शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा १०८ अंकको गिरावट

आइतबार, २० भदौ २०७८, १५ : ५३
आइतबार, २० भदौ २०७८

साताको पहिलो दिन आज आइतबार नेप्सेमा १०८ अंकको गिरावट आएको छ । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजारमा आज पनि गिरावट आएको हो । खासगरी, नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सिमा तोकेपछि बजार घट्न सुरु गरेको थियो ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले सेयर धितो राखेर बढीमा १२ करोड रुपैयाँसम्म ऋण लिन पाउँछन् । यस्तै, एक लगानीकर्ताले सेयर धितो राखेर एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँ मात्र लिन पाउँछन् ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको सेयर बजारमा १४९ अंकको गिरावट आएको थियो । २९ सय १८ अंकबाट कारोबार खुलेपनि डेढ सय अंकको गिरावटसँगै २७ सय ७९ अंकसम्म आइपुगेको परिसूचक अन्तिममा सुधारिएको हो ।

बजार बन्द हुने समयसम्म १०८ अंकले घटेर २८ सय १८ अंकमा आइपुगेको छ । यसक्रममा आज ११ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, २ करोड ३० लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

बजारमा उच्च अंकले गिरावट आएको दिन आज १४ वटा कम्पनी बाहेक अन्य सबै कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये, आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धिसँगै सेयर मूल्य ३७३ रुपैयाँ पुगेको छ ।

आज नेप्सेमा कारोबार भएकामध्ये १३ वटा कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । यी कम्पनीमा १० प्रतिशतको गिरावट आएको हो । यस्तै, अन्य १८ वटा कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

बजार घटेको दिन १३ वटै समूह राताम्मे भएका छन् । जसमध्ये, निर्जीवन बीमामा ५१९ अंक, जीवन बीमा समूहमा ५११, विकास बैंकमा ३९४ र वित्तमा २३९ अंक, व्यापार र जलविद्युतमा समान २१६ अंकको गिरावट आएको छ । यसैगरी, जलविद्युतमा १६२ अंकको र उत्पादनमूलक समूहमा १७५ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप