मेरो स्मृतिमा बीपी कोइराला

person explore access_timeभदौ २५, २०७८ chat_bubble_outline0

 

बीपी कोइरालासँग मेरो परिवारको तीनपुस्ते आस्था र भरोसाको नाता छ । मेरा आदरणीय पिता स्व. गुरुदत्त न्यौपाने, मेरा आदरणीय काका एवं अभिभावकहरू, गोर्खा जिल्ला नेपाली काँग्रेसका पूर्वजिल्ला सभापति एवं जिल्ला विकास समिति गोर्खाका पूर्वसभापति चन्द्रप्रसाद न्यौपाने, नेपाली काँग्रेस चितवनका पूर्वजिल्ला सभापति टीकाराम न्यौपाने, सत्याग्रही प्रजातन्त्रका सेनानी स्व. चन्द्रकान्त न्यौपाने, सत्याग्रही प्रजातन्तका सेनानी स्व. श्रीधर न्यौपाने र तत्कालीन समयका प्रजातन्त्रका सेनानी स्व. दामोदर तिमल्सेना लगायतबाट मैले बीपीका बारेमा जानकारी पाएको हुँ ।

 नेपालको इतिहासमा नै पहिलो पटक जनताको अभिमतद्वारा लिएको निर्वाचन २०१५ साल फागुन ७ गतेबाट सुरु भएको संसदीय निर्वाचनमा  नेपाललाई १०९ क्षेत्रमा विभाजन गरिएको थियो । उक्त निर्वाचनमा नेपाली काँग्रेसले ७४ सिटमा विजय प्राप्त गरेको थियो । लमजुङ जिल्लालाई क्षेत्र नम्बर १०० र १०१ गरी दुईवटा क्षेत्रमा विभाजन गरेकोमा मेरो पुख्र्याैली जन्म थलो ऐतिहासिक भूमि दुराडाँडा, देवतापानी १०० नम्बर क्षेत्रमा पर्दथ्यो । उक्त संसदीय निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट हाम्रा काका स्व. कृष्णप्रसाद न्यौपाने र स्व. श्रीकान्त अधिकारीको दाबी रहेकोमा, पार्टीले स्व. श्रीकान्त अधिकारीलाई उम्मेदवार बनाएको थियो ।

चुनावी प्रचार प्रसारका क्रममा नेपाली काँग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह लमजुङको सोतीपसल हुँदै भाइरथी भञ्ज्याङबाट कोइरालाफाँट हुँदै घोडामा चढी दुराडाँडा, देवतापानीमा (घोडामा सवार गर्दा सुर्वण शमशेरको शरीर अलि ठूलो भएकाले निकै गाह्रो भएको) पुगी चुनावी सभालाई सम्बोधन गर्नु भएको थियो । त्यही नजिकमा रहेको देवतापानीको खुला खेतमा तयार भएको सामूहिक  भान्सामा सबै नेताहरूले खाना खानुभएको थियो ।

२०१९ सालमा हामीले लमजुङबाट बसाइँ सराइ गरी चितवन जिल्ला भरतपुर महानगरपालिका–६, देवनगर (साबिक गीतानगर गाउँ पञ्चायत–४ देवनगर) मा स्थायी बसोबास गर्न थाल्यौं ।  २०३६ सालको जनमत सङ्ग्रह र बीपी कोइरालाको स्वास्थ्य उपचारपछि, तत्कालीन समयमा राजनीतिक रूपमा कन्फ्युजनमा रहेका विषय वस्तुलाई स्पष्ट पार्ने अभिप्रायले २०३७ साल फागुन १२ गतेबाट चैत ५ गतेसम्म देशका विभिन्न ठाउँमा भएका आमसभा र कार्यक्रलाई बीपीले सम्वोधन गर्नुभयो । फागुन २९ गते नारायणगढको क्याम्पाचौरमा भएको आमसभामा बीपी आउने खबरले ७५ वर्षकी मेरी साइँली हजुरआमा हरिमाया २०१५ सालमा आफैँले खाना खुवाएका बीपीलाई नजिकैबाट हेर्ने र फूल दिने जिद्दी गरी आमसभामा आउनुभएको थियो ।

त्यहाँ जब बीपीले बोल्ने पालो आएको थियो, त्यही बखतमा तत्कालीन पञ्चायतका मण्डलेहरूले बालकुमारी माविको कम्पाउन्डबाट साँढेहरूको गुद्वारमा पेट्रोल राखी आगो लगाई आमसभातिर छोडिदिँदा भागदौडका कारण मान्छे मान्छेले कुचँल्दा साइँली हजुरआमाको कम्मर (हर) भाँचिन पुग्यो ।

आर्थिक अवस्थाका कारण, नजिकै उच्च प्रविधिको स्वास्थ्य उपचार सुविधा नभएकाले घरैमा जडीबुटी उपचार मात्र गर्दा राम्रो उपचार नपाएरै थलिएरै २०४० साल भदौ १९ गते  मृत्यु भयो । अन्ततः उहाँको बीपीलाई नजिकैबाट देख्ने र फूल दिने इच्छा त पूरा भयो । तर, उहाँको आफै अलि लामो समयसम्म बाँच्ने इच्छा चाहिँ पूरा भएन । यो घटना हाम्रो न्यौपाने परिवारमा अविस्मरणीय छ । तत्कालीन समयमा बीपी कोइरालासँग आस्था र भरोसा राख्ने यस्ता परिवार लाखौँलाख थिए । यो त एउटा प्रतिनिधि घटना मात्रै हो ।

बीपीको जन्म र सङ्घर्ष

पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको माइलो सन्तानका रूपमा यस धर्तीमा १९७२ साल भदौ २४ गते भारतको बनारसमा बीपी कोइरालाको जन्म भएको थियो । बीपी कोइरालाको न्वारानको नाम चूडामणि कोइराला थियो । पिता कृष्णप्रसाद, दाजु मातृकाप्रसाद, भाइहरू गिरिजाप्रसाद, तारणीप्रसाद, केशवप्रसाद कोइराला परिवारका सबै सदस्य राजनीतिक परिर्वतन र सामाजिक रूपान्तरणका पक्षमा सक्रिय रहेका कारण घरायसी वातावरणबाट नै राजनीतिक परिर्वतन र सामाजिक रूपान्तरणका पक्षका गतिविधिका विषयमा बीपी कोइराला चिरपरिचित हुनुहुन्थ्यो ।

परिवार नै राजनीतिक परिवर्तन र सामजिक रूपान्तरणमा सक्रिय रहेका कारण बीपीलाई बाल्यकालदेखि नै हरेक विषयमा चासो राख्ने, समाधानका उपायहरूको पहिचान गरी अगाडि बढ्दै जाने दृढ इच्छा शक्तिले बीपीलाई नेतृत्वमा अगाडि आउने, सबैको प्रिय बन्ने वातावरणको सिर्जना गरेको हामी पाउँछौँ । बीपी कोइराला नरिसाई सबैसँग हाँसीहाँसी बोल्ने, जस्तोसुकै दुःख कष्टहरू आई परे पनि संयमित भएर नेतृत्व समाल्ने, ठूलाठूला जोखिम उठाउन तयार हुने, निडर स्वाभिमानी स्वभावका धनी हुनुहुन्थ्यो । उहाँ सबै उमेरका नेता तथा कार्यकर्ता साथीहरूले सजिलो गरी बीपी बाबु भनी बोलाउँदा खुसी नै हुनुहुन्थ्यो ।

तत्कालीन राणा शासनका बेलामा राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणका विषयमा कुरा मात्रै गर्दा जेल जानुपर्ने, ज्यानसमेत जाने र सर्वस्वहरण भई देश निकालासमेत गरिदिने प्रशस्त सम्भावना हुन्थे । पिता कृष्णप्रसाद, उहाँ र भाइहरू लगायत परिवारका सबै सदस्यहरू राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणका अगुवाको रूपमा चिनिनु हुन्थ्यो । त्यसैले तत्कालीन राणा सरकारले उहाँ र उहाँका परिवारका सदस्यहरूलाई पटक पटक जेल सजाय, सर्वस्वहरणसहित देश निकाला गरेका थिए ।

पटकपटक जेल जीवन र देश निकाला गर्नु उहाँ र उहाँका परिवारका सदस्यहरूका लागि पानी पँधेरो जस्तै थियो । उहाँ प्रजातान्त्रिक भावनाबाट प्रेरित भएर भारतमा अङ्ग्रेज विरोधी अभियानमा लाग्दा १९८७ सालमा पहिलो पटक जेलको यातना सहनु पर्याे । नेपाल र भारतमा गरी पटक पटक ३ वर्षको जेल यातना सहनुपर्याे र नेपालको सुन्दरीजल जेलमा मात्रै लगातार ८ वर्ष जेल जीवन बिताउनुपर्याे । उहाँले एक पटक चिनजान भएको मानिसलाई कहिल्यै भल्नु हुन्थेन । बीपी कोइरालाको जीवन नै सही रूपमा भन्ने हो भने आजसम्म कसैले पढ्न नसकेको ग्रन्थ हो ।

बीपी कोइरालाको जीवनलाई दुई भागमा हेर्नु पर्दछ । एउटा राजनीतिक जीवन र अर्काे साहित्यिक जीवन । साहित्यिक जीवनमा उहाँका विभिन्न प्रकाशित, अप्रकाशित साहित्यक कृतिहरू हामीले पाउँछौँ । जस्तैः कथासङ्ग्रहहरूमाः दोषी चस्मा, श्वेत भैरवी, विश्वेश्वरप्रसाद कोइरालाका कथाहरू । उपन्यासहरूमा ः तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदीआइन, हिटलर र यहुदी, बाबु, आम र छोरा । निबन्ध र दैनिकीहरूमा ः जेल जर्नल, फेरि सुन्दरीजल, कोइरालाको डायरी । संस्मरणहरूमा ः आत्मवृत्तान्त, जीवनी उपनाम आफ्नो कथा र विश्वेश्वरप्रसाद कोइरालाका कविताहरू आदि छन् ।

जननायक बीपी कोइरालाको जीवनका महत्त्वपूर्ण राजनीतिक घटनाको सारसङ्क्षेप :

विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक जीवनलाई विश्लेषण गर्दा उनले नेपाललाई विकास गर्न प्रजातान्त्रिक माध्यमबाट मात्रै सम्भव भएकाले प्रजातान्त्रिक सङ्गठन निर्माणको अभियानमा २००३ साल कात्तिक १५ गते बनारसमा बस्ने सबै नेपालीलाई समावेश गराई औपचारिक अधिवेशनले अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसको गठन हुन पुग्यो र पुनः बृहत् सभा गर्ने निर्णयअनुसार २००३ साल माघ १२ र १३ गते भारतको कलकत्ताको भवानीपुरस्थित खालसा हाइस्कुलमा सम्पन्न अधिवेशनले अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसबाट परिवर्तन गरी नेपाली राष्ट्रिय काँग्रेस गठन गरी ३३ वर्षका बीपीलाई कार्यकारी सभापति र नेपालको जेलमा रहनु भएका टङ्कप्रसाद आर्चायलाई मानार्थ सभापतिमा चयन गर्याे । उक्त अधिवेशनले मुलतः ३ वटा राजनीतिक प्रस्ताव पारित गर्याे ।

१.      राज्य स्थापनाको दैविक मान्यतालाई चुनौती दिँदै नेपाल र नेपाली जनताका सार्वभौम अधिकारको स्थापनाका लागि आफ्नो कर्तव्य नबुझ्ने राजा नै जनताको शत्रु हो ।

२. देशमा प्रजातन्त्र स्थापनाका लागि अहिंसात्मक सशक्त जनक्रान्ति गर्ने ।

३. सबै जात, धर्म, लिङ्ग, वर्ण, आर्थिक अवस्थाका नेपालीहरू यस पार्टीको सदस्य र पदाधिकारी बन्न सक्नेछन् ।

बीपीकै निर्देशनमा नेपालको इतिहासमा  पहिलो पटक २००३ साल फागुन २० मजदुर आन्दोलन भएको थियो । त्यसको प्रभाव दशैभरि पहाड, तराई र काठमाडौँ उपत्यकामा आन्दोलन सशक्त हुँदै गएको अवस्थामा अझ सशक्त बनाउनका लागि २००३ साल चैत ३० गतेबाट सत्याग्रह सुरु भएको थियो । नेपालमा यो नै पहिलो सत्याग्रही आन्दोलन थियो । त्यसपछि नेपालमा विभिन्न रूपमा शान्तिपूर्ण आन्दोलन सञ्चालन हुँदै गएको अवस्थामा २००४ माघ २० देखि २२ गतेसम्म भारतको बनारसमा नेपाली काँग्रेसको दोस्रो अधिवेशन सम्पन्न भयो । बीपी कोइरालालाई एकल सभापति चयन गर्दै विभिन्न निर्णय गरी अधिवेशन सम्पन्न भयो ।

१. जनआन्दोलनको स्वरूप अहिंसात्मक हुनेछ ।

२. अहिंसात्मक आन्दोलनको सबैभन्दा सशक्त हतियार जनताको सङ्गठन भएकाले जनताका कार्यहरूमा सहयोग गरेर काँग्रेसलाई जनजागरणमार्फत सङ्गठित र खुल्ला संस्था बनाउने ।

३. देशमा नागरिक अधिकारको स्थापना गरी नागरिकबाट निर्वाचित जनप्रतिनिधिको विद्यान परिषद्ले देशको शासन व्यवस्थाको स्वरूप निर्धारण गर्ने ।

४. पार्टीका सबै गतिविधिलाई जनताका बीचमा जानकारी गराउने उद्देश्यले ‘युगवाणी’ पत्रिका सञ्चालन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई जिम्मा लगाउने ।

नेपाली राष्ट्रिय काँग्रेसको तेस्रो महाधिवेशन २००५ फागुन १८ गते भारतको दरभंगामा सम्पन्न भयो । उक्त महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापतिमा चयन गर्याे । कोलकाताको टाइगरहलमा सम्पन्न संयुक्त चौथो महाधिवेशनले बीपी कोइरालालाई पुनः सभापतिमा चयन गर्याे ।

नेपाली काँग्रेसले तत्कालीन राणा शाही सरकारका विरुद्धमा जनताका बीचमा शान्तिपूर्ण आन्दोलन सञ्चालनका लागि २००६ सालमा आफ्नो ३ पृष्ठको प्रथम घोषणापत्र प्रकाशित गर्याे । मूलतः घोषणापत्रमा निरङ्कुश राणा शासनको समूल अन्त्य र जनताबाट निर्वाचित जनताको सरकारको अनिवार्यतालाई स्वीकार गरिएको थियो ।

नेपाली काँग्रेसको आयोजनामा, बीपी कोइरालाको नेतृत्वमा २००७ साल असोज १० गते रौतहटको वैरगनियामा रणनीतिक, राजनीतिक सम्मेलनले अहिंसात्मक आन्दोलनबाट जनताको अधिकार प्राप्त हुन नसक्ने निष्कर्षसहित सशस्त्र आन्दोलन गर्ने निर्णय गरी, २००७ साल कात्तिक २१ गते नै शस्त्र आन्दोलन तयारी पूरा गरी, पहिलो पटक २५ गते राति र २६ गते बिहान वीरगञ्ज कब्जा गर्याे । त्यसपछि क्रमशः देशका विभिन्न ठाउँहरू कब्जा गर्यो । कान्तिकारीहरू युद्धका विभिन्न मोर्चाहरूमा ज्यानको बाजी लगाएर लडिरहेका थिए ।

राणा शाही सरकार अत्तालिएर भारत सरकारसँग खुसामत गर्दै थिए । कान्तिकारीहरूले देशभरिका ठाउँठाउँ आक्रमणलाई तीव्रता बढाएपछि राणाशाही लत्रिन बाध्य भयो । अन्ततः २००७ साल फागुन ७ देशमा प्रजातन्त्रको घोषणा भई जनताका प्रतिनिधि सम्मिलित सरकार बन्यो । देशमा अन्तरिम संविधान बन्यो । चैत १७ गते देशमा कानुनी शासनको सुरुवात भयो ।

देशमा छिटोभन्दा छिटो विधान सभाको चुनाव गराउने त्यो अन्तरिम सरकारको प्रमुख दायित्व थियो । यसै बीच बीपी कोइरालाले नेपाली काँग्रेसजनहरूका बीचमा सरकारका गतिविधि र विद्यमान सभाको चुनावमा भएको आनाकानीलाई समावेश गरी जानकारी गराउने उद्देश्यले २००८ साल चैत २५ गते घोषणापत्र जारी गर्नुभयो । नेपाली काँग्रेसको २००९ साल जेठ १० देखि १३ सम्म जनकपुरमा सम्पन्न पाँचौँ महाधिवेशनले पुनः बीपी कोइरालालाई सभापति चयन गर्याे । महाधिवेशनले विभिन्न राजनीतिक प्रस्तावहरू पारित गयो ।

२००९ साल श्रावण २२ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई राजीनामा दिन बाध्य पारियो । नेपाली काँग्रेसलाई विद्यान सभाको चुनाव नगराउने षड्यन्त्र दरबारबाट सुरुवात भएको आभास प्राप्त भएपछि पार्टी आन्दोलनमा जानुको विकल्प रहेन । विभिन्न आन्दोलनका कार्यक्रमहरू चलाउँदै विभिन्न माग राखी २०११ पुस २६ दोस्रो सत्याग्रहको सुरुवात गर्नुपर्याे । त्यसैगरी पार्टीका छैटौँ महाधिवेशन २०१२ साल माघ १० देखि १२ गतेसम्म वीरगञ्जमा सम्पन्न भयो । महाधिवेशनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई उच्च तहको निर्देशन दिने निर्णय गर्याे ।

जननायक बीपी कोइरालाले २०११ सालमा जापानमा सम्पन्न भएको प्रथम एसियाली समाजवादी सम्मेलनमा भाग लिनुभयो । २०१३ सालमा भारतको बम्बईमा सम्पन्न भएको एसियाली समाजवादी सम्मेलनमा नेपाली काँग्रेसले त्यस सङ्गठनको पूर्ण सदस्यता प्राप्त गरेको थियो ।

नेपाली काँग्रेसको आयोजनामा बीपी कोइरालाको अगुवाइमा २०१४ साल चैत १३ देखि १५ गते सम्म काठमाडौँमा एसियाली समाजवादी सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा भारत, पाकिस्तान, बर्मा, जापान, पश्चिम इजरायल, इन्डोनेसिया, भियतनाम लगायतका देशहरूको सहभागिता रहेको थियो । नेपाली काँग्रेसको विशेष महाधिवेशन २०१४ जेठ १० विराटनगरमा सम्पन्न भएको थियो । २०१४ मङ्सिर २२ गते भद्र अवज्ञा आन्दोलन सुरु भयो । देशभरि नेता तथा कार्यकर्ता उल्लेखनीय सहभागीले पार्टीको सङ्गठन राम्रो हुन गई २०१५ सालको निर्वाचनमा राम्रो परिणाम आउन सक्यो ।

तत्कालीन राजा महेन्द्रले २०१५ माघ १९ गते शाही घोषणामार्फत विद्यान सभाको होइन संसद्को निर्वाचन हुने घोषणा गरेपछि जननायक बीपीले संसद्को निर्वाचनमा गए पार्टीको अडान छाड्नुपर्ने । नजाऊँ भने काँग्रेसले चुनाव चाहँदैन भनेर आलोचना गर्ने स्थिति देखापर्याे ।

२०१५ साल फागुन ७ गतेदेखि २०१६ वैशाख २८ सम्म सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले कुल १०९ सिटमध्ये ७४ सिटमा विजयी भई नेपालको इतिहासमा जनताले निवार्चनद्वारा प्रथम जननिर्वाचित सरकारको नेतृत्व गर्ने अवसर नेपाली काँग्रेसलाई सुम्पिए र २०१६ जेठ १३ गते जननायक बीपी कोइरालाले प्रथम जननिर्वाचित प्रधानमन्त्रीका हैसियत शपथग्रहण गर्नुभयो ।

१८ महिनाको बीपीको नेतृत्वको सरकारले व्यापक सुधारका कार्य सम्पन्न गयो । देशको विकासका लागि सुव्यवस्थित बजेट र योजनाबद्ध आर्थिक विकासको गतिशील मार्ग अँगालेर नेपाली काँग्रेस अग्रसर हुन लागेको देखेर यहाँका सामन्ती र प्रतिक्रियावादी तत्त्वहरूले अब हाम्रो सबै अधिकारहरू यो बीपी कोइरालाको सरकारले जनतामा पुर्याउने भयो भनी राजालाई उक्साए । बीपीले यो जानकारी पाएपछि २०१० कात्तिक १० गते गठन भएको नेपाल तरुण दललाई देशैभरि जागरुक गराई परिचालन गर्ने उद्देश्यका साथ तरुणहरूको राष्ट्रिय सम्मेलनमा सम्बोधन गरिरहेका बखत २०१७ साल पुस १ गते जनताबाट निर्वाचित सरकारलाई कु गरी राजाले शासन व्यवस्था आफँै लिई, बीपीलगायत नेताहरूलाई सुन्दरीजल जेलमा राखियो । राजाबाट २०१७ पुस २२ गते देशका सबै पार्टी उपर प्रतिबन्धको घोषणा गरियो ।

फेरि नेपाली काँग्रेसलाई आन्दोलनमा जानुको विकल्प रहेन । २०१८ देखि ०१९ सालसम्म इलामको च्याङथापुदेखि जनकपुर, भरतपुर, गुल्मी, बझाङसम्म देशैभरि सशस्त्र प्रतिरोध आन्दोलन चलायो । पुनः २०१९ साल कात्तिक २३ गते सशस्त्र आन्दोलन स्थगित गरी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गर्याे । २०२५ कात्तिक १४ गते बीपी कोइरालालगायतका नेताहरू सुन्दरीजल जेलबाट रिहा हुनुभयो । नेपाली काँग्रेसले २०२६ देखि २०३३ सालसम्म आन्दोलनको त्रिकोणात्मक रणनीतिक कार्यनीति अगाडि ल्यायो ।

१. सुवर्ण शमशेरको नेतृत्वमा राजासँग वार्ता र समझदारी कायम गर्ने । २. कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अहिंसात्मक र असहयोग आन्दोलन मुलुकभित्रबाटै सञ्चालन गर्ने । र, ३. बीपी कोइरालाको नेतृत्वमा नेपालको तराई क्षेत्रबाट सशस्त्र सङ्घर्ष गर्ने ।

२०२७ साल वैशाख ६ नेपाल विद्यार्थी सङ्घको नामबाट विधिवत् रूपमा गठन भयो । भारतमा निर्वासित बीपी कोइरालाले २०२९ सालमा नेपाली मातृभूमिलाई वर्तमानको प्रसव वेदनाबाट मुक्त पार्न आवश्यक परेमा शल्यक्रिया पनि गर्नुपर्ने वक्तव्य विराटनगर दिनुभएपछि नेपालको राजनीतिमा ठूलो हलचल ल्यायो । पुनः २०२९ भदौ ९ गतेबाट बीपीको नेतृत्वमा सशस्त्र क्रान्ति सुरु भयो । त्यस क्रममा हरिपुर काण्डदेखि लिएर विराटनगर बमकाण्डसमेतका अनेक काण्डहरू घटे । हजारौँ नवयुवकहरू फेरि एकपल्ट प्राणको बाजी राखेर तानासाहीका विरुद्धमा वीरतापूर्वक सङ्घर्षमा उत्रिए ।

नेपाली काँग्रेसले आन्दोलनलाई अगाडि बढाउन २०३० सालमा विराटनगरबाट काठमाडौँका लागि उडेको शाही नेपाल वायुसेवा निगमको प्लेन अपहरण गर्याे । बीपीलगायतका नेताहरू भारत निर्वासनमा रहेका बेला २०३२ मङ्सिर १ भारतमा सङ्कटकालको घोषणाले नेपाली काँग्रेसका नेताहरूको सुरक्षा स्थिति अत्यन्तै नाजुक भयो । बीपी कोइरालालगायत नेताहरूलाई भारतमा पनि खतरा नेपालमा पनि खतरा उत्पन्न भयो । जसका कारण नेपालको राष्ट्रियताप्रति पनि गम्भीर खतरा उत्पन्न भएको महसुस गर्दै बीपीले २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति अगाडि सार्नुभयो ।

तत्कालीन शाही सरकारले बीपीलाई ७ वटा मुद्दाहरू लगाएको थियो, एउटा मात्र मुद्दा सक्रिय हुँदा बीपीलाई फाँसीको सजाय हुन सक्थ्यो । एउटा कुरा स्मरणरहोस्, बीपी कोइरालाले आन्दोलनका बखत नेपाली काँगेस्रका नेता तथा कार्यकर्तालाई लगाइएका सम्पूर्ण मुद्दाहरू उहाँ आफैँ स्वीकार गर्नु हुन्थ्यो । म बाँचे पनि नेपालमा नै बाँच्छु, मरे पनि नेपालमा नै मर्छु भनी देशमा प्रजातन्त्रका सवालमा राजासँग मेरो गम्भीर असहमति छ । तर, राष्ट्रियताका सवालमा मेरो र राजाको घाँटी जोडिएको छ । मेरो घाँटी काटिँदा राजाको घाँटी पनि बाँकी रहने छैन भनी अपिल प्रकाशित गरी बीपी नेपाल आउनुभयो । तर, बीपीलगायत नेताहरूलाई गिरफ्तार गरी जेल राखियो । उहाँमा घाँटीको क्यान्सरको समस्या देखिएपछि बन्दी अवस्थामा नै उपचारका लागि अमेरिका जानुभयो ।

राजाले २०३६ साल जेठ १० जनमत सङ्ग्रहको घोषणा गरे । तत्कालीन शाही सरकारले बहुदल नीलो, निर्दल पहेँलो रङ हुने गरी २०३७ साल वैशाख २० गते जनमत सङ्ग्रह सम्पन्न भयो । २०३७ साल जेठ १ गतेको मत परिणमअनुसार बहुदल नीलोको पक्षमा २० लाख ७ हजार ६५ र निर्दल पहेँलोको पक्षमा २४ लाख ३३ हजार ४ सय ५२ बनाई जबर्रजस्ती निर्दललाई विजयी गराइयो ।

बीपी कोइरालाले आफ्नो राजनीतिक जीवनमा नेपालको प्रजातान्त्रिक आन्दोलन र दक्षिण एसियामा नै प्रजातान्त्रिक समाजवादका लागि सशक्त भूमिका निर्वाह गरिरहेका बखतमा आफूलाई क्यान्सर जस्तो भयानक रोगले समातिराखेको अवस्थामा देशमा देखिएको राजनीतिक कन्फ्युजनहरूलाई स्पष्ट पार्ने अभिप्रायले २०३७ साल फागुन १२ देखि चैत ५ गतेसम्म नेपालका विभिन्न ५ स्थानमा नेपाली काँग्रेस र यसका भ्रातृ संस्थाहरू, शुभेच्छुक संस्थाहरूले आयोजना गरेका आमसभालाई सम्बोधन गर्नुभयो । यिनै कार्यक्रम नै जननायक बीपी कोइरालाका औपचारिक अन्तिम कार्यक्रम रहे । क्यान्सर रोगसँग लड्दालड्दै, नेपाल र नेपाली अझै सेवा गर्ने तीव्र इच्छा हुँदाहुँदै २०३९ श्रावण ६ गते काठमाडौँमा उहाँले देह त्याग गर्नु भयो ।

बीपीलाई कसरी बुझ्ने ?

जननायक बीपी कोइरालाको देशमा प्रजातान्त्रिक समाजवाद र प्रजातान्त्रिक सरकारको स्थापना गरी देशमा भएको सम्पूर्ण प्राकृतिक स्रोत, साधनको अधिकतम रूपमा आधुनिक र वैज्ञानिक ढङ्गले उत्पादन एवं परिचालन गरी सबै नेपाली जनतालाई युग सुहाउँदो रूपमा अगाडि बढाउने इच्छा अपूरै, अधुरै रह्यो । बीपीले गरिब, किसान, मजदुर, विद्यार्थी, शिक्षक, निजामती कर्मचारी, व्यापारी, डाक्टर, इन्जिनियर, पाइलट, वकिल, सैनिक, भूपू सैनिक, भूपू राष्ट्र सेवक, पत्रकारहरू लगायतका विषयमा उनीहरूको अवस्था, समस्या, उनीहरूको राष्ट्र निर्माणका लागि क्षमता र योग्यताका बारेमा सबैलाई मान्य हुने सर्वमान्य सिद्धान्त उहाँमा थियो । जननायक बीपी कोइरालाले भन्ने गर्नुहुन्थ्यो, हाम्रो देशमा १०० जनामा ९० जना गरिब र श्रमजिवी छन् । उनीहरूलाई बिहानबेलुुका खान लगाउनको समस्या छ । हो, नेपाल भनेको तिनै खान लगाउन नपाउने गरिब किसान र श्रमजीवी मजदुरहरूको हो । जब म नेपालको कल्पना गर्न थाल्दछु तिनै गरिब, श्रमजीवी नेपालीहरूको तस्बिर मेरो मनमा झल्झली आउँछ ।

के आज नेपाली काँग्रेस पार्टीमा किसान, गरिब र श्रमजीवीलाई चिन्ने नेता छ ? के गरिब, किसान र श्रमजीवीले नेपाली काँग्रेसको नाम लिन्छ ? जब गरिब र श्रमजीवी जनताले नेपाली काँग्रेसलाई चिन्दैन अनि कसरी बीपीलाई चिन्छ ?

अहिले हामीले देखिरहेका छौँ कि असली राष्ट्रवादीहरू, प्रजातन्त्रवादीहरू इमानदार व्यक्तिहरू जो शोषण, भ्रष्टाचार, दुराचार, अत्याचारको विरोधमा छन, विस्तारै विस्तारै पार्टीका गतिविधिहरूबाट उनीहरू टाढा हुने अवस्था आउँदै छ । तर जसले आज देशलाई, पार्टीलाई यस अवस्थामा ल्याए, जो बाहिरबाट सञ्चालित छन् र अरू राष्ट्रप्रति बफादार छन् । पार्टीभित्र उनीहरूको हालिमुहाली बढ्दै गइरहेको छ । त्यसैले त अहिले राष्ट्रियता, पार्टी र लोकतन्त्रप्रति नै खतरा उत्पन्न भइरहेको छ ।

महामानव बीपी कोइरालाले २०१६ सालमा यो मुलुकको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुँदा जनताका बीचमा कसम खाएर के भन्नुभएको थियो भने म १५ वर्षमा सबै नेपालीहरूलाई मेरो हैसियत बराबरको बनाउने छु । तर, आजसम्म देशमा कति जना प्रधानमन्त्रीहरू भए, कसैले यसरी भन्न सकेको छ ?

संविधानका विषयमा बीपी कोइरालाको आफ्नो स्पष्ट धारणा के थियो भने संविधान भनेको त्यस्तो हतियार हो । जसले जनताको भलाई पनि गर्न सक्छ र शोषण पनि गर्न सक्छ । संविधानअनुसार शासन सत्ता सञ्चालन गर्ने शासक पनि प्रजातान्त्रिक आचरणको हुनुपर्छ । संविधानमा लेखिने कुरा जनताको पक्षमा हुनु पर्छ । त्यसैले त  एक थान असली र लोकतान्त्रिक संविधानका लागि हजारौँ हजार नेपालीले बलिदानी दिनुपर्याे । हजारौँ हजार मानिस घाइते, अपाङ्ग, घरबारविहीन हुन पुगे । तर, देश र नेपाली किसान, गरिब र श्रमजीवी जनताले न्याय भने आजका मितिसम्ममा पनि पाउन सकेका छैनन् ।

बीपी कोइरालाले चिन्ता व्यक्त गर्दै भन्नु हुन्थ्यो कि देशको राष्ट्रिय स्तरदेखि तल्लो स्तरसम्ममा यहाँ एउटा यस्तो वर्ग हुन्छ । न त्यो सामन्त हो, न पुँजीपति । पुँजीपति वर्गलाई पनि म धेरै राम्रो व्यापार, व्यवसाय गरेर प्रशस्तै धन आर्जन गर्न सकूँ भन्ने, आम्दानी धेरै भएपछि मेरो पनि र देशको विकास हुन्छ भन्ने स्वार्थ हुन्छ । तर उसले श्रमजीवी मजदुरहरूको मैले कति शोषण गरिरहेछु भन्ने ख्याल राख्दैन । त्यस्तै अर्काे सामन्ती वर्गलाई पनि खेतीपातीमा स्वार्थ हुन्छ । यद्यपि उसले किसान र श्रमजीवीहरूको शोषण गर्छ । तैपनि पानी परोस्, उब्जनी धेरै होस् भन्ने उसको चाहना हुन्छ । यहाँ एउटा खतरनाक वर्ग छ, देशको मथिल्लो तल्लो तहदेखि तल्लोसम्म जो अधिकारको केन्द्रमा बस्छ, धन कमाइरहन्छ ।

अहिले नेपाली काँग्रेसको केन्द्रीय तहदेखि स्थानीय तहसम्म त्यही भुइँफुट्टा वर्गको जालोले ढपक्कै ढाकेर काँगे्रसलाई चल्न बल्न नदिई अँठ्याइरहेको छ । यो जालो तोड्न नेपाली काँग्रेसका माथिदेखि तलसम्मका इमानदार र असली नेता तथा कार्यकर्ताले भेऊ नै पाउन सकेका छैनन् । किनकि अहिले उनीहरूलाई पार्टीभन्दा गुट ठूलो हो भनी आन्तरिक प्रशिक्षण चलाइको छ । सबै गुटमा असल मान्छेहरू हुन्छन् भन्ने चेतनाको कमी छ । उनीहरूले गुटका नाममा तिनै भुइँफुट्टा वर्गलाई नेता मान्नुपर्ने बाध्यता उनीहरूलाई छ ।

अब हामी अड्कल लगाऔँ त ती गुटमा समर्पित नेता तथा कार्यकर्ताले नेपाली काँग्रेसलाई, जननायक बीपीलाई कसरी चिन्छन् त ? पार्टी जतिसुकै पुरानो भए पनि, आदर्श र सिद्धान्त राम्रो भए पनि त्यसमा काम गर्ने सबै तहका नेता तथा कार्यकर्ता असल भएनन् भने आदर्श र सिद्धान्तको केही अर्थ रहँदैन ।

जननायक बीपी कोइराला कम्युनिस्टहरू र पूर्व पञ्चहरूका विषयमा बडो स्पष्ट हुनुहुन्थ्यो । कम्युनिष्टहरू जनताका बीचमा कोरा आदर्शका कुरा गरेर, चर्का आकाश पाताल जोड्ने कुरा गर्दछन् । जनतालाई दिग्भ्रमित पार्दछन् । पूर्वपञ्चहरू व्यावहारिकताका कुरा गरेर अलमल्याउने कोसिस गर्दछन् । यिनीहरूसँग कुनै पनि हालतमा सँगसँगै राजनीतिक यात्रा गर्नु भनेको प्रजातन्त्रको हत्या गर्नु जस्तैः हो ।

तर नेपाली काँगे्रसले केवल सत्ताका लागि २०४६ सालको आन्दोलनदेखि आजका मितिसम्म कुनै न कुनै ढङ्ग नेपालमा रहेका विभिन्न नामधारी कम्युनिस्टहरूको सङ्गतलाई छोड्न सकेको छैन । हाल आएर माथिल्लो तहदेखि तल्लो तहसम्मका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता हँदाहुँदा भोट साटासाट गर्ने, सत्ताको मोलमोलाइचा गर्नेदेखि दिउँसो दिउँसो कम्युनिस्टहरूको चर्काे विरोध गर्ने रात परेपछि उनीहरूसँग सत्ता र निजी स्वार्थका लागि सम्झौता गर्ने चरित्रले नेपाली काँग्रेसको आन्तरिक सङ्गठन अत्यन्तै कमजोर हुँदै गइरहेको छ ।

जननायक बीपी कोइरालाले के भन्ने गर्नु हुन्थ्यो भने जुनै पनि तहको जनताको प्रतिनिधिले जनताको सेवा गर्दा वा उनिहरूका नाममा योजना बनाउँदा गरिब किसान, श्रमजीवी मजदुरको तस्बिर अगाडि राखेर योजना बनाउनुपर्छ भन्नुहुन्थ्यो । के आजका जनप्रतिनिधिहरू त्यसो गरेका छन् ? आजका हाम्रा जनप्रतिनिधिहरूले किसान, गरिब, मजदुरहरूलाई चिन्छन् ? जब जनप्रतिनिधिहरूले उनीहरूलाई चिन्दैनन् भने नेपाली काँग्रेसलाई कसरी चिन्दछन्, बीपीलाई कसरी चिन्दछन् त ? के पार्टीले यस विषयमा ख्याल राख्या छ ?

बीपी कोइरालाको जीवन दुःखैदुःखमा बितेको हामी पाउँछौँ । व्यक्तिगत सुख, सुविधामा उहाँले आफूलाई कहिल्यै पनि ख्याल गर्नु भएन । एउटा स्मरणीय घटना छ, २०१६ सालमा बीपी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुँदा उहाँकी धर्मपत्नी सुशीला आमाले बीपीसँग काठमाडौँ एउटा आफ्नै घरको इच्छा राख्दा उहाँले सुशीला आमालाई काठमाडौँमा हामीलाई किन घर चाहियो ? हामीहरू यहाँ राम्रैसँग बस्न पाइरहेछौँ, विराटनगरमा हाम्रो आफ्नै घर छ त, अन्ततः सुशीला आमाको काठमाडौँ घर इच्छा कहिल्यै पूरा भएन । जुन बीपी कोइरालाले चाहेको भए त्यो त मामुली कुरा थियो ।

के आज हाम्रो पार्टीमा यो हिम्मत र तागत भएका नेताहरू छन् ? के उनीहरूको सबै दैनिकीलाई राम्ररी अनुसन्धान गर्ने हो, नेपाली काँग्रेसको चरित्र र आदर्शभित्र उनीहरू पर्दछन् ? आज नेपालमा जननायक बीपी कोइरालाको आदर्श, विचार, सिद्धान्त, जीवनशैलीलाई बुझ्ने नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा छन् ? छैनन् अलिअलि गर्दै हरेक अधिवेशनबाट विस्थापित हुँदैछन् । बीपी काइरालाकोे सिद्धान्त र विचारलाई नबुझ्ने मानिसहरूको बाहुल्यता नभएपछि आज नेपालको राजनीतिमा बीपी कोइरालाको विचार र सिद्धान्त अस्ताउन लागेको डाँडा पारिको घामजस्तै भएको छ ।

(लेखक नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनका सचिव हुन् ।)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।