएर मैले हेरेको । मेरो आँखाबाट त्यो ठिटो भाग्छ । तर, म उसलाई बिर्सन सक्तिनँ । कालो कालो अनुहारमा दुई अति रहरलाग्दा आँखा, चञ्चल पुतली, घुम्रिएको कपाल, कन्चट र घुच्चुकमा मुन्द्रा परेर झरेको कपाल, मन हर्ने मुस्कान, म कोसिस गर्दा पनि भुल्न सक्तिनँ । मलाई भित्र कता कता कुत्कुती लाग्छ, रमाइलो लाग्छ, कुन्नि यो कस्तो अनुभवको प्रहार हो ।

बुझ्न खोज्छु बुझ्न सक्तिनँ । त्यो झ्याल नौलो लाग्छ, रमाइलो लाग्छ अनि फेरि आफैलाई बिरामी अनुभव गर्छु । तर के कुरा, यस्तो चञ्चलता अघि मलाई कहिल्यै आएन । सम्झना अथवा बिर्सनलाई मसँग कुनै विषय नै थिएन । चिन्तन गर्नलाई कुनै दुःखै थिएन एक किसिम सुखी नै थिएँ । तर, षोडशी छँदा पनि नलागेको कुतकुती आज यो उमेरमा किन त ? त्यसैले आफ्नो एकनास जीवनभन्दा विपरीत यो भावना आइदिएकाले भैले भनिसकेँ म बिरामी अनुभव गर्छु ।

त्यस दिनदेखि यता सधैँ म उसलाई देख्छु । अब कल्पना गर्नलाई मसँग एउटा छायाँ छ सोच्नलाई एउटा विषय । अब म आफूभित्र त्यति फिका छैन, मेरो छातीमा पनि तरल पदार्थ सल्बलाउन थालिसकेको छ । म आफैंभित्र पग्लिसकेकी छु । ऊ आउँछ, पेटीमा उभिएर मास्तिर झ्यालमा हेर्छ । साथीलाई छिँडीको पसलेकहाँ केही किन्न पठाउँछ र आफू त्यहीँ उभिएर सुसेल्ने बहाना गर्छ ।

 मसँग आँखा जुध्यो भने, गालामा, कन्चटमा आँखाको छेउछाउमा सहिनसक्नु मुस्कानहरू नचाउँछ । साथीसँग चिरबिर चिरबिर अर्थ नबुझिने कुरा गर्छ । मलाई ती बोली फागुनको बिहानै चरा कराएको जस्तो मीठा लाग्छन्, सानो घण्टी बजेको जस्तै स्वादिला लाग्छन् । मेरो कानमा स्वादैस्वाद भरिन्छ । यसले मलाई आत्मसन्तुष्टि दिन्छ, अँ आत्मसन्तुष्टि । तर, यो नयाँ अनुभूतिको जुन छटपटी छ त्यो हराउँदैन । प्रश्नचिन्हहरू झन् झन् बढ्ता मात्रामा रुमलिँदै आउँछन् । माया, ममता, स्नेह, प्रेमजस्ता कुनै भावनाले मलाई उकुसमुकुस बनाइराख्छ ।

म थाहा पाउँछु मभित्र जग नभएको एउटा हावामा झुण्डिएको घर तयार भइसकेको छ । म अझ स्पष्टै थाहा पाउँछु, मेरो छाती चस्किन्छ । केही चीज पोखिएर बाहिर आउन खोज्छ । म कम बोल्छु, त्यसैले सबै कुरो ममा अव्यक्त छ । हुँदाहुँदा मेरो मन पराइ त्यो ठिटोप्रति सीमा नाघेर गइसकेको छ । त्यसलाई देख्दै म अधीर हुन्छु । उसलाई अङ्कमाल गर्न मन लाग्छ, उसको दुवै गालामा म्वाइँ खान मन लाग्छ ।

काखमा राखेर खेलाउन मन लाग्छ । सत्य कुरो– उसलाई निचोर्न मन लाग्छ । अँठ्याउन मन लाग्छ । मलाई हिस्टिरिया हुन खोज्छ । मेरो मानसिक सन्तुलन ढलमल हुन खोजेको प्रष्टै थाहा पाउँछु । समय विकास भइसकेको छ । मानिसमा इच्छा–शक्तिको केही अधिकार जमेको छ ।

पशुजस्तै सहज ज्ञानमा चले मानिस अनैतिक र असामाजिक ठहरिन्छ । मानिसले मानिसलाई विभिन्न दृष्टिकोणबाट जोखेर फालिदिन्छ । आफैले आफैलाई जोख्छ । म पनि आफैँलाई राम्रोसँग पारख गर्छु, कारण यो अनुभव मलाई मानसिक रोगजस्तै भइसकेको छ ।

खाटमा पल्टन्छु, सोच्छु । अरूको भन्दा मेरो भिन्दै चरित्र छ, भिन्नै आदर्श छ । मलाई कुखुरे बैँसका उन्मादले छोएन । योवनको चञ्चलताले छोएन, मलाई कहिल्यै कसैसित प्रेम गरूजस्तो लागेन, मलाई विवाह गर्न सौख लागेन, गृहिणी बन्ने रहर भएन । म अविवाहित छु, वयस्क हुन थालिसकेँ ।

विवाह त हुनसक्छ, संयोग न हो तर रहरलाग्दो विवाह हुँदैन । मलाई विवाहमा चाख नै छैन । उमेर जति पुग्यो त्यति छिप्पिएकी म दखिइन्नँ । मुख हेर्नेले ऐनाले अझसम्म तिरस्कार गरेको छैन । मैले सुनेकी छु विवाह नगरेर बसेपछि जीवनमा निरर्थकता र विरक्ति आउँछ, यौनसम्बन्धी रोग लाग्छ । तर, यो विरक्ति मलाई लागेको छैन । रोग चाहिने यही हो कि भन्न सकिन्न । म बिलकुल जीवनहीन भइसकेकी छैन ।

मैले सुनेकी छु यो उमेरमा मानिसमा विकृति आउँछ– विशेष बिहे नगरी बसे । ममा त्यही विकृति आउन लागेको त होइन ? म झस्कन्छु, फेरि आफैंलाई सान्त्वना दिन्छु किनकि यो उमेरमा पोखिएको पवित्र प्रेमलाई पनि मानिस विकृत नै भन्छन् । मैले पढेकीछु– पैँतीस वर्षसम्म स्वास्नी मानिसको शरीर इन्द्रीयको दास हुन्छ, म डराउँछु, पसिना चिटचिट आउँछ, घाँटी निमोठिएर आउँछ । म आफ्नो उमेरको हिसाब लगाउन खोज्छु, म अहिले पैँतीस नाघेकी छैन ।

अँ, म पैँतीस पुगेकी नै छैन । तर तर बिहे गरेको भए त्यही ठिटो जत्रो ढड्डू मेरो छोरो भइसक्थ्यो । यो छोरो शब्द आउनसाथै ममा भुइँचालो जान्छ, एक पत्र तुवाँलो फाट्छ, एउटा ठूलो प्रश्न–चिन्ह हराउँछ, छटपटी कम हुन्छ, घाँटी निमोठिन छोड्छ, एकैसाथ धेरैवटा बोझले छोड्छन् । अर्को सन्तुष्टि मिल्छ तर केही पोख्ने चिज पोखिन बाँकी नै रहन्छ । जे होस्, म आफूलाई बीसको उन्नइस स्वास्थ्य पाउँछु ।

भोलि हुन्छ । मेरो रोग कम भएको छ तर सोचाइको मात्रा बढेको छ, मलाई फेरि पनि फुर्सद छैन । त्यो ठिटोलाई अङ्कमाल गर्ने, म्वाइँ खाने आवेग छुटेको छैन । त्यो मेरो छोरो वा अरू कोही, सोच्छु– सायद त्यो प्रकृतिको वरदान होला, स्वास्नी मानिसको वात्सल्यदेखि वञ्चित रहन नसक्ने । स्वास्नी मानिस स्वास्नी हुनुभन्दा जननी पहिले भइहोली ।

त्यसैले भ्रातृप्रेम धेरै उच्च छ । छोरो, छोरो, छोरो, म जहीँतहीँ छोरो देख्छु । हामी पनि छोरो छोरो भन्दाभन्दै जन्मँदै गएका छोराछोरी हौँ । म भन्छु छोरा सबै छोरा भन्छन् । कल्पना गर्छु, यहाँ सबै छोरैछोरा भए । अनि आफैँ खिस्स हाँस्छु । तर छोरो खेलाउनलाई पोइ चाहिन्छ, पोइ भन्नासाथ मेरो आङ सिरिङ्ग हुन्छ, किनकि यो पोइ मैले कहिले कल्पना नगरेको वस्तु हो ।

पोइ भन्दा मलाई घिनजस्तो लाग्छ । एउटा छोराको लोभले म कल्पनामा पोइ समात्न खोज्छु । तर मरे पनि समात्न सक्तिनँ । यो पोइ नामको कुनै जीवलाई जबरजस्ती अँगालेर राख्न चाहन्छु, छोराको मूर्ति हटाउन चाहन्छु तर पोइ भाग्छ । काखमा उही ढड्डू छोरो पल्टिरहन्छ ।

मेरो दिदीको सानो मरन्च्याँसे छोरो छ तर मलाई त्यसको रहर लाग्दैन । म त्यसलाई खेलाउँदिनँ । किनकि म छोरो भन्यो कि यत्रै ढड्डू देख्छु । अनि मेरो वात्सल्यप्रति मलाई शङ्का लाग्छ । एउटा धुवाँ उड्छ, क्रमशः प्रश्न बनेर आउँछ । तर म सन्तुष्ट छु, किनकि मेरो मनबाट पचहत्तर प्रतिशत विकार भागिसकेको छ ।

फागुनको आरम्भ छ । स्कुले ठिटाहरू त्यसै तम्सेर अबिर खेल्छन् । लोला हान्छन् । अहिले स्कुलको चियाखाने छुट्टी भएको छ । धमाधम आउन लागेका छन् । म छिँडीको पसलमा हुन्छु । साहूको छेवैमा नयाँ नयाँ पुस्तकहरूका थान छन्, जिल्लासुद्ध हालेको छ । म पुस्तकहरू खेलाउँदै सोध्छु– यो कसको ? साहूले हतारसाथ जवाफ दिन्छ– बेच्न ल्याएको ।

 मेरो जिज्ञासा बढ्छ यस्तो नयाँ ? फेरि प्रश्न गर्छु, कसले ? साहू यताउता आँखा डुलाउँछ र सङ्केत गर्छ– ऊ त्यसैले । म देख्छु– मेरो छोरो भनाउँदो मुस्काउँदै आइरहेछ । मलाई सङ्कोच लाग्छ, लाज लाग्छ । सायद आमा भइसक्नेहरूमा छोराप्रति यस्तै भावुकता रहँदो हो । मलाई एउटा प्रश्न सोध्न मन लाग्छ, म सोध्छु, यो किन बेच्या हँ ? साहूले गर्वसाथ जवाफ दिन्छ– चुरोट खानलाई, सिनेमा हेर्नलाई ।

मेरो आँखाअघि कालो पर्दा आउँछ, आफंैलाई अलिकति तल खसेको अनुभव हुन्छ । तर, साहू बीचैमा बोलिदिन्छ– त्यो ठिटोले तपाईंलाई सोध्या थियो, त्यो झ्यालमा बस्ने स्वास्नीमान्छे को हँ भन्दैथियो ? मलाई फेरि अर्को कुत्कुती लागेर आउँछ । तर सोच्नुपर्ने कुरा धेरै छ, पुस्तक, चुरोट, सिनेमा– तर सोच्न पाउँदिनँ ।

 निधारमा बज्रेको लोलाले आँखामा फिलङ्गो उडाइदिन्छ । म लाजले र लोलाको रङ्गले राताम्य हुन्छु । मेरो छोरा सुकुमारी हाँसो हाँस्दै अलिक पर उभिइराखेको हुन्छ । अँ, यो मुस्कान चाहिने, म पटक्क सहन सक्तिनँ र भाग्छु तर हिँडाइमा बोझ छैन, फूल जस्तो हलुको भएको छ मेरो पाइलो ।

त्यसपछि... त्यसपछि म गन्थन गर्नै सक्तिनँ । केही त मैले पाएकै छु । त्यस रात म सपना देख्छु– मैले भर्खरै एउटा छोरालाई जन्म दिएकी छु र मातृगर्वले फुलेर दङ्दास छु । मेरो छोरो काखमा नअटाएर पल्टेको छ र मसित चुरोट खाने पैसा मागिरहेको छ । म ब्युँझन्छु– मेरो आँखा भरिएर आउँछ । तर, उसको सुकुमार स्पर्शले मलाई नशा चढिराखेको हुन्छ ।

अचेतन अवस्थामै म उसको बदमासी केवल आफैभित्र ढाकछोप गरिदिन्छ र भन्छ मेरो बाबा ! तिमी असाध्यै राम्रो छौ । सायद यसरी आमा भइसकेकाहरूले छोराको बदमासी लुकाउन कता–कता हृदयको अन्तरमा सुरक्षा साँचेका हुँदा हुन् । मायाको बन्धन के विश्वास, साथै के विश्वास आजको युग, नैतिकता र विकास ।

मेरो आदर्शहरूले घेरा हालेर मलाई थुनेका छन् । म आमा भाइसकेँ कि क्या कुन्नि । मेरो स्वभाव बदलिइसकेको छ । म तस्बिरको बालकलाई माया गर्छु । बाटाको धूलोमा खेल्ने बच्चालाई त्यसै त्यसै अँगालूँ जस्तो लाग्छ । पूर्णिमाको दिन, आकाश सफा छ, घाम तिख्खर छ ।

वातावरणमा एउटा उद्वेग छ, चञ्चलता छ । म प्रतीक्षामा छु, मैले नरोपेको फूलको आसा लाग्छ, सायद फुल्दो हो, माटो र वर्षात् न हो । यत्तिकैमा साइकिलको घण्टी बजेको सुन्छु । हेर्छु र हेरेको हेर्यै हुन्छु । कान र गालाको मुस्कान, चुरोट र फोक्सो ओकल्ने खोकी, सफा बाटो र खकार । म अतासिन्छु तर मेरो आँखा भरिँदैन, यसैले कि म आमा होइन । अबको पालो आँखाको होइन हृदयमा कालो पर्दा आउँछ । म निकै तल खस्छु ।

मेरो रोग फेरि बढ्न थालेको छ । मलाई मानसिक रोग लागेको छ । म यस रोगलाई व्यक्त गर्न पटक्कै सक्तिनँ । म शिक्षित छु, चेतनमा चल्छु, जबसम्म चेतनाले औंल्याउँछ म आफूलाई र आफ्ना आदर्शहरूलाई खरानी हुन दिन्न । यो मानसिक विकार होस्, चाहे यौन विकार, चाहे कुनै किसिमको मायाको सम्बन्ध नै होस् ।

म कसलाई भनूँ जब कि व्यक्त विकार, चाहे हलुका हुने समस्या नै यो होइन, बाँडेर सिद्धिने दुःख नै होइन । प्लास्टिकको गोलीलाई ओथार्न तम्सेकी निर्लज्ज कुखुराको माउजस्ती म एउटा कोरा भावनामा आफैलाई पिल्स्याएर हिँड्ने तर कुखुरीको आवेग यौटा सत्यता अनि मेरो कुन्नि सत्य कि झुट ।

फागुनको अन्त्य अन्त्य । सारा प्रकृतिलाई कुतकुत्याउने वसन्तका सिरसिरे हावा चलेको छ । मध्यान्न दिन, घामलाई पातलो तुवाँलोले छोपेको छ । म सहरतर्फ जान हिँडिरहेछु मन्द गतिमा । परको भट्टी पसल आइपुग्छ ।

त्यहाँ एउटी बुढीकन्ये साहुनी छ, फारसिली साथै चोथाले तर व्यापार गर्न असाध्ये सिपालु । अनायास म त्यतातिर हेर्छु । सोच्छु यहाँ उसलाई किन आउनुपर्यो । चिया खानलाई होइन, भुराभुरीलाई चिया किन खानुपर्छ ? लौ चिया खान आएको रे तर यहाँ त मासुको अचार र रक्सी पो चल्ती छ । मेरो आङ सिरिङ्ग हुन्छ । मेरो छोरो भनाउँदो हात हालेर साहुनीसँग ठट्टा गरिरहेको हुन्छ । मतिर उस्तै गरी हाँसेर हेर्छ ।

साहुनी भनिराखेकी छ– ए छाड मोरा ! बूढीसँग पनि चल्ने ? शब्दको अर्को चाबुकको प्रहारले मेरो आङ भनन्न बज्छ । मेरो आदर्शले मलाई विरोध गर्छ । म एकै साथ धेरै कुरा सोच्छु । अर्को कालोले मलाई छोप्छ । क्रमशः मेरो छोरो छिप्पिँदै गएको पाउँछु । तर मेरो पछि ऊ आइरहेछ, घण्टी जस्तै बज्दै चरा जस्तै चिरबिराउँदै ।

म प्रष्ट सुन्छु र विश्वास गर्छु, मेरो लागाइ र हिँडाइमाथि कैफियत दिई दिई बोल्दै गरेका निम्न कोटीका शब्दहरू । मलाई नै घोचपेच गर्दै छुटिरहेका तल्लो दर्जाका बोलीहरू । तर, मलाई लाग्छ– पिस्तोलको तातो गाली कानबाटै सन्सनाएर गइरहेको छ । मेरो मनबाट धेरै ठूलो बस्तु हराउँछ । म तल खस्छु, धेरै तल । अबको पालि छोप्ने कालोले मलाई विश्व नै कालो देखाइदिन्छ । मलाई फेरि हिस्टेरिया हुन खोज्छ ।

पछि फर्केर केही भन्न खोज्छु, तर सक्तिनँ । कुन्नि कुन आदर्शको आधारमा म धारे हात लगाउँदै तम्सिन्छु । म सराप्छु, युग परिवर्तनलाई, शिक्षा पद्धतिलाई, आमाहरूको मायालाई, केवल सराप्दिनँ आफ्नै कायरतालाई । जलन, घृणा र हीनताका अनुभवले मेरो अनुहारभरि विकार आउँछ । यो म आफैं खस्किन लागेको मेरो तल्लो ओठबाट सजिलै थाहा पाउँछु । यी सब अटेसमटेसलाई लखेट्न अनायस आफै मेरो नाक बज्छ । मेरो आङ सिरिङ्ग हुन्छ, मलाई जाडो लाग्छ, पसिना पनि आउँछ तर मलाई रोगले पनि छोड्दै गएजस्तो लाग्छ, पसिना आएपछि छुट्ने ज्वरो जस्तो ।

बाहिरको संसार दृष्टि र क्षितिजसम्मको दूरीमा नै सिद्धिन्छ तर मनको संसार के भनूँ ? मनको सृष्टि नै विचित्र, म त राम्रैसँग ठीक भइसकेकी छु ।

मेरो छातीबाट एउटा गह्रौँ ढङ्गा हटिसकेको छ । पोखिन चाहने वस्तु अब उप्रान्त पोखिन चाहन्न क्यारे, भागिसकेको छ । केही हराएको छ तर त्यसको अभावले कति पनि पोल्दैन ।

अब म झ्यालबाट हेर्दिनँ, सडकलाई पढ्दिनँ । अब मलाई फुर्सदै फुर्सद छ । आज दिनभरि दराजमा भएका पत्रिकाहरू हेरी बसेकी छु । म धेरै कठोर भइसकेकी छु । मभित्र सल्बलाइरहेको त्यो तरल पदार्थ पुस महिनामा पानी जमेझैँ जमिसकेको छ । अब पग्लन्न, कहिल्यै पग्लन्न ।

आदिम देश (२०२५) कथासङ्ग्रहबाट ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।