बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्री शाक्यले तत्काल विश्वासको मत नलिने,  राजीनामा पनि नदिने

शाक्य सरकारको दिनगन्ती सुरु, गठबन्धन सरकार बनाउन सहज
आइतबार, २० भदौ २०७८, १५ : ४५
आइतबार, २० भदौ २०७८

बागमती प्रदेश सरकार अल्पमतमा पर्ने भएपछि एमाले उपाध्यक्ष तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सत्ता बचाउने लक्ष्यका साथ आफ्नो रणनीति बनाउन जुटेकी छिन् । उनी तत्काल विश्वासको मत नलिने र राजीनामा पनि नदिने मनस्थितिमा पुगेकी छन् ।  भदौ २ गते बागमती प्रदेशमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकता जोगाउन भन्दै एकाएक राजीनामा दिएर शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो । पार्टी एकताका लागि भन्दै पौडेलले प्रदेशको बागडोर शाक्यलाई सुम्पिएपनि विभाजनको असर भने प्रष्ट देखियो ।  

केन्द्रमा एमालेको आधिकारिक विभाजनपछि बागमतीका पनि १३ सांसद माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर लागेपछि प्रदेशमा विभाजनको प्रष्ट चित्र मात्र देखिएन, सरकारनै अल्पमतमा पर्ने निश्चित भएको हो ।

स्मरण रहोस्, लामो समय माधवकुमार नेपाल पक्षमा खुलेकी मुख्यमन्त्री शाक्य एकाएक क्याम्प परिवर्तन गर्दै संस्थापनबाट मुख्यमन्त्री बनेकी हुन् ।  तर शाक्यलाई साथ दिने ठानिएका सांसदहरु नै समाजवादीमा सामेल भएपछि उनलाई सरकार टिकाउन ठुलो चुनौतीको सामना गर्नुपर्ने देखिएको हो । 

तत्काल राजीनामा नदिने, विश्वासको मत पनि नलिने

मुख्यमन्त्री शाक्यले तत्काल विश्वासको मत नलिने बताएकी छिन् ।

आइतबार हेटौंडामा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री शाक्यले हाल नेकपा एमाले आधिकारिक रुपमा विभाजन भएर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन भएको र आगामी २२ गतेसम्म सनाखतको समय रहेकाले तत्काल  विश्वासको मत नलिने बताएकी हुन् ।

उनले नेकपा एमाले विभाजनपछि १३ जना सांसद्हरु नेकपा एकीकृत समाजवादीमा गएको तथा सो पार्टी नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससँग गठबन्धनमा सहभागि हुने भएकाले विपक्षी दलले अपनाउने कदमका आधारमा आफ्नो रणनीति तथा योजनाहरु संचालन गर्दै जाने बताइन् ।

‘हामी तत्काल विश्वासको मत लिने सोचमा छैनौं । नेकपा एमाले विभाजन १३ जना सांसद् नयाँ पार्टीमा लाग्नुभएको छ । उहाँहरु विपक्षी गठबन्धनमा सहभागी हुने देखिएको छ । उहाँहरुले चालेको कदमपछि हामी हाम्रो योजनाहरु कार्यान्वयन गर्छौ,’ उनले भनिन् ।

उनले प्रतिपक्षको प्रस्तुति अनुसार नै आफू अगाडि बढ्ने भन्दै विपक्षी दलका नेतासँगको विगतको सम्बन्धका आधारमा सहमती र सहकार्यको गृहकार्य गर्ने बताइन् ।

‘विपक्षी दलका नेताहरुसँग पनि विगतदेखि नै सकारात्मक सम्बन्ध छ । उहाँहरुसँग सहकार्यको लागि गृहकार्य गरेर सहमतिको आधारमा सरकार अघि बढ्छ,’ उनले थपिन् । उनले तत्काल आफूले राजीनामा दिने मनस्थिति नबनाएको पनि स्पष्ट गरिन् ।

उनले परिस्थितिले प्रतिपक्षमा बस्न बाध्य बनाए आफू खुसी भएर प्रतिपक्षमा बस्न तयार रहेको पनि बताइन् ।

‘जनताको काममा इमान्दारीताका साथ लागेका छौं । जति दिन सरकारको नेतृत्व पाउँछौ, हामी त्यस बेलासम्म काम गछौं । प्रतिपक्षमा बस्नु पर्ने अवस्था आए पनि हामी सहर्ष स्वीकार गर्छौँ,’ उनले भनिन् ।

असम्भव बन्दै नेकपा एमालेको सत्ता समीकरण

एमालेको विभाजनपछि बागमती प्रदेशसभाको समीकरणमा फेरबदल आएको छ । बागमती प्रदेशमा हाल कायम रहेका १०९ जना सांसदमध्ये नेकपा एमालेका ५६ सांसद थिए । एमाले विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराइसकेका छन् । जसका कारण नेकपा एमाले ४३ सांसदमा खुम्चिएको छ ।

योसँगै स्पष्ट बहुमतका रहेको नेकपा एमालेको सरकारले बहुमत गुमाएको हो ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, विवेकशील साझाका ३ जना, राप्रपा र नेमकिपाका २÷२ जना र एक स्वतन्त्र सांसद् छन् ।

एमालेलाई शाक्य नेतृत्वको सरकार टिकाउन हाल १२ जना सांसद् अपुग देखिन्छ ।

नेकपा एमालेले प्रदेशसभामा प्रतिनिधित्व गर्ने साना दलहरूको समर्थन पाउने अवस्था देखिदैन । जसका कारण सत्ता बचाइराख्न ५५ जना सांसदको समर्थन जुटाउन असम्भव जस्तै देखिन्छ । 

गठबन्धनको सरकार बन्ने सम्भावना बलियो

बागमती प्रदेशमा गठबन्धन नेतृत्वको सरकार बन्ने सम्भावना बलियो रहेको छ ।

बागमती प्रदेशमा गठबन्धनका तर्फबाट माओवादी, काँग्रेस र एकीकृत समाजवादी मिल्दा सहजै बहुमत पुग्ने देखिन्छ ।

पछिल्लो समीकरण अनुसार एकीकृत समाजवादीका १३, माओवादीका २३ र काँग्रेसका २२ गरी ५७ सांसद रहेका छन् ।

तीन दल मिल्दा ५८ जना सांसदको समर्थनसहित गठबन्धनले प्रदेश सरकार गठन गर्न सक्ने देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप