शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एमसीसीकी उपाध्यक्षले थालिन् भेटघाट, ओलीले देखाए सरकार

बिहीबार, २४ भदौ २०७८, २० : ४२
बिहीबार, २४ भदौ २०७८

 आज २०७८ साल भदौ महिनाको २४ गते बिहीबार । आज देशभर भएका मुख्य मुख्य घटनाक्रमहरू रातोपाटीको नियमित स्तम्भ ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

आजका मुख्य समाचारहरुमा एमसीसी उपाध्यक्षसहितको टोली नेपालमा–एमाले अध्यक्ष केपी ओलीसँग भेट, एमसीसीको विरोध जारी, संखुवासभा घटनाको फलोअप, देशभर हरितालिका तीज मनाइएको, कोरोनाको नियमित अपडेट, सत्ता गठबन्धनको बैठकलगायत रहेका छन् ।

१. एमसीसी उपाध्यक्षले थालिन् भेटवार्ता

नेपाल भ्रमणमा रहेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले काठमाडौं आइपुगेलगत्तै भेटवार्ता सुरु गरेको छ ।

नेपालको चारदिने भ्रमणका लागि उनीहरु बिहीबार बिहान काठमाडौं आइपुगेका थिए । काठमाडौं आइपुगेलगत्तै उनीहरुले प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीलाई बालकोट पुगेर भेटेका छन् ।

 काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् ।  

बालकोटको भेटमा ओलीले एमालेले एमसीसी सम्झौताबारे तत्काल धारणा बनाउने अवस्था नरहेको स्पष्ट पारेका थिए । ओलीले आफ्नो पार्टीले आन्तरिक छलफल गरेर सो सम्बन्धमा आवश्यक निर्णय लिने बताएको भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए । ओलीले एमसीसी पास गर्ने नगर्ने भन्ने निर्णय सरकारले गर्ने भन्दै पन्छिने प्रयास गरेका थिए ।

उपाध्यक्ष फातिमाले भने लामो समय नेगोशियसन भएर एमसीसी टुंगिएको उल्लेख गर्दै त्यसबारे एमालेको धारणाबारे चासो राखेकी थिइन् । त्यसपछि अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले सो सम्झौतालाई अघि बढाउन चाहेको तर अहिले त्यसलाई के गर्ने भन्ने विषय सत्तारुढ दलहरूको निर्णयमा भरपर्ने धारणा राखेका थिए ।

​२ एमसीसीबारे महरा

यसैगरी, आज रातोपाटीसँगको विशेष कुराकानीमा पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष कृष्णबहादुर महराले आफू सभामुख भएका बेला तत्कालिन प्रधानमन्त्री ओलीद्वारा एमसीसी पारित गर्न दवाव आएको बताएका छन् । महराले एमसीसी सम्झौता परिमार्जन नगरी पारित गर्न नहुने बताए ।  उनले उक्त सम्झौता यथास्थितिमा पारित नगर्ने सत्तारुढ गठबन्धनको धारणा रहेको पनि बताए ।

​३. फातिमालाई कालो झण्डा

यसैगरी, आज ओली भेटेर फर्किएकी एमसीसी उपाध्यक्ष सुमारलाई कोटेश्वरमा कालो झण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सो क्रममा नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न दल र संगठनमा आबद्ध १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आजै एयरपोर्टमा पनि कालोझण्डा देखाउने प्रयास भएको थियो ।

​४. हरितालिका तीज

आज हरितालिका तीज, अर्थात् वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूको विशेष पर्व । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन विशेष गरेर महिलाहरु नजिक रहेका शिव मन्दिरमा गइ पूजा आराधना गर्ने गर्दछन् ।  काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि भक्तजनहरूको भीड लागेको छ । कोरोना भाइरसको जोखिमका कारण मुख्य मन्दिरको ढोका बन्द गरिएपनि व्रतालु महिलाहरुले बाहिरैबाट महादेवको पूजा आराधना गरिरहेको देख्न सकिन्थ्यो ।

आजको दिनमा निर्जल व्रत बसी पार्वती र महादेवको पूजा अर्चना गरेमा मनोकांक्षाहरु पूरा हुने धार्मिक मान्यता रहि आएको छ । विवाहित महिलाले आज आफू र श्रीमानको दीर्घायु र निरोगी बन्ने कामनासहित व्रत बस्ने गर्दछन् भने अविवाहित महिलाले महादेव जस्तै श्रीमान पाउने मनोकामना सहित व्रत बस्ने बताइन्छ । आज देशभरका शिवमन्दिरहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ । सत्य युगमा भाद्र शुक्ल तृतीयाकै दिन देवी पार्वतीले महादेवको व्रत बसी महादेव स्वामी पाएकोले आजको दिनमा व्रत बसे सम्पूर्ण मनोकामना पूर्ण हुने धार्मिक मान्यता रहेको छ ।

५. गठबन्धन बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसी परियोजनाका साथै, संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ । बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आजको बैठकमा उपर्युक्त विषयमा सामान्य छलफल भएपनि महत्वपूर्ण निर्णय भने केही नभएको बताइन् ।

 उनका अनुसार बैठकमा एमालेले संसद अवरुद्ध पारेपछिको अवस्थाबारे पनि समीक्षा भएको थियो । बैठकमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दवाव आउन थालेको भन्दै यसलाई छिटो टुंगोमा पुर्याउनुपर्ने विषयमा धारणा राखेका थिए ।

​६. काँग्रेस प्रवक्ता शर्मा महामन्त्रीमा लड्ने

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टीका संस्थापक नेता विपी कोइरालाको जन्मजयन्तीको अवसरमा बिहीबार सुन्दरीजल पुगेका प्रवक्ता शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कोरोना भाइरसबाट बितेको २४ घण्टामा मात्रै देशभर १ हजार २७१ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ८४५ जना संक्रमणमुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ जनामा परीक्षण गर्दा १ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७४ हजार ५८७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार २१९ जना पुगेको छ । यस्तै संक्रमितमध्ये ७ लाख ३५ हजार ६ जना निको भएका छन । यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृतकको संख्या १० हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ । 

​८. झिनो अङ्कले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५.९७ मा ओर्लेको छ ।

​९. संखुवासभा घटनामा अनुसन्धान जारी

संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको हत्या प्रकरणमा प्रहरीले हत्यारा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको हत्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

​१० र, यो पनि..

बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालले २–० को अग्रता बनाएको थियो ।

​नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्चले बिहीबार खारेज गरिदिएको हो ।

​नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

​यो पनि छुट्यो कि !

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप