बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माधवदेखि वामदेवसम्मलाई ओलीको कटाक्ष

देउवा र प्रचण्डलाई सोधे : एमसीसी के हुन्छ ?
शनिबार, १९ भदौ २०७८, १७ : २०
शनिबार, १९ भदौ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर नयाँ पार्टी बनाएका माधव नेपाल पक्षप्रति कटाक्ष गरेका छन् । शनिवार काठमाडौँमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै उनले माधव नेपालले नेकपा एस पार्टी बनाएको नभई काँग्रेस र देउवाका लागि ‘यस’ पार्टी बनाएको भन्दै व्यङ्ग्य गरे । उनले एमाले छोडेर अहिलेको सरकारमा जान तयार गरिरहेकाहरुलाई देउवाको भान्छामा दूध भात खान गएका बिरालाहरूको संज्ञा दिए । उनले भने–‘अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा पुगेका छन् । दूध र भात खान पाइन्छ भन्दै म्याउँ गर्दै ढुक्नलाई पुगेका छन् ।’ 

ओलीले पार्टी नफुटेको बरु विगतदेखि झमेला गर्दै आइरहेका केही तत्त्व बाहिरिएको बताए । उनले माधव नेपाल समूह पार्टीमा वैचारिक द्वन्द्व नभइ केवल पदका लागि मात्र पार्टीबाट बाहिरिएको बताए । उनले भने–‘कतिले भन्ने गरेका छन् एमाले फुटेको छ टुटेको छ, अझै ठुलो भुँइचालो जानेछ भनेर आस गरेका छन् । अहिले पाटी फुटेको हैन, पार्टीमा बिग्रिएकाहरू जो विगतदेखि नै पार्टीमा अनेक झमेला गर्दै आएका थिए ती चोइटिएका मात्र हुन् ।’ 

उनले भने–‘ यिनीहरू पञ्जावका लङ्गुर बाँदरका झुण्ड जस्तै हुन् । खानका लागि गएका झुन्ड हुन् । हाम्रो पार्टीबाट जानेहरूले कहिल्यै पाटीभित्र वैचारिक लडाइँ गरे ? नीति सिद्धान्त बिचारका केही फरक छ ? खाली मलाई यो पुगेन त्यो पुगेन भनेको छ ।’ उनले माधव नेपालप्रति लक्षित गर्दै भने–‘कहिले प्रधानमन्त्री बन्न पाउन भनेर राजाको वरिपरि दाम चढाएर हिँडेको छ, कहिले हुलाकबाट प्रधानमन्त्री बन्न पाउँ भनेर पत्र पठाएको पनि छ । यस्ता अनेक खालका तमासा गरिएको छ । २ सय ४० सिट भएको बेला पार्टीलाई ३३ सिटमा ल्याएर खुम्चाएको छ । मैले केही गर्न सकिन भनेर राजीनामा दिएको मान्छेलाई फेरी भाग चाहिएको छ । त्यस्ता केही तत्त्वहरू पार्टी छोडेर गएका हुन् ।’

उनले माधव नेपालले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर प्रतिक्रान्ति गरेको आरोप लगाए ।  उनले भने–‘अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यो भाँचेको भाँच्यै छ, जुन पिर्कामा बसेको छ त्यो भाँचेको छ । हिजो जुन मन्दिर बनायो त्यसमा थुकेको थुक्यै छ । माधव नेपाल जस्तो शरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन ।’ उनले विकासका लहर ल्याएको वामपन्थी सरकार ढालेर प्रतिक्रान्ति गर्ने  र नेपाली काँग्रेसको एस पार्टी बनेको आरोप लगाए ।  उनले हिजो पार्टी फुटाउनुअघि गठबन्धनले माधव नेपाललाई लिएर पाँच पार्टीको गठबन्धन भनेको भन्दै माधव नेपाल मात्रै पार्टी रहेको बताए । उनले भोलि पनि माधव नेपाल मात्रै एकीकृत पार्टी रहने बताए । 

वामदेवलाई ओलीको कटाक्ष

ओलीले पार्टी परित्याग गरेका उपाध्यक्ष वामदेव गौतमप्रति पनि कटाक्ष गरेका छन् । उनले उपप्रधानमन्त्री खानका लागि आफूलाई विरोध गर्दै हिँडेको उल्लेख गरे । उनले भने–‘अहिले कस्तो भएको छ भने कसैलाई उम्मेदवार हुन मन छ भने कस्तो ब्यहोराको निवेदन हाल्छ भने तपाई केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, पार्टीले भन्या मान्नुभएन, तपाई केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाई केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो ? तपाई केपी शर्मा ओलीले खाली के जाती गरेँ, त्यसकारण तपाईंको पार्टी छोडेँ । उता उपप्रधानमन्त्री हुन पाउँ भने हुन्छ नि केपी शर्मा ओलीलाई किन गाली गर्ने ?’ उनले निवेदनमा एउटा कुरा र निवेदनको ब्यहोरा भने अर्कै रहेको उल्लेख गरे । उनले एउटालाई रिझाउन अर्कोलाई गाली गरिएको बताए ।

एमसीसी के गर्ने, बोल्नुपर्दैन ?

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सहयोग परियोजना एमसीसी के गर्ने भनेर जवाफ मागेका छन् ।​ ओलीले हिजो आफैले हस्ताक्षर गरेको एमसीसी सम्झौता अब के गर्ने प्रस्ट पार्न सार्वजनिक मञ्चबाट दुवै नेतालाई प्रश्न गरे । ​

उनले हिजो काँग्रेस र माओवादी सरकारमा भएका बेला एमसीसी सम्झौता गरेको बताउँदै अहिले एमसीसी बारे मुख नखोलेको उल्लेख गरे । उनले भने–‘यिनै काँग्रेस र माओवादी हैनन् हिजो एमसीसी सम्झौता गर्ने ? अहिले किन बोल्दैनन् ? झुक्याएर पास गर्न खोजेको ? के गर्ने हो बोल्दैनन्, भन्दैनन् । यिनीहरूले सम्झौता गरेको एमसीसी के गर्ने यिनीहरूले जनताका अगाडि भन्नुपर्दैन ? शेरबहादुर देउवाजीले भन्नुपर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले एमसीसी के गर्ने भन्नुपर्दैन हिजो हस्ताक्षर गर्नुभएको थियो त । उहाँहरू चुपचाप हुनुहुन्छ ।’ 

कसलाई खुसी पार्न चीनसँग सीमा विवाद देखाएको ?

अध्यक्ष ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गरे ।​ उनले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौती समेत दिए ।​ उनले पटक पटक चीनसँग कुनै सीमा विवाद नभएको दोहोर्‍याउँदै भने, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्‍यो रे ? कसलाई खुसी पार्न ? यो सरकारलाई चुनौती दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद देखाओस् ।’ उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप