शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किन सङ्क्रामक छ ‘हाई’ ?

सोमबार, २१ भदौ २०७८, ०६ : १३
सोमबार, २१ भदौ २०७८

अर्को चोटि कुनै जमघटमा एउटा सानो प्रयोग गर्नुहोला । मुख खोलेर ठुलो हाई गर्नुहोला । त्यसपछि तपाईंसँगै अरू कति जनाले हाई गर्छन् याद गर्नुहोला । त्यहाँ अरूले पनि तपाईंजस्तै हाई गर्ने सम्भावना प्रबल हुन्छ । र, यो लेख पढ्दै गर्दा तपाईंले पनि कम्तीमा एक पटक त पक्कै हाई गर्नै हुनेछ । तर, तपाईंलाई हाई अल्छी लागेर भने पक्कै आउने होइन । बरु हाईको बारेमा पढेर नै तपाईंलाई ‘हाई’ आउनेछ जसरी अरूलाई हाई गरेको देखेर वा सुनेर आउँछ ।

अब प्रश्न आउँछ हाईको यो अनौठो सङ्क्रमण आखिर कसरी हुन्छ ? तर, त्योभन्दा पहिले ‘हाई’ नै के हो भन्ने बारेमा बुझौँ । हाई भनेको हाम्रो नियन्त्रणमा नभएको शरीरको एउटा क्रिया हो । यसमा हामी ठुलो मुख खोल्छौँ र लामो श्वास लिन्छौँ । यो हाम्रो नियन्त्रणमा छैन किनभने हामी जन्मनुभन्दा पनि पहिले नै हाई गर्न सुरु गरिसकेका हुन्छौँ । बाल्टिमोर काउन्टीमा रहेको युनिभर्सिटी अफ मेरिल्याण्डका न्यूरोसम्बन्धी वैज्ञानिक रोबर्ट प्रोभिनले गरेको एक अध्ययनमा आमाको पेटमा रहेको ११ हप्ताको शिशुले पनि हाई गरेको पाइएको थियो । हाईलाई आराम र निद्रासँग जोडिए पनि हाई गर्दा तपाईंको मुटुको चाल ३० प्रतिशतसम्म बढ्ने गर्दछ । यो तपाईं उत्तेजित हुनुसँग पनि सम्बन्धित रहेको छ ।

हाई आउने प्रक्रियामा तपाईंको शरीरका विभिन्न भागहरू संलग्न हुन्छन् । पहिले तपाईंको मुख खुल्छ, तपाईंको चिउँडो तल झर्छ जसले गर्दा जति सक्दो धेरै हावा भित्र लिन सकोस् । तपाईंले श्वास भित्र लिँदा फोक्सोमा हावा भरिरहेको हुन्छ । तपाईंको पेटको मांसपेशी सङ्कुचित हुन्छन् र तपाईंको डायाफ्राम तल धकेलिन्छ । तपाईंले श्वास लिँदा हावा फोक्सोको क्षमताभन्दा बढी भएपछि केही हावा फेरि बाहिर पठाइन्छ ।

अब हामीले हाई के हो भन्ने थाहा भएपछि अब हाई किन आउँछ भन्नेबारे पनि जानौँ । थकान, निद्रा वा अल्छीपनाले सजिलै हाई आउँछ भन्ने त हामीलाई थाहा छ । तर, वैज्ञानिकहरूले भने मानिसहरूले सोचेभन्दा बढी हाईका बारेमा अध्ययन गरेका छन् । हाई किन आउँछ भन्नेबारेमा धेरै सिद्धान्तहरू रहेका छन् । जसमा चर्चित चार यस्ता छन् :

क) शारीरिक सिद्धान्त

यो सिद्धान्तअनुसार हाम्रो शरीरले थप अक्सिजन लिन वा शरीरमा जम्मा भएको अतिरिक्त कार्बोन डायोअक्साइडलाई फाल्न हाई गर्दछ । यसले हामी ठुलो समूहमा रहँदा किन पालैपालो हाई गर्छौं भन्ने कुरालाई पनि व्याख्या गर्दछ । किनभने ठुलो समूहले धेरै कार्बोन डायोअक्साइड निर्माण गर्दछ । जसको अर्थ हाम्रो शरीरले थप अक्सिजन लिन र अतिरिक्त कार्बोन डायोअक्साइडलाई फाल्न प्रतिक्रिया जनाउँछ । तर, यदि अक्सिजन बढी लिनकै लागि हामीले हाई गर्छौं भन्ने हो भने व्यायाम गर्दा चाहिँ हामी किन हाई गर्दिनौँ त ? रोबर्ट प्रोभिनले यस सिद्धान्तको बारेमा पनि परीक्षण गरेका छन् । मानिसहरूलाई थप अक्सिजन दिँदैमा हाई आउन कम भएन । त्यस्तै, मानिस बसेको वातावरणमा कार्बोन डायोअक्साइडको मात्रा कम गर्दा पनि हाई रोकिएन ।

ख) विकासको सिद्धान्त

हाम्रो पुर्खाहरुसँगै हाईको सुरुवात भएको अन्य केहीको विश्वास रहेको छ । हाम्रो पुर्खाहरुले हाई गरेर दाँत देखाएर अरूको नक्कल गर्दथे भन्ने उनीहरूको भनाइ छ । यसैमा आधारित भएर पुर्खाहरूमा हामीले गरिरहेको गतिविधि परिवर्तन गर्ने ‘सङ्केत’ का रूपमा ‘हाई’ को विकास भएको अर्को सिद्धान्त पनि रहेको छ ।

ग) अल्छीको सिद्धान्त

हामी थकित वा अल्छी हुँदा हाई गर्ने सम्भावना बढी हुन्छ । तर, यो सिद्धान्तले ओलम्पिकका खेलाडीहरू प्रतिस्पर्धामा भाग लिन अघि वा कुकुरहरूले आक्रमण गर्न अघि पनि किन हाई गर्छन् भन्ने कुरालाई व्याख्या गर्दैन । दुवै अल्छी भएको यसले प्रमाणित गर्दैन ।

घ) मस्तिष्क सेलाउने सिद्धान्त

यो चाहिँ सबैभन्दा नयाँ सिद्धान्त हो । अध्ययनकर्ताहरूका अनुसार हाम्रो मस्तिष्क तातेको अवस्थामा मानिसहरू हाई गर्छन् । हाई गर्नु भनेको मस्तिष्कले आफूलाई सेलाउने प्रक्रिया भएको उनीहरूको भनाइ छ । के हाम्रो मस्तिष्क तातो वा चिसो हुँदा केही फरक पर्छ र ? उनीहरू भन्छन् – चिसो मस्तिष्कले हामीले स्पष्टसँग सोच्न मद्दत गर्छ । त्यसैले हाई हामीलाई सचेत बनाउनका लागि विकास भएको हुनसक्ने उनीहरूको भनाइ छ ।

हामीलाई हाई किन आउँछ भन्ने मोटामोटी थाहा भयो । अब हाई किन सङ्क्रामक छ भन्नेबारे पनि जानौँ ।

रोचक कुरा, माछासहित हाड भएका सबै जनावरहरू हाई गर्छन् । तर, यो मानिस, चिम्पाञ्जी र सम्भवतः कुकुरको हकमा मात्र सङ्क्रामक छ । हामी चार वर्ष उमेरको छँदासम्म मात्र यो सङ्क्रामक हुँदैन । केही पछिल्ला अध्ययनहरूले हाईलाई कुनै मानिसको सहानुभूति जताउन सक्ने क्षमतासँग यो सङ्क्रामक हुने कुरा जोडिएको दाबी गरेका छन् । एउटा अध्ययनमा ‘अटिजम’ भएका र नभएका बालिबालिकाहरुलाई मानिसहरूले हाई गरिरहेको भिडियो देखाइएको थियो । भिडियो हेर्दा दुवै समूहका बालबालिकाहरूले हाई गरे तर अटिजम भएका बालबालिकाभन्दा अटिजम नभएका बालबालिकाहरूले बढी हाई गरेका थिए । अटिजममा मानिसको सामाजिक सम्पर्कको क्षमता कम हुन्छ जसले उनीहरूमा सहानुभूति देखाउने क्षमता पनि कम हुन्छ । अध्ययनमा जति धेरै अटिजमको अवस्था जटिल, त्यति नै बालबालिकाहरूले कम हाई गर्ने पाइएको थियो ।

तर आजसम्म पनि हाई किन सङ्क्रामक छ भन्ने स्पष्ट उत्तर चाहिँ पत्ता लागेको छैन । तर, हाईबारे हामीलाई धेरै रोचक कुराहरू भने पक्कै पनि थाहा छ – तपाईं गर्भाशयमा हुँदा वा उत्तेजित हुँदा हाई गर्नुहुन्छ, अरूले हाई गरेको देख्दा कम्तिमा ५० प्रतिशतले हाई गर्छन् र हाईको बारेमा पढ्दा पनि तपाईंलाई हाई आउँछ ।

ल अब भन्नुहोस् त, यो लेख पढिसक्दा तपाईंलाई चाहिँ कति पटक हाई आयो ? आशा गरौँ धेरै चाहिँ आएन होला ।

स्रोत  : howstuffworks.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप