मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा प्रयोग भइसकेको स्मार्टफोन ‘रिफर्बिस’ !

प्रत्येक वर्ष फालिने १० लाख सेट पुनः प्रयोगको सम्भावना
मङ्गलबार, २२ भदौ २०७८, ०८ : ५५
मङ्गलबार, २२ भदौ २०७८

सरकारले आवश्यक कानुन बनाइदिएमा नेपालमा मोबाइल फोन रिफर्बिस (बिग्रिएको फोन मर्मतपछि पुनः प्रयोग/बिक्री)को सम्भावना देखिएको छ । नेपालमा हरेक वर्ष १३ लाख सेट मोबाइल स्मार्टफोन फालिने मोबाइल आयातकर्ता सङ्घको भनाइ छ । त्यसमा ३ लाख फोन प्रयोग गर्नै नमिल्ने गरी बिग्रिएका हुन्छन् । बाँकी १० लाख सेट स्मार्टफोनलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

यसका लागि नेपाल सरकारले कर, मोबाइलको पार्टपुर्जाको आयात, उद्योग (प्लान्ट) स्थापना लगायतमा सहयोग गर्नुपर्ने व्यवसायीले बताएका छन् । नेपाल मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मलहोत्राले सरकारले आवश्यक सहयोग गरेमा मोबाइलको रिफर्बिस गर्न निजी क्षेत्र तयार रहेको बताए । उनले त्यसका लागि चाहिने कानुन निर्माणदेखि झन्झटिला नीति हटाइनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘एक जना नेपालीले सामान्यतया तीन वर्षमा एउटा फोन परिवर्तन गर्छन् । यस आधारमा नेपालमा हरेक वर्ष १३ लाख सेट स्मार्टफोन फालिन्छन् । ती फालिने फोनलाई सङ्कलन गरेर आवश्यक मर्मतपछि पुनः बिक्रीका लागि बजारमा पठाउन निजी क्षेत्र तयार छ ।’ सरकारले सहजीकरण गरेको अवस्थामा नेपालबाट वार्षिक करिब ४ अर्ब रुपैयाँको रिफर्बिस मोबाइल निकासीसमेत गर्न सकिने उनको दाबी छ ।

यसबाट नेपालको व्यापार घाटा घट्ने, विदेशी विनिमयदर जोगिने र स्मार्टफोनबाट उत्पन्न हुने विद्युतीय फोहोर नियन्त्रण हुने नेपाल दूरसञ्चार प्राधिकरणले निकालेको प्रतिवेदनमा उल्लेख छ । ‘एसेम्बली एण्ड रिफर्बिस अफ मोबाइल ह्याण्डसेट इन नेपाल’ प्रतिवेदनमा प्राधिकरणले यस्तो उल्लेख गरेको हो ।

प्रतिवेदन तयार पार्न गठित समितिका संयोजक मीनप्रसाद अर्यालले नेपालमा रिफर्बिस उद्योगको ठुलो सम्भावना देखिएको बताए । उनले सञ्चार, अर्थ, उद्योग/वाणिज्य र गृह मन्त्रालय र स्थानीय सरकार तथा व्यवसायीको संयुक्त प्रयासमा मोबाइल रिफर्बिस गर्ने उद्योग स्थापना र सञ्चालनको सम्भावना रहेको देखिएको बताए ।

गर्त आर्थिक वर्ष २०७७/७८ मा नेपालले विदेशबाट ३६ अर्ब रुपैयाँभन्दा बढीको ७० लाख सेट मोबाइल फोन आयात गरेको छ । यदि नेपालमा रिफर्बिस प्लान्ट स्थापना गर्न सकेमा यो दर घटाउन सकिनेमा व्यवसायी र प्राधिकरण एकमत छन् । 

रिफर्बिस के हो ?

मोबाइल रिफर्बिस भनेको एक पटक प्रयोग भइसकेको मोबाइललाई नवीकरण वा आवश्यक मर्मत गरेर फेरी प्रयोगमा ल्याउनु हो । ग्राहकले किनेको फोन सीमित अवधिपछि स्वतः बिग्रिन्छ । त्यसरी बिग्रेको फोनलाई व्यवसायीले ग्राहकबाट किनेर उद्योगमा लगेर त्यसका पार्टपुर्जा परिवर्तन गरेर पुनः प्रयोगयोग्य बनाउन मिल्छ ।

यसरी रिफर्बिस गर्दा सेवाग्राहीसँग व्यवसायीले सस्तो मूल्यमा किनेको मोबाइल फोनको मूल्यवृद्धि समेत हुन्छ । यसबाट मोबाइल फोनबाट उत्पत्ति हुने फोहोर नबढ्ने र पर्यावरण समेत नबिग्रिने प्राधिकरणको दाबी छ । यसका लागि दक्ष जनशक्ति र रिफर्बिस गर्ने युनिट नै आवश्यक पर्ने छ ।

रिफर्बिस किन ?

प्रत्येक वर्ष नयाँ मोबाइल फोनको आयात गर्दा नेपालबाट ठुलो मात्रामा विदेशी मुद्राको सञ्चिती प्रयोग हुन्छ । प्राधिकरणले नेपालजस्तो सीमित विदेशी मुद्रा सञ्चिती भएको मुलुकमा मोबाइल रिफर्बिस गर्नुपर्ने बताउँछ । नेपालमा एक पटक आयात भइसकेको मोबाइललाई पुनः एक पटक प्रयोगमा ल्याउँदा त्यसले नेपालको आयात समेत घटाउने प्राधिकरणको दाबी छ ।

यसैगरी, रिफर्बिसले विद्युतीय फोहोर घटाउनुका साथै सेवाग्राहीले सस्तो मूल्यमा नयाँ फोनको प्रयोग गर्न पाउने बताइएको छ । यसका लागि नेपालमा प्लान्ट खोल्नुपर्ने र त्यसका लागि श्रमिक चाहिने भएकाले रोजगारीसमेत वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ ।

रिफर्बिसको प्रक्रिया

प्राधिकरणले मोबाइल रिफर्बिसको प्रक्रिया समेत तयार पारेको छ । मोबाइल रिफर्बिसमा मूख्य गरी दुई वटा चरण हुने प्राधिकरणको भनाई छ । रिफर्बिसको पहिलो चरणमा मोबाइल व्यवसायीले सेवाग्राहीबाट बिग्रेका फोन सङ्कलन गर्नुपर्छ ।

यसपछि सङ्कलन भएका सबै बिग्रेका फोन रिफर्बिस हुने र नहुने छान्नु पर्छ । यो दोस्रो चरणको काम हो । यो चरणमा बजारबाट सङ्कलन भएका सबै फोनलाई प्रयोग गर्न नमिल्ने (डिफेक्टीभ), मर्मत (रिपेयर) गर्न मिल्ने र सामान्य गरी तीन भागमा छुट्याइन्छ ।

रिफर्बिसको चुनौती

नेपालमा मोबाइल रिफर्बिस सम्भावना भए पनि चुनौतीविहीन भने छैन । अहिले नेपालमा भ्याट बिल बिना सेवाग्राहीबाट व्यवसायीले फोन किन्न पाउँदैनन् । भ्याट बिल बिना किनेको मोबाइल फोनलाई चोरीको आरोप लाग्ने व्यवस्था छ । यसरी, भ्याट बिलसहित किनेमा मात्र चोरी नभएको प्रमाणित हुने कानुनले रिफर्बिसमा समस्या पार्ने व्यवसायी र प्राधिकरणको भनाइ छ ।

यसका साथै, सेवाग्राहीबाट फोन फिर्ता लिनका लागि झन्झटिलो प्रक्रिया राख्दा प्रयोगकर्ता आफ्नो बिग्रेको फोन बेच्न हतोत्साहित हुने व्यवसायी मलहोत्राले बताए । यस्तै, नेपालका ६५ प्रतिशत जनसङ्ख्याले मोबाइल प्रयोग गर्दै आएका छन् । यसलाई शतप्रतिशत मान्दा २५ प्रतिशत गरिबिको रेखामुनि र १० प्रतिशत १४ वर्ष मुनीका हुन आउँछन् । त्यसैले नेपालमा रिफर्बिस मोबाइलको बजार रहेको देखिएको छ ।

यद्यपि, दोहोरो भ्याटले गर्दा यसमा समस्या आउने मलहोत्राले बताए । उनले रिफर्बिस गरेर पुनः बिक्री वा निर्यातमा कर तिर्नुपर्ने र त्यही फोनलाई स्थानीय बजारमा बेच्दा फेरी कर तिर्नुपर्ने व्यवस्थाले पनि यो उद्योगको सम्भावनालाई कठिन बनाएको बताए । यसैगरी, रिफर्बिसका लागि चाहिने मोबाइलका पार्टपुर्जा आयात गर्दा लाग्ने भन्सार करले पनि यो उद्योग स्थापनाको सम्भावनामा समस्या आउने बताइन्छ ।

विदेशमा रिफर्बिस फोनको बजार

नेपालले परिकल्पना गरेजस्तै रिफर्बिस यसअघि देखि नै विदेशी मुलुकमा भइरहेको छ । युरोप, अमेरिका, अस्ट्रेलिया र भारत जस्ता मुलुकमा पहिले देखि नै रिफर्बिस भइरहेको प्राधिकरणले बताएको छ । यीमध्ये सबैभन्दा ठुलो बजार भारतमा देखिएको छ । यस्तै, युरोपियन मुलुकमा पनि यसको ठुलो बजार रहेको छ ।

भारत यति बेला विश्वकै ठुलो मोबाइल उत्पादक बन्ने दौडमा लागेको छ । सन् २०२५ सम्ममा मोबाइल फोन र इलेक्ट्रिक वस्तुको उत्पादन भारतमा ४० प्रतिशतसम्मले बढ्ने छ । विश्वमा रिफर्बिस मोबाइलको २५ अर्ब डलरको बजारमा भारतमा मात्रै ६ अर्ब डलरको रिफर्बिस मोबाइलको बजार छ ।

यसैगरी, भारतसहित युरोपमा पनि रिफर्बिस मोबाइलको प्रयोग बढ्दो मात्रामा छ । सन् २०१८ फ्रान्समा २ करोडभन्दा बढी मोबाइल फोन बिक्री हुँदा २० लाखभन्दा बढी रिफर्बिस फोन बिकेका थिए । यसैगरी, उत्तर अमेरिकामा पनि यसको ठुलो बजार रहेको अध्ययन प्रतिवेदनले देखाएको छ । यीमध्ये, ल्याटिन अमेरिकी, अफ्रिकी र भारतीय बजारमा नेपालमा रिफर्बिस गरिएको मोबाइल निर्यातको सम्भावना देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप