शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कवि भीमप्रसाद दुलाल : पञ्चायत ढल्यो भनियो, ज्ञानेन्द्र मात्रै ढलेछन् !

सोमबार, २१ भदौ २०७८, १४ : ३३
सोमबार, २१ भदौ २०७८

कवि भीमप्रसाद दुलाल उमेरले ७३ वर्ष पुगे । अझै उनी युवा जोसका साथ कविता सिर्जना र वाचन गर्छन् । मकवानपुरको बागमती गाउँपालिका फापरबारीमा जन्मिएका उनी दुई वर्षयता बनेपामा बस्दै आएका छन् ।

२०२६ सालबाट कविता सिर्जनामा होमिएका उनलाई कविता सुनाएकै आधारमा पटक–पटक गरी करिब ३२ पटक प्रहरीले हिरासतमा लियो र मुद्दा लगायो ।

तत्कालीन समयमा प्रधानपञ्चहरूले धेरै सामन्त प्रवृत्ति देखाएका र निमुखा जनतालाई शोषण गरेको देखेपछि उनका मनमा त्यसविरुद्ध आक्रोश जन्मियो । त्यसलाई उनले झ्याउरे कवितात्मक शैलीमा कापीमा लेख्न सुरु गरे । निरन्तर लेख्दै गए । केही मानिसहरू जम्मा गरेर ती कविता सुनाउँदै गए ।

यसरी नै आफ्नो कविता यात्रा सुरु भएको दुलाल बताउँछन् । उनी भन्छन्, ‘राणा शासनका अवशेषहरू त्यतिबेलाका प्रधानपञ्चहरूमा थियो । उनीहरु जनतालाई धेरै दुःख दिन्थे । त्यस्ता कुरालाई मैले कवितामा लेख्न सुरु गरेँ । मेरो प्रेरणा भनेको त्यही जनताप्रति गरिएको दुव्र्यवहार थियो ।’

दुलालले ०२६ सालदेखि व्यङ्ग्यात्मक कविता लेख्न थालेका हुन् । दुलाल हालसम्म साना–साना ३२ देखि ४० पेज भएका झन्डै ८० वटा कविताका पुस्तिका प्रकाशन गरिसकेको बताउँछन् । स्थानीयको आर्थिक सहयोगमा उनले यथार्थवाद दर्पण शीर्षकमा ठूलो आकारको सङ्ग्रह प्रकाशन गरेका छन् ।

कविता सुनाउँदै दुलाल देशका अधिकांश भूभागमा घुमिसकेका छन् । जहाँ जान्छन्, त्यहाँका स्थानीयलाई भेला गरेर कविता सुनाउँछन् । कविताका पुस्तिका बेच्छन् । उनी भन्छन्– ‘कतिपयले पैसा कमाउन किताब बेच्दै हिँड्यो भने, तर त्यसबाट त्यस्तो बचत हुने गरी केही भएन । उल्टै प्रहरीले समातेर थुन्यो । वकिल कहाँ उपस्थित गरायो, अनि छोडिदियो । कविता लेखेर बाँच्ने अवस्था अब छैन ।’

देशको प्रशासनका विकृति र विसङ्गतिप्रति कडा व्यङ्ग्य गर्ने कवि दुलाल अहिलेको व्यवस्थाप्रति पनि सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘पञ्चायत ढल्यो भनियो तर ज्ञानेन्द्र मात्र ढलेका रहेछन् । गरिब, निमुखा र निम्न आर्थिक अवस्था भएका जनतामाथि प्रशासकहरूले गर्ने व्यवहार पञ्चायत भन्दा भिन्न छैन । झन् धेरै भ्रष्टाचार, विकृति र विसङ्गति मौलाएको छ ।’

दुलाल जोशिँदै भन्छन्, ‘अब गाउँघर र सहरमा आन्दोलन होइन, सिधै सिंहदरबार घेर्न सबै जानुपर्छ । र, असल नियतको, जनताको पक्षमा काम गर्नेखालको नेतालाई चुनेर सिंहदरबार पठाउनुपर्छ ।’

कवि दुलाल पछिल्लो समय नेकपा फुटेको विषयमा पनि आक्रोशित देखिए । उनी भन्छन् ‘जनताले कम्युनिस्टले गरिब र निम्न आय भएका जनताको पक्षमा काम गर्छ भनेर भोट दिए, तर व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेर आपसमा झगडा गरेर पार्टी नै फुटाए । आफैँ मात्र खाने प्रयास गरे ।’

दुलालका अनुसार प्रजातन्त्रका लागि भएको जनआन्दोलन र २०५२ सालदेखि भएको जनयुद्धले केवल राजा ज्ञानेन्द्रलाई मात्र ढाल्यो । अरु केही गर्न सकेन ।

भिडियो–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप