शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा नयाँ दलप्रति जनप्रतिनिधिको आकर्षण न्यून

मङ्गलबार, २२ भदौ २०७८, २० : ०६
मङ्गलबार, २२ भदौ २०७८

 राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा सामेल हुन सनाखत गर्नुपर्ने समयावधि सकिँदा नयाँ दल रोज्ने जनप्रतिनिधिको संख्या न्यून देखिएको छ ।

लुम्बिनी प्रदेशका स्थानीय तहमा एमाले छाडेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउने जनप्रतिनिधिको संख्या न्यूनमात्र छ । यस्तै, जसपा छाडेर लोकतान्त्रिक समाजवादी पार्टी रोज्ने जनप्रतिनिधि पनि कमै देखिएका छन् ।

उपमेयर र गाउँपालिका उपाध्यक्षसहित एमालेका ४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् । अन्य केही वडास्तरका जनप्रतिनिधिले पनि नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, प्युठान नगरपालिका उपप्रमुख शान्ता आचार्य, अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, दाङको गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले एमाले छाडेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका हुन् ।

दाङमा नेकपा एमालेबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्षसहित २१ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको  निर्वाचन कार्यलय दाङले जनाएको छ ।

गढवा गाउँपलिकाका उपाध्यक्ष शान्ति चौधरी, घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्ष भीमबहादुर सार्कीसहित २१ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

बाँकेमा बैजनाथ गाउँपालिका–४ का वडा अध्यक्षसहित ११ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

पूर्वी रुकुम, रोल्पा, पाल्पा, कपिलबस्तु, नवलपरासी, बर्दिया जिल्लामा वडा अध्यक्ष र वडा सदस्यस्तरका जनप्रतिनिधिले नयाँ पार्टीका पक्षमा सनाखत गराएका छन् । नवलपरासीमा वडास्तरका एक जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

बर्दियामा एक जना वडा अध्यक्षसहित १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । यद्यपि निर्वाचन कार्यालयले औपचारिक रुपमा तथ्याङ्क उपलब्ध गराएको छैन ।

गुल्मी जिल्लामा भने कुनै पनि जनप्रतिनिधिले एमाले छाडेका छैनन् ।

लुम्बिनी प्रदेशमा यसअघि पाल्पाकी प्रदेशसभा सदस्य रमा घर्तीले  एमाले छाडेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराइसकेकी छन् । एमालेका ३७ जना प्रदेशसभा सदस्यमध्ये नेकपा एकीकृत समाजवादीमा सामेल हुने उनी एक्ली सांसद हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्नेहरूमा रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष केशबनन्द बनिया र उपाध्यक्ष सुनिता कलवार छन् । अन्य १७ जनप्रतिनिधिमा वडाअध्यक्ष तथा वडा सदस्यहरु रहेको रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत अयोध्या भण्डारीले बताए ।

यस्तै कपिलबस्तुमा १ जना जनप्रतिनिधिले जसपा छाडेर लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुका अनुसार शिवराज नगरपालिकाका एक जना कार्यपालिका सदस्यले जनता समाजवादी पार्टी छाडेर लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप