पुस्तक अंश : राणाकालमा झाङ्गिएको ट्युसन प्रवृत्ति

person explore access_timeभदौ २५, २०७८ chat_bubble_outline0

दरबार स्कुलका अङ्ग्रेजीका शिक्षक नन्दराम उप्रेती म्याट्रिक उत्तीर्ण थिए । तर, उनले एमएसम्मका विद्यार्थीलाई पढाउने गर्दथे । गणितमा कमजोर भएकाले कलकत्ता विश्वविद्यालयबाट तीन पटकसम्म अनुत्तीर्ण भएपछि आईए चटक्कै छाडे ।


उनी राणाहरूको घरमा ट्युसन पढाउन जान्थे । राणाहरूको प्रिय गुरू थिए । राणाहरूका दरबारमै गई उनीहरूका छोराछोरीलाई ट्युसन पढाउने भएकाले राम्रो सम्बन्धका कारण उनी १९९० सालमा पहिलो परीक्षा नियन्त्रक बन्ने अवसर पाए । एउटा विद्यार्थीको नतिजामा गडबड भएपछि उनले जागिर छाडिदिए ।



यस्तो पनि जिन्दगीमा चन्द्रधरले लेखेका छन्, “एउटा लड्काको नम्बर जाँच्दा तल माथि परेको हुनाले उहाँलाई एक वर्षपछि स्वतः राणाहरूले निकालिदिए । उहाँलाई यसबाट कुनै किसिमको चित्त दुखेन । नम्बर जोड्दा कुनै कारिन्दाले गलत ग¥यो होला तर यसको सजायको भोगी नन्दराम उप्रेतीलाई ठहराइयो । अचम्म । राणाकालीन न्याय पनि गजबको थियो । जुद्धशमशेरको इर्दगिर्द बस्ने केही व्यक्तिहरूले उनलाई यस कन्ट्रोलरको पदमा पनि बस्न दिएनन् ।”



उबेलै ट्युसन संस्कृतिमा गलत प्रवृत्ति हावी हुन पनि थालिसकेको कुरा २००६ साल असार १६ गते गोरखापत्रमा छापिएको सम्पादकीयबाट प्रष्ट हुन्छ, “कुनै कुनै हाइस्कुलका मास्टरहरू छात्रहरूले ट्युसनमा अरू मास्टर कहाँ पढ्न गएको कुरा रूचाउँदैनन् रे । आफूले पढाउने गरेका स्कुलका छात्रहरूले आफै कहाँ ट्युसन पढून भन्नाका खातिर उनीहरू निकै जालझेल गर्छन् भन्ने पनि सुनिन्छ । यो अनुचित कुरा भयो । छात्रहरूले रूचाएकै योग्य व्यक्तिसँग उनीहरूले पढ्न नपाउनु कुनै न्याय संगत कुरा भएन । शिक्षा विभागबाट यस्तो कुराको जाँचबुझ भई कुरा साँचि ठहरेको खण्डमा धेरै नराम्रो हुन्छ । बरु राम्ररी छात्रहरूलाई पढाउनेमा आफ्नु नाम चलाई योग्यता पूर्वक उनीहरूलाई उत्तीर्ण गर्न सकेमा स्वतै छात्रहरू ता पढ्न आउँछन् । म कहाँ पढ्न नआए यसो गर्छु उसो गर्छु भनी धम्की देखाउन केही दरकार पर्दैन ।”



ट्युसन संस्कृतिका बारेमा बालकृष्ण समले लेखेको एउटा प्रसङ्ग– ठुला हुनाको साथसाथै धनीका छोराहरूले गर्दा स्कुलको अनुशासन बिग्रेको थियो । वीरशमशेर महाराजका नातीहरूले स्कुलका धेरै मास्टरहरूलाई उनका घरमा बिहान बेलुका पढाउन भर्ना गरेका थिए । ती स्कुलको भन्दा बढी तलब पकाउँथे । त्यसको अतिरिक्त ती आफ्ना धनी शिष्यहरूबाट बराबर उपहार पनि पाउँथे । त्यसले गर्दा ती आफ्ना उद्दण्ड शिष्यहरूलाई स्कुलमा गाली गर्न सक्तैनथे मात्र होइन रिसाएको अनुहारसमेत देखाउन सक्तैनथे । तसर्थ ती मनपेट पाएका अभिमानी हेपाहा धनी वर्गका छात्रहरूको लयलयमा लागेर उनका साथीहरू पनि उद्धत बनेका थिए ।



ती धनी तथा शक्तिशाली छात्रहरूमा प्रमुख थिए– शत्रुघ्न राजा (रामराजाका कान्छाभाइ), प्रचण्डशमशेर (जनरल), धनशमशेर, नरराजशमशेर, राजशमशेर, मेघराजशमशेर (फिल्ड मार्सल रुद्रशमशेरका छोराहरू), लीलाशमशेर, सुरशमशेर (जनरल गेहेन्द्रशमशेरका छोराहरू), एकराजशमशेर (कम्यान्डिङ् जनरल धर्मशमशेरका धर्मपुत्र जनरल) इन्दुशमशेर, यज्ञराजशमशेर (क. जनरल तेजशमशेरका छोराहरू), सूर्यशमशेर (महाराज जुद्धशमशेरका छोरा), गङ्गाशमशेर (जनरल हर्कशमशेरका छोरा) । महाराज चन्द्रशमशेरले आफ्ना छोरा नातीहरूलाई घरैमा पढ्न लगाए, स्कुलमा पठाएनन् । हामी दुई दाज्युभाइ शमशेर परिवारमा सज्जन ठहरिएका थियौँ । अनि इन्दुशमशेर (जनरल)लाई सब साधु भन्दथे । भीमशमशेर महाराज (त्यस बेला मुख्त्यार)ले पनि उनका सँगै बसेका नातीहरूलाई स्कुल पठाएनन् । पद्मशमशेर (त्यस बेला क. जनरल) महाराजले उनका छोरा वसन्तशमशेर (जनरल)लाई भर्खरै स्कुल पठाएका थिए । उनी षष्ठम श्रेणीमा पढ्दथे । त्यस्तै अरू निम्न श्रेणीमा पढ्ने राणाजीहरूको प्रभुत्व उठिसकेको थिएन ।”

मुलुकमा प्रजातन्त्र प्राप्तिपछि ट्युसन संस्कृति अझ झाङ्गिदै गयो । शिक्षकको ध्यान कक्षाकोठाभन्दा ट्युसनतर्फ जान थाल्यो । २०१८ सालको सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदनले एसएलसी उत्तीर्ण विद्यार्थीहरू भरसक अरू नै जीविकातर्फ धाउँछन् र केही नलागेमात्र शिक्षण पेशा अपनाउने गर्दछन् भनेर प्रष्ट औँल्याएको थियो ।

 शिक्षण पेशामा प्रवेशपछि ध्यान ट्युसनतिर मोडिहाल्ने प्रवृत्तिलाई निरूत्साही गर्न सोही प्रतिवेदनले सिफरिस गरेको एउटा बुँदा– शिक्षालयका अध्यापकले सञ्चालक समितिको पूर्व अनुमति प्राप्त गरी रोजको दुई समयसम्मको प्राइभेट ट्युसन गर्न पाउँछन् ।

उच्च श्रेणी ९ देखि ११ सम्मका विद्यार्थीहरूलाई ट्युसन गर्दा दुवै समय गरी जम्मा दुई घण्टा र पाँच विद्यार्थी तथा प्राथमिक श्रेणीका विद्यार्थीहरूलाई ट्युसन गर्दा दुवै समय गरी जम्मा तीन घण्टा र आठ विद्यार्थीभन्दा बढ्ता हुनु हुँदैन ।

एक समय गर्दा चार विद्यार्थीभन्दा बढी नगर्नू । सेक्रेटरी वा प्रधानाध्यापकले ट्युसन गर्नेहरूको नाम र ट्युसनमा पढ्ने विद्यार्थीहरूको नाम, कक्षा आदि सबै विवरण राख्नू । स्कुलका हातामा स्कुल चलिरहेको समयमा कसैलाई प्राइवेट ट्युसन गर्न दिनु हुँदैन । प्राइवेट ट्युसनको अनुमति दिँदा सञ्चालक समितिले शिक्षालयका पढाइमा कुनै किसिमको हानी नोक्सानी नपर्ने भनी यकिन भएमा मात्र दिनू र यसमा विशेष ध्यान दिई कडाइसाथ यो नियम पालन गराउनू ।

यस नियमको उल्लङ्घन गरेमा, एकपटक अध्यापकलाई चेतावनी दिनू । यस चेतावनीको वास्ता नगरी अटेर गरेमा दोस्रोपटक कडा चेतावनी दिनू । त्यसको पनि वास्ता नगरेमा सस्पेण्ड गरी आवश्यक कारवाईका लागि सम्बन्धित शिक्षा निरीक्षक वा अञ्चल शिक्षा अफिसमा लेख्नू ।

(पत्रकार प्रकृति अधिकारीद्वारा लिखित राणाकालीन शिक्षा पुस्तकको अंश ।) 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।