बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने तयारी, मासिक ११ करोड रुपैयाँ बचत हुने

मङ्गलबार, २२ भदौ २०७८, १० : ३०
मङ्गलबार, २२ भदौ २०७८

भारतको मोतिहारीबाट ल्याएको पेट्रोलियम पाइपलाइनबाट हाल डिजेल मात्रै आयात गरिँदै आएको छ । अब भने नेपाल आयल निगमले सोही पाइपलाइनको माध्यमबाट पेट्रोल र मट्टितेल समेत ल्याउने कार्यको थालनी गरेको निगमको २ नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादवले रातोपाटीलाई बताएका हुन् । 

अबको केही समयभित्रमै भारतको मोतिहारीबाट ल्याएको पेट्रोलियम पाइप लाइनबाट पेट्रोल र मट्टितेलसमेत ल्याइने छ । पाइप लाइनबाट पेट्रोल र मट्टितेल ल्याउँदा राज्यलाई ढुवानी भाडा बापतको ९ करोड रुपैयाँ मासिक फाइदा हुने यादवले बताए । काठमाडौँ, पोखरा, विराटनगर, भैरहवा, जनकपुरलगायतका स्थानमा अमलेखगञ्ज डिपोद्वारा पेट्रोलियम पदार्थ वितरण हुँदै आएको छ । 

‘पाइपलाइनबाट ल्याउँदा प्राविधिक नोक्सानी अन्तर्गतको हुने मासिक २ करोड नोक्सानी समेत नेपाल आयल निगमको कम हुन्छ,’ उनले भने । सबै कुरा गरेर निगमको मासिक ११ करोड रुपैयाँ बचत हुने यादवको भनाइ रहेको छ ।

एउटा ट्याङ्कर भारतको बरुनी डिपोमा गएर पेट्रोलियम पदार्थ ल्याउँदा ४५ हजार गाडी भाडा लाग्ने गरेको छ । मासिक २ हजार ट्याङ्कर २ सय ५० किलोमिटरको दुरी पार गरेर भारत जाने गरेका छन् । यसका लागि करिब २ सय लिटर डिजेल समेत लाग्ने गरेको कार्यालय प्रमुख यादवले बताए । उनीहरूले त्यहाँ भारतको राज्य कर, टोल ट्याक्स खाना खर्चलगायतमा न्यूनतम ५ हजार खर्च गर्दछन् । 

भारतको मोतिहारीबाट नेपालको बारा जिल्ला अमलेखगञ्जमा रहेको २ नम्बर प्रादेशिक कार्यालयसम्म ६९ किलोमिटर पाइपलाइन भारतीय आयल कर्पोरेसनको सहयोगमा निर्माण भएको हो । 

त्यसको भण्डारणको लागि चाहिने ट्याङ्की अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्न करिब ३५ देखि ४० करोड लाग्ने उनको भनाइ छ । मासिक पेट्रोल ल्याउन लाग्ने भाडा नौ करोड र प्राविधिक नोक्सानी २ करोड गरी ११ करोडको हिसाब गर्दा चार महिनाको ढुवानी भाडाले एउटा ५ हजार केएलको भण्डारण गृह बनाउन सकिने निगमले जानकारी दिएको छ । 

त्यसको पहिलो चरण अन्तर्गत नेपाल आयल निगमका २ नम्बर प्रादेशिक कार्यालयका प्रमुख यादवको नेतृत्वमा प्राविधिक टोली गत हप्ता मात्र भारत गएको थियो । सो क्रममा एउटै पाइपलाइनबाट आउने डिजेल, पेट्रोल र मट्टितेललाई कसरी फरक–फरक भण्डारण ट्याङ्कीमा राख्ने, गुणस्तर कायम गर्ने भन्ने विषयमा निगमका प्राविधिकहरूले सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छन् । 

नेपालभरबाट दैनिक करिब ३ सय ट्याङ्कर पेट्रोलियम पदार्थ लिन भारत जाने गरेका छन् । २०७६ भदौ २४ गतेदेखि नेपालमा पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको हो । 

भारतको मोतिहारीबाट नेपालको बारा जिल्ला अमलेखगञ्जमा रहेको २ नम्बर प्रादेशिक कार्यालयसम्म ६९ किलोमिटर पाइपलाइन भारतीय आयल कर्पोरेसनको सहयोगमा निर्माण भएको । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप