मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : अझै रहस्यमै सङ्खुवासभा सामूहिक हत्याकाण्ड, एमसीसी पास नगर्न दबाब बढ्दै (भिडियो)

मङ्गलबार, २२ भदौ २०७८, १९ : ४२
मङ्गलबार, २२ भदौ २०७८

 

आज २०७८ भदौ २२ गते मङ्गलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

१‍. सङ्खुवासभा सामूहिक हत्याकाण्ड अझै रहस्यमा

सङ्खुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या गरेको थियो ।

घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको कमाण्डमा रहेको अनुसन्धान टोलीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ ।  हत्याकाण्डको अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । मंगलबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली विमानबाट विराटनगर हुँदै घटनास्थलतर्फ प्रस्थान गरेको हो । 

​सोमबार मृत फेला परेका  ६ जनाको टाउकोमा चोट देखिएको छ । संघिय प्रहरी इकाइ कार्यालय धरानबाट घटनास्थलमा खटिएका प्रहरी उपरिक्षक (एसपी) भीम दाहालले रातोपाटीसँग भने–‘सवैको टाउकोमा चोट देखिएको छ ।’ ह्यामर जस्ता गह्रौं वस्तुले हिर्काएर सामुहिक हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

 


२‍. ओलीको कटाक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नेपाली काँग्रेस समेत लड्न डराइरहेको अवस्थामा माधव नेपालको प्युसोले लड्न सपना देखेको भन्दै त्यो सपना पुरा नहुने दाबी समेत गरे । ‘एमालेसँग काँग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ’, ओलीको भनाइ छ । उनले आफ्नो नेतृत्वको सरकार ढाल्न पाँच भाइ जम्मा भन्दै देउसी खेलेको पनि बताए । ‘पाँच भाइ जम्मा भन्दै देउसी खेले, अहिले त जम्मा नै भए क्यारे !’

​​३‍. जवाफ नआएपछि एमसीसी पास नहुने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार  पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।   ‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।’

४. काठमाडौंका प्रमुख जिल्ला अधिकारीको सरुवा

 काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । गृहमन्त्रालयले मंगलबार प्रजिअ पराजुलीलाई हटाएर उनको ठाउँमा सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रजिअको जिम्मा दिएको हो । 

५. ओलीले दायर गरेको रिट

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार सो आदेश गरेका हुन् । नेकपा एमालेका अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध भदौ १७ मा रिट निवेदन दर्ता गरेका थिए । 

६. नेपालको संघर्षपूर्ण जीत

नेपालले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा पपुवान्यसगिनीमाथि दुई विकेटको संघर्षपूर्ण जीत हासिल गरेको छ । पुपुवान्युगिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।

७. एमसीसी पास नगर्न दबाब

सरकारले एमसीसी पास गर्ने तयारी सुरु गरेसँगै यसबारे बहस र प्रदर्शन पनि तीव्र बनेको छ । एमसीसी पास नगर्न भन्दै विभिन्न संगठनले दबाब दिन शुरु गरिसकेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको हो । त्यस्तै अन्य संगठनले पनि विरोध कार्यक्रमको घोषणा गरेका छन् ।

​८‍. दल रोज्न दिएको समय सीमा सकियो, को कता ?

प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज मंगलबार अपराह्न ५ बजे सकिएको छ । गठबन्धन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आयोगले दल रोज्न २१ दिनको दिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप