शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको कहर, छमछम नाच्ने सेलिब्रेटीको रहर

बिहीबार, २४ भदौ २०७८, ११ : १५
बिहीबार, २४ भदौ २०७८

तीजको चहलपहल महिना दिन अगाडिदेखि हुन्थ्यो । पार्टी प्यालेस, सामाजिक सङ्घसंस्थादेखि घरघरमै दर खाने र खुवाउनेको भीडभाड देखिन्थ्यो । सहरदेखि गाउँघरको वातावरण सङ्गीतमय हुन्थ्यो । जताततै तीजका भाका घन्किन्थे, जताततै महिलाका नाचगान देख्न मिल्थ्यो । कोरोनाभन्दा अगाडिका वर्षका तीजका कुरा हुन् यी ।

कोरोना सुरु भएपछि गत वर्ष होस् वा यो वर्ष प्रायः सुनसानजस्तै छ । तीजका माहोल देख्न त्यति पाइएको छैन । तीजका लागि भनेर थुप्रै नयाँ गीतसङ्गीत भित्रिएका भए पनि सार्वजनिक स्थानमा त्यति गुन्जन पाएनन् । कोरोनाले हरेक पर्वझैँ तीज पनि खल्लो हुँदै गइरहेको छ । समूहमा भेला भएर मनाइने पर्व घरभित्र खुम्चिएर मनाउनुपर्ने बाध्यता छ । यस्तैमा हामीले केही सेलिब्रेटीसँग तीज कसरी मनाउँदै हुनुहुन्छ भन्ने प्रश्न राखेका थियौँ । उनीहरूको जवाफ उनीहरूकै शब्दमा ।

दीपाश्री निरौला (निर्देशक, अभिनेत्री) :

तीज रमाइलोसँग मनाइरहेकी छु । तीजमा व्रत त बस्छु तर निराहार बस्दिनँ । पूजाआजा गरेर केही खान्छु । तीजका लागि भनेर खासै सपिङ गरेकी छैन । किनभने धेरै बुटिकहरूले आफ्नो उत्पादन पठाएका छन् । यो मामलामा हामी सेलिब्रेटी लक्की छौँ । तीज हाम्रो परम्परा हो । यो संस्कृति हामीले जोगाउनुपर्छ ।

देविका बन्दना (गायिका) :

साथीभाइसँग नाचगान गरेर सेलिब्रेट गर्दै तीज मनाइरहेकी छु । यो पटकको तीजमा धेरै कार्यक्रममा सहभागी हुनु परेकाले सपिङ पनि धेरै गरेँ । केही दिनअगाडिदेखि साथीभाइसँग दरखाने, रमाइलो गर्दै आएकी छु । मैले पनि दरको कार्यक्रम राखेको थिएँ । साथीभाइ सहभागी भएकाले रमाइलो भयो । कोरोनाले गर्दा यो पटक जोसमा कमी आएको छ । व्रत बस्दिनँ । वर्षमा एक दिन पर्ने, साथीभाइ, दिदीबहिनीको भेट हुने भएकाले तीज मनपर्छ । विवाहितले श्रीमान्को लामो आयु र अविवाहितले राम्रो पतिको कामना गर्ने चलन छ ।

सञ्चिता लुइँटेल (अभिनेत्री) :

अहिले म अभिनेता राजेश हमालसँग सुटिङका लागि सुदूरपश्चिम आएकी छु । यो पटकको तीज सुटिङ सुटिङसँगै मनाउँछु । आफ्ना लागि सपिङ गरेकी छैन । यो पटक दिदीहरूले दिनुभएको गिफ्ट प्रयोग गरिरहेकी छु । व्रत बस्छु । भगवान्को पूजा गरेर फ्यामिलीको सुखशान्तिको कामना गर्छु । दर पनि फिल्मको युनिटसँगै खाएँ । म बाहिर भएकाले घरमा गर्ने मेरो पूजा निखिलजीले गर्नुहुन्छ ।

टीका प्रसाईं (गायिका) :

यो वर्षको तीज मेरा लागि अन्य वर्षको भन्दा फरक रह्यो । तीजको कार्यक्रममा महिनौँ अगाडिदेखि व्यस्त हुने म अहिले कोरोनाका कारण कतै पनि कार्यक्रम छैन । तीजका लागि सपिङ गरिनँ । तीजमा सपिङ गर्नुपर्छ भन्ने मान्यता पनि राख्दिनँ । धेरै भीडभाडमा जान्नँ । घरपरिवारसँग दर खाएँ । उनीहरूसँगै तीजको खुसी सेलिब्रेसन गर्छु । व्रत पनि बस्छु ।   

भावना गुरुङ (अभिनेत्री) :

सारी लगाएर साथीहरूसँग भेटघाट गरेर नाच्ने मुडमा छु । तीजकै लागि भनेर लेहेङ्गासमेत किनेकी छु । वर्षमा एक दिन मनाउने यो पर्व निकै मनपर्छ । यो दिन सबै समस्या, दुःख बिर्सिएर दिदीबहिनी, साथीसङ्गीसँग रमाइलो गर्नुपर्छ भन्ने मेरो धारणा हो ।

रोशनी केसी (अभिनेत्री, निर्माता) :

कोरोनका कारण यो वर्ष तीज सबैले आफ्नै घरमा परिवारसँग सीमित रहेर मनाउँदा राम्रो । कामका कारणले तीजका लागि केही प्लान गर्न भ्याइनँ । परिवारको स्वस्थ्य, सुख, शान्तिका लागि तीजको व्रत नियमित बस्ने गरेकी छु । यो हाम्रो संस्कृति पनि हो ।

कृषा चौलागाई (अभिनेत्री) :

तीज परिवार र आफन्तसँग मनाइरहेकी छु । व्रत बस्न मनपर्छ । तीजका लागि भनेर आमाले कुर्था कलेक्सन ल्याइदिनु भएको रहेछ । तिनै नयाँ पहिरन लगाउने र आफन्तसँग नाचगान गर्ने हो ।   

प्रभा बर्तौला (गीतकार) :

हरेक वर्ष तीजको व्रत राख्दै आएकी छु । यो वर्ष पनि बस्छु । सपिङमा मेरो खासै रुचि नभएकाले तीजका लागि गरिनँ । आवश्यक परे जुनै बेला पनि सपिङ गर्छु । तीजमा दिदीबहिनी भेला भएर आफूले भोगेका तीतामीठा जीवनमा अनुभव साट्न मनपर्छ । अहिले व्रत अरूलाई देखाउन बस्ने चलन छ । म कामको सिलसिलमा घरपरिवारबाट टाढा रहेकीले जुन घरमा बस्छु, त्यही मनाइरहेकी छु ।

कृटिना पौडेल (अभिनेत्री) :

यो पटक मेरो पहिलो क्यानडामा तीज हुनेछ । नेपालको भन्दा फरक अनुभूति गरिरहेकी छु । देशमा तीज धुमधामसँग मनाउँदै आएकी थिएँ । यता केही भिन्न लागिरहेको छ । यहाँ रहेका नेपाली दिदीबहिनी, साथीभाइसँग रमाइलो गरिरहेकी छु । पहिले व्रत बसेको छैन । यो पटक भने बस्छु । तीज महिलाहरूले रमाइलो गर्ने, आफन्त भेट्ने एउटा पर्व हो । तीजकै लागि भनेर सपिङ गरेकी छैन ।

अञ्जु गौतम (गायिका) :

यो वर्ष भीडभाडबाट टाढा रहेर आफ्नै टोल, छिमेकी, दिदीबहिनी, साथीहरूसँग मनाउँदैछु । तीजको गीत गाउने, बजाउने र त्यसमा नाच्ने पनि हो । तीजमा पानीसमेत नखाई व्रत बस्न सक्दिनँ । तीजका लागि केही हल्का सपिङ गरेकी थिएँ । परम्परादेखि चल्दै आएको पर्व भएकाले हामीले यो पर्व जोगाएर राख्नुपर्छ । दर खाइयो । विवाह, काम लगायतले टाढा भएका दिदीबहिनी भेला भएर सुखदुःखका कुरा गर्दै नाचगान गर्ने तीज मेरो मनपर्ने पर्व हो । हरेक वर्षको तीजमा म गीत तथा भिडियो लिएर आउने गर्थें । कोरोनाका कारणले गत वर्षदेखि निकाल्न मन लागेन ।

पवित्रा आचार्य (अभिनेत्री) :

गत वर्ष कोरोनाका कारणले तीजमा कहीँ कतै जान पाइएन । यो वर्ष भ्याक्सिन लगाएको र लकडाउन पनि नभएकाले नवलपरासी माइती घर आएकी छु । तीजमा सधैँ व्रत बस्ने गरेको छु । आफ्नो रीतिरिवाज, परम्परा, संस्कृतिको जगेर्ना गर्न पनि हामीले तीज मात्र होइन सबै पर्व खुसीले मनाउनुपर्छ । माइतमा दर खाइयो, अब नाचगान गरेर तीज मनाउँदैछु ।

सुष्मा अधिकारी (मोडल) :

परिवार, दिदीबहिनीसँग तीज मनाइरहेकी छु । व्रत बस्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । तीजको व्रतको आफ्नै महत्त्व पनि रहेको छ । व्रत बस्छु । तीजका लागि सामान्य सपिङ गरे । यो हामी महिलाहरूको विशेष पर्व हो । यो पर्वको निरन्तरताका लागि पनि हामीले मनाउनुपर्छ । देश विदेश जहाँ रहे पनि व्यवसाय, नोकरी लगायत जे कामले टाढा भए पनि तीज पर्वले सबैलाई एक ठाउँमा भेट गराउने गरेको छ । तीजको यही पक्ष राम्रो लाग्छ । राति दर खाइयो । अब नाचगान गरिन्छ ।

बिन्दु परियार (गायिका) :

यो वर्ष घरमा शोक परेकाले पूजा गर्न मिन्दैन । व्रत नियमित बस्दै आएकी छु । आफ्ना लागि सपिङ केही गरिन, परिवार र आफन्तका लागि भने गर्दिएँ । तीज हामी महिलाहरूले मनाउने चाड हो । हाम्रो समाजमा तीजमा व्रत बस्नैपर्ने, नयाँ गरगहना लगाउनै पर्र्ने मान्यता पाइन्छ । देखासिकीभन्दा पनि आफ्नो हिसाबले तीज सेलिब्रेसन गर्नुपर्छ जस्तो मलाई लाग्छ । दर खाए, नाचगान गरेर यो तीज बिताउँछु ।

लक्ष्मी आचार्य (गायिका) :

धेरै ठाउँबाट तीजका लागि निम्तो आएको थियो । आफन्त भेला हुने केही ठाउँमा सहभागी भए । केहीमा जानै बाँकी छ । तीजको व्रत बस्ने गरेकी छु, मनपर्छ । कोरोनाले गर्दा यो पटक सपिङ गरिनँ, पुरानै पहिरनमा तीज सेलिब्रेसन गरिरहेकी छु । यो हामी हिन्दु नारीहरूको महान् पर्व भएकाले जस्तो अवस्थामा पनि सहज तवरले मनाउनुपर्छ भन्ने मेरो धारणा छ । विवाहितले श्रीमान् लामो आयु, प्रगतिको कामना र अविवाहितले राम्रो पतिको चाहना तीजमा गर्नुपर्छ ।

खुस्बु खड्का (अभिनेत्री) :

कोरोना बढ्दो भएकाले यो पटको तीजको केही प्लानिङ गरिनँ । व्रत नियमित बस्दै आएकाले यो पटक पनि बस्छु । कामको कारणले तीजका लागि भनेर सपिङ गर्न सकिनँ । दर खाइयो । तीज परम्परादेखि सेलिब्रेसन गर्दै आएकाले मनाउनुपर्छ ।

तस्बिरहरू : फेसबुकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप