मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागियो : भीम रावल

आफूलाई पक्रन गृह मन्त्रालयलाई चुनौती
शनिबार, १९ भदौ २०७८, १६ : ५६
शनिबार, १९ भदौ २०७८

नेकपा(एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौँमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरूको घर घरमा पु¥याउन लागेको पनि उनले दाबी गरे । उनले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरूलाई आह्वान गरे । उनले भने – ‘झिलिमिली हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पु¥याइँदैछ । नेपाललाई पराधीन उपनिवेश बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउनुस् । जसरी बेलायतीहरूले भारतमा इष्ट इन्डिया कम्पनी खोले त्यो इष्ट इन्डिया कम्पनी भन्दा खतरनाक छ एमसीसी । जसरी अस्थिर राजनीति भएको बेलामा अगाडी बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदैछ ।’

एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्त अनुरूप नभएको उनले उल्लेख गरे । एमसीसीको कतिपय प्रावधानहरूले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधीनतामाथि हमला गर्ने पनि उनले बताए । एमसीसीको सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उनले बताए । उनले भने – ‘रेडियोबाट, टेलिभिजनबाट एमसीसीको बारेमा विज्ञापन बजिरहेको छ । कुनै देशले दिने अनुदान सहयोगको बारेमा अर्को देशले झ्याली पिटेर विज्ञापन गर्छ कहीँ ? दुनियाँमा सुन्नुभाछ ? यो भन्दा राष्ट्रको अपमान के हुनसक्छ ? भर्खरै एउटा टेलिभिजनबाट त्यो बजाएको रहेछ । धेरै विरोध गरेपछि त्यो बन्द भयो । तर रेडियोबाट बजाउने क्रम जारी छ । यो सम्झौता असमान छ । सार्वभौमिक समानताको सिद्धान्त अनुरूप छैन । यसका कतिपय प्रावधानहरूले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतमाथि हमला गर्छ । नेपालको स्वाधिनता र स्वतन्त्रतामाथि आँच पु¥याउने कुराहरू छन् ।’

उपाध्यक्ष रावलले  प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनी सूचना गरेको भन्ने आरोप लगाउँदै आफूले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा पक्राउ गर्न चुनौती पनि दिए । उनले भने – ‘यो लोकतन्त्र हो की के तन्त्र हो ? कि शेरबहादुरजीले अर्कै तन्त्र ल्याइसक्नुभयो ? मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन ५० दिन भैसक्यो लाज पनि मान्नुपर्ने, उहाँ के सूचना जारी गराउनुहुन्छ भने मिलेनियम च्यालेन्जसँग गरेको सम्झौता बारे कोही बोलेपछि, त्यसको विरोध गरेपछि जेल चलान गरिनेछ । म शेरबहादुर देउवाजीलाई नेपालको एउटा देशभक्त नागरिकको हैसियतले चुनौतीका साथ भन्छु मिलेनियम च्यालेन्ज राष्ट्रघाती सम्झौता हो । मैले भने । मलाई गिरफ्तार गर । गृह मन्त्रालय आऊ मलाई पक्रेर लग । आट गर्छौ भने तिमि देशघातीहरुले यो सम्झौताको लागि नेपाली जनतालाई धम्क्याएर देशभक्त नेपाली जनता धम्किँदैनन् । यो निरङ्कुशतन्त्र होइन । नेपाली जनताले रगत बगाएर ल्याएको लोकतन्त्र हो । तिम्रो धम्कीको कुनै मूल्य छैन । तिम्रो धम्कीलाई म देशभक्त नेपाली जनताको बुटले यहीबाट कुल्चिदिन्छु ।’

उनले अहिले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेर भारतीय हेलिकप्टर दार्चुलामा उडिरहेको विषयमा सरकार मौन रहेको बताए । राष्ट्रको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डतामाथि भारतले धावा बोल्दा पनि सरकार चुप लागको भन्दै उनले वर्तमान सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप