शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२० जिल्लामा काँग्रेस अधिवेशन अनिश्चित, एक हजार ७५० प्रतिनिधि चयनमा अवरोध

बुधबार, २३ भदौ २०७८, १३ : ५२
बुधबार, २३ भदौ २०७८

 नेपाली काँग्रेसको स्थानीय अधिवेशन केही जिल्लामा प्रभावित हुने भएको छ । भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २४ गतेसम्म २० जिल्लामा अधिवेशनबारे अन्यौल कायमै छ । काँग्रेसले प्रदेश १ को मोरङ र प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छैन ।

यस्तै बागमती प्रदेशको काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे र रसुवा तथा लुम्बिनीको कपिलवस्तु, बाँके र बर्दिया तथा कर्णालीको डोल्पा र सुर्खेतको पनि वडा अधिवेशन अनिश्चित छ । सुदूरपश्चिमका कैलाली र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक नहुँदा ती जिल्लामा पनि वडा अधिवेशन अनिश्चित बनेको छ ।

ती जिल्लामा नयाँ र समायोजन सम्बन्धी क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन नसक्दा क्रियाशील सदस्यता सूची सर्वाजनिक हुन नसकेको नेता योगेन्द्र चौधरीले रातोपाटीलाई जानकारी दिए ।

क्रियाशील सदस्यता विवाद निरुपणका लागि खटिरहेका चौधरीले भने, ‘कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले बनाएको मापदण्डलाई पनि कार्यान्वयन गर्ने कुरामा विवाद छ ।’ क्रियाशील छानबिन समितिका सदस्यहरु बसेर दिनहुँ छलफल गरिरहे पनि टुङ्गोमा भने पुग्न नसकिएको चौधरीको भनाइ छ ।

उनका अनुसार नवीकरण गरिएका क्रियाशील सदस्यको संख्याभन्दा बढी नहुने गरी समायोजनबाट आएकालाई क्रियाशील सदस्यता दिने मापदण्ड बनाइएको थियो । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै ठाउँमा उक्त मापदण्ड लागू गर्न नसकिने अडान लिएको छ ।

यस्तै, चार तहको सिफारिस विपरीत आएका सदस्यता सूचीलाई मान्यता नदिने विषयमा पनि विवाद छ । विवादित ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गराउने विषयमा सहमति भएको थियो । तर, उक्त सहमति कार्यान्वयन नगर्दा निकास निस्कन नसकेको हो ।

जसका कारण ती जिल्लामा पालिका अधिवेशन, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने भएको छ ।

असोज १० गतेका लागि तोकिएको एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि प्रभावित हुन सक्ने निर्वाचन समितिको भनाइ छ । तर प्रदेश अधिवेशन भने प्रभावित नहुने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताए ।

प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

काँग्रेसमा यी २० जिल्लालाई बाहिर राखेर महाधिवेशन गर्न सकिने अवस्था पनि छैन । किनभने वडा अधिवेशन भएका ५७ जिल्लाबाट २ हजार ३ सय ७५ जनामात्र महाधिवेशन प्रतिनिधि आउँछन् । अधिवेशन अनिश्चित भएका २० जिल्लाबाट एक हजार ७५० महाधिवेशन प्रतिनिधिको प्रतिनिधित्व हुन्छ । करिब आधाजस्तो महाधिवेशन प्रतिनिधिलाई बाहिर राखेर महाधिवेशन हुने कुरा कल्पनाभन्दा बाहिरको विषय भएको नेता योगेन्द्र चौधरीले बताए ।

सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी प्रदेश २ का आठ जिल्लामै अधिवेशन अनिश्चित छ, जहाँबाट ८ सय महाधिवेशन प्रतिनिधि आउँछन् ।

यस्तै १ प्रदेशबाट सबैभन्दा बढी प्रतिनिधि आउने जिल्ला मोरङमा पनि अधिवेशनको टुङ्गो छैन । मोरङबाट १५० जना प्रतिनिधि आउँछन् । बागमती प्रदेशको काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे र रसुवामा पनि अधिवेशन अनिश्चित छ, जहाँबाट ३७५ महाधिवेशन प्रतिनिधि आउँछन् । यस्तै अधिवेशन हुन बाँकी लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके र बर्दियाबाट २ सय महाधिवेशन प्रतिनिधि आउँछन् ।

वडा अधिवेशन नहुँदा कर्णाली प्रदेशको डोल्पा र सुर्खेतबाट ७५ तथा सुदूरपश्चिम प्रदेशको कैलाली र बाजुरा गरी १५० जना महाधिवेशन आउने बाटो रोकिएको छ । क्रियाशील सदस्य मतदाता रहने वडा अधिवेशनले न्यूनतम १५ देखि अधिकतम ७५ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छ । क्रियाशील सदस्यता हेरेर कम्तीमा १५ र बढीमा ७५ प्रतिनिधि चयन हुन्छन् । वडा तहको क्षेत्रीय प्रतिनिधिबाटै काँग्रेसले पार्टी संरचनालाई समावेशी बनाएको छ ।

यसरी निर्वाचित हुने प्रतिनिधिले त्यसपछि हुने क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् । ती महाधिवेशन प्रतिनिधि नै केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन् । तर २० जिल्लामा नामावली प्रकाशन नहुँदा निर्वाचन समितिले निर्वाचन अधिकृत खटाउन सकेको छैन । कहिले निर्वाचन अधिकृत खटाएर निर्वाचन सामग्री पठाउने भन्ने टुङ्गो लाग्न सकेको छैन ।

निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले क्रियाशील सदस्यको सूची प्राप्त गरेको दोस्रो दिन नै निर्वाचन अधिकृत पठाउन सकिने रातोपाटीलाई बताए ।

यी जिल्लामा सम्पन्न भयो अधिवेशन

प्रदेश १ को ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा र धनकुटामा वडा अधिवेशन भएको छ । यस्तै बागमती प्रदेशका दोलखा, सिन्धुली, मकवानपुर र भक्तपुरमा वडा अधिवेशन सम्पन्न भएको छ ।

गण्डकी प्रदेशको, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा र म्याग्दी, लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही, अर्घाखाँची र दाङमा पनि वडा अधिवेशन भएको छ । कर्णाली प्रदेशको रुकुम पश्चिम, जुम्ला, हुम्ला, जाजरकोट र दैलेखमा वडा अधिवेशन सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशको बझाङ, डोटी, अछाम, कञ्चनपुरमा वडा अधिवेशन सम्पन्न भएको छ । दोलखाको क्रियाशील सदस्यता नामावली सोमबार मात्रै प्राप्त भएकाले सो जिल्लामा वडा अधिवेशन केही दिनमा तोकिने निर्वाचन समितिले जनाएको छ । डडेल्धुरामा भदौ २५ गतेका लागि वडा अधिवेशनको मिति तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप