बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा एमालेका १३ प्रदेशसभा सदस्यले रोजे नेकपा एकीकृत समाजवादी

३२८ जना स्थानीय जनप्रतिनिधिले एमाले छाडे,  दुई जनाले दर्ता गरे सनाखत फिर्ताको निवेदन
मङ्गलबार, २२ भदौ २०७८, २० : ०९
मङ्गलबार, २२ भदौ २०७८

मकवानपुर । बागमती प्रदेशसभामा नेकपा एमालेका ५६ सांसदमध्ये १३ जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् ।

एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली नेपाल र राजेन्द्रमान श्रेष्ठले नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।

निर्वाचन आयोगले नयाँ दलका पक्षमा सनाखतका लागि दिएको समय सकिनु अघिसम्म १३ प्रदेशसभा सदस्यले नेकपा एमाले छाडेर नयाँ दलका पक्षमा सनाखत गराएका हुन् ।

३२८ जना स्थानीय जनप्रतिनिधिले रोजे नेकपा एकीकृत समाजवादी

बागमती प्रदेशको १३ जिल्लाका ३२८ जना स्थानीय जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, वडा अध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरु गरी ३२८ जनाले नेकपा एमाले त्यागेर नेकपा समाजवादीमा सनाखत गरेका हुन् ।

नेकपा एमाले आधिकारिक रुपमा विभाजन भएपछि निर्वाचन आयोगले गत भदौ १५ गतेदेखि २२ गतेसम्म स्थनीय तहका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको थियो ।

बागमती प्रदेशको चितवन जिल्लाका ३६ जना, मकवानपुरका ३९ जना, धादिङका ८७ जना, नुवाकोटका १० जना, सिन्धुपाल्चोकका २ जना, काभ्रेका ५६ जना, दोलखाका ७ जना, रामेछापका ५ जना र सिन्धुलीका २ जनाले नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् ।

रसुवामा भने कसैले पनि नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत नगरेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

निर्धारित समयभित्र चितवनको भरतपुर महानगरपालिका १२ जना र रत्ननगर नगरपालिकाका १४ जनासहित ३६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिकाका ५ जना वडा अध्यक्षसहित १२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । भरतपुर महानगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, ९ का वडा अध्यक्ष यमलाल कँडेल, १० का वडा अध्यक्ष अरुण पीडित भण्डारी, १२ का वडा अध्यक्ष नरेन्द्र कन्दङ्वा र २२ का वडा अध्यक्ष विष्णु महतसहित १२ जना नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् ।

त्यस्तै, रत्ननगर नगरपालिकाका ३ जना वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यसहित १४ जनाले बिहीबार नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् ।

रत्ननगर नगरपालिका–९ का वडा अध्यक्ष रोशन आचार्य, १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठ, १५ का वडा अध्यक्ष होमनाथ लामिछाने तथा कार्यपालिका सदस्यहरु कृष्णहरि परियार, राजेन्द्र हमाल र निर्मला खड्कासहित १४ जना नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाकी उपमेयर र २ जना गाउँपालिका अध्यक्षसहित ३९ जनाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान र इन्द्रसरोवर गाउँपालिका अध्यक्षसहित ३९ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गराए ।

मकवानपुरका १० वटा स्थानीय तहका ३९ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।

त्यस्तै नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिहरुमा मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट, थाहा नगरपालिकाका–११ का वडा अध्यक्ष किरणमान बल, इन्द्रसरोबर गाउँपालिका –५ का वडाध्यक्ष धनराज महर्जन, इन्द्रसरोबर गाउँपालिका कार्यपालिका सदस्यहरू दुर्गावती थोकर, मन्जु रुम्बा, वडा नम्बर ५ का वडा सदस्य कृष्णजीत लामा, इमान लो, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौँडा उपमहानगरपालिका–१ को वडा सदस्य ईश्वरी सुनार, थाहा नगरपालिका–११ का वडा सदस्य सुनिल लामा, बागमती गाउँपालिका–५ का सदस्य विष्णु तिमल्सिना लगायत छन् ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइवा, नवबुद्ध नगरपालिकाकी उपप्रमुख रामदेवी तामाङ, भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठसहित ५६ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

त्यस्तै नवबुद्ध नगरपालिका–८ का वडा अध्यक्ष मोतिलाल तामाङ, मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिलबहादुर तामाङ, वडा नम्बर ६ का वडा अध्यक्ष डिल्ली आचार्य लगायतले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

धादिङको धुनिवेशी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र गल्छी गाउँपालिकाकी उपाध्यक्ष सहित ८७ जना स्थानीय जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

समाजवादी पार्टी रोज्नेमा धुनिवेशी नगरपालिकाका नगर प्रमुखबालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल, गल्छी गाउँपालिकाकी उपाध्यक्ष सिता ढुङ्गानासहितका जनप्रतिनिधि छन् ।

त्यस्तै धादिङका विभिन्न स्थानीय तहका १७ जना वडा अध्यक्ष, ६७ जना वडा सदस्य र कार्यपालिका सदस्यसमेतले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् ।

नवाकोटका विभिन्न स्थानीय तहका १० जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेका छन् । यसरी सनाखत गर्नेमा २ जना वडा अध्यक्ष छन् भने अन्य वडा सदस्य र कार्यपालिका सदस्य छन् । तीमध्ये दुई जनप्रतिनिधिले सनाखत फिर्ताका लागि निर्वाचन कार्यालयमा निवेदन दिएका छन् । दुई वडा सदस्यले सनाखत फिर्ताका लागि निवेदन दिएको र उनीहरुको निवेदन निर्वाचन आयोगमा पठाइने निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुको बारेमा अन्तिम निर्णय निर्वाचन आयोगले नै गर्ने जनाइएको छ ।

यस्तै काठमाडौंबाट स्थानीय तहका ५५ जनप्रतिनिधिले एमाले छाडेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । भक्तपुरबाट भने चाँगुनारायण नगरपालिकाका–२ का वडा सदस्य मोहनकुमार पौडेललेमात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् । ललितपुरबाट भने २८ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप